क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सम्मेलनले पार्टी सङ्गठनका सम्बन्धमा अति महत्वपूर्ण कार्यभार औँल्यायो । विभिन्न पार्टी एकाइहरूलाई बलियो पार्नु नै सबथोक होइन, बरु ती एकाइबिच संयोजन गरी एकताबद्ध पार्नु महत्वपूर्ण रहेको सम्मेलनले जोड दियो । यसका लागि जहाँ सम्भव हुन्छ, त्यहाँ क्षेत्रीय पार्टी सम्मेलन गर्ने र ती सम्मेलनमा केन्द्रीय समितिले प्रतिनिधि पठाउने तय भयो । त्यसैगरी पार्टीको नियमित अधिवेशन गर्नुपर्ने विषय पनि सम्मेलनमा उठ्यो ।
सदनमा सामाजिक जनवादी समूहको गतिविधिबारे हामी ‘६ बोल्शेभिक’ ले प्रस्तुत गरेको प्रतिवेदन सम्मेलनमा छलफलको मुख्य केन्द्रबिन्दु थियो । क्राको सम्मेलनपछि सदनभित्र र बाहिर भएका गतिविधिबारे हामीले खुलेर बोल्न पायौँ । हाम्रो लागि यो नौलो अनुभव थियो । तैपनि, सदनलाई क्रान्तिकारी प्रचारको निम्ति हामीले गरिरहेको उपयोग पर्याप्त नभएको हामीलाई महसुस हुन्थ्यो । सम्मेलन सुरु हुनुभन्दा अगाडि नै हामीले हाम्रा गतिविधिबारे लेनिनसँग निजी कुराकानी गरेका थियौँ ।
मैले लेनिनसँग भनेँ, “विभिन्न मन्त्री र कालासय सांसदहरू मञ्चमा जाने कार्यक्रम भयो कि हामी विरोध प्रदर्शनको चाँजो मिलाइहाल्छौँ । तर, यति नै पर्याप्त छैन । मजदुरहरू सोध्छन् – सदनमा तपाईँले व्यवहारिक प्रस्ताव के राख्नुभयो त ? तपाईँले अघि सारेका कानुन खोइ ?”
सधैँझैँ लेनिनले हाँस्दै भन्नुभयो, “कालासयको बहुमत भएको सदनले मजदुरहरूको दिनदशा सुधार्ने कुनै कानुन पास गर्नेछैन । दिन प्रतिदिन मजदुरवर्ग सबल र सशक्त बन्दै छ, क्रान्तिको दिन टाढा छैन र त्यो क्रान्तिले कालासय र तिनको सरकारलाई आँधीले झैँ बढार्नेछ भनी कालासयहरूलाई सम्झाइराख्नु नै मजदुर सांसदहरूको अभिभारा हो । केही संशोधन गर्न र केही विधेयक ल्याउन पनि सम्भव छ । तर, त्यो काम राजशाही सत्ताको मजदुरविरोधी प्रकृतिलाई अझ प्रभावकारी ढङ्गले उदाङ्ग्याउनलाई मात्र गर्नुपर्छ । वास्तविक हकअधिकार शोषित पीडित मजदुरहरूसँग छैन भनी उजागर गर्न हामीले त्यसो गर्नुपर्छ । मजदुरहरूले आफ्ना सांसदहरूबाट यही कुरा सुन्नुपर्छ ।”
हाम्रो प्रतिवेदनको विषयमा छलफलका अनेक सत्र चले । सम्मेलनले यस सम्बन्धमा अघिल्लो पार्टी निर्णयमा जोड दिएर प्रस्ताव पारित ग¥यो । त्यो निर्णय के भने सामाजिक जनवादी सांसदहरूलाई संसद्को तथाकथित सकारात्मक कामप्रति चासो छैन बरु सदनलाई क्रान्तिकारी प्रचारप्रसार र सङ्घर्षको निम्ति उपयोग गर्नु नै तिनको अभिभारा हो । सदनमा ल्याएका कुनै पनि विधेयक सन्तोषजनक थिएनन् । तैपनि, सम्मेलनमा एउटा प्रश्न उठ्यो । मजदुरहरूको अवस्थामा अलिकति सुधार ल्याउने कुनै विधेयक आए के गर्ने ? सम्मेलनले टुङ्गो लगायो – श्रमकाल घटाउने वा ज्याला बढाउने जस्ता मजदुरहरूको सिधा हितसँग जोडिएका संशोधन आए मात्र मतदान गर्ने । साथमा, यस्ता प्रस्ताव कार्यान्वयन हुनेमा आशङ्का उब्जेको खण्डमा आफ्ना तर्कहरू प्रस्टसँग राखेर मतदानमा भाग नलिने तय भयो । त्यस्तै, सदनमा उठ्ने प्रत्येक मुद्दामा सामाजिक जनवादी समूहले सदनको कारबाहीमा समेट्ने गरी आफ्नो स्वतन्त्र प्रस्ताव तयार पारी प्रस्तुत गर्नुपर्ने निर्णय भयो ।
हाम्रो संसदीय समूहको आन्तरिक अवस्था तथा मेन्शेभिकहरूसँग हाम्रा मतभेदबारे एउटा विशेष प्रस्ताव पारित भयो । ‘७ मेन्शेभिकहरू’ सँग अन्तिम फुट र बोल्शेभिकहरूको स्वतन्त्र समूहको गठनबारे सम्मेलनले पुनर्विचार गर्नुपर्ने थियो । पछि गएर यो पाइला आवश्यक र अनिवार्य हुने निश्चित थियो । तैपनि, यस्तो गम्भीर पाइला चाल्नुअघि धेरै कुरामा ध्यान पु¥याउन जरुरी थियो । यसमा जनताको प्रतिक्रिया के होला ? के (मेन्शेभिक) विघटनकारीहरूसँगको एकताले मजदुर हितमा क्षति मात्र पुग्ने कुरा जनताले बुझ्लान् ? के उनीहरू पार्टीका दुवै खेमाले कालासयविरुद्ध मिलेर काम गर्नुपर्छ भन्दैनन् त ? प्रहरीको कठोर सेन्सर र खोजतलासले गर्दा यी प्रश्नमा जनतालाई सचेत पार्ने गरी व्यापक अभियान चलाउन असम्भव थियो । यस्तो परिस्थितिमा फुटको विषय झन् पेचिलो बन्न पुग्यो । हाम्रा पत्रपत्रिकाले कोदालोलाई कोदालो भन्न पाउँदैनथे । बोल्शेभिकहरूका तीन मूल नारालाई समेत उस्तै अर्थ दिने अर्कै शब्दले छोपेर लेख्नुपथ्र्यो । दुई खेमातिर नलागेका धेरै जनतालाई हाम्रो पक्षमा ल्याउने गरी फुटको प्रक्रिया अघि बढाउनु आवश्यक थियो । वर्गसचेत मजदुर तथा हाम्रो आफ्नै खेमाका सदस्यले यो प्रक्रियालाई यसरी नै बुझ्न जरुरी थियो । विघटनकारी भासमा नगढिसकेका सबैलाई आफूतिर तान्दै मेन्शेभिकहरूसँग भिड्ने अभिभारा हाम्रो थियो ।
यी यावत् विषयमा विचार गरेपछि पोरोनिनो सम्मेलनबाट ‘७ मेन्शेभिकहरू’ लाई चेतावनी दिन केही कदम लिन आवश्यक थियो । यसको लागि समूहका दुवै खेमालाई बराबरी अधिकारको माग राख्नुपर्ने तय भयो । यो मागलाई अस्वीकार गरेपछि ‘७ मेन्शेभिक’ सँग छुट्टिएर अलग्गै समूह बनाउने योजना बन्यो । यसलाई सम्मेलनको दस्ताबेजमा यसरी उल्लेख गरियो ः
“सामाजिक जनवादी संसदीय समूहको एकता सम्भव र आवश्यक रहेको यो सम्मेलनको ठहर छ । तर, ‘७ मेन्शेभिकहरू’ को रवैयाले यो एकतालाई खतरामा पार्दै छ ।
‘७ मेन्शेभिक’ ले कथित बहुमतलाई अंकुशे बनाएर रुसी मजदुरको ठुलो बहुमतलाई प्रतिनिधित्व गर्ने ६ मजदुर सांसद्को काममा भाँजो हाल्दै आएका छन् । मजदुरहरूको वास्तविक हितसँग सम्बन्धित धेरै मुद्दामा उनीहरूले यसरी नै भाँजो हाले । सामाजिक जनवादी समूहको तर्फबाट दुईभन्दा बढी वक्ताले बोल्ने मौका पाउँदा उनीहरूले मजदुर सांसदलाई बोल्न दिएनन् ।
‘७ मेन्शेभिक’ ले सदनका (बजेटलगायत) आयोगमा दुई सीट पाउँदा पनि ‘६ बोल्शेभिक’ लाई कुनै सीट दिएनन् ।
मजदुर आन्दोलनका लागि महत्वपूर्ण ठहरिएका निकायमा समूहको तर्फबाट प्रतिनिधि राख्ने बेला ७ सांसदले ६ सांसदलाई प्रतिनिधि बन्नबाट वञ्चित गरे । समूहका पदाधिकारीहरू एकतर्फी तरिकाले निर्वाचित भएका छन् । जस्तोः समूहको सहसचिव बनाउनुपर्ने माग उनीहरूले अस्वीकार गरे ।
यो सम्मेलन ७ सांसदहरूको यस्तो व्यवहारले समूहको क्रियाशीलतामा बाधा उत्पन्न हुने र यो सिलसिला फुटमा गएर टुङ्गिने ठहर गर्दछ ।
७ सांसदहरूका यसप्रकारका गतिविधिको यो सम्मेलन जोडदार भत्र्सना गर्दछ । ६ सांसदहरूले रुसका बहुसङ्ख्यक मजदुरको प्रतिनिधित्व गर्छन् र आफ्नो सङ्गठित अग्रदस्ताको राजनीतिक लाइनअनुरूप व्यवहार गर्छन् ।
यसकारण, (संसदीय) समूहका दुई खेमाबिच पूर्ण समानता हुनुपर्ने यो सम्मेलनको ठहर छ । ‘७ मेन्शेभिक’ ले ‘६ बोल्शेभिक’ को मुख थुन्ने नीति त्यागे मात्र सदनको सामाजिक जनवादी समूहको एकता सम्भव हुनेछ ।
यो परस्परविरोधी बेमेल सदनमा मात्र छैन । तथापि, यो सम्मेलन दुई खेमाबिच समान हैसियतको आधारमा मात्र समूहको एकता कायम रहन सक्ने तथ्यमाथि जोड दिन्छ ।
यो सम्मेलन सम्पूर्ण वर्गसचेत मजदुरहरूलाई यो महत्वपूर्ण मुद्दामा आआफ्नो धारणा राख्न आग्रह गर्दछ । साथै, ६ मजदुर सांसदहरूलाई समान अधिकारका दिलाएर समूहको एकता जोगाउनमा आफ्नो सारा उत्साह लगाइदिनुहुन अनुरोध गर्दछ ।”
यो समाधान अघि सारेर हाम्रो पार्टीले औपचारिक फुट हुँदा मेन्शेभिकहरूले पु¥याउन सक्ने क्षतिले सकेसम्म कम गर्ने अन्तिम प्रयास ग¥यो । तर, समूहलाई समान अधिकारयुक्त दुई खेमामा बाँड्दा पहिले नै ‘६ बोल्शेभिक’ र ‘७ मेन्शेभिक’ भन्ने प्रस्ट रेखा कोरिसकेको थियो । औपचारिक फुट नहुँदा पनि हाम्रा संसदीय क्रियाकलाप पार्टी निर्णयका आधारमा भइरहेका थिए ।
पोरोनिनो छोड्नुअघि हामी मजदुर सांसदहरू केन्द्रीय समितिको बैठकमा सहभागी भयौँ । बैठकमा मेन्शेभिकहरूका सम्बन्धमा ‘६ बोल्शेभिक’ हरूले चाल्नुपर्ने व्यवहार पाइलाबारे छलफल भयो । हामीले विविध माग राख्नुपर्ने तय भयो । (संसदीय) समूहको सहसचिव पद हामीलाई दिनुपर्ने माग राख्ने, बजेट आयोगमा बाल्शेभिक सदस्यलाई पनि मनोनयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय समाजवादी ब्युरोमा नयाँ प्रतिनिधिहरू नियुक्त गर्नुपर्ने, समूहको तर्फबाट बराबर सङ्ख्यामा बोल्शेभिक र मेन्शेभिक वक्ता चुन्नुपर्नेलगायत माग राख्नुपर्ने टुङ्गो लाग्यो । यी मागबारे एउटा पत्रको खाका तुरुन्तै तयार भयो । ‘७ मेन्शेभिक’ ले अस्वीकार गरेको स्थितिमा हामी बोल्शेभिकहरू समूहबाट अलग्गिने र जनतालाई सत्यतथ्य बताउनुपर्ने समझदारी बन्यो ।
पाठ ८
फुट
मेन्शेभिकहरूलाई हाम्रो चेतावनी । फुट । फुटप्रति मजदुरहरूको धारणा । पार्टी सङ्गठनमा फुटको प्रतिध्वनि । ‘७ मेन्शेभिक’ विरुद्ध प्लेखानोभ । पार्टीमा फुटको प्रभाव ।
पोरोनिनोबाट फर्केपछि ६ बोल्शेभिक सांसदहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा छरिए । स्थानीय पार्टी सङ्गठनमा सम्मेलनको सन्देश पु¥याउन र सङ्गठनको सवालमा सम्मेलनले गरेको निर्णय कार्यान्वयन गराउन यो भ्रमण आवश्यक थियो । केन्द्रीय समितिको आग्रहमा म ब्रेयान्स्कको बेजेत्ज्क कारखाना गएँ । त्यहाँ हाम्रो बलियो सङ्गठन थियो । संसद्मा छँदासम्म म त्यो कारखानाका मजदुरसँग लगातार सम्पर्कमा रहेँ ।
अक्टोबर १५ गते सदनको शरद् सत्र सुरु हुन्थ्यो । त्यसैले समयमै सेन्ट पिटर्सबर्ग फर्किएँ । भोलिपल्ट सामाजिक जनवादी समूहको पहिलो बैठक बस्यो । त्यहाँ हामीले एकाएक विशेष घोषणा ग¥यौँ । पार्टीको विशेष अडानबारे छोटकरीमा बताएपछि हामीले संसदीय समूहमा दुवै खेमालाई बराबरीको व्यवहार गर्नुपर्ने माग राख्यौँ । हामीले भन्यौँ, “हामीलाई तुरुन्तै जवाफ दिनुपर्छ । अस्वीकार गरे हामीले सो समूह परित्याग गर्नेछौँ ।”
चखाइद्जेले हाम्रो मागका सम्बन्धमा छलफलै गर्न चाहेनन् । उनले प्रश्न तेस्र्याए, “के यो बैठक ६ सांसदको घोषणाबारे छलफल गर्न चाहन्छ ?” आफ्नो खेमाको बहुमत हुनाले उनी त्यो प्रश्नबारे नै मतदान गर्न खोजे ।
हामीले त्यो कर्मकाण्डी प्रक्रियामा विरोध जनायौँ । जवाफमा ७ मेन्शेभिकहरू समूहका अध्यक्षको बचाउमा एकजुट भए । उनीहरूले बैठकमा सुरुमा समसामयिक विषयमा छलफल गर्नुपर्ने र पछि मात्र ‘६ सांसद’ ले पठाएको मुद्दामा विचार गर्न सकिने बताए । हामीले जवाफ नपाउँदासम्म एक समूहका रूपमा काम नगर्ने बतायौँ र एकमुष्ट सबैजना बैठकबाट बाहिरियौँ ।
हाम्रो अडानले मेन्शेभिकहरू हच्के । सुरुमा त उनीहरू के कसो गर्ने होला भनेर अल्मलिए । पछि उनीहरूले सोच्ने समय मागे र हाम्रो घोषणालाई लिखितम दिनुप¥यो भने । हप्तादिनभित्र हाम्रो मागको विषयमा जवाफ दिने वाचा पनि गरे । यसबिच समूहको कामकारबाहीमा भाग लिइरहन भने । भोलिपल्ट हामीले उनीहरूलाई निम्न घोषणा थमायौँ ः
“सदनमा एक वर्ष साझा काम गर्ने क्रममा तपाईँ सात सामाजिक जनवादी सांसद र हामीबिच धेरै खटपट र विवाद उत्पन्न भएको छ । बेलाबेला प्रेसमा खुला वादविवाद चल्यो । गत जून महिनामा संसद्को सत्र टुङ्गिने बेला धेरै सांसदहरू बाहिर रहेको बेला तपाईँहरूले गर्नुभएका पछिल्ला निर्णयहरूका कारण यथास्थितिमा यो सम्बन्ध अघि बढाउन असम्भव हुन गएको छ । पछिल्ला निर्णय भन्नाले तपाईँ सात जनाले बैठक बसेर ‘६ बोल्शेभिक’ हरूलाई बजेट आयोगका दुईमध्ये एउटा सीट दिन अस्वीकार गर्नुभयो । यो निर्णयले हामीलाई एउटा महत्वपूर्ण निकायमा प्रतिनिधित्व गर्नबाट रोक्यो ।
तपाईँहरूले सदनमा हामीले पाउने दुई मौकामध्ये एउटामा पनि मजदुर सांसदलाई बोल्न दिनुभएन । पटकपटक तपाईँले यसो गर्दै आउनुभएको छ । यो निर्णय पनि हामीलाई सह्य छैन ।
Leave a Reply