समाजवादउन्मुख राज्य व्यवस्थाको आधारमा बजेट ल्याउनुपर्छ
- जेष्ठ १०, २०८३
देशको राजनीतिक परिस्थिति हेर्दा दुई ठुला दल नेका र एमालेको बढी विरोध भएको पाइन्छ । एमालेको नेतृत्वमा बनेको सरकारले आन्दोलनरत युवा विद्यार्थीको समयमै सम्बोधन गर्नुको सट्टा दबाएर छाड्ने हठका कारण सो सरकारको झन् विरोध बढेको हो । नेका र एमालेप्रति युवा, विद्यार्थी र देशभक्त जनताको मात्र होइन आफ्नै दलका नेता तथा कार्यकर्ताहरूको पनि विरोध छ । अहिले ती नै नेका र एमालेको महाधिवेशनको चर्चा परिचर्चा हुँदै छ । एमालेको महाधिवेशनको प्रतिनिधि र पर्यवेक्षक छान्ने क्रममा कति जिल्लामा विवाद भएर हात हालाहालको स्थितिमा पुग्यो । महाधिवेशन प्रतिनिधि छान्ने क्रममा कति जिल्लाको बैठकमा पार्टी कार्यकर्ताहरू नै सहभागी नभएको समाचार प्रकाशमा आयो । यसले एमालेका जिल्ला जिल्लाका नेता तथा कार्यकर्तामा निराशा छाएको या उत्साह नभएको देखाउँछ ।
एमाले महाधिवेशनमा एकातिर कार्यकर्ताहरूमा उत्साह देखिएन भने अर्कोतिर दलका नेताहरू पदको निम्ति तँछाडमछाड गर्दै छन् । पार्टी महाधिवेशनमा उम्मेदवारी दिन पाउने कुरा प्रजातान्त्रिक अभ्यास या प्रतिस्पर्धी भनिए पनि त्यो आफ्नै दलका नेताप्रतिको अविश्वास पनि हो भन्ने विश्लेषण छ । प्रतिस्पर्धामा एक पक्ष हार्छ भने अर्को पक्ष जित्छ । महाधिवेशनको निर्वाचनको नतिजापछि जित्ने पक्षले हार्ने पक्षलाई कसरी हेर्ने हो ? त्यो समयले देखाउनेछ । यस्तै समस्या नेकाको हुन लागेको अधिवेशनमा पनि देखिएको छ । नेकाका सभापति शेरबहादुर देउवाविरुद्ध नेकाका नेताहरू पार्टीको सभापतिमा उठ्ने चर्चा छ । अन्य नेताहरू सभापति पदको निम्ति उम्मेदवारी दिने तर्खरमा छन् । यसरी देशकै सबभन्दा ठुलो र शक्तिशाली पार्टीका नेताहरूमा पदको निम्ति होडबाजी चलेको छ ।
दलको अध्यक्ष या सभापतिमा जो निर्वाचित भए पनि दलको सिद्धान्त र विचारमा कुनै फरक हुने होइन । दलको नेतृत्व फेरेर समाज परिवर्तन हुने होइन† देश र जनताको सेवा हुने होइन । अध्यक्ष या सभापतिमा जो निर्वाचित भए पनि सिद्धान्त र विचार छोडी बनेको गठबन्धनको सरकारले दिशा निर्देश गर्न सक्दैन† देशलाई सही ढङ्गले अघि बढाउन सक्दैन । नेतृत्वप्रतिको यो असन्तोष पदको निम्तिभन्दा देश र जनताको सेवाको निम्ति हुनुपर्छ । सिद्धान्त र विचार लागु गर्न हुनुपर्छ । सिद्धान्त र विचार एकातिर कार्यशैली अर्कोतिर भयो भने त्यो धोकापूर्ण या बेइमानी राजनीति हुन्छ । छलकपटको राजनीति हुन्छ । छलकपटको राजनीतिले मार्ग निर्देश गर्दैन ।
ठुला दलका शासकहरूले देश सम्हाल्न नसकेको यथार्थ हो । भ्रष्टाचारीहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउन उनीहरू चुके । नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा प¥यो । ठुला दलका शासकहरूमा अहङ्कार बढ्यो । अरू कुनै दलले केही गर्न नसक्ने उनीहरूको दाबी थियो । तर, जेन–जी आन्दोलनले जति ठुलो या शक्तिशाली दललाई पनि बाँकी राखेन । ठुला दलका शासकहरूको कमजोरीको फाइदा उठाउने काम प्रतिगामी र अरु दलले लिन खोज्नु अस्वाभाविक होइन । प्रतिगामी शक्तिहरूको चलखेल बढे पनि जनताले विश्वास गर्ने छैनन् । देशमा फेरि राजतन्त्र फर्काउने कुरा सपनाको धुनमा नाच्ने नाचबाहेक अर्को हुनेछैन । राजतन्त्रको अनुभव नेपाली जनतासँग नभएको होइन । राजतन्त्र सामन्तवादको प्रतीक हो । सामन्तहरू फर्काएर देशमा प्रगति होला भन्ने कुरामा आशा गर्ने ठाउँ छैन ।
यो गणतान्त्रिक व्यवस्थामा पनि सङ्कीर्ण सोच भएका र साम्प्रदायिक भावना फैलाउने दलहरू पनि नभएका होइनन् । कहिले जातीय प्रदेश र जातीय नारा लगाएर त कहिले धर्मको बखान गरेर आफ्नो दलप्रति आकर्षित बनाउने काम पनि यहाँ नभएको होइन । सानो दलले केही गर्न सक्दैन भनी हेप्ने, अपमान गर्ने सामन्ती चरित्र भएका दलहरू पनि छन् । ठुला दलप्रति असन्तुष्ट भएरै अहिले धेरै नयाँ दलहरू देखिएका छन् । निर्वाचन प्रयोजनको निम्ति दर्ता भएका दलले के कस्ता घोषणापत्र, सिद्धान्त र विचार लिएर आउने हुन् ? त्यो हेर्न बाँकी छ । दलको नाम आकर्षक हुँदैमा सिद्धान्त र विचार राम्रो हुने होइन । चर्काचर्का र आकर्षक कुरा गरेर कुनै दल सही हुने होइन । नयाँ दल हुँदैमा सबै ठीक र पुरानो दल हुँदैमा सबै बेठीक हुने होइन । दलको सिद्धान्त र विचार सही र गलत हुने नापो नयाँ दल र पुरानो दल पनि होइन । कुन दलले कुन वर्गको प्रतिनिधित्व गर्छ, त्यो राम्ररी पर्गेल्नुपर्छ । आँखा चिम्ली या हचुवाको भरमा कुनै दल सही र गलत भनी टिप्पणी गर्नु गल्ती नै हुनेछ ।
Leave a Reply