खरबौँ ऋण बोकाएर विकासको ध्वाङ फुक्नु गलत
- माघ ४, २०८२
भक्तपुर, २४ मङ्सिर । “रूसको संसद् ‘ड्युमा’ मा बोल्शेभिकहरूको भूमिकालाई आत्मसात गर्न नसकेका नेपालको सरकारमा गएका कम्युनिस्ट दाबी गरेकाहरूले कम्युनिस्ट भएर काम गर्न सकेनन् ।”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यकर्ता भेलामा उक्त भनाइ राख्नुभएको हो ।
उहाँले थप्नुभयो, “कार्यकर्ताहरू संवेदनशील हुनु आवश्यक छ । पार्टीको आदेशलाई कार्यकर्ताहरूबाट पालना नभए जनतालाई दुःख हुनेछ । पार्टी कार्यकर्ताहरूले जनतालाई समयमा सचेत नगराए समाज पछि पर्नेछ ।”
पार्टी कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थरूपले सेवा गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्तालाई सिकाउनुपर्ने र जिल्ला–जिल्लामा पुगेर देश र जनताको सेवा गर्न अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले अगाडि भन्नुभयो, “कम्युनिस्टले नै देश जोगाउने हो । कम्युनिस्टविरोधीहरूले साम्राज्यवादीको सेवा गर्ने हो ।”
पार्टी कार्यकर्ताहरू देश र विदेशका मजदुर र कम्युनिस्ट आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्षका पुस्तकहरू अध्ययन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले देश र जनताका शत्रुहरू राम्रा मानिसलाई फसाउन लागिरहनेतर्फ सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “कार्यकर्ताहरू आ–आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्दछ । कार्यकर्ताहरू देश र जनताको सेवामा लागे जीवनमा थप सिक्न सक्नेछन् ।”
भेलामा पार्टी सचिव प्रेम सुवालले भदौ २३ र २४ गतेको घटनापछि तत्कालीन प्रम केपी ओलीको राजीनामा, अन्तरिम सरकारको गठन, प्रतिनिधिसभाको विघटन तथा फागुन २१ गतेको लागि नयाँ संसद्को चुनावको घोषणा भएको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले चुनावलाई घोषणापत्रको लडाइँ, एउटा वर्गसङ्घर्ष र जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिएको बताउनुभयो ।
भेलामा पार्टीको भक्तपुर नगर समितिका गङ्गाराम ज्याख्व र पुरूषोत्तम तमखुले पनि मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply