भर्खरै :

सरकारले सहकारी ठगहरूलाई कारबाही गरेर हतोत्साही गर्नुपर्ने

सरकारले सहकारी ठगहरूलाई कारबाही गरेर हतोत्साही गर्नुपर्ने

सरकारले ठग, भ्रष्टाचारी, कमिसनखोर, अपराधी, जालीफटाहा, कालाबजारी, बिचौलिया र सार्वजनिक जग्गा निजी बनाउनेहरूको पक्षपोषण गरेको कारण सरकार या शासक दलका नेताहरूप्रति जनताको अविश्वास र विरोध बढेको हो । टोल–टोल र बस्ती बस्तीमा विस्तार भएको सहकारी संस्थामा सहकारी सञ्चालक या प्रबन्धकहरूले ठगेको जानकारी सतहमा आएपछि सहकारी ठगहरूमाथि कारबाही गर्न सहकारीकर्मीहरू सडकमा उत्रेका थिए । उनीहरूले सरकारको ध्यानाकर्षण गरेका थिए । सहकारीपीडितहरूको धर्ना, जुलुस, विरोध प्रदर्शन भए पनि सरकारले सहकारी ठगमाथि कारबाही गरेन, कारबाहीको प्रक्रिया अघि बढाएन । सरकारले सहकारी ठगहरूलाई कारबाही गरेर हतोत्साही गर्नुपर्नेमा समुदायमा आधारित सङ्घ संस्था डुबाउने र बन्द गर्ने खेल खेल्यो ।
सहकारीकर्मीहरूको करोडौँ रकम ठगीमा सत्तारुढ दल नेका र एमालेकै नेता तथा कार्यकर्ताहरू थिए । नेकाका धनराज गुरुङ मितेरी सहकारी प्रकरणमा फसेका व्यक्ति हुन् । एमाले पार्टीसित आबद्ध इच्छाराज तामाङ सिभिल सहकारी प्रकरणमा मुछेका व्यक्ति हुन् । सहकारी ठगीमा यी नेताहरू प्रतिनिधि पात्र हुन् । अरु सयौँ हजारौँ सहकारी संस्थामा ठग्नेमा विशेषतः नेका, एमाले र माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरू नै संलग्न रहेका छन् । सहकारी पीडितहरूले अहिलेसम्म पनि सहकारी संस्थामा राखेको बचत फिर्ता पाएका छैनन् । सर्वसाधारण जनताले राखेको बचत फिर्ता पाएका छैनन् । सर्वसाधारण जनताले खाइनखाइ सहकारीमा राखेको रकम सरकारको आडमा ठगहरूलाई काखी च्यापेर राखेपछि ठग र भ्रष्टाचारीहरू कसरी हतोत्साही हुन्छन् ?
सहकारीलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी वृद्धि गर्न र गरिबी निवारण गर्न खोलिएका सहकारी संस्थाहरू ठगी खाने भाँडो बन्न थालेका छन् । सहकारी ठग्ने अपराधीहरूको कारण इमानदारीपूर्वक सञ्चालनमा रहेका समुदायमा आधारित सहकारी सदस्यहरूले शङ्का व्यक्त गर्न थालेका छन् । सहकारीको मूल्य र मान्यतामा नरहेका, आर्थिक पारदर्शी नगर्ने, साधारणसभा नबोलाउने, सहकारीमा जम्मा भएको पैसा सञ्चालकहरूले मात्र प्रयोग गर्ने गलत मनसायले सञ्चालन गरेका सहकारी संस्थाहरू समस्यामा परेका हुन् । सरकारले निहित स्वार्थ वश सहकारी सञ्चालन गरेका संीथा या सञ्चालनहरु मात्र कारबाहीको घेरामा ल्याउनुपर्ने हो । गलत मनसाय रहेका व्यक्तिहरूको दोष सबै सहकारी संस्थामा खन्याउने काम उचित होइन ।
सहकारी ठगहरू सुरक्षित हुन श्रीमतीसँग पारपाचुके गर्ने बनावटी खेल पनि खेल्न थालेको छ । सहकारी सञ्चालकले बचतकर्तालाई बढी ब्याजको प्रलोभन देखाउने, धोका दिएर बेथिति निम्त्याउने काम गरेको देखिन्छ । धेरै ब्याजदरको लोभ देखाएर धेरै भन्दा धेरै रकम सङ्कलन गर्ने र धेरै रकम सङ्कलन भएपछि सञ्चालकहरू भागेको देखिन्छ । यसरी रकम लिएर भागेका ठग सञ्चालकहरूलाई समातेर उनीहरूको सम्पत्ति सबै कब्जा गरेर सहकारी पीडितहरूको रकम फिर्ता गर्नुपर्ने हो । तर, सरकारले गरेको देखिँदैन । सहकारी ठगहरू किन कारबाहीमा पर्दैनन् ? सहकारी पीडितहरूको बचत रकम फिर्ता दिलाउने काममा सरकारले पाइला चाल्नु पर्दैन ? सरकारी दलका नेता, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू भ्रष्टाचार र अनियमिततामा फसेकै कारण कारबाहीको प्रक्रिया अघि नबढाएको सहकारी पीडितहरूको भनाइ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *