भर्खरै :

बुद्धिजीवी र नयाँ पुस्ता

बुद्धिजीवी र नयाँ पुस्ता

हामी डाक्टर होइनौँ, रोग हौ
– अलेक्सान्द्र हर्जेन
नेपालमा विशुद्ध बुद्धिजीवी पाउन दिउँसै बत्ती बालेर खोज्नुपर्ने स्थिति छ । देश र जनताका समस्याहरू यथार्थपरक ढङ्गले केलाउने र समाधानको उचित बाटो देखाउने बुद्धिजीवीको कमी छ । खासमा भन्ने हो भने कमलप्रकाश मल्लले धेरै वर्षअघि लेखेको कुरा आज पनि सान्दर्भिक छ । ‘रोड टु नोह्वेर’ नामका पुस्तकमा मल्ल देशमा बुद्धिजीवीहरूको स्थिति दर्शाउन १९ औँ शताब्दीका रुसी बुद्धिजीवी तथा पत्रकार अलेक्सान्द्र हर्जेनको भनाइ उद्धृत गरेका थिए । माथिको भनाइ सोही पुस्तकबाट लिइएको हो ।
नेपाल आमाका धेरै प्रतिभाशाली र योग्य छोराछोरी लोकसेवामार्फत राज्यको पेटमा पस्छन् । सिंहदरबारले तिनलाई चुम्बकले फलाम टिपेँझै टिप्छ । त्यसपछि ती छोराछोरीको आफ्नो राय भन्ने कुरा केही रहन्न । सरकारले दिने निर्देशनको पालन गर्दागर्दै तिनको कपाल फुल्छ । देशलाई नयाँ बाटो देखाउने गरी योगदान गर्ने फुर्सद र मौका नै पाउँदैनन् तिनले । यो कुरा तिनीहरू इमानमा बसुञ्जेल लागु हुन्छ । भ्रष्ट अधिकारी र कर्मचारीबाट त यी कुरा अपेक्षा गर्नै मिल्दैन । अझ भनँु भने राज्यको अर्थ–राजनीतिक चरित्र नै दलाल पुँजीवादी हुनाले यहाँ अत्यन्त इमानदार नागरिकलाई समेत इमानमा बस्न ठुलै कुस्ती लड्नुपर्ने हुन्छ ।
बुद्धिजीवीहरू सिंहदरबारमा मात्र खपत हुँदैनन् । पत्रकारिता, वकालत, अध्यापनलगायत क्षेत्रमा धेरै बुद्धिजीवी छरिएका छन् । यीमध्ये धेरै बुद्धिजीवी विभिन्न राजनीतिक दलमा देखिने–नदेखिने गरी आबद्ध छन् । कतिपय बुद्धिजीवी शासक दलका भूमिगत कार्यकर्ताका रूपमा समेत सक्रिय छन् । यसबाहेक देशका धेरै बुद्धिजीवी विदेशी दातृ निकायको मानो पचाउने कारोबारमा लागेका छन् । त्यस्तै राजालाई मियो बनाएर सोच्ने परम्परागत बुद्धिजीवीको अर्को तप्का छ । इटालीका चिन्तक एन्टोनियो ग्राम्स्कीको नामकरण सापटी लिएर आफूलाई जन बुद्धिजीवी (अग्र्यानिक बुद्धिजीवी) भन्ने वाम बुद्धिजीवीहरू पनि राजनीतिक दलका विभिन्न गुट–उपगुटमा अलमलिएका, अल्झिएका र कताकता ‘स्वान्त सुखाय’ मा हराएका छन् । परिवार पाल्ने पिरलोबाट धेरै बुद्धिजीवी टाढा हुन सकेका छैनन् । त्यसैले देशलाई जरैबाट निकास दिन सक्ने सामथ्र्य नेपालका कमै बुद्धिजीवीमा देखिन्छ – यही सार हो कमलप्रकाश मल्लको । नेपालमा नोम चोम्स्की, एडवार्ड साइड जस्ता बुद्धिजीवी जन्माउने सपना देख्दादेख्दै मल्लले पृथ्वीबाट बिदा लिइसकेका छन् ।
नेपाली बुद्धिजीवीहरूको सीमित विवेक हालै भएको जेनजी आन्दोलनको क्रममा पनि मुखरित भयो । यहाँ केही नमुनाबारे चर्चा गर्छौँ ।
नागरिक समाजको ‘चर्तिकला–शास्त्र’
जेन–जी आन्दोलनमा ७० वर्ष नाघेकी सुशीला कार्की कम्मर कसेर आन्दोलनको मोर्चा कस्न आइन् । नेपालको नागरिक समाजकी अभिन्न अङ्ग हुन् उनी । आन्दोलनमा टुप्लुक्क देखापरेको हुनाले जेन–जीले नागरिक समाजकी ‘अनुभवी र परिपक्व आमा’ लाई चुनावी सरकारको बागडोर सम्हाल्न दिए । कुनै बेला न्यायको आसनमा बसेर संविधानको अक्षरशः पालन गर्ने शपथ खाएकी ‘न्यायमूर्ति’ ले संविधानसभाले आठ वर्ष लगाएर बनाएको संविधान र ऐनकानुनलाई एकै झपकमा मिचेर प्रधानमन्त्रीको शपथ खाइन् ।
देशको गृहमन्त्रीमा अर्का नागरिक समाजी न्यायकर्मी आसीन हुन पुगे । गृहमन्त्रीको शपथ खानुअघि ओमप्रकाश अर्यालले दिल्ली दरबारसामु बफादारीको शपथ खाएको कुरा धरानका मेयर हर्क साम्पाङको ‘क्लासिक केस’ बाट खुल्न आएको छ । त्यसो त बफादारीको यो शपथबाट ‘न्यायमूर्ति’ कार्की पनि अछुतो नरहेको बजारमा उनले नै हल्ला चलाइन् । प्रधानमन्त्री बन्नुअघि छिमेकी भारत, बनारस हिन्दू विश्वविद्यालय तथा त्यहाँका साथीसङ्गीसँग गाला जोड्ने गरी दिएको कार्कीको अन्तर्वार्ता ‘भाइरल’ भयो ।
विद्युत् प्राधिकरणबाट बाहिरिएर नागरिक समाजी बनेका कुलमान घिसिङले अहिले दुई मन्त्रालयको कमान सम्हाल्दै छन् । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका साथै भौतिक पूर्वाधार र यातायात मन्त्री पनि हुन् घिसिङ । हिजो एक थिए किराँत हर्क गुरुङ । जो भन्थे– विदेशी लगानीले संसारमा कुन देश विकसित भएको छ र ? आज यी किराँती छन् । जो विदेशी लगानीलाई ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तम्सिदै छन् । डाँडाकाँडा अँध्यारो राख्दै देशको विद्युत् शक्ति विदेश लैजाने ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ नाउँको देशघाती प्रपञ्च चल्दा चुँ नबोल्ने यी ‘हाकिम’ बाट हर्क गुरुङको विवेकको अपेक्षा गर्ने ठाउँ छैन ।
शिक्षामन्त्री बनेका अर्का नागरिक समाजी महावीर पुनः शिक्षा मन्त्रालयबाट केही उपती गर्न नसक्ने हाकाहाकी बोल्दै छन् । शिक्षा क्षेत्र उकास्न उनी देशको ढुकुटीमा पैसा बढाउनुपर्ने र त्यसका लागि ‘निजी क्षेत्र (देशका दलाल पुँजीपति पढौँ) लाई सजिलो पार्नुपर्यो’ भन्दै छन् । उनले भने जस्तो देशमा पुँजीपतिहरूले धन कमाउने र राज्यलाई अकुत कर बुझाउने गरी कहिले होटल र उद्योगधन्दा खोल्ने हुन् र कहिले यो देशको शिक्षातन्त्र उँभो लाग्ने हो ? कतै उनले वीरबलको खिचडी पकाउन खोजेका त होइनन् भन्ने शङ्का बाक्लिन थालेको छ । आखिर, खक्कड मिस्त्रीलाई देशको वास्तुचित्र कोर्न दिएपछि यति रमिता त हुने नै भयो ।
सौरभको ‘कारबाही नगर–शास्त्र’
जेन–जी आन्दोलनबाट अत्यन्त हर्षित र आशामुखी बनेका सौरभले सिंहदरबार जलेको टुलुटुलु हेर्ने नेपाली सेनाको स्तुति गाए । उनले काठमाडौँ महानगरका मेयर बालेन साहलाई लगाइदिएको पगरी ‘लुसिफर’ ले बजारमा तहल्का नै पिट्यो । राजाबेगर नेपालको भविष्य नै नदेख्ने सौरभ बाबुबाजेको विरासतबाट लाभान्वित ‘अराजनीतिक’ बुद्धिजीवी हुन् ।
आन्दोलनलगत्तै सौरभले अमेरिकाका साम्राज्यवादी बुद्धिजीवी सामुयल हन्टिङटनको खजानाबाट निकालेर नयाँ सरकारलाई ‘नौलो बुटी’ दिए । “नयाँ शासकवर्गले पुराना शासकहरूको सम्पत्ति खोस्नु हुँदैन । खोसे नयाँ शासकहरूको शासन टिक्न सक्दैन ।” – यही आशय थियो सौरभको । राणातन्त्र समाप्त भयो तर राणाहरूको सम्पत्ति खोसिएन । २०४६ सालपछि पुराना पञ्चेहरू ससम्पत्ति काङ्ग्रेस–एमालेमा पसे । नयाँ शासकले पुरानालाई पार्टीमा ससम्मान स्वागत गरे । तिनीहरूमाथि कारबाही भएन । २०६२÷६३ पछि पनि सोही परम्परा दोहोरियो ।
२००७ सालयता देशमा अनेकौँ ‘क्रान्ति’ र ‘जनआन्दोलन’ भए । तर, सौरभजस्ता पुराना सामन्तहरूको धनसम्पत्तिमा परिवर्तनकारी सरकारहरूले कहिल्यै आँखा लगाएनन् । ‘सुशीलाले पनि आँखा लगाउनुहुँदैन है’ यही अर्ती हो सौरभको । कति दूरदर्शी अर्ती ?’ आफूलाई फलिफाप हुने त्यसैले ‘न्यायमूर्ति’ ले पुराना शासक खलकप्रति राम्रै न्याय गरिन् । कुनै बेला आवेगमा आएर ‘नायक’ चलचित्रको अनिल कपुरले जस्तै ‘नेताहरूले चाहे एक हप्तामै भ्रष्टाचार अन्त्य हुन्छ’ भन्ने ‘न्यायमूर्ति’ देशको डाडुपन्यू हातमा हुँदा समेत चुपचाप छिन् । सौरभको बाटो हुँदै आएको हन्टिङटनको ‘बुटि’ ले काम गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *