जारशाही संसद्मा बोल्शेभिक सांसद – ३९
- मंसिर २७, २०८२

नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष भएको छ । सन् १९५५ अगस्त १ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यद्यपि, चीन र नेपालबिचको सम्बन्ध प्रागैतिहासिक कालदेखि नै रहँदै आएको छ ।
हिमाल, पहाड तथा नदी नालाले जोडिएको चीन र नेपालबिच सांस्कृतिक, धार्मिक र आर्थिक घनिष्ठता प्राचीन कालदेखि नै हो । प्राचीन समयमा दुई देशबिच जनस्तरमा भएको आदानप्रदानलाई हेर्ने हो भने हामी चौथो शताब्दीमा फर्कनुपर्ने हुन्छ ।
भिक्षु फास्येन बुद्ध धर्म र सो सम्बन्धित पुस्तक र विचारहरूको सङ्कलन तथा अध्ययनका लागि नेपाल आएका थिए । सोही समयमा नेपालबाट बुद्धभद्र चीनमा बुद्ध धर्म अनुवाद तथा प्रसार गर्न पुगेका थिए । यसरी शाक्यमुनि गौतम बुद्ध र उनका अर्ती उपदेश आजभन्दा दुई हजार वर्षअघि नेपाल र चीनलाई जोड्ने एक कडी बनेको थियो । बुद्धको पञ्चशील सिद्धान्तलाई दुवै देशले आफ्नो कूटनीतिक संहिताका रूपमा लिएको छ ।
चीनका विभिन्न स्थानमा अवस्थित मन्दिरहरूमा बुद्धका अस्थिधातुहरू पनि छन् । बौद्ध अभिलेखअनुसार सम्राट् अशोकले बुद्धका अस्थि सङ्कलन गरी ८४ हजार भागमा बाँडेका थिए । ती प्रत्येकलाई प्यागोडा आकारको मन्दिरमा भण्डारण गरेका थिए । त्यसपछि उनले ती पवित्र अवशेष संसारका विभिन्न भागमा पठाएका थिए । तीमध्ये १९ वटा चीनमा रहेको अनुमान छ ।
गौतम बुद्धका १९ अस्थि अवशेषहरूलाई ६ स्थानमा वितरण गरिएको देखिन्छ । एक चिनियाँ अनलाइनअनुसार पेइचिङको लिङक्वाङ मन्दिर, युञ्च्यु मन्दिर, पल्लो सान्सीको फामन मन्दिर, च्याङसुको कान्लु मन्दिर, चच्याङको सम्राट अशोक मन्दिर र लाइफङ प्यागोडामा बुद्धका अस्थिधातु छन् । ल्याउनिङ प्रान्तको छाओयाङ सहरमा अवस्थित मन्दिरमा पनि बुद्धको अस्थिधातु छ ।
पेइचिङको पाताचु (आठ मन्दिर क्षेत्र) भित्रको लिङक्वाङ मन्दिरमा बुद्ध जयन्तीको अवसरमा अस्थिधातुहरू महिना दिनसम्म नै श्रद्धालुले दर्शन गर्न पनि सक्छन् । पेइचिङस्थित नेसनल बोटानिकल गार्डेनभित्र ७०० वर्षअघि स्थापित बुद्धको निर्वाण अवस्थाको विशाल मूर्ति सँगसँगै बुद्धको सचित्र जीवन कथा पनि हेर्न पाइन्छ ।![]()
काठमाडौँ सहर गल्लीमा र नेपालका केही मठमन्दिरमा बुद्धलगायत विभिन्न देवीदेवताका सचित्र कथा हेरेका नयनलाई पेइचिङमा पनि सचित्र बुद्ध जीवनी हेर्न पाउँदा थप उत्साहित बनाउनेछ । त्यसरी उत्साहित र गौरवान्वित बनाइने नेपाली तत्व पेइचिङमा यत्रतत्र पाइन्छ ।
विदितै छ, बुद्ध र बुद्ध धर्मबाहेक नेपाली कला पनि प्राचीनतम् समयदेखि चीन भित्रिएको छ । अरनिकोलगायत अन्य धेरै गुमनाम कलाकार, भिक्षुदेखि साधारण नेपाली र चिनियाँ भिक्षु र बौद्ध विद्वान् तथा यात्रीहरूले बौद्ध धर्मसँगै नेपाली लिपि, कलाहरू चीन भित्याएका थिए ।
पेइचिङमा अवस्थित लामा मन्दिरमा नेपालबाट ल्याएको एउटै रूखको काठमा मैत्रेय बुद्ध कुँदिएको देख्न पाइन्छ । त्यो मूर्तिसहित मन्दिर निर्माणमा पनि नेपाली कालिगढको हात रहेको अनुमान लगाउन सजिलो हुन्छ । जताजता बौद्ध मन्दिरहरू छन्, प्यागोडा छन्, टावर छन्, त्यता त्यता नेपालको लिपि पनि देख्न पाइन्छ ।
यहाँ तिब्बती सहरहरूको चर्चा गरिरहनु परेन, चीनको पूर्वमा अवस्थित चच्याङ प्रान्तको समुदी सहर छ्वानचौ, साङहाई सहरलगायत धेरै सहरमा अवस्थित मन्दिर र टावरहरूमा समेत ठुलठुला अक्षरमा रञ्जना लिपिबद्ध ‘फ् मणि पद्मे हुँ’ लेखिएको देख्न पाइन्छ ।
यसैगरी पेइचिङस्थित चुयोङक्वान ग्रेटवाल क्षेत्रमा रञ्जना लिपिबद्ध द्वार छ । चुयोङक्वान ग्रेटवाल प्रवेश गर्ने क्रममा त्यहाँ रञ्जना लिपिसहित विभिन्न अरू भाषा र लिपिमा श्लोकहरू कुँदिएका छन् । यो १६ औँ शताब्दीको कुरा हो । योभन्दा अघिको एउटा यस्तो वास्तुकला विशाल सहर पेइचिङमा अवस्थित छ कि यसले हरेक नेपालीको शिर ठाडो बनाएको छ ।
त्यो के हो ? हामी सबैलाई थाहा छ, अरनिको र उनको वास्तुकला, श्वेतचैत्य । पाइथास, ह्वाइट पेगोडा भनेर चिनिने यो भव्य, सानदार र विशाल श्वेतचैत्य सन् १२७१ मा निर्माण थालेर १२७९ मा पूरा भएको उल्लेख छ ।
यो गगनचुम्बी श्वेतचैत्य नेपाल र चीनको सांस्कृतिक आदानप्रदानको ऐतिहासिक साक्षीका रूपमा रहेको छ । यसको बनावट, ढाँचा यति गजबको छ कि हेर्ने मानिस अवाक् हुन्छन् । उहिले विहारसमेत रहेको यो ठाउँ आज सङ्ग्रहालयको रूपमा संरक्षित छ । नेपाल र चीनबिच कूटनीतिक, सांस्कृतिक तथा जनस्तरीय आदानप्रदानको सम्बन्धका रूपमा उभिएको छ ।
यो श्वेतचैत्यले हरेक नेपालीलाई काठमाडौँ पु¥याउँछ भने मन्दिर परिसरमा ठड्याइएको लिङ्गोले इन्द्रचोक र वसन्तपुरको पर्वमय वातावरणको झझल्को दिन्छ ।
यसरी राजधानी सहर पेइचिङलगायत विभिन्न चिनियाँ सहरमा बुद्ध धर्मसँग सम्बन्धित वस्तु, नेपाली कला र मूर्ति तथा रञ्जना लिपिकृत भौतिक संरचना देख्न पाइन्छ, जसले चिनियाँ तथा विदेशीलाई नेपाल चिनाइरहेको छ ।![]()
कलाकार अरनिकोले त युआन राजवंशकालमा आफ्नो जीवनको ४५ वर्ष नेपाली कला, संस्कृतिको प्रसारमा समर्पित गरेका थिए । चीनमै अन्तिम सास फेरेका उनले अरू पनि विभिन्न कलावस्तुको सिर्जना गर्नुका साथै आफूले जानेका सीपहरू धेरै चिनियाँलाई सिकाएका थिए । उनको वंश र सीप जानेका चेला पुस्ता पनि चीनमा भेट्न सकिने सम्भावना व्याप्त छ ।
श्वेतचैत्यबाहेक अरनिकोद्वारा वूथाइसानमा निर्मित चैत्य पनि निकै प्रसिद्ध छ । यसबाट पनि उनको सीप चीनभरि प्रसार भएको बुझ्न सकिन्छ ।
यो वूथाइसान मञ्जुश्रीको वासस्थान हो । लोक कथनअनुसार, उनै मञ्जुश्रीले आफ्नो खड्गले चोभारको डाँडा काटी काठमाडौँमा बस्ती बसाउन सहयोग गरेका थिए । यसरी किंवदन्तीदेखि ऐतिहासिक पात्रले नेपाल र चीनबिचको सम्बन्धलाई कसिलो बनाउँदै आएको देखिन्छ । अर्का भिक्षु सुवान चाङ पनि नेपाल पुगेका थिए । यसरी अध्ययन, अनुसन्धान र खोजका लागि नेपाल पुग्ने र नेपाली सीप र कलालाई चीन भित्याउने परम्परा अघिदेखि रहँदै आएको छ ।
आजको यो आधुनिक युगमा पनि यो क्रम जारी छ । वर्तमानमा, चिनियाँ पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ । चिनियाँ उद्यमीहरू पूर्वाधार निर्माण र लगानीका लागि नेपाल जाने गरेका छन् । नेपाली भाषा, संस्कृतिलगायतका विषयको अध्ययनका लागि पनि चिनियाँहरू नेपाल जाने गरेका छन् ।
यसैगरी नेपाली व्यापारी र विद्यार्थीहरू पनि चीन आउने क्रम निरन्तर बढिरहेको छ । चीनले आयोजना गर्ने विभिन्न एक्स्पोमा नेपाली व्यापारीहरू पुग्ने गरेका छन् । ती एक्स्पोमा भेट्ने नेपाली र सँगै नेपाली वस्तुले पनि एकपटक घरनजिक पु¥याउन सहयोग गर्दछ । यसरी नेपाली तत्व र नेपाली पेइचिङलगायतका सहरमा पाइने अर्को ठाउँ भनेको विश्वविद्यालय हो ।
चीन सरकारले उपलब्ध गराउने छात्रवृत्ति वा स्वखर्चमा चीन आएर अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । चीनमा अनुमानित ६ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । चिनियाँ सहरमा नेपाल, नेपाली र नेपाली तत्व देख्न दुर्लभ छैन । दुर्लभ छ त अझै पनि नेपाली खानेकुराको सुलभता ।
थाओपाओ, चिनतोङलगायतका अनलाइनमा छिटफुट रूपमा नेपाली वस्तु नपाइने होइन । तापनि अब विश्वको एक केन्द्र पेइचिङ, जुन काठमाडौँदेखि हवाईमार्गबाट पाँच घण्टाको दूरीमा छ, यहाँ नेपाली उत्पादन वस्तु पु¥याउनुपर्ने हो । सुलभ रूपमा पाउनुपर्ने पनि हो । खाना त आँखा, जिब्रो, पेट हुँदै मुटुमा छाप छोड्ने कुरा हो । नेपालका विभिन्न जातजातिका खाद्यपरिकारसहितको रेस्टुराँहरूको विस्तार हुनुपर्ने हो । यसो भन्दै गर्दा खाद्य स्तरको मापदण्ड र सेवा त्यही अनुरूप दिन सक्नु पनि पर्छ ।
सभ्यता आदानप्रदानको क्रममा नेपालमा चिनियाँ छुनच्ये, ड्रयागनबोट पर्व मनाए जसरी पाइथासलगायत पायक ठाउँमा नेपाली चाडपर्व र जात्राहरूको पनि प्रदर्शन गर्नसकिन्छ । यस्ता कुराले दुई देशबिचको सम्बन्ध जनस्तरबाटै अघि बढाउन ठुलो सहयोग मिल्नेछ । यसो भएमा, पेइचिङलगायत चिनियाँ सहरमा यत्रतत्र नेपाली तत्व देख्न अझै सहज हुनेछ ।
नेपाल र चीनले शैक्षिक, सांस्कृतिक र पर्यटन आदानप्रदानमा विस्तार गर्दै गर्दा नेपालले चीनका नवीन प्रविधिहरू भित्याउने र चीनद्वारा प्रतिपादित विभिन्न अवधारणा र पहलहरूलाई स्वीकार्नु र पहिल्याउनु दुई देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध उकास्ने महत्वपूर्ण कडीहरू हुन् ।
बीआरआई, मानव जातिको साझा भविष्यको समुदाय, वैश्विक सभ्यता पहल, वैश्विक विकास पहलहरू कुनै पनि देशको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण छन् । जुन पहलहरूमा नेपालको साझेदारी पनि छ । आशा छ, नेपाल र चीनले सम्बन्धलाई अझै नजिक र कसिलो बनाउँदै भौगोलिक अवरोध र चुनौतीहरू पार गर्नेछन् ।
– ‘सीआरआई’ बाट
Leave a Reply