भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ३६

  • मंसिर २४, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – ३६

पाठ १८
सन् १९१४ को गर्मीयामको हडताल
इजोस्र्की कारखानाको हडताल । प्रान्तहरूमा हडताल । बाकुका मजदुरहरूको सङ्घर्ष । राजा निकोलस द्वितीयले ‘शान्तिवाहक’ पठाए । सेन्ट पिटर्सबर्गका मजदुरहरूको जवाफी मार । गृहमन्त्री माक्लाकोभको भ्रमण ।
सन् १९१४ को जून महिनामा संसद्को गर्मी बिदा सुरु भयो । यसअघि प्रायः बजेट अनुमोदनका विभिन्न चरणमा पार गरी संसद्को अधिवेशन टुङ्गिएको थियो । खासमा यो विश्वयुद्धअघिको अन्तिम अधिवेशन बन्यो । देशभरि मजदुर आन्दोलनको उछाल आइरहेको बेला यो बन्द भयो ।
मे १ को विशाल जनप्रदर्शनपछि ओबुखोभ कारखानाका मजदुरहरूलाई सुनाइएको सजायको विरोधमा हडतालको तयारी गरियो । सन् १९१३ नोभेम्बरमा पहिलो इजलास बस्दा सेन्ट पिटर्सबर्गमा हडताल सुरु भएको थियो । सन् १९१४ को मे महिनामा उनीहरूको मुद्दालाई पुनः ब्युँताएपछि अदालतले ओबुखोभ कारखानाका मजदुरहरूलाई हडतालमा भाग लिएको कसुरमा दुई महिनाको कैद सजाय सुनायो । हडतालको आह्वानमा १ लाखभन्दा बढी मजदुर सहभागी भए । मे दिवसको आन्दोलनमा जत्तिकै उत्साहले मजदुरहरू हडतालमा सामेल भए ।
सेन्ट पिटर्सबर्गका मजदुरहरूको अर्को राजनीतिक हडताल किभ सहरको बाइलिस मुद्दा र पाइप कारखानाको म्यानेजरको हत्या गरेको आरोपमा एक मजदुरलाई मृत्युदण्ड दिइएको विषयलाई लिएर भन्यो । (बाइलिस एक यहुदी मुन्शी थिए । कालासयहरूले उनलाई केही झूटा प्रमाणको बलमा उनलाई ‘कर्मकाण्डी’ हत्या गरेको आरोपमा मुद्दा चलाएका थिए तर इजलासले उनी निर्दोष भएको फैसला सुनाएको थियो ।) जून महिनाको आरम्भमा भएको यो हडतालमा ३० हजार मजदुर सहभागी थिए ।
त्यो बेला सेन्ट पिटर्सबर्गमा एउटा न एउटा कारखानामा कठोर आर्थिक सङ्घर्ष लगातार चलिरहेको हुन्थ्यो । यीमध्ये सबैभन्दा लामो हडताल इजोस्र्की कारखानामा भयो । त्यो कारखाना जनसेना मन्त्रालयको नियन्त्रणमा थियो । आन्दोलन विद्युत् गृहबाट सुरु भयो । मजदुरहरूले कैयन् आर्थिक माग अघि सारे । केही मजदुरहरूलाई प्रशासनले निकाला गरेपछि हडताल अन्य ज्यासलमा पनि स¥यो । मजदुरहरू ज्याला बढाउनुपर्ने र आठघण्टे कार्यदिन लागू गर्नुपर्नेजस्ता आवाज उठाए । हडताल हडतालीहरूको आग्रहमा हाम्रो सेन्ट पिटर्सबर्ग समितिको अगुवाइमा भएको थियो । प्रतिनिधि भेलालाई सम्बोधन गर्न म कोल्पिनो पुगेँ । बैठक रातको समयमा चिहानमा भयो । हडताललाई सकेसम्म लम्ब्याउने गरी डट्ने निर्णय भयो ।
हडतालले गर्दा नौसेना विभाग चिन्तामा डुब्यो । कज्जाकहरूको एउटा पल्टन कोल्पिनोमा पठाइयो । ‘सुव्यवस्था कायम गर्न’ तम्तयारी अवस्थामा तिनलाई कारखानानजिकै छाउनीमा राखियो ।
भोलिपल्ट म पुनः कारखानामा गएँ । कज्जाक पल्टनलाई बोलाएको हुनाले मजदुरहरू निकै निरास र रुष्ट थिए । त्यसपछि भएको बैठकमा अवेगपूर्ण भयो । मजदुरलाई बेदखल गर्ने लगायत जतिसुकै कडा दमन गरे पनि लडाइँ जितेरै छोड्ने अठोट बढेर गयो । पार्टी सङ्गठनले आर्थिक मागका साथै प्रमुख म्यानेजरलाई बर्खास्त गर्नुपर्ने माग राखेर पर्चा तयार गर्न र वितरण गर्नमा मद्दत ग¥यो । कारखाना प्रशासनले पर्चा वितरणमा भाँजो हाल्न खोज्यो । उसले खटाएका कर्मचारीले मजदुरहरूका हातबाट पर्चा खोसी च्यातिदिए । यसले मजदुरहरू आक्रामक हुनु स्वाभाविक थियो ।
इजोस्र्कीको हडताल तीन हप्तासम्म चल्यो । प्रशासनले ज्यालादर बढाइदिने र केही अन्य सहुलियत दिने वाचा गरेपछि हडताल टुङ्गियो । क्रान्तिकारी उभारको यो अवधिमा आर्थिक हडतालको सामान्य प्रक्रिया कस्तो हुनुपर्छ भनेर देखाउन मैले यसको जिकिर गरेको हुँ । मजदुरहरूसँग बोल्शेभिक पार्टी सङ्गठनको घनिष्टता बढेसँगै बोल्शेभिक नेतृत्वमा मजदुरहरू सङ्घर्षमा उत्रिन्थे । एकातिर यस्तो हुन्थ्यो भने अर्कोतर्फ हडतालीहरूलाई दबाउन सशस्त्र फौज बोलाइन्थ्यो । त्यसबेला हुने मजदुरका आर्थिक सङ्घर्षको रीत यस्तै थियो ।
सङ्घर्षको यो सिलसिला सेन्ट पिटर्सबर्गमा मात्र सीमित थिएन । पिटर्सबर्गका सर्वहारा जनताले बनाउने उदाहरणले देशैभरि चल्ने मजदुर आन्दोलनलाई बाटो देखाउँथ्यो । आर्थिक र राजनीतिक दुवैथरी हडतालहरू एउटा सहरबाट अर्को सहरमा फैलिन्थ्यो । प्रान्तका विभिन्न नगरका मजदुरहरूले एकदम साङ्गठनिक रूपमा काम गरे । यस्तो सुगठन पहिले कहिल्यै देखिएको थिएन । तिनको अविचल सङ्घर्षले उच्च स्तरको वर्गीय चेतना प्रदर्शन ग¥यो । परिणाम निश्चित आर्थिक माग राखी गरिने सबैजसो हडतालमा राजनीतिक सङ्घर्षको पुट रहन्थ्यो ।
मे महिनामा मस्को जिल्लाको कपडा कारखानामा लामो विवाद उठ्यो । आन्दोलन कोस्त्रोमा गुबेर्नियाबाट सुरु भयो र छिट्टै छिमेकी मस्को र भ्लादिमिर गुबेर्नियामा फैलियो । यसले झन्डै १ लाख मजदुरहरूलाई समेट्यो ।
कपडा कारखानाका मजदुरहरू अरूभन्दा अलग ससाना मिलहरूमा बाँडिएका हुन्थे । यस हिसाबले यो निकै ठुलो आन्दोलन थियो । मुख्य माग ज्याला बढाउनुपर्ने भन्ने थियो । तर, अन्य मागसँगै हडतालीहरूले ‘प्राभ्दा’, ‘प्रोस्भेश्चेन्ये’, ‘भोप्रोसी स्त्राखोभानिया’ (बीमा प्रश्न) लगायत अखबार र पत्रिका पढ्न पाइने पुस्तकालयको बन्दोबस्त गर्नुपर्ने माग पनि राखेका थिए ।
बोल्शेभिक समूहले आफ्नो सारा शक्ति लगाएर हडतालको नेतृत्व ग¥यो र कपडा मजदुरहरूलाई सहयोग दियो । सदन बन्द भएपछि कोस्त्रोमा गुबेर्नियाबाट निर्वाचित भएका शागोभ आफ्नो जिल्ला भ्रमण गए । उनले मजदुरहरूलाई सङ्घर्ष जारी राख्न भने र मालिकहरूसामु आत्मसमर्पण गर्ने सबै चर्चाको निन्दा गरे । शाखोगको भ्रमण ससर्त थियो । प्रत्येक मजदुर सांसदको भ्रमणमा सर्त लाग्न थालेको थियो । उनी जहाँ गए पनि प्रहरी गुप्तचरसँगै हुन्थे । शोगोभ गएका घरमा जबरजस्ती पस्दै सुराकीहरूले उनीसँग कुरा गरेका मजदुरहरूलाई पक्राउ गरे ।
मस्को जिल्लाका कपडा कारखानामा हडताल चलिरहेकै बेला सुदूर दक्षिणमा पर्ने बाकुमा हलचल भयो । समग्र मजदुर आन्दोलनमा यसले ठुलो महत्व राख्यो । बाकुको हडतालका दुई विशेषता थिए । पहिलो, यो एकदम लामो समयसम्म चल्यो । दोस्रो, यसलाई दबाउन जारशाही सरकार र पुँजीपतिहरूले निकै कठोर हत्कण्डा अपनाए । यसले विश्वयुद्धको सङ्घारमा सेन्ट पिटर्सबर्गका मजदुरहरूलाई ऐतिहासिक सङ्घर्ष गर्न जुरुक्क उचाल्यो ।
बाकुका तेलखानीहरूको हडताल स्वतःस्फूर्त थिएन । महिनौँसम्म सावधानीपूर्ण तयारी गरेपछि त्यो हडताल भएको थियो । त्यहाँका सबै ठुला कारखानाका मजदुरहरूका प्रतिनिधिबाट मजदुर समिति बनेको थियो । पार्टीको सल्लाहमा यी समितिका तयारी बैठकहरू भए । बैठकमा ज्यालालगायत मजदुरहरूको अवस्थासँग जोडिएका विभिन्न मागहरू तयार गरियो ।
तेलखानीसँग जोडिएका जिल्लामा अकस्मात् फैलिएको प्लेगको महामारी हडतालको तत्कालीन कारण बन्न पुग्यो । यो भयावह रोगको प्रकोपले बाकुका मजदुरहरूको बासस्थल टड्कारो मुद्दा बन्न पुग्यो । बाकुको अवस्थाबारे अध्ययन गरेका कहलिएका वैज्ञानिकहरूले आफूहरूले यस्तो दुर्दशा कहीँकतै नदेखेको बताए । उनीहरूले प्लेगको स्थायी घरजस्तो बनेको भारतमा समेत बाकुको जस्तो दुर्दशा नदेखेको बताए ।
सन् १९१४ को मे महिनामा प्लेगको महामारी सुरु हुनेबित्तिकै तेलखानीको ट्रेड युनियनले मालिकहरूको सङ्गठनसामु आवासको विषय उठायो । त्यो सङ्गठन यो समस्यामा पस्नै चाहेन । बरु, त्यही बेला धेरै मजदुरहरू पक्राउ परे । एकैबाजि विभिन्न जिल्लामा हडताल सुरु भयो । हडताल अब आम भयो । झन्डै ५० हजार मजदुरहरू संलग्न थिए । पार्टीसँग घनिष्ट हडताल समितिको नेतृत्वमा मजदुरहरू लडाइँको मैदानमा उत्रे । पार्टीले घोषणापत्र जारी ग¥यो, हडताली कोषको लागि चन्दा सङ्कलन गर्ने चाँजो मिलायो र अन्य आवश्यक कदम चाल्यो । मजदुरहरूले मागहरूको लामै सूची प्रस्तुत गरे । ज्याला वृद्धि, गतिलो आवास र खानाको व्यवस्था, अतिरिक्त शुल्कको उन्मूलन, अनिवार्य प्राथमिक शिक्षा, औषधोपचारको व्यवस्था आदि मुख्य माग थिए । केही पेसामा मजदुरहरूले आठघण्टे कार्यदिनको माग गरे । त्यस्तै, मे १ लाई मजदुर बिदाको रूपमा आधिकारिक रूपमै स्वीकार्नुपर्ने माग पनि राखियो ।
हाम्रो पार्टीको मनग्यै प्रभावका कारण राजनीतिक प्रकृतिका कतिपय माग उठाइएको थियो । अतिरिक्त शूल्य (प्रिमियम) को उन्मूलनको मागमा विशेष ध्यान दिन जरुरी छ । मजदुरहरूले यो अपमानजनक सहुलियत प्रणालीको विरोध गरे । यो प्रणालीमार्फत मालिकहरूले मजदुरहरूलाई मुठ्ठीमा राख्थे । यो माग राखेबाट बाकुका मजदुरहरूको वर्गचेतना उन्नत भएको प्रमाणित भयो । मजदुरहरू रुसी, अर्मेनियाली, इरानी र मङ्गोल जातिका थिए । जातीय विविधता थियो । तर, पुँजीवादीहरूविरुद्धको यो लडाइँमा उनीहरू एक भएर लडे ।
तेलखानीका धनकुबेरहरूले सबै माग ठाडै अस्वीकार गरे । हडताल तोड्न उनीहरूले कठोरभन्दा कठोर हत्कण्डा प्रयोग गर्ने निधो गरे । मालिकहरूले तोकेको समयसीमा भित्र हडतालीहरू काममा नफर्केपछि उनीहरू सबैलाई कामबाट बेदखल गरियो । उनीहरूका पासपोर्ट प्रहरीलाई दिइयो र उनीहरू बस्दै आएका टहरा छोड्न लगाइयो । अदालत हतारिँदै मालिकहरूको सहयोगमा हाजिर भयो । तेलखानीमा बसिरहेका मजदुरहरूलाई तुरुन्तै ठाउँ खाली गर्न अदालती आदेश आयो । अधिकारीहरूले केही बाँकी राखेनन् । मजदुर बस्तीबाट तिनका ओछ्यान निकालियो† स्टोभ, चीम फुटाइयो† पानीको पाइप काटियो ।
प्रहरी पनि मालिकहरूजत्तिकै सक्रिय भए । बाकु सैन्य शिविरमा परिणत भयो । ६ पल्टन कज्जाक फौजले स्थानीय छाउनी भरियो । उनीहरू ‘आन्तरिक दुश्मन’ सँग लड्न तम्तयार भए । मजदुर युनियन छिन्नभिन्न पारियो । त्यसका सबै सक्रिय सदस्यहरूलाई गिरफ्तार गरियो । मजदुरहरूलाई बैठक गर्नमा रोक लगाइयो । सैनिक शासन लगाइयो र साँझ ८ बजेपछि कसैलाई पनि सडकमा हिँडडुल गर्न दिइएन ।
जून महिनाको अन्त्यतिर बाकुका मजदुरहरूले एउटा विरोध प्रदर्शन आयोजना गरे । त्यसमा २० हजारभन्दा बढी मानिस सहभागी थिए । मजदुरहरूका मागयुक्त पोस्टर बोकेर प्रदर्शनकारीहरू तेलमालिक सङ्घको मुख्यालयतर्फ लम्किए । आफूले भीड नियन्त्रण गर्न नसकेपछि प्रहरीले कज्जाकहरूलाई बोलायो । कज्जाकहरूले मजदुरहरूलाई घेरामा पारे र तितरबितर पारे । झन्डै एक सय मजदुरहरूलाई ठेल्दै कारखानाको चौरमा लगियो र पक्राउ गरियो । केन्द्रीय कारागारमा यसअघि नै कैयन् सय बन्दी थिए । कारागार मजदुरहरूले खचाखच भयो । एउटा उल्लेख्य घटना के भने नगर गभर्नरले कारखाना समितिको स्थापना, मे १ मा बिदा, अनिवार्य शिक्षालगायत मागलाई गैरआर्थिक माग भने । उनले मालिकहरूसँग तिनलाई यस्ता गैरआर्थिक मागबारे छलफल गर्ने अधिकार नै छैन भने । तर, यो चेतावनी आवश्यक थिएन । मालिकहरू रत्तिभर पनि छुट नदिने ताकमा थिए ।
हडताल चर्किँदै गएपछि देशभरिको ध्यान बाकुमा केन्द्रित भयो । एकातिर मालिकहरू र जारशाही सरकार थियो भने अर्कोतर्फ देशभरिको मजदुर वर्ग थियो । दुवैले घटनाक्रमलाई नजिकबाट नियाले । इन्धनको अभाव हुन थाल्यो । उत्पादन ठप्पै थियो । यसले गर्दा औद्योगिक सङ्घ–सङ्गठनको कान चनाखो हुन थाल्यो । खासगरी जहाजका मालिकहरू आत्तिए । उनीहरूले जहाजलाई बन्दरगाहमै ठड्याउनुप¥यो ।
जारशाही सरकारले बाकुका स्थानीय अधिकारीहरूले अति नरम हत्कण्डा अपनाएको निष्कर्ष निकाल्यो । सहायक गृहमन्त्री जुन्कोभ्स्कीले बाकुमा राजाको विशेष आदेश पठाए । उनलाई पूर्ण अधिकार दिइएको थियो । प्रहरी प्रमुखलाई पनि उनीसँगै पठाइएको थियो ।
जर्नेल जुन्कोभ्स्कीको आगमनसँगै बाकुमा दमन चुलियो । उनले पत्रपत्रिकामा ‘हडताल’ शब्द प्रयोग गर्नमा पाबन्दी लगाए । ‘हडताल’ शब्द प्रयोग भएका सम्पूर्ण तार सन्देशमा सेन्सर लगाए । बाकु पठाइने सबै रकम कहाँ गइरहेको छ भनी खोजीनीति गरे । हडतालीहरूलाई जाने सार पैसा बरामद गरे । सारमा जुन्कोभ्स्की जारशाही शासनका योग्य पहरेदार ठहरिए । आफूले पाएको सर्वाधिकार प्रयोग गरेपछि मात्र उनको मन ‘शान्त’ भयो । निःसन्देह जारशाही सरकार तेलखानीका धनकुबेरहरूको पक्षमा उभियो । यसको लागि ऊ बाकुका मजदुरहरूको सुदृढ प्रतिरोधलाई छिन्नभिन्न पार्न कम्मर कसेर लाग्यो ।
सरकारको यो दमनले रुसका सम्पूर्ण मजदुर आक्रोशित भए । सेन्ट पिटर्सबर्गमा सर्वहाराहरू निकै क्रूद्ध भए । बाकुका मजदुरहरूले संसदीय समूहसँग सहयोग मागे । हडतालीहरूलाई सघाउन हामीले सेन्ट पिटर्सबर्गमा जुलुस प्रदर्शनको आयोजना ग¥यौँ ।
प्रहरी विभागका निर्देशकलाई बुझाइएको एउटा गुप्त रिपोर्टमा सुुराकीहरूले एकदम सही लेखे । सेन्ट पिटर्सबर्गका मजदुरहरूको सहानुभूतिजन्य गतिविधि गर्न हाम्रो पार्टीले देखाएको सक्रियताबारे गुप्त रिपोर्टमा लेखियो, “बाकुका तेलखानीहरूमा भड्केको हडतालसँगै भूमिगत मण्डलीहरूका क्रान्तिकारी गतिविधि पनि बाक्लिन पुगेका छन् । यसअघि उनीहरूले आउँदो शरद् याममा हुन लागेको अन्तर्राष्ट्रिय समाजवादी अधिवेशनमा मजदुरहरूको रुचि जगाउँदै थिए । हडताल भड्केको देखेर यही मौकामा समाजवादी पार्टीका प्रतिनिधिहरूले प्रचारप्रसार तीव्र पार्दै मजदुरहरूलाई बिथोल्दै छन् । यही मौकामा सङ्गठन फैलाउने र आउँदो अधिवेशनको लागि प्रतिनिधि छनोट गर्दै छन् ।”
त्यो बेला गरिएको प्रचारप्रसारबारे रिपोर्टले लेख्यो, “कानुनी समाजवादी जनवादी छापा माध्यममा नियमित रूपमा खुलमखुला भड्किला सामग्री छापिँदै छ । यसबाहेक भूमिगत सङ्गठनका नेताहरूले बाकु हडतालको प्रकृति र त्यसको महत्वबारे सबै मजदुर बैठकहरूमा छलफल गर्न निर्देशन जारी गरे । वर्तमान शासन व्यवस्थाभित्र मजदुरहरूको अवस्थाको चर्चा गरेर मजदुरवर्गमा क्रान्तिकारी भावना भर्ने र विश्व समाजवादको आदर्शप्रति मजदुरहरूको रुचि जगाउने अपेक्षा गरिएको छ ।
यी क्रियाकलापको मुख्य नाइकेहरूमा सामाजिक जनवादी संसदीय समूहका सदस्य बादायेभ र अन्य विभिन्न पार्टी सदस्य हुन् । ती सदस्य बादायेभनिकट हुन् र उनले नै तिनलाई मार्गदर्शन गर्छन् ।
माथि उल्लेख सांसद र बादेयेभसँग जोडिएका व्यक्तिहरू सहरबाहिर वैज्ञानिक भ्रमणको आवरणमा मजदुर बैठकहरू आयोजना गर्छन् । यी बैठकहरूमा आगामी समाजवादी अधिवेशनको लक्ष्य र जिम्मेवारीको सरसरती जाँचबुझ गरिन्छ, बाकुको हडतालबारे छलफल हुन्छ र विभिन्न जातीय समूहका मजदुरहरूबिच ऐक्यबद्धता कायम गर्न आह्वान गरिन्छ । आपसमा नैतिक र भौतिक दुवैथरी सरसहयोग गर्नुपर्ने बताइन्छ ।”
बाकुका मजदुरहरूको लागि ठुलो धनराशि जम्मा भयो । त्यो रकम हाम्रो संसदीय समूहलाई दिइयो । कतिपय कारखानाका मजदुरहरूले आफ्नो ज्यालाको निश्चित प्रतिशत दिए । ‘प्राभ्दा’ मा नियमित रूपमा प्राप्त रकमको हिसाब छापियो । सोही बेला पत्रिकाको ग्राहक सङ्ख्या पनि बढेर गयो । सरकारी अधिकारीहरू र स्तर उठेका मजदुरहरूले बुझे, थप सहयोगको लागि गरिने अपिलले आफैमा क्रान्तिकारी प्रचारप्रसारको स्वरूप लियो ।
सेन्ट पिटर्सबर्गका मजदुरहरूको क्रान्तिकारी मिजास उकासिँदै जाँदा बाकुका मजदुरहरूका निम्ति हडताली कोष सङ्कलन गर्ने कार्य बन्द गर्न खोजियो । सेन्ट पिटर्सबर्गका नगर गभर्नरले एउटा निधेषाज्ञा जारी गरे । ‘सार्वजनिक शान्ति र सुव्यवस्था बहालीविरुद्ध हडताल, निर्वासन, सरकारी अधिकारीले लगाएका दस्तुर तिर्ने लगायत कार्यमा कुनै पनि तरिकाले’ चन्दा सङ्कलन गर्न नपाइने घोषणा भयो । साथै, यो आदेशविपरीत गएर पत्रपत्रिकामा यसप्रकारको कोष जम्मा गर्नका लागि कुनै विज्ञापन वा अपिल प्रकाशित गर्न नपाइने र त्यसो गरेको पाइएमा ५०० रुबल जरिवाना तिराइने वा तीन महिनासम्म जेल चलान गरिने सजाय तोकियो ।
सेन्ट पिटर्सबर्ग र बाकुका नगर गभर्नरले एकनासै काम गरे । बाकुका गभर्नरले हडतालीहरूका लागि जम्मा गरिएको पैसा कब्जा गरे । पिटर्सबर्गका गभर्नरले पैसा पठाउन नदिने प्रयास गरे । ‘प्राभ्दा’ ले नगर गभर्नरको आदेशलाई ग्राह्यता दिएर पत्रिकाको आवरण पृष्ठमा छाप्यो । लगत्तैको पछिल्लो पानामा ठुलो अक्षरमा मेरो ठेगाना छाप्यो । मेरो ठेगानामुनि मैले आगन्तुकहरूलाई भेट्ने समय पनि दिइएको थियो । त्यसको अर्थ मैले त्यसबेला हडतालीहरूको लागि उठाइएको चन्दा बुझ्छु भन्ने थियो । चन्दा आउन बन्द भएन बरु झन् बढ्यो । गभर्नरको आदेश बाकुका मजदुरहरूको पक्षमा भइरहेको गतिविधि बढाउनुपर्ने सङ्केत बन्न पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *