भर्खरै :

सांस्कृतिक गतिविधिले भक्तपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने

सांस्कृतिक गतिविधिले भक्तपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने

भक्तपुर, २० मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रयमा भएको योमारी प्रतियोगिता तथा प्रदर्शनीको शनिबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
योमारी उत्सव तथा प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा आयोजित सांस्कृतिक गतिविधिले भक्तपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
भक्तपुरको मौलिकता संरक्षणले यहाँको पहिचान जोगाइ राख्न टेवा पुग्ने बताउँदै उहाँले नगरपालिकाले आगामी दिनमा यी र यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि नगरपालिकाले योमारी उत्सवलाई प्रतियोगिताको रूपमा सञ्चालन गरी सबैलाई मौलिकता प्रदर्शन गर्ने अवसरको रूपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले यहाँको मूर्त र अमूर्त सम्पदाहरूको महत्व नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरभित्र सञ्चालित सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रममार्फत अध्ययन अध्यापन गराइरहेको बताउनुभयो ।
वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले नगरपालिकाद्वारा आयोजित योमारी उत्सवले भक्तपुरको सम्पन्नतालाई उजागर गरेको बताउँदै योमारी सम्पन्नता, सभ्यता, प्रेम, संस्कृति, हर्ष उल्लास र विज्ञानको प्रतीक भएको बताउनुभयो ।
देशको राजनीतिक, सांस्कृतिक, ऐतिहासिक धरोहरहरू जलिरहँदा पुर्खाप्रति नै अपमान भएको बताउँदै उहाँले नयाँ पुस्ता परिवर्तन, सिर्जना र सम्पन्नताको बाटोमा हिँड्नुपर्छ, ध्वंसको बाटोमा होइन भन्नुभयो ।
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले उत्सवको महत्वमाथि प्रकाश पार्दै योमारी महोत्सव सफल पार्न सहभागी सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पुराना कला संस्कृति र सभ्यता नयाँ पुस्ताको पहिचान हो भन्दै यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
कार्यक्रमको उद्घाटनअघि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं.१ इनागबाट सुरु भएको सांस्कृतिक ¥याली दत्तात्रयमा पुगी सम्पन्न भयो ।
उद्घाटन ¥यालीअघिको भेलामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र वडा नम्बर १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।
प्रतियोगिताको उद्घाटनपश्चात् नगरप्रमुख सुनिल प्रजापति सहितको टोलीले सलाँ गणेश, क्वाठण्डौँ, जेँलामा खाना महोत्सव तथा स्थानीय उत्पादन प्रदर्शनी र सूर्यमढीमा सांस्कृतिक कार्यक्रम स्थलगत अवलोकन गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको योमरी प्रतियोगिता तथा प्रदर्शनीमा ६८ वटा योमारी प्रदर्शनीका स्टलहरू रहेका थिए । उद्घाटन ¥याली विभिन्न सांस्कृतिक बाजा समूह, विद्यालय, सहकारी संस्था, नगरपालिकाका कर्मचारीहरू, स्थानीय जनता लगायतको उल्लेख्य सहभागितामा नगर परिक्रमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *