भर्खरै :

व्यक्तित्व विकासमा अगाडि बढ्न अपाङ्गता भएकाहरू पनि योग्य र सक्षम हुनुपर्ने

व्यक्तित्व विकासमा अगाडि बढ्न अपाङ्गता भएकाहरू पनि योग्य र सक्षम हुनुपर्ने

भक्तपुर, १७ मङ्सिर । ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा अपाङ्गता दिवस कार्यक्रम बुधबार भनपा वडा नं. १ कार्यालय परिसरमा सम्पन्न भयो ।
सोही अवसर पारेर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरभित्रका अपाङ्गता भएकाहरूलाई न्यानो ज्याकेट र पोषिलो पिठो (सतु) वितरण गर्नुभयो । त्यस्तै, ख्वप अस्पतालको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्ति र परिवारहरूको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले व्यक्तित्व विकासमा अगाडि बढ्न अपाङ्गता भएकाहरू पनि योग्य र सक्षम हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्दै आएको चर्चा गर्दै उहाँले अपाङ्गता भएकाहरूले पनि देश विदेशमा उल्लेखनीय काम गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले अभिभावकको साथ र सहयोगले अपाङ्गता भएकाहरू शैक्षिक, सामाजिकरूपमा अगाडि बढ्न सक्ने उल्लेख गर्दै अपाङ्गता भएकाहरूको बिचमा पनि समानता आवश्यक भएको बताउनुभयो ।
अपाङ्गतासम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले नगरभित्र ७३० जना अपाङ्गता भएकाहरू रहेको तथ्याङ्क प्रस्तुत गर्दै भक्तपुर नपाले प्रत्येक वर्ष अपाङ्गता भएकाहरूको हक अधिकार सुनिश्चित गराई सामाजिक अस्तित्व कायम गराउन विविध गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले प्रत्येक वर्ष यो दिवसलाई विशेष ढङ्गले मनाउँदै आएको उल्लेख गर्दै उहाँले अपाङ्गता भएकाहरूको माग, आवश्यकता र समस्याबारे सम्बन्धित निकाय संवेदनशील हुनु जरुरी रहेको बताउनुभयो ।
अपाङ्गतासम्बन्धी अस्थायी समन्वय समितिका सदस्य हिमालयश्वरलाल मूलले बालबालिकामा हुने अपाङ्गता छिटो पहिचान भए त्यसको उपचार पनि सहज हुने बताउँदै अपाङ्गता भएकाहरूलाई आत्मबल बढाउने गतिविधिहरू सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने अपाङ्गता समितिका सदस्य श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रोशनमैँया सुवालले अपाङ्गता दिवस मनाउनुको उद्देश्यमाथि प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *