भर्खरै :

शाननान नगरपालिकाको सहकारी अभ्यासबाट केही सिक्ने कि ?

शाननान नगरपालिकाको सहकारी अभ्यासबाट केही सिक्ने कि ?

नेपालमा अहिले जनस्तरमा सहकारी अभियानले व्यापकता पाएको छ । कम आयस्रोत भएका गरिब जनताले मासिक वा निश्चित अवधिमा थोरै थोरै रकम जम्मा गरी आफूलाई आवश्यकता पर्दा वा पारिवारिक, सामाजिक वा सांस्कृतिक जिम्मेवारी पूरा गर्न एकमुष्ट रकम झिक्न वा आवश्यकताअनुसार ऋण प्राप्त गर्न सहज माध्यम सहकारी बनेको छ । बालबालिका, महिला, ज्येष्ठ नागरिक र व्यवसायीहरूले समेत आर्थिक कारोबारका लागि सजिलो र आत्मीय संस्थाको रूपमा स्थानीय सहकारीहरूलाई लिन थालेको देखिन्छ ।
तर, यससँगै सहकारी संस्थाहरूका आर्थिक क्रियाकलापहरू पारदर्शी नभएको, बचतकर्ताहरूको रकम सञ्चालकहरूले हिनामिना गरेको, सहकारी संस्थाहरू नै बन्द गरी सञ्चालकहरूले ठगी गरेको जस्ता समाचारहरू पनि दैनिकजसो आइरहेका छन् । विद्यमान सहकारी ऐन नियमहरूमा रहेका कानुनी छिद्रहरू (Loop holes) बाट फाइदा उठाउँदै सहकारी सञ्चालकहरूले बचतकर्ताहरूको करोडौँ रकम ठगी गरेर भागेका छन् । सहकारी संस्थाहरूले बचत र ऋणको मात्र कार्य गर्दा जनताले बैङ्क र सहकारी संस्थामा फरक देख्न छाडेको यथार्थ हो । नेपाली सहकारी संस्थाहरूले के साँच्चिकै सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार काम गरिरहेका छन् त ? ‘एकका लागि सबै र सबैका लागि एक,’ यही नै सहकारी सिद्धान्त हो भन्ने सर्वसाधारणको बुझाइ हो । तर, नेपालमा सबैको बचत एकले बोकेर भाग्ने र तिनैले राजनैतिक आवरणमा संरक्षण पाउने विकृति बढेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘चिनियाँ जनकम्युन’ पुस्तकमा सहकारी सिद्धान्त र चिनियाँ अभ्यासबारे सरल भाषामा लेख्नुभएको छ । उहाँले उत्पादनसँग जोडिएको सहकारी अभ्यासको उदाहरणसहित व्याख्या गर्नुभएको छ । समाजवादी राज्य व्यवस्थामा सहकारी संस्थालाई बचत र ऋण कारोबारमा सीमित गरिँदैन, बरु सहकारीमार्फत उत्पादन कार्य अघि बढाउँदै जनताको समग्र आर्थिक–सामाजिक प्रगतिमा योगदान गरिन्छ । त्यसैले सहकारी सदस्यहरू आफैँ कामदार र आफैँ मालिक हुन्छन् । सबै सदस्यहरू आर्थिक प्रगतिको प्रत्यक्ष हकदार बन्छन् ।
भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको सिचाङ्ग स्वशासित क्षेत्र (तिब्बत) को शाननान नगरपालिकाका विभिन्न सहकारी संस्थाहरूको अवलोकन भ्रमण गर्दा त्यहाँको सहकारी अभ्यासका असल गुणहरू नेपाली समाजको लागि उपयुक्त हुने अपेक्षा गर्न सकिन्छ । यस लेखमा केही अभ्यासहरूको चर्चा गरिएको छ ।
पहिलो उदाहरण : याङ्गा सुनौलो टोपी उत्पादन सहकारी
शाननान नगरपालिकाको झानाङ्ग काउन्टी (Zhanang County) मा स्थानीय युवाहरूको सक्रियतामा याङ्गा सुनौलो टोपी उत्पादन सहकारी संस्था (Yangga Golden Hat Cooperative) सञ्चालन गरिएको छ । सन् २०१३ मा स्थानीय ८ जना युवाले परम्परागत टोपी र पोशाक निर्माण गर्ने उद्देश्यले स्थानीय पालिकामा सहकारी दर्ता गरेका रहेछन् । पालिकाको सबैभन्दा सानो एकाइलाई गाउँ भनिन्छ (नेपालमा वडा भनेजस्तै) । गाउँले सहकारी सञ्चालनको लागि जग्गा र त्यसमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको छ भने उक्त संरचनामा सहकारी सदस्यहरूले थोरै लगानी गरी मेसिन, कच्चा पदार्थलगायत जोरजाम गरेका छन् । न्याउरी मुसोजस्तै देखिने पुच्छरमा बाक्लो भुवा भएको जनावर (नेपालीमा भुँडेल भनिँदो रहेछ) स्क्वीरलको पुच्छर र छालाबाट विभिन्न आकार प्रकारका परम्परागत टोपी सिउँछन् । टोपीको बजारीकरणका लागि स्थानीय पालिकाले सहजीकरण गर्छ । टोपी सिउने सुनौलो धागो नेपालबाट आयात गरिँदो रहेछ । सहकारीबाट उत्पादित सुनौलो टोपी शाननान र ल्हासामा मात्र नभई चीनको मुख्य भूमि तथा नेपाल र भारतमा समेत बेच्ने गरेको सहकारी सदस्यहरूको भनाइ रह्यो । परम्परागत सामग्री र शैलीबाट निर्माण गरिएका पोशाक र टोपीको स्थानीय समुदायमा अत्यन्त माग भएको र हाल ५४ जना स्थानीय युवाहरू सहकारी सदस्य भई प्रत्यक्ष रोजगारीमा लागेको जानकारी दिइएको छ । सहकारीबाट प्राप्त नाफा सहकारी सदस्यहरूबिच बाँडिने वा पुनः पूजीकृत गर्ने उनीहरूको भनाइ छ । सहकारी संस्था अत्यन्त व्यवस्थित रूपमा चलाउनुका साथै उत्पादन पनि गुणस्तरीय रहेको बताइन्छ ।
दोस्रो उदाहरण : काष्ठकला सहकारी
झानाङ्ग काउन्टीमै काष्ठकला उत्पादन गर्ने सहकारी छ । लहरे पिपलको काठलाई लामो समय भण्डारण गरी उत्पादन गर्ने काष्ठकला अत्यन्त आकर्षक र बुट्टेदार रहेछन् । काठ वा धातुको मुङ्ग्रो (Hammer) प्रयोग नगरी हाते ज्यावलबाटै बुट्टा कोरेर बनाउने काष्ठकला उत्पादन भक्तपुरको काष्ठकलाभन्दा भिन्न देखिन्छन् । काष्ठकला उद्योगका राष्ट्रिय कलाकार पाईमा झातुई (Bai Ma Zhadui) को रेखदेख र प्रशिक्षणमा उक्त सहकारी सञ्चालित छ । स्थानीय युवाहरूले उक्त सहकारीमा बुट्टेदार काष्ठकला तथा आकर्षक फर्निचरहरू बनाउँछन् । ती उत्पादनहरू स्थानीय बजारमा मात्र नभई चीनभरि नै बिक्री वितरण गरिने उनीहरूको भनाइ छ । सहकारीमा काम गर्ने कर्मीहरूले पारिश्रमिक पनि पाउँछन् भने उत्पादन बिक्रीबाट भएको नाफा रकम पनि आपसमा समानुपातिक ढङ्गले बाँडिदो रहेछ । यसलाई सहकारीको उत्कृष्ट अभ्यास मान्न सकिन्छ ।
तेस्रो उदाहरण : होचा स्याउ बगान
ल्हासा सहरबाट शाननान जाने बाटोमा समुद्री सतहभन्दा ३७५० मिटर उचाइमा होचा स्याउ बगान (Dwarf apple farm) छ । होचो उचाइका रातो र धेरै फल्ने स्याउको बोटले भरिएको बगान अत्यन्त आकर्षक तथा संसारकै सबैभन्दा उचाइमा फल्ने स्याउ भएकोले चीनको मुख्य भूमि र विदेशमा समेत धेरै माग भएको र स्याउको ब्रान्ड नै ३७५० राखिएको छ । त्यहाँ स्याउसँगै स्याउभन्दा ठुला आरुहरूको बगान पनि छ । आरु स्याउजस्तै मिठो र रसिलो रहेछ । स्याउ बगानमा सिँचाइको लागि ठुलो आकारको कृत्रिम पोखरी निर्माण गरिएको छ । १० वर्षअगाडि १५० रोपनीमा सुरु गरिएको स्याउ खेती अहिले ८०० जना जनशक्तिका साथ १५०० रोपनीमा फैलिएको छ । ६० प्रतिशत चिनियाँ सरकारको र ४० प्रतिशत स्थानीयको लगानीमा सञ्चालित उक्त स्याउ बगानमा प्रत्येक बोटबाट लगभग १५ किलो स्याउ उत्पादन हुने जानकारी दिइएको छ ।
चौथो उदाहरण : अङ्गुर खेती
साङ्ग्री गाउँ नजिकैको खोलाको बगरमा अङ्गुर खेती र फाझु रक्सी उद्योग (Pazhu Wine Industry) सञ्चालन गरिएको छ । शाननान सहरबाट आधा घण्टाको बस यात्रापछि साङग्री अङ्गुर खेती पुगिन्छ । यसलाई संसारकै अग्लो ठाउँमा अङ्गुर खेती गरिएको भनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा अभिलेखीकरण गरिएको छ । १० हजार रोपनीे बगरमा गरिएको अङ्गुर खेती अत्यन्त आकर्षक छ र अङ्गुर उत्पादन पनि प्रशस्तै हुनेरहेछ । विशुद्ध प्राङ्गारिक मलको प्रयोग गरिने उक्त खेतीमा दैनिक दुई सय जना कामदार कार्यरत रहेको जानकारी दिइएको छ । जग्गासहित सरकारको ४० प्रतिशत र स्थानीय जनताको ६० प्रतिशत लगानीमा सुरु गरिएको अङ्गुर खेतीको सुरुवाती लगानी ८० लाख चिनियाँ मुद्रा (RMB) थियो । त्यहाँ उत्पादित अङ्गुर बजारमा फलफूलको रूपमा पनि बिक्री गरिन्छ भने आफ्नै लगानीमा खुलेको फाझु रक्सी उद्योगमा पनि कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ । उक्त उद्योग अङ्गुर खेतीबाट अलिकति मात्र दूरीमा छ । ठुलो आकारमा सञ्चालित उद्योगबाट उत्पादित थरीथरीको स्वाद र ब्रान्डका अङ्गुरको वाइन चीनका विभिन्न स्थानमा बिक्री गरिन्छ ।
पाँचौँ उदाहरण : हरितगृह कृषि उत्पादन केन्द्र
शाननान सहरबाट उत्तरपूर्वमा पर्ने छोङ्गयाई काउन्टीमा करिब ९०० रोपनी क्षेत्रफलमा प्राङ्गारिक आधुनिक हरितगृह कृषि उत्पादन केन्द्र (Vegetable Basket based in Qonggyai County) सञ्चालन गरिएको छ । कृषिमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिएको उक्त केन्द्रमा उमेरले ४० वर्ष नकटेका युवाहरू सक्रिय देखिन्छन् । केन्द्रमा स्थानीय सरकारले जग्गासँगै हरितगृह निर्माणको सम्पूर्ण व्यवस्था गरेको छ भने त्यसभित्रको खेतीमा लगानी स्थानीय युवाहरूले गरेका छन् । विभिन्न किसिमका गोलभेँडा, सानो काँक्रो, खर्बुजा र हरियो तरकारी प्रशस्त उत्पादन गरिएका छन् । बोट बिरुवा रहेको क्षेत्रबाहेक सबैतिर प्लास्टिकले माटो छोपेको देख्दा केही साथीहरूले जिज्ञासा पनि राखे । प्लास्टिकले छोप्दा अनावश्यक घाँस आउनबाट रोक्ने त हो नै, साथै माटोको गुणस्तर वृद्धि हुने पनि जवाफ प्राप्त भयो । यो वर्ष बाली लगाइएको माटोमा अर्को वर्ष प्राङ्गारिक मल मिसाएर प्लास्टिकले छोप्ने र अघिल्लो वर्ष प्लास्टिकले छोपिएको माटोमा बाली लगाउने रहेछ । बाली लगाउनुपूर्व ट्रयाक्टरले जोत्न पनि परेन, गोडमेल पनि धेरै गर्न परेन । साथै हरेक बोटमा पाइपमार्फत थोपा सिँचाइ गर्ने प्रबन्ध मिलाइएको छ । यसले गर्दा उत्पादन ह्वात्तै बढेको स्थानीय युवाको भनाइ छ ।
हरितगृह प्रविधिमार्फत गर्मी ठाउँमा मात्र फल्ने खर्बुजा पनि तिब्बतको सुख्खा र चिसो ठाउँमा राम्रैसँग फलाइएको छ । त्यसमाथि जमिनमा लहरा जाने खर्बुजाको बोटलाई थाक्रो दिएर फलाइएको र प्रत्येक खर्बुजालाई प्लास्टिकको जाली झोलाको माध्यमबाट झुन्ड्याइएको अनौठो दृश्य देख्न पाइन्छ । यसो गर्दा खर्बुजाको सबै भागमा प्रकाश परेर सबै भाग हरियो र सुन्दर देखिने तर्क रहेछ ।
तिब्बतलाई खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने र स्थानीय युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने सरकारी नीतिअनुसार हरेक क्षेत्रमा युवा क्रियाशीलता बढाइएको देखिन्छ ।
उत्पादनलाई पर्यटनसँग जोड्ने अभ्यास
सहकारीमार्फत स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उत्पादन गरिएका क्षेत्रहरूलाई चीनकै विभिन्न प्रान्तका जनतालाई आकर्षित गर्ने आन्तरिक पर्यटन प्रवद्र्धन कार्यसँग जोडिएको देखिन्छ । जस्तैः– स्याउ वा अङ्गुर टिप्ने सिजनमा विद्यार्थी, युवा, कर्मचारीलगायत चिनियाँ जनतालाई मेलाको रूपमा आमन्त्रण गर्ने, उनीहरूले फलफूल टिप्दै रमाइलो गर्ने, सित्तैमा पेटभरि फलफूल खान पाइने र दिनभरि टिपेको फलफूल त्यही छोड्ने गज्जबको तरिका अपनाइएको रहेछ ।
फलफूल टिप्ने मेला, साग लगाउने मेला र खेत जोत्ने मेला सुन्दै रमाइलो लाग्ने । नयाँ पुस्तालाई खेती किसानीप्रति आकर्षित गर्ने र सीप हस्तान्तरण गर्ने नौलो अभ्यास । यसले आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुनेरहेछ ।
छैठौँ उदाहरण : होमस्टे
पाको उमेरका ज्येष्ठ नागरिक तथा महिलाहरूको ७८ घर परिवारले सहकारीमार्फत होमस्टे सञ्चालन गरेका रहेछन् । स्थानीय खाद्य परिकारहरूको स्वाद चाख्न पाइने, स्थानीय परम्परागत सांस्कृतिक प्रदर्शनीहरू अवलोकन गर्न पाइने र घरेलु वातावरणमा समय बिताउन पाइने व्यवस्थासहितको होमस्टे चलाइएको देखिन्छ । पर्यटकहरूलाई पालैपालो सहकारी सदस्यहरूको घरमा बस्ने व्यवस्था गर्ने र प्राप्त आम्दानी सबै सदस्यहरूबिच समानुपातिक रूपमा वितरण गरिने राम्रो अभ्यास थालनी गरिएको छ ।
उपसंहार
नेपालमा पनि केही विशिष्टकृत सहकारी संस्थाहरू उत्पादन र सेवामा लागेका छन् तर अपवादबाहेक ती सहकारी संस्थाहरूले निर्धारित कार्यक्षेत्रलाई निरन्तरता दिन नसकेर बचत तथा ऋण सङ्कलन कार्यमा लागिरहेका छन् । सरकारले सहकारी संस्थाहरूलाई हेर्ने दृष्टिकोणमा नै समस्या छ । त्यसमाथि सहकारी बैङ्क स्थापना गरेपछि सहकारीको मूल्य मान्यता नै फरक हुन थाल्यो । सहकारी संस्थाहरूले बैङ्किङ कारोबार गर्न थालेसँगै उच्च तहका व्यक्तिहरूले कानुनी छिद्रहरूको प्रयोग गरेर बचतकर्ताहरूको रकम हिनामिना गर्ने र भाग्ने राम्रो मेसो पाएका छन् । तिनीहरू शासक दलहरूको राजनैतिक संरक्षणमा ‘ठुला नेता’ र ‘समाजसेवी’ बन्ने होडमा छन् ।
सहकारीमार्फत ठगी र भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाही गरी साँचो अर्थमा सहकारी सिद्धान्तअनुसार आर्थिक अवस्था कमजोर भएका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उठाउने बलियो सहाराको रूपमा सहकारी संस्थालाई विकास नगरेसम्म विकृति यथावत नै रहन्छ । तथापि वर्तमान व्यवस्थामै पनि कम्तीमा जनताप्रति उत्तरदायी सहकारी संस्थाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भए गरेका केही सकारात्मक अभ्यासहरूलाई अनुशरण गरेर जनहितका कार्य गर्न सकेमा बचतकर्ताहरूको विश्वास जित्न सकिनेमा दुईमत नहोला । कसैबाट सुरुवात गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *