जारशाही संसद्मा बोल्शेभिक सांसद – ३९
- मंसिर २७, २०८२

तिनताक मजदुरवर्गको ठुलो जिम्मेवारी हाम्रो काँधमा थियो । हामी त्यो जिम्मेवारीको भार महसुस गथ्र्यौँ । हाम्रो अपिलमा मजदुरहरूले के भन्ने होलान् भनी हामी बडो व्याकुल भएर हेरिराख्यौँ । बहुमत मजदुरहरू हाम्रो पक्षमा आउने हामीलाई थाहा थियो । तैपनि, तिनको समर्थन कस्तो र कुन हदसम्मको हुने हो भन्ने कुरा किटेर भन्ने अवस्था थिएन । समग्र पार्टी संरचना ‘६ बोल्शेभिकहरू’ को पक्षमा प्रचारप्रसारमा जुट्यो ।
मजदुरहरूको राय के होला भन्ने प्रश्न अब सेन्ट पिटर्सबर्गका सर्वहारा जनताको प्रतिक्रिया कति जोडदार होला त भन्नेमा अडियो । यसकारण, बोल्शेभिक र मेन्शेभिक दुवैले आफ्नो सारा ध्यान सेन्ट पिटर्सबर्गका मजदुरहरूलाई आफूतिर तान्नमा लगाए । प्रत्येक कलकारखाना र एकएक ज्यासलमा संसदीय समूहमा आएको फुट नै विवाद र छलफलको जल्दोबल्दो विषय बन्यो । बोल्शेभिकहरूले किन समूह छोडे भनी प्रस्ट पार्न हामी ‘६ सांसद’ लाई लगातार बैठकहरूमा बोलावट भयो । सेन्ट पिटर्सबर्गबाट फैलिएको प्रचार अभियान देशैभरि पुग्यो । मजदुर सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा चिठीपत्र, अपिलपर्चा आदि पठाए । जवाफमा मजदुरहरूले बोल्शेभिकहरूलाई समर्थन पठाए । समर्थनमा आफ्ना निर्णय, सङ्कल्प, अभिवादन र वचनबद्धताको लस्कर लगाइदिए ।
प्रचार अभियान झन्झन् फैलिँदै गयो । यसले देशका तमाम मजदुरहरूको समर्थन बटुल्दै गयो । सुरुमा फुटको बहसमा पार्टीका गोप्य केन्द्रका सीमित मान्छेबिच छलफल चल्यो । पछि यो बहस ट्रेड युनियनका विभिन्न शाखा तथा कानुनी मजदुर सङ्गठनहरूमा पुग्यो । अन्त्यमा यो बहस समस्त मजदुरवर्गको चासोको विषय बन्न पुग्यो ।
विभिन्न कठिनाइ छिचोल्दै हामी ‘६ सांसद’ कहाँ आइपुग्ने मजदुरहरूका निर्णय र सङ्कल्पहरूमा मजदुरहरूको वास्तविक नाम हुन्थ्यो । यसरी हस्ताक्षर गरेको थाहा पाए प्रहरीले पक्राउ गर्न वा निर्वासनमा पठाउन सक्थ्यो । कारखानाबाट निकालिनुपर्ने त पक्का थियो । तर, हस्ताक्षर गनेर कति मजदुर हाम्रो पक्षमा आए भनी भेउ पाउन मुस्किल थियो । कतिपय स्थितिमा लाखौँ मजदुरहरूको तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्थे । तैपनि, हामीले पाएका हस्ताक्षर र सङ्कल्प मेन्शेभिकहरूले पाएको दाँजोमा निकै धेरै थियो । निश्चय पनि पार्टी संयन्त्र र विघटनकारी प्रेसको मद्दतले ‘७ सांसदहरू’ ले हामीविरुद्ध अभियान चलाएका थिए । तर, फुटको केही दिनभित्रै उनीहरूको अवस्था खस्किँदै गएको प्रस्ट देखियो ।
नोभेम्बर १ सम्ममा अर्थात् फुटको दुई हप्ताभित्र ‘प्राभ्दा’ र हाम्रो समूहले समर्थनमा ५ हजार हस्ताक्षर भएका ८० भन्दा बढी सङ्कल्प प्रस्ताव प्राप्त ग¥यो । सोही अवधिमा मेन्शेभिकहरूले जम्मा ३५ सय हस्ताक्षर जम्मा गर्न सके । यो अनुपात खस्किँदै गयो किनभने पहिलो हप्तामै मेन्शेभिकहरू एकदम गलिसकेका थिए । यसरी मेन्शेभिकहरूले पाउने समर्थन दिनदिनै घट्न थाल्यो । तर, हामी ‘६ सांसद’ ले पाउने समर्थन प्रतिदिन बढिरह्यो । एक महिनाभित्र हाम्रो उछिनाइ एकदम साफ भयो । प्रान्तहरूबाट मेन्शेभिकहरूलाई समर्थन आउन ठप्पै भयो । तर, हाम्रो समर्थन बिस्तारै बढ्दो थियो ।
डिसेम्बर १ सम्ममा मेन्शेभिकहरूको दाँजोमा बोल्शेभिकहरूको समर्थन कम्तीमा साढे दुई गुणा बढी पुग्यो । यो समर्थन रुसका मजदुरहरूको थियो । मजदुर समूहहरूबाट प्राप्त भएको चन्दा पनि उल्लेख्य रह्यो । मेन्शेभिकहरूले एक हजार मजदुरबाट जम्मा १५० रुबलका दरले चन्दा सङ्कलन गर्न सके ।
संसदीय समूहमा फाटो र बोल्शेभिकहरूको स्वतन्त्र समूहको गठनले रुसी सामाजिक जनवादी पार्टीभित्र निकै महत्वपूर्ण छाप छोड्यो । सम्पूर्ण पार्टी सङ्गठन र समूहहरूले यस विषयमा कुनै न कुनै राय बनाए । पहिले एकताबद्ध रहेको पार्टीका दुई खेमामध्ये उनीहरू देखिने गरी एउटामा आबद्ध भए ।
हाम्रो समूहलाई कारागार र निर्वासनमा रहेका कामरेडहरूले पनि सामूहिकरूपमा धेरै चिठीपत्र पठाए । त्यसबेला हजारौँ क्रान्तिकारी मजदुरहरू तिनै स्थानमा थिए । स्थान र आन्दोलनका हिसाबले टाढा हुनाले सुरुमा ती सबै कामरेडले हाम्रो अडानलाई बुझ्न सकेनन् । कुनै एउटा पक्ष अलिकति खुकुलो बने एकता जोगाउन सम्भव हुनेछ भनेर धेरै सुझाव पनि दिए । खासगरी यो फुटले गर्दा अघिल्ला संसद्हरूमा सामाजिक जनवादी समूहका सांसद रहेका कामरेडहरूको मन दुखेको थियो । दोस्रो ड्युमाका पूर्वसांसदहरूको समूह साइबेरियामा निर्वासित थिए । उनीहरूले समूहको एकता कायम गर्नका लागि कुनै न कुै जुक्ति निकाल्न हामीलाई तार पठाए । तर, समय आएपछि अरू क्रान्तिकारी माक्र्सवादीजस्तै उनीहरूले पनि मेन्शेभिकहरूसँग अलग्गिनु ऐतिहासिक हिसाबले अनिवार्य रहेको बुझे । क्रान्तिकारी सङ्घर्षलाई सफल बनाउनका लागि त्यो फुट अनिवार्यमात्र होइन, आवश्यक पनि रहेको उनीहरूले बुझे ।
विदेशमा रहेका केही सामाजिक जनवादी समूहले पनि समूहमा आएको फुटको प्रकृति र अर्थ पहिल्याउन सकेनन् । उनीहरू दुवै खेमामाथि उडिरहेको र कहिले बोल्शेभिक त कहिले मेन्शेभिकको पक्ष लिइरहेको बुझियो । निर्वासित सामाजिक जनवादीहरूको एउटा समूहमध्ये सबैभन्दा ठुलो थियो ‘भिपेरियोद’ (अगाडि) । यो समूहले यो फुट ‘बहुमत पार्टी सदस्यहरूको समर्थन प्राप्त एउटै पार्टी केन्द्रको अभावका कारण भएको हो’ भन्यो । समूहले ‘६ सांसद’ को मागलाई न्यायपूर्ण भन्यो तर समग्र विवादलाई समूहभित्र आएको सानो साङ्गठनिक किचलोको रूपमा हे¥यो । यसकारण, ‘भिपेरियोद’ का सदस्यहरूले विभाजनको महत्व र यो विभाजन ल्याउने मूल मतभेदलाई देख्न सकेनन् ।
बोल्शेभिक र मेन्शेभिकहरूका नेतृत्वदायी समितिहरूले फुटको कारणबारे खुला र प्रस्ट भाषामा वक्तव्य जारी गरे ।
हाम्रो पार्टीको सेन्ट पिटर्सबर्ग समितिले निम्न प्रस्ताव अनुमोदन ग¥यो :
“हामी रुसी सामाजिक जनवादी मजदुर समूहमा रहेका ६ मजदुर सांसदहरूलाई न्यानो अभिवादन प्रेषित गर्दछौँ । उनीहरूले आफ्ना सम्पूर्ण गतिविधिमा माक्र्सवादी सङ्गठनको नीतिनिर्देशन पालन गरिरहे र सामाजिक जनवादका पुराना कार्यक्रम र कार्यनीतिप्रति उनीहरू सदैव इमानदार रहे । तथाकथित सकारात्मक गतिविधिका लागि मरिहत्ते नगरी उनीहरूले सदनको मञ्चबाट सर्वहारा जनताका मूलभूत नारा बुलन्द पारेका छन् ।”
‘७ मेन्शेभिकहरू’ समक्ष ‘६ बोल्शेभिकहरू’ ले राखेका मूलभूत विचारबारे चर्चा गरेपछि प्रस्ताव यसरी टुङ्गियो, “हामी ७ सांसदहरूको घोर निन्दा गर्दछौँ र उनीहरूलाई ‘सामाजिक जनवादी समूह’ भन्ने कुनै अधिकार नभएको मान्दछौँ । उनीहरू मजदुरहरूको प्रतिनिधि बन्न लायक छैनन् । यसर्थ, एकता पुनःस्थापित गर्न तयार नभएसम्म र माक्र्सवादी सङ्गठन एवम् ‘६ बोल्शेभिकहरू’ को मार्गमा नआएसम्म उनीहरूले आफ्नो पदबाट राजीनामा दिनुपर्छ ।”
यो प्रस्ताव ‘प्रोलेतास्र्काया प्राभ्दा’ मा प्रकाशित भयो । सेन्सरलाई छल्नको लागि यसलाई ‘सेन्ट पिटर्सबर्गका माक्र्सवादीहरूको अगुवा संस्थाको प्रस्ताव’ भनियो । सोही कारणले ‘पार्टी’ लेख्नुपर्ने ठाउँमा ‘माक्र्सवादी सङ्गठन’ लेखियो । पत्रिकामा प्रकाशित अन्य प्रस्ताव र लेखमा पनि यही जुक्ति अपनाइन्थ्यो ।
सोही समयमा विघटनवादी ‘नोभाया राबोचाया गजेटा’ मा मेन्शेभिक समितिले जारी गरेको अपिल प्रकाशित भयो । त्यसले सेन्सरको आँखा छल्न आफूलाई ‘सन् १९१२ अगस्तमा एकीकृत भएको सामाजिक जनवादी मजदुरहरूको अगुवा संस्था’ लेख्यो । मेन्शेभिकहरूले हामीलाई ‘भगुवा’, ‘मजदुरहरूको निर्देशन उल्लङ्घन गर्नेहरू’, ‘लेनिनको वृत्तका समर्थक’, ‘फुटपारुवा’ आदि भने । उनीहरूलाई आफूहरू मजदुरहरूको खाँटी प्रतिनिधि हुनाले समर्थनका लागि अपिल गरे । उनीहरूको अपिलको परिणाम हामीले पहिल्यै देखिसकेका छौँ । मजदुरहरूबिच प्रचारप्रसारमा पछारिएर मेन्शेभिकहरूले हामी ‘६ सांसद’ माथि दबाब पार्ने अर्को यत्न गरे । विदेशी सामाजिक जनवादी पार्टीहरूमा रुसको भित्री अवस्थाबारे सूचनाको अभाव थियो । त्यसमाथि मेन्शेभिकहरूले अन्तर्राष्ट्रिय समाजवादी ब्युरो (दोस्रो इन्टरनेसनल) का बैठकहरूमा आफैले मनोनीत गरेका सदस्य पठाउँथे । यी दुवैको फाइदा उठाएर मेन्शेभिकहरूले ‘ब्युरो’ को अर्को बैठकमा यही विषय उठाउने निधो गरे । चखाइद्जे र स्कोबेलेभ लन्डन गए । डिसेम्बर १ को दिन त्यहाँ ‘ब्युरो’ को बैठक बस्दै थियो ।
प्लेखानोभको ओजिलो समर्थन हात पार्ने आसले चखाइद्जेले उनलाई लन्डन आउन निम्तो पठाए । त्यसबेला प्लेखानोभ इटलीमा बस्थे । चखाइद्जेले प्लेखानोभलाई ‘ब्युरो’ को बैठकमा (संसदीय समूहमा आएको) फुटबारे बोल्न डाकेका थिए । प्लेखानोभले लन्डन जान अस्वीकार गरे । यति मात्र होइन, उनले ‘६ बोल्शेभिकहरू’ को समर्थनमा अन्तर्राष्ट्रिय समाजवादी ब्युरोलाई पत्र लेखे । उनले विभाजनको खास दोषी मेन्शेभिकहरू भएको पनि उल्लेख गरे । साथै, प्लेखानोभले यो मुद्दाले सामाजिक जनवादी पार्टीको विभाजनलाई अन्तिम रूप दिएको हुनाले समग्र पार्टीको प्रतिनिधिको रूपमा आफूले ‘ब्युरो’ बाट राजीनामा दिने निर्णय गरेको लेखे । उनको पत्रको अंश यस्तो थियो :
“केही वर्ष यता रुसी सामाजिक जनवादी पार्टीभित्र भएको चलिरहेको मतभेदले अहिले हाम्रो संसदीय समूहलाई दुई प्रतिस्पर्धी समूहमा विभाजित गरेको छ । संयोगले बहुमत (६ विरुद्ध ७ मत) पाएका हाम्रा विघटनवादी कामरेडहरूले लिएका केही खेदजनक निर्णयका कारण यो विभाजन आएको हो । हाम्रो पार्टीको एकतामा एउटा निर्णायक बज्रपात परेको हुनाले समग्र पार्टीको तर्फबाट तपार्इँहरूबिच प्रतिनिधित्व गर्ने मसँग अब राजीनामा दिनुबाहेक अर्को विकल्प रहेन । यो पत्रमार्फत म राजीनामा दिन्छु ।”
७ सांसदविरुद्ध सङ्घर्षको क्रममा बोल्शेभिकहरूले नयाँ अडान लिए र मजदुरहरूबिच आफ्नो प्रभावलाई अझ फराकिलो र गहिरो बनाए । पार्टी कति पनि धर्मराएन बरु अझ सुदृढ र विजयी भएर निस्कियो । समूहमा आएको विभाजन र स्वतन्त्र बोल्शेभिक समूह गठनबारे हजारौँ मजदुरहरूले छलफल गरे । यस्तो विषयबारे व्यापक प्रचार हुनुको ठुलो साङ्गठनिक तथा राजनीतिक महत्व थियो । ‘६ सांसद’ को पक्षमा समर्थन अभियान चलेको हुनाले हाम्रो पार्टीको पक्षमा मजदुरहरूको लस्कर लाग्यो र हाम्रो पार्टीमा नयाँ जोसजाँगर भरियो । त्यतिञ्जेल पार्टी मतभेदको मूल कडी पहिल्याउन नसकेका धेरै क्रान्तिकारी मजदुरको झुकाव मेन्शेभिक विघटनकारीहरूतर्फ थियो । पछिल्लो बहसमा धेरै जानकारी पाएपछि ती मजदुरहरू बोल्शेभिक बने ।
विभाजनको प्रश्न मूलतः हाम्रो पार्टी सङ्गठनको निर्माण कसरी हुनुपर्छ भन्ने आम प्रश्न थियो । हामी ‘६ बोल्शेभिकहरू’ लाई समर्थन गरेर मजदुरहरूले त्यो बाटो निक्र्योल गरे । उनीहरूले रुसका सर्वहारा जनतालाई अन्तिम विजयतर्फ लैजाने मार्ग तय गरे ।
पाठ १४
बोल्शेभिक समूह
समूहको सुरुआती गतिविधि । ‘७ सांसद’ को विध्वंस । संसदीय गतिविधि पुनः सुरु । आठघण्टे विधेयक । मेन्शेभिक समूहको विघटन ।
‘६ सांसद’ समूह वास्तवमा सन् १९१३ को शरद् सत्रको पहिलो दिनदेखि नै स्वतन्त्र समूहको रूपमा अस्तित्वमा थियो । मेन्शेभिकहरूलाई हाम्रा माग बुझाएर संयुक्त रूपमा काम नगर्ने घोषणा गरेसँगै हाम्रो समूह अलग्गिएको थियो । त्यो दिनदेखि नै ‘६ सांसद’ र ‘७ सांसद’ ले अलग्गै बैठक बस्न थालेका थिए । सदनमा समूहको आधिकारिक वक्ता नियुक्त गर्ने विषयमा एकाध चोटि मात्र हामीले संयुक्त बैठक बसेका थियौँ । अक्टोबरको अन्त्यतिर हामीले आधिकारिक रूपमै स्वतन्त्र बोल्शेभिक समूह गठन भएको घोषणा ग¥यौँ ।
समूहको पहिलो बैठकमा पदाधिकारी चयन गरियो र सङ्गठनको स्वरूप टुङ्गो लगाइयो । मालिनोभ्स्की अध्यक्ष, पेत्रोभ्स्की उपाध्यक्ष, सामोइलोभ कोषाध्यक्ष र रोजमिरोभिच सचिवमा छनोट भए । ‘६ सांसद’ लाई ‘रुसी सामाजिक जनवादी मजदुर समूह’ नाउँ दिइयो । मेन्शेभिकहरूबाट समूहलाई अलग देखाउन ‘मजदुर’ शब्दमा बढी जोड दिइयो ।
बैठक बस्ने स्थान उपलब्ध नहुञ्जेल समूहले शपालेर्नाया सडकमा रहेको मेरो घरमै बैठक बस्यो र विशेष पाहुनालाई भेट्यो । पछि एउटा विशेष घर डेरामा लिइयो । हामीले केही फर्निचरको जोगाड ग¥यौँ । त्यहाँ एकजना कर्मचारी राख्यौँ । अनि, त्यसको ठेगाना पत्रिकामा छाप्यौँ । त्यसपछि हाम्रा पाहुना त्यही आउन थाले र आफ्ना कार्यक्रमहरू त्यही गर्न थाले । समूहसँग सम्बन्धित सम्पूर्ण खर्च ‘६ सांसद’ ले बराबर तिर्ने तय भयो । प्रतिमहिना हामीले २५ देखि ३० रुबल तिथ्र्यौँ ।
सदनको सचिवमण्डलले बोल्शेभिक समूहको गठनलाई रोक्न सम्भव सबै उपाय लगायो । अन्य संसदीय समूहकै समान अधिकार प्राप्त गर्नको लागि आधिकारिक दर्ता गर्न जरुरी थियो । (दर्तापछि संसद्का कागजात पाउने, आयोगहरूमा अलग्गै प्रतिनिधि पठाउने लगायत सहुलियत पाइन्थ्यो ।) सभामुख रोद्जान्कोले हाम्रो दर्ता प्रक्रियामा भरसक विलम्ब गर्न खोजे । उनले उद्घोष गरे, “राज्य ड्युमामा दुइटा सामाजिक जनवादी समूह हुनसक्दैन । तसर्थ, ६ जना मजदुर सांसदलाई ‘स्वतन्त्र’ को रूपमा दर्ता गरिनेछ । त्यो भनेको गैरसमूह हो ।”
Leave a Reply