क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
प्रश्न : बेन, तपाईँले ल्याटिन अमेरिकाका कुनाकन्दरा चहार्नुभएको छ । भेनेजुयला पनि घुम्नुभएको छ । राष्ट्रपति मादुरोको विषयमा तपाईँको बुझाइ के हो ? के यो सरकारलाई भेनेजुयलाका जनताको समर्थन छ ? कि, उहाँले पनि सिरियाका बसर अल–असदकै नियति भोग्नुपर्ने हो ? तपाईँलाई त थाहै छ, ट्रम्प अहिले भेनेजुयलामा आक्रमण गर्ने तयारीमा छन् । के मादुरोको सरकार पनि असदकै जस्तो ढल्ने त होइन ?
मेरो उत्तर : भेनेजुयला र सिरियाबिच केही समानता छन् । तर, त्योभन्दा बढी असमानता छन् ।
भेनेजुयला राजनीतिक रूपमा विभाजित छ । तर, पूर्वराष्ट्रपति ह्युगो चाभेजले सुरु गर्नुभएको बोलिभारियाली क्रान्तिलाई वर्तमान राष्ट्रपति निकोलस मादुरोले निरन्तरता दिनुभएको छ । यसकारण, उहाँलाई भेनेजुयलाका गरिब र कामदार जनताको ठुलो समर्थन छ । अधिकांश धनाढ्य र कुलिनहरू अमेरिकापरस्त र सरकारविरोधी छन् । तीमध्ये धेरैले देश छोडिसकेका छन् । तर, केही अझै पनि भेनेजुयलामै छन् । उनीहरू धेरै त शाकाओजस्ता सम्भ्रान्त इलाकामा बस्छन् ।
भेनेजुयलामा अधिकांश जनता राजनीतिक द्वन्द्व र हिंसाले गलेका छन् । उनीहरू स्थायित्व चाहन्छन् । देशभित्रै सक्रिय दक्षिणपन्थी विपक्षका समर्थक धेरै छैनन् । तैपनि, तिनले विरोध प्रदर्शन गर्न खोज्छन् । यस्ता प्रदर्शनमा केही सय मानिस उपस्थित हुँदै आएका छन् । सङ्ख्या सानो भए पनि तिनीहरू शक्तिशाली छन् । तिनको शक्ति निजी कम्पनी, मिडिया र पश्चिम प्रायोजित ‘एनजीओ’ हरूबाट आउँछ ।
मादुरोलाई भेनेजुयलाका जनताले हटाउनेछैनन् । भेनेजुयला सरकार ढलेछ भने एउटै उपायले ढल्नेछ । अमेरिकी सेनाले भेनेजुयलामाथि सिधै आक्रमण ग¥यो वा भेनेजुयलाभित्रै प्रत्यक्ष युद्ध भयो भने मात्र सरकार ढल्न सक्छ । यसको लागि अमेरिकाले इराक, लिबिया, युगोस्लाभिया, पनामा, ग्रेनाडा आदिमा जस्तै राजधानी सहर काराकसमाथि बमबारी गर्नुपर्छ । (ती युद्धमा अमेरिकाले भिन्दाभिन्दै युद्धकला प्रयोग गरेको थियो ।)
ट्रम्पले अमेरिकी सेनालाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा दर्जनौँ भेनेजुयलावासीको हत्या गर्ने आदेश दिइसकेका छन् । यी आदेश आफैमा गैरकानुनी छन् । ट्रम्पले भेनेजुयलाविरुद्ध प्रत्यक्ष आक्रमण गर्न भनिसकेका छैनन् । भेनेजुयलाभित्र अस्थिरता मच्चाउने अपरेसनहरू सञ्चालन गर्न (अमेरिकी गुप्तचर निकाय) ‘सिआइए’ लाई अधिकार दिएको भने उनले पुष्टि गरेका छन् ।
ट्रम्पले भेनेजुयलाभित्र बमबारी गर्ने योजना बनाइरहेको रिपोर्ट छ । बमबारी गरे अमेरिका चरम आक्रमणकारी कहलिने छ । यस्तो नहोला भन्न पनि सकिन्न । तर, उनले भेनेजुयलामा अमेरिकी सेना पठाइहाल्छन् भन्ने मलाई लाग्दैन । किनभने, भेनेजुयलामा प्रत्यक्ष आक्रमण गरे स्वदेशमा ट्रम्पको लोकप्रियता स्वात्तै घट्नेछ । खासगरी ‘मागा’ समर्थक उनका मतदाताले त्यसलाई पचाउनेछैनन् । (‘मागा’ वा ‘अमेरिकी गौरव फर्काऔँ’ ट्रम्पको चुनावी नारा थियो ।)
मलाई भविष्यवाणी नै गर भन्नुहुन्छ भने अमेरिकाले भेनेजुयली भूमिका सैन्य आक्रमण गर्ने सम्भावना ६६ प्रतिशत छ भन्छु । त्यो पनि मिसाइल वा हवाई हमला हुन सक्छ । तर, अमेरिकी थलसेनाले आक्रमण गर्ने र त्यहाँका बन्दरगाह, विमानस्थल, प्रमुख राजमार्ग वा तेलखानी कब्जा गर्ने सम्भावना २५ प्रतिशत मात्र छ भन्छु ।
अमेरिकामा भेनेजुयलाविरुद्ध ट्रम्पको युद्धबारे सर्वेक्षण भएका छन् । सर्वेक्षणले यो पाइला असाध्यै अलोकप्रिय हुने पुष्टि भइसकेको छ । ५५ प्रतिशत अमेरिकी जनताले भेनेजुयलाविरुद्ध आक्रमणको विरोध गर्नेछन् । जम्मा १५ प्रतिशतले मात्र त्यसमा समर्थन जनाउनेछन् । राष्ट्रपति मादुरोलाई हटाउन अमेरिकी फौज प्रयोग गर्ने कुरामा ४५ प्रतिशत अमेरिकी जनताले विरोध गरेका छन् भने १८ प्रतिशतले मात्र त्यसमा समर्थन जनाएका छन् । यद्यपि, जनताको विरोधले मात्र वासिङटनको युद्ध नीति नरोकिएको अमेरिकी इतिहास छ ।
धेरै अध्ययन अनुसन्धानले यही तथ्य पुष्टि गरेका छन् – अमेरिकी सरकारको नीतिमा जनमतको उति प्रभाव हुन्न ।
अमेरिकाको अवैध नाकाबन्दी र आर्थिक प्रबन्धका कारण आर्थिक हिसाबले भेनेजुयलाले चरम कठिनाइ भोग्दै आएको छ । अमेरिकी खटनमा रहेको अन्तर्राष्ट्रिय वित्ततन्त्रमा भेनेजुयलाको पहुँचलाई अमेरिकाले रोक्दै आएको छ । अमेरिकी प्रतिबन्धकै कारण भेनेजुयलाले स्वदेशी इन्धन निर्यात गर्न पाइरहेको छ । साथै, उसले आफ्नै देशको इन्धन पूर्वाधार व्यवस्थापन गर्न सकिरहेको छैन । यसले गर्दा सरकारको कुल राजस्व सङ्कलनमा ९९ प्रतिशत गिरावट आएको छ । यो तथ्याङ्क आर्थिक प्रतिबन्धबारे संयुक्त राष्ट्रसङ्घकी विज्ञ तथा विशेष प्रतिवेदक एलेना दौहनको हो ।
सन् २०१९–२०२० मा अमेरिकाले भेनेजुयलामा सत्ताविद्रोह गराउन खोजेको थियो । त्यो बेला भेनेजुयली अर्थतन्त्रमा ठुलो धक्का पुगेको थियो र महँगी अचाक्ली बढेको थियो । आज त्योभन्दा अलि गतिलो स्थितिमा छ भेनेजुयला । महँगी ह्वात्तै घटेको छ । वास्तविक ज्याला बढेको छ । खानालगायत दैनिक उपभोग्य सामान किन्न सकिने भएका छन् । अर्थतन्त्रमा डलरको बोलवाला छ । यसले गर्दा भेनेजुयला सरकारको मौद्रिक सार्वभौमिकतामा क्षय भएको छ ।
पछिल्लो अमेरिकी आक्रमणले अन्त्यमा भेनेजुयला सरकारको पक्षमा जनमत बढाइदिने सम्भावना छ । किनभने, त्यसबाट भेनेजुयलामा केवल दुई वास्तविक विकल्प छन् भन्ने प्रस्ट हुनेछ । एउटा मादुरो र दोस्रो अमेरिकापरस्त दक्षिणपन्थी सरकार । अमेरिकाले चरम दक्षिणपन्थी नेतृ मारिया कोरिना मचादोलाई विद्रोहको नाइके बनाउन पैसा पेल्दै आएको छ । अमेरिका उनलाई भेनेजुयलाको शासन सत्तामा बसाल्न चाहन्छ । मचादोले भेनेजुयलाको अपार इन्धन भण्डारलाई निजीकरण गर्न र देशको त्यो सम्पदा अमेरिकी कर्पोरेसनहरूलाई बेच्न चाहेको कुरा खुलेर बोल्दै आएकी छिन् ।
भेनेजुयला र सिरियामा एउटा प्रस्ट समानता यही हो । यी दुवै देशविरुद्ध पश्चिमाहरूले आर्थिक युद्ध चलाइरहेका छन् ।
सिरिया सरकार ढल्नुको एउटा कारण अमेरिका र युरोपले लगाएको ‘सिजर’ नाउँको आर्थिक प्रतिबन्ध थियो । त्यस प्रतिबन्धले सिरियाली अर्थतन्त्र धरासयी भएको थियो । सिरियाले प्रत्यक्ष मुद्रामा पहुँच पाएन । यसले गर्दा महँगी अचाक्ली बढ्यो । सिरियाली सेनाले आफ्ना अफिसर र सिपाहीलाई तलब नै दिन सकेन । त्यसैले लडाइँमा तिनको मन मर्दै गयो । खाना र इन्धनको अभाव भयो । सिरियालाई आफ्नै देशको इन्धन र गहुँ खेत प्रयोग गर्न दिइएन । तेलखानी र खेतका चक्लाहरू अमेरिकी फौजको कब्जामा थिए ।
एउटा मुख्य भिन्नता सिरियाविरुद्ध चलेको पश्चिम प्रायोजित युद्ध थियो । त्यो युद्ध सन् २०११ मा सुरु भएको थियो ।
दशक लामो युद्धका कारण एक राज्यका रूपमा सिरिया निकै कमजोर भयो । सिरियामा धेरै विदेशी शक्तिले आक्रमण गरे । अमेरिका, टर्की र इजरायलले सिरियाका विभिन्न भागमा कब्जा जमाए । देशको ठुलो भूभाग केन्द्र सरकारको नियन्त्रणबाहिर रह्यो । ती इलाका अमेरिका, इजरायल, साउदी अरब, कुवेत र कतारजस्ता देशले पैसा र हतियार दिएका विभिन्न अतिवादी समूह र भाडाका सिपाहीको नियन्त्रणमा थिए ।
भेनेजुयलाको अवस्था त्यस्तो होइन । अमेरिकाको आडमा सन् २०१४ र २०१७ मा त्यहाँका दक्षिणपन्थी चरमपन्थीहरूले हिंसात्मक सत्ताविद्रोह गर्न खोजेका थिए । तर, त्यो हिंसा सिरिया युद्धको दाँजोमा केही पनि थिएन ।
प्रश्न : मादुरोको पहिलो र दोस्रो कार्यकाल दुवैमा अर्थतन्त्रको आकार नै बिग्रियो । अहिले कसरी सुध्रियो त ?
मेरो जवाफ : अमेरिकाले सन् २०१५ देखि भेनेजुयलामा नाकाबन्दी लगाउन सुरु गरेको हो । त्यसबेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेनेजुयलालाई ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ करार गरेका थिए । सन् २०१४–१६ मा विश्वमा इन्धनको भाउ पनि स्वात्तै घट्यो । यी दुई कारकले भेनेजुयलामा ठुलो आर्थिक सकस ल्याए ।
पछि सन् २०१७ मा ट्रम्पको कार्यकालमा अमेरिकाको अवैध प्रतिबन्ध झन् चुलियो । सन् २०१९ मा ट्रम्पले भेनेजुयलामाथि आर्थिक नाकाबन्दी थोप¥यो । (यो नाकाबन्दी क्युवाविरुद्ध अमेरिकाले लगाउँदै आएको नाकाबन्दीको हाराहारीमा पुग्यो । अन्तर्राष्ट्रिय कानुनलाई रद्दीको टोकरीमा फाल्दै अमेरिकाले क्युवाविरुद्ध ६ दशकदेखि नाकाबन्दी लगाउँदै आएको छ ।)
नाकाबन्दीको अर्थ भेनेजुयलाले आफ्नो इन्धन निर्यात गर्न पाएन । जबकि त्यो नै सरकारको मूल आयस्रोत थियो । एकतर्फी करकाप नीतिबारे राष्ट्रसङ्घीय विशेष प्रतिवेदक एलेना दौहनले लेखिन्, अमेरिकी प्रतिबन्धका कारण भेनेजुयला सरकारले आफ्नो ९९ प्रतिशत राजस्व गुमायो । ती विज्ञले जोड दिँदै लेखिन्, अमेरिकाको एकतर्फी प्रतिबन्ध अवैध छ† यसले भेनेजुयली जनताको मानवअधिकार हनन गरेको छ र त्यहाँको अर्थतन्त्र ध्वस्त पारेको छ ।
अमेरिकी प्रतिबन्धले गर्दा भेनेजुयलामा डलरको अभाव भयो । भेनेजुयलामा चल्ने यो दोस्रो मुद्रा हो । डलरको अभावले गर्दा राष्ट्रिय मुद्रा बोलिभारलाई केन्द्रीय बैङ्कले स्थिर राख्न सकेन । त्यसमाथि अमेरिकामा बस्ने मुद्रा साट्ने सट्टेबाजहरूले मुद्रामार्फत नै ठुलो हमला गरे । अमेरिकाको फ्लोरिडामा यस्तो काम गर्ने डलर टुडेजस्ता काजाबजारिया समूह छन् । यी हमलाको अवधिभरि केन्द्रीय बैङ्कले विनिमय दरलाई स्थिर बनाउने प्रयत्न गरिरह्यो । स्वदेशी मुद्रा बोलिभारलाई जोगाउन थोरै भएको विदेशी मुद्रा पनि खर्च भयो । यिनै यावत् कारणले मुद्रास्फीति चरमचुलीमा पुग्यो ।
ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पाटो भेनेजुयलाको प्रविधि र इन्धन पूर्वाधार हो । भेनेजुयलाको धेरै प्रविधि र पूर्वाधार गत शताब्दीमा पश्चिमा कम्पनीहरूले नै डिजाइन गरेका हुन् । चाभेजले इन्धन उद्योगलाई राष्ट्रियकरण गर्नुभयो । तर, त्यो उद्योगमा प्रयोग भइरहेको प्रविधिको बौद्धिक सम्पत्ति अमेरिकी र युरोपेली कम्पनीकै हातमा थियो । त्यसकारण, प्रविधिमा भेनेजुयला तिनैमाथि निर्भर हुनुप¥यो ।
तसर्थ, आर्थिक प्रतिबन्धले गर्दा इन्धन उद्योगमा प्रयोग भइरहेका उपकरणको मर्मत सम्भार ठप्प भयो । भेनेजुयलाले इन्धन पूर्वाधारलाई सुचारु राख्न र आधुनिक बनाउनका लागि चाहिने नयाँ मेसिनरी पनि खरिद गर्न सकेन । त्यही भएर भेनेजुयलाको पेट्रोलियम उत्पादनमा भारी गिरावट आयो ।
वास्तवमा अमेरिकी सरकारको ‘ऊर्जा सूचना प्रशासन’ (ईआइए) ले भेनेजुयलाको कच्चा तेलको उत्पादन सन् २००३ यताकै न्यूनतम बिन्दुमा पुग्यो भनेर सन् २०१९ मा धाक लगाएको थियो । (सन् २०१९ को वर्ष त्यहाँ अमेरिकी आडमा हिंसात्मक सत्ताविद्रोह प्रयास भएको थियो ।) अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धकै कारण भेनेजुयला त्यो अवस्थामा पुगेको समेत ‘ईआइए’ ले स्वीका¥यो ।
पछिल्ला केही वर्षमा अवस्थामा सुधार आएको छ । किनभने, उसले आफ्ना केही मेसिनरीलाई इरान, रुस र चीनको प्रविधिले विस्थापित गर्ने चाँजो मिलायो । इरान, रुस र चीनका प्राविधिकहरूले भेनेजुयलालाई उसको इन्धन पूर्वाधार मर्मत गर्न र समयानुकूल बनाउन मद्दत गरे ।
यसको अर्थ भेनेजुयलाले मूलतः चीनलाई अलि बढी कच्चा तेल निर्यात गर्न सक्यो । इन्धन निर्यात आज पनि सन् २०१५ (अमेरिकाले प्रतिबन्ध लगाएको वर्ष) को दाँजामो न्यून नै छ । तर, ऊ बिस्तारै माथि उठ्दै छ । आज उसले प्रतिदिन १० लाख ब्यारेलभन्दा अलि बढी इन्धन उत्पादन गर्छ । (ट्रम्पको पहिलो कार्यकालमा) अमेरिकाले गराएको पछिल्लो सत्ताविद्रोह यता यो सबैभन्दा उच्च उत्पादन दर हो । यसको अर्थ भेनेजुयलाले अहिले अलि बढी विदेशी मुद्रा कमाइरहेको छ । त्यसको बलमा उसले आफ्नो मुद्रालाई स्थिर पार्दै र महँगी घटाउँदै छ ।
पछिल्ला वर्षहरूमा आर्थिक अवस्थामा उल्लेख्य सुधार भएको छ । वास्तवमा, अहिले भेनेजुयलामा भन्दा बढी मुद्रास्फीति अर्जेन्टिनामा छ । जबकि अर्जेन्टिनामा अमेरिकापरस्त राष्ट्रपति जेभियर मिलेइको रजगज छ ।
प्रश्न :अहिले भेनेजुयलालाई अन्य ल्याटिन अमेरिकी देशहरूले सघाइरहेका छन् कि ?
मेरो उत्तर : क्युवा र निकारागुआले भेनेजुयलालाई सहयोग गरे । तर, उनीहरू निकै साना छन् र धेरै स्रोतसाधन छैन । ती दुई पनि अमेरिकाको अवैध नाकाबन्दीले प्रताडित छन् । उनीहरू धेरै त राजनीतिक र कूटनीतिक सहयोग गर्छन् ।
ल्याटिन अमेरिकाका दक्षिणपन्थी सरकारहरू अत्यन्त अमेरिकापरस्त र भेनेजुयलाविरोधी छन् । धेरैजसो वामपन्थी सरकारहरू विदेश नीतिमा अलि बढी स्वतन्त्र छन् । तर, तिनीहरू भेनेजुयलासँग नजिक देखिएर बढी जोखिम मोल्न चाहँदैनन् । तिनीहरू अमेरिका सरकार र देशका दक्षिणपन्थीहरूको डरधम्कीसामु डराउँछन् । यसरी तिनीहरू परोक्ष नाकाबन्दीको खतराबाट जोगिन खोज्छन् ।
भेनेजुयलाको छिमेकी देश कोलम्बिया लामो समयदेखि अमेरिकाको साझेदार रहँदै आएको छ । कोलम्बियाको सत्तामा दशकौँदेखि दक्षिणपन्थी धनाढ्यहरूको रजाइँ छ । आज पहिलोपल्ट कोलम्बियामा वामपन्थी सरकार गठन भएको छ । त्यहाँका राष्ट्रपति गुस्ताभो पेत्रो वामपन्थी हुन् ।
पेत्रोले अमेरिका र भेनेजुयलामाथि अमेरिकी आक्रमणको विरोध गर्दै आएका छन् । जवाफमा ट्रम्पले राष्ट्रपति पेत्रो र उनको परिवारविरुद्ध प्रतिबन्ध थोपरे । यो कोलम्बियाको सार्वभौमसत्ताविरुद्ध ठाडो आक्रमण हो† कोलम्बियाको आन्तरिक मामिलामाथि अमेरिकी हस्तक्षेप हो । यो प्रतिबन्ध यस क्षेत्रका अन्य राष्ट्रप्रमुखहरूलाई धम्की हो† अमेरिकी युद्धबारे बोल्ने र त्यसलाई चुनौती दिने राजनेताहरूलाई चेतावनी हो ।
यसर्थ, पेत्रो अझै पनि खुलेर भेनेजुयलाको नजिक हुन डराइरहेका छन् । यसको अर्को कारण पनि छ । कोलम्बियाका दक्षिणपन्थी मिडियाहरू पेत्रोको बद्ख्वाइँ गर्दै छन् । सन् २०२६ को निर्वाचनलाई हेर्दा यस्तो प्रचारबाजी हानिकारक हुन सक्छ । साथै, उनी आफ्ना वामपन्थी साझेदारहरूलाई दुःखी तुल्याउन चाहँदैनन् ।
अमेरिकी आडमा दक्षिणपन्थी शक्तिहरूले ल्याटिन अमेरिकाका धेरै भागमा आफ्नो प्रभाव बढाइरहेका छन् । भेनेजुयलाविरुद्ध युद्ध अमेरिकी साम्राज्यको ठुलो रणनीतिको एउटा हिस्सा मात्र हो । वामपन्थी र साम्राज्यवादविरोधी प्रतिरोधलाई कमजोर पार्नु र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको स्वार्थसिद्ध गर्ने दक्षिणपन्थी कुलीन समूहलाई बलियो पार्नु नै अमेरिकी साम्राज्यवादको ठुलो रणनीति हो । यसरी अमेरिका ल्याटिन अमेरिकाभरि आफ्नो प्रभुत्व जमाउन चाहन्छ । ।
(भूराजनीतिक अर्थशास्त्रका अध्येता बेन नोर्टनसँग भेनेजुयलाको वर्तमान अवस्थाबारे एक चिनियाँ पत्रकारले लिएको अन्तर्वार्ता ।
स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply