भर्खरै :

स्वयम्सेवक दिवसको औचित्यता र त्यसको सान्दर्भिकता

स्वयम्सेवक दिवसको औचित्यता र त्यसको सान्दर्भिकता

‘देश र जनताको सेवा नै राजनीति हो’ भन्ने न कसैले बुझाउन चाहे न कसैले बुझ्न नै चाहे । शासक दलका नेताहरू सत्तामा गएको केही वर्षमै करोडपति र अर्बपति बने । कार्यकर्ताहरूले पनि नेताहरूको सिको गर्ने नै भए । अहिले राजनीति सेवाभन्दा व्यापारमा रूपान्तरण हुँदै छ । शासक दलहरूबिच पैसाले मन्त्री, सांसद, मेयर, वडाध्यक्षको खरिद बिक्री हुने गर्छ । यो पुँजीवादको विकृतिबाट राजनीतिलाई जोगाएर लानु आजको चुनौती हो । आजको सन्दर्भमा स्वयम्सेवक दिवस मनाउनुको औचित्य र त्यसको सान्दर्भिकता झन् बढ्दै गएको छ ।

डिसेम्बर ५, अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस । विश्वभर उक्त दिन विभिन्न कार्यक्रमका साथ स्वयम्सेवक दिवस मनाइयो । सन् १९८५ देखि संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूले आर्थिक र सामाजिक परिवर्तनका लागि काम गर्ने स्वयम्सेवकहरूको भूमिकाको सम्मान गर्दै स्वयम्सेवक दिवस मनाउँदै आएका हुन् । नेपालमा पनि जिल्ला जिल्लामा कार्यरत स्वास्थ्य स्वयम्सेविकाहरू भेला गरी सङ्घ, प्रदेश र स्थानीय तहहरूले स्वयम्सेवक दिवस मनाए । भनपाले पनि स्वास्थ्य स्वयम्सेविकाहरू भेला गरेर स्वयम्सेविका दिवस मनायो । कार्यक्रममा स्वयम्सेवकहरूले समाजमा खेलेको भूमिका, त्यसको आवश्यकता र महत्व तथा आजको सन्दर्भमा स्वयम्सेवकहरूको सान्दर्भिकताबारे व्यापक चर्चा गरियो ।
स्वयम्सेवकको अर्थ भित्री मनदेखि नै समाजको सेवा गर्ने भावना हो । स्वयम्सेवकहरूले न तलब सुविधाको मतलब राख्छ, न कुनै डर र त्रास लिन्छन् । समाजको आर्थिक र सामाजिक रूपान्तरणको लागि उसले निरन्तर काम गरिहेको हुन्छ । सेवामै उसले आत्मसन्तुष्टि र आत्मगौरव प्राप्त गर्छ । त्यसैले समाजमा स्वयम्सेवकहरूको इज्जत र सम्मान बेग्लै हुन्छ ।
सामाजिक कार्यकर्ताहरू समाजका स्वयम्सेवकहरू हुन् । मर्दापर्दा समाजले उनीहरूलाई सम्झने गर्छ । स्वयम्सेवकहरू ज्यानको बाजी राखेर काम गर्छन्† आफ्नो भन्दा अरूको चिन्ता गर्छन् । भूकम्पको बेला होस् या बाढी पहिरो, आगजनी या महामारीको बेला, आफ्नो ज्यान जोखिममा राखेर पनि उनीहरूले काम गरे, कैयौँको ज्यान जोगाए त कैयौँको धनसम्पत्ति । यद्यपि, उनीहरूले कहिले पनि आफूले गरेको कामप्रति घमण्ड गरेनन्, बरु अरूको ज्युज्यान र सम्पत्ति बचाउन सकेकोमा गर्व गर्दै समाजको सेवा गर्न अरूलाई पनि उत्साहित गर्छन् । अग्रज व्यक्तित्वहरूले गरेको स्वयम्सेवी भावनाले नै देश आजको अवस्थामा आइपुगेको हो । त्यसैले समाज रूपान्तरणमा निःस्वार्थ रूपले समाजको सेवा गर्ने स्वयम्सेवक कार्यकर्ताहरूको पनि महत्वपूर्ण योगदान छ ।
भक्तपुर आजको अवस्थासम्म आइपुग्न धेरै सामाजिक र राजनैतिक कार्यकर्ताहरूको योगदान छ । आजभन्दा ४० वर्षअघि भक्तपुर अत्यन्त फोहोर नगर थियो । सडकहरूमा मान्छेभन्दा बढी सुँगुर दौड्थे । सडकका दायाँ बायाँ फोहर ढल बग्थ्यो । सफाइको नाउँमा ‘सवारी’ को दिनमा चुन र फिनेल छर्किन्थ्यो । सडकमा सेतो गरी चुन छर्केको दिन कुनै महत्वपूर्ण व्यक्ति ‘सवारी’ हुँदै छ भनेर जनताले बुझ्थे । समयसँगै जनप्रतिनिधिहरू, राजनैतिक र सामाजिक कार्यकर्ताहरूले सफाइ अभियान चलाए । च्वाफी, चुन र फिनेल बोकेर सडक, टोल र चोकहरू सफाइमा लागे । एउटै जातिमा सीमित सफाइ कार्य अन्य जातिले पनि गर्नुपर्छ भन्ने भावनाको विकास भयो ।
सुरु सुरुमा सफाइमा लागेका कर्मचारीहरूलाई नातागोता, आफन्तहरूले चाडबाड भोजभतेरमा बहिष्कार गरे । सामाजिक र राजनैतिक कार्यकर्ताहरूले सफाइ गर्नु धर्म हो† कुनै अपराध होइन, ‘समाजको सेवा गर्नेहरूलाई इज्जत गर्नुपर्छ’ भनेर विभिन्न कथा, कविता, निबन्ध, नाटक लेखेर उत्साहित मात्र गरेनन्, ठुल्ठुला मञ्चहरूमा ती सफाइ मजदुरहरूलाई सम्मान पनि गरे । त्यसले भक्तपुरमा सफाइमा क्रान्ति ल्यायो । अग्रजहरूको त्यो भावनालाई कायम राख्न भक्तपुर नगरपालिकाले अहिले पनि हरेक महिनाको १ गते र १५ गते ठाउँ ठाउँमा नियमित सरसफाइ गर्दै आएको छ । आजको सफा भक्तपुर अग्रजहरूको स्वयम्सेवी भावनाको परिणाम हो ।
शिक्षामा भक्तपुर अत्यन्त पछाडि थियो । शिक्षाबिना समाज अगाडि बढ्न नसक्ने ठहर गर्दै समाजका अगुवाहरूले विद्यालयहरू निर्माणमा जोड दिए । घर र छाप्राहरू, पाटी पौवा, सत्तल र मठहरूमा बच्चाहरूलाई पढाउन सुरु गरियो । शिक्षा प्रचारको अभियान चल्यो । एस.एल.सी. पास हुनेबित्तिकै शिक्षकको रूपमा पढाउने चलन सुरु भयो । त्यसरी पढाउने अधिकांश शिक्षकहरू स्वयम्सेवकहरू थिए । उनीहरूले कहिल्यै तलब सुविधाको मतलब गरेनन् । समाजलाई रूपान्तरण गर्नु एकमात्र उनीहरूको स्वार्थ थियो । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले त्यही भावनालाई अगाडि बढाए । प्रौढ कक्षा, रात्री कक्षाहरूको सञ्चालन त्यसैको सिलसिला थियो । २०५६ सालमा नगरपालिकाले ख्वप मावि सञ्चालन सुरु गर्यो । आज त्यही जगमा उच्च शिक्षा प्रदान गर्ने सातवटा शैक्षिक संस्थाहरू सञ्चालित छन् । भक्तपुर शिक्षाको केन्द्रको रूपमा क्रमशः विकास हुँदै छ ।
‘एक घर एक स्नातक’ अभियानले शैक्षिक जगतमा क्रान्ति ल्यायो । १९ हजार घर धुरी र ८० हजार स्थायी बासिन्दा भएको भक्तपुरमा २ हजारभन्दा बढी इन्जिनियर छन् अर्थात् प्रति ९ परिवारमा १ जना इन्जिनियर छन् । त्यस्तै १ हजारभन्दा बढी नर्सहरू छन् । त्यो प्रति १८।१९ परिवार बराबर १ नर्स हो । हरेक घरमा स्नातक र स्नातकोत्तर गरेकाहरू भेट्न सकिन्छ । आजको भक्तपुर ती नै अग्रजहरू जसले समाज रूपान्तरणको लागि अहोरात्र खटे, बिनास्वार्थ समाज सेवाको भावनाले काम गरे, आजको शिक्षित भक्तपुर त्यसैको उपलब्धि हो ।
स्वास्थ्य उपचारको नाउँमा त्यतिबेला चारफुक वैद्यको विकल्प थिएन । अन्धविश्वास व्याप्त थियो । आमा—शिशु मृत्यु दर निकै बढी थियो । झाडाबान्ता जस्ता रोगहरूले महामारी रूप लिएर धेरैको ज्यान जाने गथ्र्यो । स्वास्थ्य सेवालाई राम्रो बनाउन धेरै सामाजिक कार्यकर्ताहरूले मिहिनेत गरे । स्वस्थ नागरिक तयार गर्न जनचेतनामूलक कार्यक्रमहरू नियमित सञ्चालन गरियो । नगरपालिकाको जनस्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै स्वास्थ्य सेवामा विकास गर्दै लगियो । अहिले घरघरमा गएर नर्स सेवा, वडा वडामा स्वास्थ्य केन्द्रहरू, १०० शैय्याको ख्वप अस्पतालको निर्माणले भक्तपुरका मात्रै होइन देशभरका जनताको लागि स्वास्थ्य उपचार सेवा सहज बनेको छ ।
सामाजिक र राजनैतिक कार्यकर्ताहरूको अथक प्रयासको कारण आज स्वास्थ्य क्षेत्रमा भक्तपुर नमुना बन्दै छ । सबैजसो सरकारी अस्पताललाई राम्रो र व्यवस्थित सञ्चालनमा ल्याएपछि निजी अस्पतालमा जाने बाध्यताको प्रायः अन्त्य भएको छ । हरेक खालको उपचार भक्तपुरमा सम्भव हुँदै छ । भक्तपुर स्वास्थ्य उपचारको केन्द्रको रूपमा विकास हुँदै छ । स्वयम्सेवी भावनाले काम गर्ने यहाँका अग्रजहरूको भावनाको मूर्त रूप आज स्वास्थ्य क्षेत्रमा पनि देखिँदै छ ।
केही दशक अगाडिसम्म भक्तपुरका सम्पदाहरू बेवारिसेझैँ थिए । न पुरातत्वले ध्यान दिएको थियो, न त गुठी संस्थानले नै । पुर्खाले बनाएका अमूल्य सम्पदाहरू छरपष्ट रूपमा बिग्रिँदै थियो । भनपाले स्वामित्व लिएर ती सम्पदाहरू जनताको सहयोगमा जीर्णोद्धार र पुनःनिर्माणको थालनी गरेपछि सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुर उदाहरण नै बन्दै छ । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ को नारालाई जनजनमा पु¥याइयो । सम्पदाहरू सबै नागरिकको साझा सम्पत्ति हुन् र संरक्षण गर्नु पनि सबैको साझा कर्तव्य हो भन्ने भावनाको विकास हुँदै छ । विदेशीको सहयोगमा सम्पदा पुनःनिर्माण र जीर्णोद्धारलाई निषेध गरियो । सम्पदालाई ठेक्कामा बनाउन नहुनेमा कडाइका साथ आवाज उठाउँदै आएको छ । जनताको आर्थिक, भौतिक र विविध सहयोगमा २०७२ को महाभूकम्पमा ढलेका अधिकांश सम्पदाहरू पुरानै शैलीमा उभ्याइए । सम्पदा संरक्षणमा भक्तपुरले एउटा रेकर्ड नै कायम ग¥यो । आफ्नै बलबुद्धिमा १६९ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरेर भक्तपुरबासीको शिर उच्च राख्ने काम गर्यो र गर्दै छ । यो श्रमदान गर्ने संस्कृतिको परिणामले सम्भव भएको हो ।
स्वयम्सेवी भावनामा कमी ः
समयको परिवर्तनसँगै स्वयम्सेवी भावनामा पनि कमी आएको छ । हरेक कामलाई पैसासँग जोडेर हेर्ने चलनको विकास हुँदै छ । विशेषगरी अहिलेको नयाँ पुस्तामा यो प्रस्ट रूपमा देखा पर्दै छ । अग्रजहरूले गरेको स्वयम्सेवाको भावनाले अहिलेका युवा पुस्ताले सुविधा पाएकोबारे बुझ्दैनन् वा बुझ्न पनि चाहँदैनन् । उनीहरू आफ्नो भाग्यले नै सुविधा पाएको ठान्छन् । यो सही होइन ।
विदेशी पैसाबाट सञ्चालन हुने गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था
(आइएनजीओ) जस्ता संस्थाहरूले युवाहरूमा स्वयं सेवा गर्ने भावनालाई समाप्त गर्दै छन् । उनीहरूले नयाँ पुस्ताका युवालाई पाइला पाइलामा पैसाको हिसाब राख्ने बनाइ दिएका छन् । समाजको सेवा गर्ने भावनाले काम गरेकाहरूलाई उनीहरू अबुझ ठान्छन् । अङ्ग्रेजी विद्यालयमा पढेर विदेशीसँग सम्पर्क भएको धाकधक्कु देखाएर आफूलाई अब्बल दर्जाको नागरिक ठान्छन् । उनीहरू आफू विदेशी दलाल भएको चाल पाउँदैनन् । युवा पुस्तामा देखिएको यो अत्यन्त खतरनाक सोच हो । त्यसको अन्त्य गर्नु जरुरी छ ।
पहिले टोल टोलमा टीम, क्लब, वाचनालय, पुस्तकालय, खेलकुद समितिहरू सक्रिय थिए । ती सबै स्वयम्सेवक संस्थाहरू थिए । सबैले आआफ्नो क्षेत्रमा स्वतःस्फूर्त रूपमा काम गरिरहेका हुन्थे । कसैले पनि पैसाको लोभ गर्दैनथे । अचम्मको कुरा त के हो भने अहिले स्वयम्सेवक संस्थाको रूपमा परिचित अन्तर्राष्ट्रिय संस्थाहरूमै भ्रष्टाचार भएका समाचारहरू आइरहेका छन् । नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारमा अन्तर्राष्ट्रिय छानबिन समिति समेत गठन गर्नुपर्ने अवस्था आएको समाचारले नेपालकै बद्नाम भएको छ । संस्थाको उद्देश्यअनुसार नचल्नेहरूले संस्थाको बद्नाम गराउँछन् । त्यस्ता व्यक्तिहरूलाई समयमै चिनेर कारबाही गर्नुपर्दछ ।
राजनीति पनि स्वयम्सेवा हो
राजनीति पनि स्वयम्सेवा नै हो । राजनैतिक कार्यकर्ताहरूले दिनरात समाज सेवामा बिताउँछन् । उनीहरूले आफ्नो कामलाई कहिल्यै धन सम्पत्तिसँग तुलना गर्दैनन् र गर्नु पनि हुँदैन । विगतका राजनीतिक नेता, कार्यकर्ताहरूले देशमा राजनैतिक र आर्थिक परिवर्तनका लागि त्यही भावनाले काम गरेका थिए, तर अहिले शासक राजनीतिक पार्टीहरूमा पनि विकृति आएको छ । नेता कार्यकर्ताहरू पैसा कमाउनकै लागि राजनीतिमा प्रवेश गरेको पाइएको छ । त्यसको परिणाम राजनीतिक दल, नेता, कार्यकर्ताहरू बद्नाम भएका छन् । व्यापारीहरूले भन्दा छिटो पैसा कमाउने सोच भएका मानिसहरूको राजनीतिमा प्रवेशले आज सिङ्गो राजनीति नै बद्नाम हुन पुग्यो । युवा पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्दै छ ।
‘देश र जनताको सेवा नै राजनीति हो’ भन्ने न कसैले बुझाउन चाहे न कसैले बुझ्न नै चाहे । शासक दलका नेताहरू सत्तामा गएको केही वर्षमै करोडपति र अर्बपति बने । कार्यकर्ताहरूले पनि नेताहरूको सिको गर्ने नै भए । अहिले राजनीति सेवाभन्दा व्यापारमा रूपान्तरण हुँदै छ । शासक दलहरूबिच पैसाले मन्त्री, सांसद, मेयर, वडाध्यक्षको खरिद बिक्री हुने गर्छ । यो पुँजीवादको विकृतिबाट राजनीतिलाई जोगाएर लानु आजको चुनौती हो । आजको सन्दर्भमा स्वयम्सेवक दिवस मनाउनुको औचित्य र त्यसको सान्दर्भिकता झन् बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *