भर्खरै :

बाँकेमा नेमकिपाको तीनदिने प्रशिक्षण वैचारिक, सैद्धान्तिक र व्यावहारिक ज्ञानमा जोड

बाँकेमा नेमकिपाको तीनदिने प्रशिक्षण वैचारिक, सैद्धान्तिक र व्यावहारिक ज्ञानमा जोड

बाँके, १४ भदौ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति बाँकेको आयोजनामा सञ्चालित तीनदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम विभिन्न रचनात्मक सत्रसहित सम्पन्न भयो । पार्टीविरुद्ध पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र र भक्तपुर काण्ड (२०४५ भदौ ९ को कालो दिवस) को विरोध तथा भत्र्सना गर्दै सुरु भएको सो कार्यक्रममा पहिलो दिन उद्घाटनसहित समसामयिक राजनीतिक विषयमा चर्चा भयो भने दोस्रो र तेस्रो दिन विभिन्न विषयगत प्रशिक्षण तथा कार्यकर्ताबिच अन्तरक्रिया भयो ।
भदौ १२ गते पार्टी अध्यक्ष सर्प कामी शेरबहादुरको सभापतित्वमा भएको सो कार्यक्रममा लुम्बिनी प्रदेश समितिका संयोजक हरिसुन्दर वासीले वर्तमान समसामयिक राजनीतिक परिस्थितिमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको पहिलो दिन नेमकिपा केन्द्रीय सदस्य बखतबहादुर थापा र बर्दिया जिल्ला अध्यक्ष हरिलाल न्यौपानेले भक्तपुर काण्डको ऐतिहासिक पृष्ठभूमिबारे बताउनुभयो ।
पार्टी जिल्ला समिति सचिव धनबहादुर सिजापतिले सञ्चालन गर्नुभएको सो उद्घाटन सत्रमा कोहलपुर नगर समिति सदस्य जर्मकन्या रोकायाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन भदौ १३ गते आयोजित प्रशिक्षण सत्रमा अतिथि हरि सुन्दरवासीले अध्ययन र प्रशिक्षण कक्षाहरूले कार्यकर्ताहरूको सैद्धान्तिक स्तर उकास्न ठुलो मद्दत गर्ने हुँदा यसमा निरन्तर लागिरहनुपर्ने कुरामा जोड दिनुभयो । हाल देशमा देखिएको प्राकृतिक प्रकोप र त्यसपछि उब्जिएका विभिन्न प्रश्न तथा झूटा आरोपहरूको उहाँले खण्डन गर्नुभयो ।
सोही अवसरमा केन्द्रीय सदस्य बखतबहादुर थापाले ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको प्रशिक्षण दिँदै उक्त पुस्तकले भारतीय विस्तारवाद, तत्कालीन सोभियत सङ्घ र नेपालको राजतन्त्रलाई हेर्ने स्पष्ट दृष्टिकोण प्रदान गरेको धारणा व्यक्त गर्नुभयो ।
प्रशिक्षणका क्रममा पार्टीका पूर्वजिल्ला अध्यक्ष तथा अधिवक्ता नरहरिनाथ योगीले संविधानमा भएका ४७ वटा मौलिक हकहरूबारे जानकारी गराउनुभयो भने अतिथि तथा कुष्ठरोग विशेषज्ञ स्वास्थ्यकर्मी संगीता श्रेष्ठले स्वास्थ्य र सरसफाइसम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा पार्टीका विभिन्न तहका कार्यकर्ताहरूले आ–आफ्ना विषयमा गहन प्रशिक्षण तथा प्रस्तुति राख्नुभएको थियो । जिल्ला समिति सदस्य खड्गराज थापाले आदिम साम्यवाद, भूमि महताराले पुँजीवादी समाज विकास, हिराबहादुर शाहीले मानव विकास, शेरबहादुर शाहीले दास समाज, सफल थापाले सामन्ती समाज, तुल्सी आचार्यले मजदुरवर्गको अवस्था र वर्गसङ्घर्ष, सुर्जा थापाले समाज विकासको एक झलक र दीपा बुढाले भक्तपुर काण्डका विषयमा आ–आफ्नो धारणा राख्नुभयो ।
त्यसैगरी, प्रकाश शाहीले सूचना र सञ्चार, नारायणी चौधरीले समाजवाद र सान्दर्भिक विषयवस्तु, वीरबहादुर चौधरीले आध्यात्मिकवाद र भौतिकवाद, रत्नबहादुर शाहीले विश्वका प्रमुख मजदुर आन्दोलनहरू तथा प्रकाश शाहले चिनियाँ कम्युनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
पार्टीका विभिन्न प्रकाशनहरूमाथि अन्तरक्रिया गरिएको यो तीनदिने प्रशिक्षण कार्यक्रमले नेमकिपाका अगुवा तथा कार्यकर्ताहरूमा वैचारिक स्पष्टता, सैद्धान्तिक दृढता र सङ्गठनात्मक सुदृढीकरणका लागि ठुलो ऊर्जा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *