दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
संसद् योग्य, इमानदार, देश र जनताको सेवा गर्ने थलो हुनुपर्छ । जनमतको आवाज उठाउने, जनमतको समस्या बुझ्ने र समस्या हल गर्ने थलो हुनुपर्छ । संसद्मा विभिन्न दलका सांसदहरूको प्रतिनिधि हुने हुँदा त्यो एक वैचारिक बहस हुने थलो हुन्छ । संसद् जनताको आवाज खन्याउने र जनताको पीडा सुन्ने थलो मात्र होइन; जनताको पीडा बुझी हल गर्ने थलो पनि हुनुपर्छ । तर, संसद् जनताको समस्या सुन्ने थलो मात्र बन्यो । यसले संसद्को गरिमा घट्यो । संसद्प्रति जनताको विश्वास घट्यो । संसद् सरकार या सत्तारुढ दलको कुरा मात्र सुन्ने थलो बन्यो । संसद्मा सत्तारुढ दलको मात्र कुरा सुन्ने भए या अरु दलका सांसदहरूको कुनै कुरा नसुन्ने हो भने संसद्को के अर्थ रह्यो ? सांसदहरू संसद्मा किन जानुप¥यो ? संसद सुनाउने थलो मात्र हो भने जनताका समस्या कसरी समाधान हुन्छ ?
संसद् विधायिकाको भवन मात्र होइन† जनताको समस्या बुझेर हल गर्ने थलो पनि हुनुपर्छ । संसद् समस्या पोख्ने र सुन्ने मात्रै थलो भएकोले जनताको समस्या ज्यूँका त्यूँ रह्यो । सरकार या सत्तारुढ दलप्रति जनताको अविश्वास बढ्यो । सरकारको जस्तो कमजोरी भए पनि कमजोरी देखाए पनि सुधार नगर्ने, जनताको समस्या हल गर्न अघि नबढ्ने सरकारको ढिपीले गर्दा कुनै पनि दलले पूरा कार्यकालको सरकार चलाउन सकेन । देशको राजनीति अस्थिर भइरह्यो । सरकारको हेरफेरसँगै योजना हेरफेर भएपछि, कार्यनीति र कार्यशैली फरक भएपछि विकासमा बाधा पर्नु र पछि पर्नु स्वाभाविक हो ।
संसद् चल्न नदिने, संसद्मा सत्तारुढ दलको बाहेक अरु दलका सांसदहरूको आवाज या मागप्रति कुनै चासै नराख्ने भएपछि संसद्को गरिमा कसरी कायम रहन्छ ? सरकारले ल्याएको सबै योजना, आँखा चिम्लेर पास गर्नुपर्ने बाध्यताले सही राजनीति कसरी अघि बढ्छ ? सरकारको काम त जनताको समस्या समाधान गर्ने हो । देशमा सुशासनको अनुभूति दिने संरचना हो संसद् । गणतान्त्रिक देशमा संसद् निरङ्कुश हुँदैन । बहुमतको नाउँमा संसद्लाई सत्तारुढ दलको कार्यशाला बनाउने काम या व्यवस्था प्रजातान्त्रिक हुँदैन । विभिन्न दलका सांसदहरूले देश र जनताको कुरा संसद्मा राखेपछि वास्तविकता बुझ्नुपर्छ† समस्या बुझ्नुपर्छ र समस्या निकास खोज्नुपर्छ ।
संसद् देश र जनताको पक्षमा नीति नियम बनाउने थलो हो । देश र जनताको पक्षमा नीति नियम बनाउने थलोलाई माना पचाउने काम गर्नु मनासिब होइन । हाजिर गरेर आफ्नो व्यक्तिगत या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा गएर दोहोरो आम्दानी गरेर पदको दुरूपयोग गर्नु हुँदैनथ्यो । देश र जनताको निम्ति ऐन कानुन बनाउन निर्वाचित सांसदहरू कोही ठेकेदार भए† कोही देशकै धनाढ्य परे त कोही भ्रष्टाचारीहरू परे । निर्वाचनमा करोडौँ खर्चेर जितेका सांसदहरूको ध्यान जनताको पक्षमा ऐन कानुन बनाउन होइन जसरी भए पनि कमाउनेतर्फ लाग्नुमा के आश्चर्य ? निर्वाचित सांसदहरूमध्ये कोही भ्रष्टाचार काण्डमा फसे, कोही यौन काण्डमा त कोही सुन काण्डमा परे । कोही नक्कली भुटानी शरणार्थी प्रकरणमा त कोही प्रेसको सामानमा फसे । कोही पर्ती जग्गा हडप्नेमा त कोही कमिसनको चक्करमा त कोही हत्या हिंसाको फन्दामा परे ।
सांसदहरूको यस्तो चर्तिकलाले दल र राजनीति धमिलो हुनुमा के अनौठो ? ठुला दलका नेताहरू नै काण्डै काण्डमा परेपछि देशमा दुर्गति हुने नै भयो । सांसदहरू इमानदार, निःस्वार्थी र जिम्मेवार नभएका कारण देश भ्रष्टाचारले गन्हायो । कमिसनखोर, कालाबजारिया, ठेकेदार, जालीफटाहाहरू शासकहरूको संरक्षणकर्ता भए या शासकहरूको वरिपरि घुमिरहे । पद र पैसाको निम्ति उम्मेदवारी दिएर जितेका सांसदहरूले कमाउने धन्दाबाहेक अरु के गर्लान् भन्ने विश्वास गर्ने ? सांसदहरूको मनपरी कार्यको कारण दलको बदनाम भयो, सरकारको बदनाम भयो । संसारसामु नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा प¥यो; अस्थिर राजनीति या अस्थिर सरकारको सूचीमा प¥यो; सरकारको नेतृत्व छिनछिनमा फेर्ने देशमध्ये सम्भवतः नेपाल अग्रस्थानमा पर्छ । यसले संसद्को मात्र होइन सांसद, सरकार र सत्तारुढ दलको गरिमामा पनि आँच पुग्यो । के यो नेपाल र नेपालीको निम्ति दुर्भाग्यको विषय होइन ?
अबको संसद् बदनामीहरूको संसद् नबनोस् । अबको संसद सिङ्गो नेपाल र नेपाली जनताको हित हेर्ने सांसदहरूको थलो बनोस् । सांसदहरू देश र जनताप्रति जिम्मेवार भएमा, देश र जनताको हितमा ऐन कानुन बनेमा संसद् र सरकारप्रति जनताको विश्वास बढ्नु स्वाभाविक हो । सांसदहरूले राजनीतिलाई पेसाको रूपमा लिनु हुँदैन । सांसद पदलाई कमाउने आधार बनाउनु हुँदैन । सरकारले गलत निर्णय गरे पनि, गलत नीति बनाए पनि सत्तारुढ सांसदहरू आँखा चिम्ली समर्थन गर्छन् । सत्तारुढ सांसदहरू सही गलत नै सोच्दैनन् । सरकारले ल्याएको जस्तोसुकै नीति निर्णय पनि बहुमतले पारित गर्नु नै सांसदहरूको धर्मजस्तो भइसकेको छ । जनताको गुनासो नसुनेकै कारण, बहुमत प्राप्त सरकारलाई कसैले केही गर्ननसक्ने हुङ्कारकै कारण देशमा जेन–जी जन्म्यो र जेन–जीकै कारण देशकै सबभन्दा शक्तिशाली सरकार नमज्जासँग ढल्यो ।
आफ्नो सरकारले जे जस्तो निर्णय गरे पनि सही ठान्ने प्रवृत्तिको कारण एमालेको नेतृत्व बनेको सरकार ढल्यो । सत्तारुढ राजनीतिक दलका नेता र सांसदहरू जनताप्रति उत्तरदायी भएनन् । देश र जनता जतासुकै जाओस् भन्न पछि नपर्ने सांसदहरू जनताप्रति किन जिम्मेवार बन्छन् ? देशको राजनीतिप्रति उत्तरदायी नहुने दलका नेता, मन्त्री र सांसदहरूको मन कसरी पवित्र हुन्छ, स्वच्छ हुन्छ ? यसकारण, देशमा इमानदारी र निःस्वार्थीपूर्वक स्वच्छ राजनीति गर्नुपर्छ । स्वच्छ राजनीतिले नै देशको विकासलाई उचाइमा पु¥याउँछ र जनताको जीवन सुनिश्चित हुन्छ ।
Leave a Reply