क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
खण्ड चार
युद्धको सङ्घारमा क्रान्तिकारी आन्दोलन
पाठ १५
महिला कामदारलाई विष
हडतालमा वृद्धि । लेना काण्डसम्बन्धी प्रश्नोत्तरको मौकामा हडताल । प्रोभोद्निक कारखाना र त्र्युगोल्निक कारखानामा महिला कामदारलाई विष । त्र्युगोल्निक काण्डसम्बन्धी प्रश्नोत्तर । सरकारको ‘स्पष्टीकरण’ । सरकारको स्पष्टीकरणलाई जवाफ । १ लाख २० हजार मजदुरको विरोध हडताल । तालाबन्दी । अन्त्येष्टिमा प्रदर्शन । मृत्युदण्डका लागि पुरिश्केभिचको अपिल ।
सन् १९१४ को मार्च महिनामा सेन्ट पिटर्सबर्गमा घटनाक्रम चाँडचाँडो बदलियो । यसले गर्दा मजदुर आन्दोलनले विस्फोटक रूप लियो । त्यो महिनाको सुरुमै सेन्ट पिटर्सबर्गमा राजनीतिक हडताल चर्कियो । मजदुर प्रेसविरुद्ध कारबाही, सदनमा हाम्रो समूहको प्रश्नलाई व्यवस्थित रूपमा अस्वीकार तथा मजदुर युनियन, शैक्षिक संस्था आदिमाथि दमन गरेको हुनाले मजदुरहरूले एकदिने हडताल गरे । आन्दोलन सहरभरि फैलियो । धेरै कारखाना पनि हडतालमा सामेल भए । देशमा सशस्त्रीकरण तीव्र पार्ने उद्देश्यले सभामुख रोद्जान्कोले डाकेको गोप्य सम्मेलनको मजदुरहरूले जोडदार विरोध गरे । त्रुदोभिक र सामाजिक जनवादीहरूबाहेक सदनका सम्पूर्ण समूहका प्रतिनिधिलाई त्यो सम्मेलनमा बोलावट भएको थियो । जनताको धनलाई यसरी सशस्त्रीकरणमा खेर फालेकोमा हामीले निन्दा गर्दा बाहिरबाट ३० हजार मजदुरले समर्थनमा हडताल गरे ।
मार्च महिनाभरि आन्दोलन चर्किरह्यो । लेना सुनखानीका मजदुरहरूको नरसंहारको वार्षिकीले त्यसलाई झन् चर्कायो । त्यस नरसंहारको छानबिनको विषयमा सदनले हाम्रो प्रश्नलाई अनुमोदन गरिसकेको थियो । तर, सरकारले त्यसको जवाफ दिइसकेको थिएन । वार्षिकी नजिकिँदै गर्दा हामीले सरकारलाई जवाफ दिनका लागि बाध्य पार्न हामीले नयाँ प्रश्न गर्ने निधो ग¥यौँ ।
समग्र पार्टी सङ्गठनले वार्षिकीमा जुलुस प्रदर्शन गर्ने र सम्पूर्ण कलकारखाना एवम् ज्यासलमा प्रचारप्रसार तीव्र पार्ने तयारी गर्दै थियो । सेन्ट पिटर्सबर्ग समितिले मजदुरहरूलाई सडकमा जनप्रदर्शनका लागि आह्वान ग¥यो । विभिन्न कारखानाका मजदुरहरूले सशरीर संसद् भवनसम्म धर्ना दिन जाने निर्णय गरे ।
प्रदर्शनको मिति तोकियो मार्च १३ गते । भिबोर्ग जिल्लाबाट हडताल सुरु भयो । नोभी आतज कारखानामा राति काम गर्ने मजदुरहरू बिहान ३ बजे कारखाना छोडी निस्के । झिसमिसेमा उनीहरूसँग अन्य कारखानाबाट आएका मजदुर पनि मिसिए । तुरुन्तै हडताल सहरैभरि फैलियो । सहभागीको सङ्ख्या ६० हजार नाघ्यो । तीमध्ये ४० हजार त धातु मजदुर मात्र थिए । कारखानाहरूमा विरोध प्रस्तावहरू पारित गरिएको थियो । मजदुरहरूबिच सक्रिय सबैजसो पार्टी सदस्यहरूले भाषण गरे । उनीहरूले लेना सुनखानीमा जारशाही प्रहरीले मजदुरहरूको हत्याकाण्ड मच्चाएको घटनाको चर्चा गरे । साथमा उनीहरूले क्रान्तिकारी सङ्घर्षको आम अभिभाराबारे व्याख्या गरे ।
मजदुरहरू कारखाना र ज्यासलहरूबाट क्रान्तिकारी गीत घन्काउँदै र लाल झन्डा फहराउँदै बाहिर आए । लेसनर कारखानाका मजदुरहरू भिबोर्गतिरबाट संसद् भवनतर्फ लागे । लिताइनी पुलमा प्रहरीको गस्तीले उनीहरूको जुलुसलाई रोक्यो । यत्तिकैमा मजदुरहरूको अर्को हुलले जमेको हिउँ हुँदै नेभा नदी पार ग¥यो । लाल झन्डा फहराउँदै त्यो जुलुस भोस्क्रेसेन्स्की गल्ली हुँदै संसद् भवनतर्फ लाग्यो । त्यहाँ प्रदर्शनकारीहरूमाथि घोडचढी सेनाले कोर्रा बर्साउन थाल्यो । भीडले पनि इँटको जवाफ पत्थरले दियो । प्रदर्शनकारीले हानेको ढुङ्गाले एक प्रहरी घाइते भयो । सहरका अन्य भागमा पनि प्रहरीसँग मुठभेड भयो । तर, नेभ्स्की सडकसँगैको सहरको मध्य भागमा ठुलै प्रदर्शन भयो ।
भोलिपल्ट पनि हडताल जारी रह्यो । त्यो दिन अन्य धेरै कारखानाका मजदुर विरोध प्रदर्शनमा मिसिन आए । हडताली मजदुरको सङ्ख्या ६५ हजार नाघ्यो ।
यो आन्दोलन लगत्तै हडतालको आँधी जस्तो आयो । रबर कारखानामा महिला कामदारहरू विषको सिकार भएपछि यो आँधी आएको थियो । हडतालको नयाँ लहर अघिअघिको भन्दा निकै कडा थियो । हडतालीको सङ्ख्या ह्वात्तै बढ्यो भने सडक कारबाही पनि तीव्र भयो ।
महिला कामदारहरू विषाक्त भएको खबर सुरुमा हाम्रो समूहले प्रोभोद्निक जुत्ता कारखानाका मजदुरहरूबाट थाहा पाएको थियो । यो रिगा सहरकै सबैभन्दा ठुलो जुत्ता कारखाना थियो । त्यहाँका मजदुरहरूलाई प्रणालीगत रूपमै विषाक्त पारिएको थियो । तुच्छ गुणस्तरको पोलिसको गन्धले मजदुरहरू विषाक्त बनेका थिए । जुत्तालाई अन्तिम रूप दिनका लागि त्यो पोलिस प्रयोग हुन्थ्यो । कतिपय महिला कामदारलाई कम असर परेको थियो । कतिपय कामदारहरू बेलाबेला बेहोस हुन्थे भने कतिपय सिकिस्तै बिमारी हुन्थे । विषाक्त हावाका कारण केही महिला कामदार मरे । दिनको १३ घण्टासम्म काम गर्दा पनि भिकारीलाई जस्तै बढीमा ७५ कोपेक ज्याला दिइन्थ्यो । मजदुरसम्बन्धी कानुनको ठाडो उल्लङ्घन थियो त्यो । यसरी मरीमरी काम गर्दा अन्त्यमा मजदुरहरूले विषालु गन्ध पाए ।
महिला कामदारहरूले पटक–पटक म्यानेजर र कारखाना निरीक्षकलाई कामको अवस्था सुधार्न अनुनय विनय गरिरहे । उनीहरूले यो घातक पोलिसलाई हटाउनुपर्ने अनुरोध गरे । अधिकारीहरूले नसा कमजोर भएका मान्छेले काम छोडे हुन्छ भन्थे । अन्त्यमा विषले मान्छे मरेपछि प्रोभोद्निक कारखानाका मजदुरहरूले हाम्रो संसदीय समूहको सहयोग मागे । यो समस्या सल्टाउन उनीहरूले कारखाना प्रशासनलाई दबाब दिनुपर्छ भने ।
हामीले मालिनोभ्स्कीलाई छानबिनको लागि रिगा पठायौँ । उनले जम्मा गरेको सूचनाका आधारमा हामीले वाणिज्य तथा उद्योग मन्त्रीलाई सोध्न प्रश्न तयार पा¥यौँ र सदनमा राख्यौँ । प्रश्न यसरी सुरु हुन्थ्यो :
“मजदुरहरूको शारीरिक रुग्णता र बारम्बारको मृत्यु पुँजीवादी शोषणको कारण भएको हो । राजनीतिक अधिकारबाट वञ्चित रुसी मजदुरहरू र तिनको कमजोर अवस्था राजनीतिज्ञहरूमाथि नियन्त्रण जमाएका शक्तिशाली पुँजीपतिहरूकै कारण भएको हो । यिनीहरूको शासनमा मजदुरवर्गको अवस्था भूदासको भन्दा पनि दुष्कर छ । मजदुरहरूको अवस्थाको एउटा उदाहरण लेना सुनखानीका घटनाहरू हुन् । त्यहाँ मजदुरलाई घोडाको मासु खुवाइन्छ, कामबाट निकाला गरेर टाइगा जङ्गलतर्फ धकेलिन्छ र त्यहाँ गोली ठोकिन्छ । हालै रिगामा हाम्रो समूहका सदस्य मालिनोभ्स्कीले गरेको विशेष जाँचपडतालबाट पुँजीपतिहरूको अर्को निर्दयी रवैयाको खुलासा भएको छ । कारखाना प्रशासन पनि यसमा उसैगरी उदासिन देखियो । रिगाको सबैभन्दा ठुलो कारखाना प्रोभोद्निक रबर कारखानामा झन्डै १३ हजार मजदुर कार्यरत छन् । विशेषगरी त्यहाँ महिला कामदारको बाहुल्य छ । हालै मात्र सोही कारखानामा नयाँ दुघर्टना भयो… ।”
हामीले सरकारलाई यो प्रश्न सोध्नु एकदम सान्दर्भिक हुने बतायौँ । तर, त्यो प्रश्न सदनको एजेन्डामा पर्नुअघि नै सेन्ट पिटर्सबर्गमा पनि यस्तै अर्को घटनाको खबर आयो ।
मार्च १२ को दिन हामी सदनभित्र प्रश्नोत्तर आयोगको बैठकमा थियौँ । यत्तिकैमा मलाई एउटा टेलिफोनको लागि बोलाइयो । हाम्रा एक सहयोगी मजदुरले हक्कानिँदै त्र्युगोल्निक कारखानाका मजदुरहरूले सांसदलाई तुरुन्तै आफ्नो स्थिति बुझ्न कारखाना बोलाएको बताए । त्यो कारखानामा विषको बिगबिगीका कारण मजदुरहरूमा सन्त्रास फैलिएको रहेछ ।
हतारिँदै म कारखानामा गएँ । गेटमै आत्तिएका मजदुरहरूको भीड लागेको थियो । उनीहरूले मलाई प्रश्नमाथि प्रश्न गर्न थाले । तर, मलाई केही थाहा थिएन । मैले उनीहरूबाट कुरा बुझ्न खोजेँ । बडो अप्ठ्यारो प¥यो । प्रत्येक महिलाले आआफ्नै शैलीमा विषको घटनाबारे बताउन थाले । कसैले त यसलाई प्लेगको महामारी भने । यसबिच बिरामीहरूलाई एकएक गर्दै प्राथमिक उपचार कक्षमा लगिँदै थियो ।
केही मान्छेको विवरण सुनेपछि कारखानामा के भएको रहेछ भन्ने पत्तो पाएँ । त्यो बिहान जुत्तामा लगाउन नयाँ पालिस ल्याइएको रहेछ । बेन्जिन नाउँको रसायन ल्याउनुपर्नेमा सस्तो रसायन ल्याएको रहेछ । रसायन लगाउन थालेको केही समयमै महिला मजदुरहरू भकाभक ढल्न थालेछन् । त्यसपछि त्रासदीजस्तै फैलियो । विषको मात्रा अचाक्ली भएर कतिपय महिला बौलाउन थालेछन् । कसैकसैको नाक र मुखबाट रगत बग्न थालेछ । एउटा साँघुरो र चिकित्सा उपकरण नै नभएको प्राथमिक उपचार कक्ष बिरामीले भरिभराउ भएछ । थप बिरामीलाई खाना खाने कोठामा लगिएछ । कारखाना प्रशासनले हातखुट्टा चलाउन सक्ने बिरामीलाई कारखानाबाट बाहिर पठाएछ । कारखाना प्रशासनको मैमत्त गर्जन यस्तो थियो, “तिनीहरू बाटोमा कतै ढले प्रहरीले उठाइहाल्छ ।”
विषका पीडितहरू झन्डै २०० जना थिए । तीमध्ये २० जना मात्र पुरुष थिए । कारखानाको त्यो विभागमा काम गर्नेहरूको सङ्ख्या झन्डै १ हजार थियो । कारखानामा काम गर्ने झन्डै १३ हजार कामदारमध्ये अधिकांश महिला थिए । त्यहाँ तिनको निर्मम शोषण हुन्थ्यो । १० घण्टा काम गर्दा जुत्ता कारखानाका मजदुरको ज्याला ४० देखि ९० कोपेक हुन्थ्यो । खाजा खान र विश्राम गर्न समय छुट्याइएको थिएन । ओभरटाइम काम गर्नु चलनै थियो । तर, त्युगोल्निक कारखानाका मालिकहरूले प्रतिवर्ष १ करोड रुबल नाफा कमाउँथे ।
साँझसम्ममा कारखानाको चौरमा हजारौँ मजदुरहरू जम्मा भए । उनीहरूले कारखाना प्रशासनसँग पीडित सङ्ख्या, तिनको नाम र विपदको कारण खुलाएर वक्तव्य जारी गर्न माग गरे । भीडमा पीडितहरूका नातागोता पनि उपस्थित थिए । सबैजना आक्रोशित थिए । प्रशासनले मजदुरहरूको जानकारी दिन अस्वीकार ग¥यो बरु प्रहरी बोलाउन मान्छे पठायो । कारखानाको पर्खालमा चढेर एकजना मजदुरले भाषण दिइरहेकै बेला कारखानामा प्रहरी आयो र भीडलाई गेटबाहिर बाहिर धपायो । मजदुरहरू घरघर गए । उनीहरू नातागोताको दुर्दशा सोचेर चिन्तित थिए । अकुत नाफा कमाउनका लागि मजदुरहरूलाई विष खुवाउने मालिकहरूलाई देखेर उनीहरू रुष्ट थिए ।
भोलिपल्ट कारखानाको अर्को शाखामा विषको अर्को मार सुरु भयो । प्राथमिक उपचार कक्ष पुनः पीडित महिलाहरूले भरियो । महिला मजदुरहरूले विषालु वातावरणमा काम गर्न सकिन्न भनेर विरोध गरे । तर, म्यानेजरले निर्दयी पारामा भन्यो, “बकबास नगर । तिमीहरू यही वातावरणमा अभ्यस्त बन्नुपर्छ । केही दुर्घटना भयो भन्दैमा हामी पोलिसलाई हटाउन सक्दैनौँ । हामीले हाम्रो ठेक्का पूरा गर्नुपर्छ । तिमीलाई बिस्तारै बानी पर्दै जान्छ ।”
कामपछि कारखानाको गेटमा कैयन् हजार मजदुरहरूको बैठक बस्यो । अनेक सुझावहरू आए । तर, कुनै निर्णयमा पुग्नुभन्दा अगाडि एउटा बलियो प्रहरी दस्ता आयो र त्यसले भीडलाई तितरबितर पा¥यो । जवाफमा प्रहरीतर्फ पनि ढुङ्गा र कङ्क्रिटका टुक्राले हानियो । दुई प्रहरी घाइते भए ।
भोलिपल्ट थप केही मजदुर बिरामी भए । मजदुरहरूको धीरताको बाँध भत्किने बिन्दुमा पुग्यो । उनीहरूले सबै शाखामा काम बन्द गरे र कारखानाको चौरमा जम्मा भए । बिना पूर्व तयारी हडतालको घोषणा गरियो । झन्डै दस हजार हडतालीहरू कारखानाको गेटमा जम्मा भए । वक्ताहरूको भाषणलाई भीडको कोलाहलले ओझेल पा¥यो । प्रशासनलाई बुझाउनका लागि मागहरूबारे छलफल भयो । घोडचढी सेना टुप्लुक्क आइपुग्यो । उनीहरू कोर्रा नचाउँदै भीडमाथि जाइलागे । मजदुरहरूले प्रतिकार गरे र तिनीहरूमाथि इँटा र ढुङ्गा हाने । छिट्टै प्रहरीका थप टोलीहरू आइपुगे । उनीहरू नाङ्गो दरबार उज्याउँदै भीडमाथि जाइलागे । उनीहरूलाई चारैतर्फ तितरबितर पारे । धेरैजना ओब्भोद्नी नहरतर्फ भागे । दुवैतिर मानिसहरू घाइते भए र धेरै मजदुरहरूलाई गिरफ्तार गरियो ।
थप व्यवधान नहोस् भनेर प्रशासनले केही दिनका लागि कारखाना बन्द गर्ने घोषणा ग¥यो । मजदुरहरूले जुलुस प्रदर्शन गरे तालाबन्दी अनिश्चित कालसम्म लम्बिने चेतावनी दियो ।
कारखानाबाट फर्केपछि मैले समूहको विशेष बैठकमा रिपोर्ट सुनाएँ । बैठकले यो विषयलाई अघिको रिगाको घटनासँग जोडेर सरकारलाई तत्कालै नयाँ प्रश्न गर्नुपर्ने निर्णय ग¥यो । तर, मार्च १५ गते हामीकहाँ विषसम्बन्धी अर्को घटनाको खबर आयो । यसपालि घटना बोगदानोभ सुर्ती कारखानामा भएको थियो ।
यो कारखाना क्याबिनेट सडकमा थियो । सन्त्रासमा काम छोड्दै गरेका दुई हजार मजदुरसँग कारखानाको गेटमा मेरो जम्काभेट भयो । मजदुरहरूबाट कुरा बुझेँ । यहाँको हाल पनि त्र्युगोल्निक कारखानाको जस्तै रहेछ । म कारखानाका निर्देशकको स्पष्टीकरण सुन्न कार्यालयमा गएँ । तर, उनको जवाफ हास्यास्पद थियो । उनले भने, “यो कारखानामा विष लाग्ने जस्तो केही पनि छैन । महिलाहरूले व्रत बसेको हुनाले र कुहिएको माछा खाएको हुनाले उनीहरूलाई विष लागेको हो । त्यसैले तिनीहरू बेहोस भएर ढलेका हुन् ।” यसको अर्थ कारखाना प्रशासनले पहिले नै दोषजति मजदुरहरूको थाप्लोमा राख्ने निधो गरेका रहेछन् ।
भोलिपल्ट मैले ‘प्राभ्दा’ पत्रिकामा मेरो भ्रमणको विस्तृत बयान लेखेँ र मजदुरहरूलाई अपिल गरेँ, “यस्तो घटना रोक्नका लागि मजदुरहरू सङ्गठित हुनुपर्छ र सुर्ती मजदुरहरूको अलग्गै ट्रेड युनियन गठन गर्नुपर्छ ।” विष काण्डको विषयमा ‘प्राभ्दा’ मा धेरै सामग्री देखापरे । मजदुरहरूको चरम शोषणकै कारण यस्ता घटना भइरहेको जनाउँदै यी लेखमा घटनाको राजनीतिक अर्थ निकालिएको हुन्थ्यो ।
विषका घटना अन्य सुर्ती कारखाना, छापाखाना आदिबाट आइरहे । सेन्ट पिटर्सबर्गभरि रोगव्याधि फैलियो । यसबाट सेन्ट पिटर्सबर्गका कारखानाहरूमा कुनै पनि औषधोपचारको दुर्दशा छर्लङ्ग भयो । कारखानामा डाक्टर र नर्सको बन्दोबस्त थिएन । औषधिको अभाव थियो । बिरामी राख्नलाई पर्याप्त कक्ष थिएन ।
प्रभावित कारखानाका आक्रोशित मजदुरहरू हाम्रो समूहलाई भेट्न आए । उनीहरूले हामीलाई आफ्ना कारखानामा जान, विष लाग्नुको वास्तविक कारण छानबिन गर्न र जनतालाई सान्त्वना दिन आग्रह गर्थे । म आफै धेरै कारखानामा गएँ र सर्वत्र उही दशा थियो । विष लाग्ला भन्ने तत्कालको खतराले मजदुरहरू आत्तिएका थिए भने सँगै मालिकहरूविरुद्ध गहिरो घृणाभाव पनि थियो । सबै घटनामा विषको खास कारण पत्ता लगाउन सम्भव थिएन । तर, दुघर्टनाहरूको मुख्य कारण मालिकहरूको नाफाको लोभ हो भन्ने सबैजसो मजदुरले बुझे । नाफाकै लोभले गर्दा स्वास्थ्य र मजदुरहरूको सुरक्षाका एकदम मामुली नियमलाई समेत बेवास्ता गरिएको थियो ।
मजदुरहरूलाई विष लाग्ने समस्या व्यापक भयो । समाजका सबै शाखामा यसको प्रतिध्वनि सुनियो । पुँजीवादी प्रचारकहरू पनि चुप बस्न सकेनन् । उनीहरूले आफ्नै पाराले घटनालाई व्याख्या गर्न खोज्नु र त्यसबाट पैसा कमाउन खोज्नु स्वाभाविक थियो । ‘बिर्जेभ्ये भ्येदोमोस्ती’ जस्तो पीतपत्रकारिता गर्ने पुँजीवादका कट्टर पहरेदारहरूले कारखाना मालिकहरूको पक्ष लिए । मजदुरहरूलाई मालिकविरुद्ध भड्काउने र हडतालमा उतार्ने क्रान्तिकारी दलहरू नै वास्तविक दोषी हुने भनेर उनीहरूले हल्ला पिटे । हाम्रो बोल्शेभिक समूहको आदेशमा ‘विष दिने समिति’ क्रियाशील रहेको बद्ख्वाइँको प्रचार गरियो । यो ‘समिति’ मजदुरहरूबिच गडबडी मच्चाउन सक्रिय रहेको उनीहरूको दाबी थियो । सयौँ महिला मजदुरको बिरामीको जिम्मेवारी लिनबाट बच्न एकजुट भएका पुँजीपतिहरूले हुने÷नहुने सबै गरे । उनीहरूले अफवाह फैलाए । झूट पैदा गर्ने मेसिनलाई बेतोडले चलाए ।
पुँजीवादका लेखनदासहरूका सबै झूटलाई जारशाही सरकारले समेत पत्याएन । वाणिज्य तथा उद्योग मन्त्रालयले एउटा छानबिन आयोग गठन ग¥यो । आयोगको निष्कर्ष थियो, “रबर उद्योगमा मजदुरहरू बिरामी पर्नुको मुख्य कारण बेन्जिनको गन्ध साँघ्नु हो ।” सदनमा हाम्रो प्रश्नको जवाफ दिँदै वाणिज्य मन्त्रालयका उच्च अधिकारी लित्भिनोभ–फालिन्स्कीले बाध्य भएर विष लाग्नुको खास कारण तल्लो दर्जाको बेन्जिनको प्रयोग हो भने । सुर्ती कारखानामा निकोटिनको विष लाग्नु भने अलि फरक घटना भएको उनले स्वीकारे । महामारी फैलिनुको खास कारण कारखानाको निसास्सिने वातावरण, मजदुरहरूको कमजोर शरीर, थकान र जर्जर स्नायु प्रणाली भएको लित्भिनोभको अर्को स्वीकारोक्ति थियो । त्यस्तै, मजदुरहरूबिच व्याप्त सन्त्रासपूर्ण मनोदशा (हिस्टेरिया) ले पनि रोग फैलाउन महत्वपूर्ण भूमिका खेलेको थियो । लित्भिनोभले यो कुरा भन्न छुटाएनन् ।
Leave a Reply