भर्खरै :

राजनीतिक कार्यकर्ता जनताका आँखाका नानी

राजनीतिक कार्यकर्ता जनताका आँखाका नानी

काठमाडौँ, २३ मङ्सिर । समाज परिवर्तनको निम्ति सामाजिक कार्यकर्ता र राजनीतिक कार्यकर्ताहरूको महत्वपूर्ण स्थान हुन्छ । राजनीतिक कार्यकर्ताले राजनीतिक चेतना दिने, राजनीतिप्रति चासो बढाउने र राजनीति देश र जनताको निम्ति गर्नुपर्छ भन्ने भावना जगाउँछ । सामाजिक कार्यकर्ताले समाजको सेवा गर्न, समुदायको हितमा जीवन बिताउन उत्प्रेरित गर्छ । कुनै बेला कसैलाई आपत्विपत् या सङ्कट प¥यो भने आवश्यक सहयोग सामाजिक कार्यकर्ताले गर्छ । त्यसो त राजनीतिक कार्यकर्ता पनि देश र समाजप्रति समर्पित हुने हुँदा समाजमा रहेका जनताको सेवामा जुटेको हुन्छ । सामाजिक कार्यकर्ताले राजनीति गर्नु हुँदैन भन्ने होइन । सामाजिक कार्यकर्ता राजनीतिक कार्यकर्ता भयो भने त्यो झन् राम्रो हुन्छ र जनताको सेवामा समर्पित हुन्छ । राजनीतिक परिवर्तनपछि मात्रै समाजको सेवा गर्नुपर्छ भन्ने होइन । राजनीतिक परिवर्तन भए पनि नभए पनि समाज सेवामा सामाजिक कार्यकर्ता जुट्नुपर्छ ।
जुन समाज, टोल, बस्ती या कुनै क्षेत्रमा सामाजिक र राजनीतिक कार्यकर्ताहरू सक्रिय हुन्छन् त्यो समाज हरेक दृष्टिकोणले अघि बढेको हुन्छ । त्यस्तो समाजमा राजनीतिक स्थिरता हुन्छ । कुनै शत्रु या विपक्षले अनेक छलछाम, षड्यन्त्र गरे पनि लोभलालच देखाए पनि जनताको मन भाड्न सकिँदैन, लोभलालचमा फसाउन सकिँदैन† जनता पैसा र मिठो आश्वासनमा फस्दैनन् । सामाजिक र राजनीतिक कार्यकर्ता बस्ती बस्ती, वडा वडामा भिजेका भए समाज तुलनात्मक रूपमा उदाहरणीय बन्छ; आदर्शाेन्मुख समाज बन्छ । आदर्शाेन्मुख समाजमा खासै चोरी चकारी हुँदैन; आपत्विपत्मा एकले अर्काेलाई सघाउँछ; मिलीजुली काम गर्छ; एकले अर्काेलाई धोका दिँदैन । एकले अर्काको खुट्टा तान्ने, फसाउने र काममा बाधा हालेको हुँदैन । उनीहरूमा नागरिक भावनाको विकास हुन्छ; सांस्कृतिक स्तरको विकास हुन्छ । त्यस्तो समाजमा अन्धविश्वासलाई आत्मसात गरिएको हुँदैन । जनताको मन फरासिलो र फराकिलो हुन्छ ।
उनीहरूको मन सफा हुन्छ । उनीहरू आफ्नो पदअनुसार इमानदारीपूर्वक काम गर्छन् । उनीहरू निःस्वार्थपूर्वक काम गर्छन् । जस्तो सङ्कटमा परेका व्यक्तिहरूलाई पनि टोलका सबै दाजुभाइ मिलेर मद्दत गरेका हुन्छन् । उनीहरूमा सेवा भाव हुन्छ । यस्ता काम राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ताले गरेका हुन्छन् । भनिन्छ, राजनीतिक कार्यकर्ता जनताका आँखाका नानी हुन् । उनीहरू जनतामाझ प्रिय हुन्छन्; विश्वासिला हुन्छन् । यसकारण, समाज परिवर्तनमा सामाजिक र राजनीतिक कार्यकर्ताको खाँचो हुन्छ भनिएको हो । सङ्गठन विस्तार गर्ने, समाज सेवाको भावना फैलाउने, बस्ती बस्तीका जनतालाई सचेत र सङ्गठित गर्ने काम राजनीतिक र सामाजिक कार्यकर्ताहरूको हो । राजनीतिक र सामाजिक कार्यकर्ता क्रियाशील नभएको टोल, समाज या गाउँ विकासमा पछि पर्छ; साथ र सहयोगमा पछि पर्छ । त्यस्तो समाजमा छलकपट गर्ने, एकले अर्काेलाई भड्काउने, फसाउने, बाधा पु¥याउने, चोरी चकारी र हत्या हिंसाजस्ता आपराधिक क्रियाकलाप बढेको हुन्छ । मानिसहरू असुरक्षित हुन्छन् । अतः जनतालाई सचेत, सङ्गठित र चनाखो बनाउने काममा कार्यकर्ताहरूको अहम् भूमिका हुन्छ ।
राजनीतिक कार्यकर्ताहरू पार्टीका ज्यानमात्र होइनन्; जनताका विश्वासिला पात्र पनि हुन् । उनीहरूको सेवा भावले समाजमा राम्रो सन्देश छर्छ । त्यस्तै सन्देशले जनतामा पनि सहयोग गर्ने भावना फिजाउँछ । जनता उत्साहित र खुसी हुन्छन् । उनीहरू शासकवर्गले गरेको जनविरोधी र देशविरोधी कामको जनतामाझ उदाङ्ग्याउँछन्† गल्ती सुधार्ने बाटो देखाउँछन् । यही कारण दलका राजनीतिक कार्यकर्ताहरू सिद्धान्त र विचार जनतामाझ पु¥याउन गाउँ बस्ती पुग्छन्; देश र जनताको सेवा गर्ने भावना जगाउँछन् । देश या समाज पछि पर्नुको कारण सत्तासीन दलका नेता तथा कार्यकर्ताहरू दलगत र व्यक्तिगत स्वार्थमा लाग्नु हो† भागबन्डामा लाग्नु हो । असैद्धान्तिक गठबन्धन गर्नु हो । देश र जनताको सेवाभन्दा पद र पैसाको निम्ति राजनीति गर्नु हो । अतः देशको निम्ति बहुमत जनताको सेवा गर्ने सिद्धान्तनिष्ठ राजनीतिक र सामाजिक कार्यकर्ताको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *