भर्खरै :

नौ बाजा वादक मनसादेवी रञ्जित महर्जन

  • मंसिर २७, २०८२
  • सकुन्तला महर्जन
  • समाचार
नौ बाजा वादक मनसादेवी रञ्जित महर्जन

भक्तपुर जिल्लामा वि.सं. २०३३ सालमा जन्मनुभएकी मनसादेवी रञ्जितकार परम्परागत सांस्कृतिक सङ्गीतमा एक परिचित नाम हो । वि.सं. २०६५ सालमा ईश्वर महर्जनसँगको विवाहपश्चात् उहाँ हिजोआज मनसादेवी रञ्जित महर्जन नामले परिचित हुनुहुन्छ ।
भक्तपुरको याछेँ टोलमा सङ्गीतमय पारिवारिक वातावरणमा हुर्कनुभएका उहाँले वि.सं. २०५१ सालमा विद्यालयस्तरीय परीक्षा (एसएलसी) पश्चात् मात्र परम्परागत सङ्गीतको ज्ञान लिने अवसर प्राप्त भयो । त्यो समय जुनबेला महिलाहरूलाई परम्परागत सङ्गीत सिक्ने र सिकाउने वातावरण थिएन । नास द्यः (नाट्यश्वर) लाई हेर्न नहुने वाद्यवादनमा नास द्यः को बास हुन्छ । महिलाहरूको मासिक धर्मले गर्दा त्यसलाई बिटुलो पार्न सक्छ भन्ने मानसिकता रहेको अवस्थामा बुबा हरिगोविन्द रञ्जितकारले उहाँलाई नौ बाजामध्ये एक धाः बाजाको ज्ञान अनौपचारिक रूपमै दिनुभयो । बाजाको अनौपचारिक शिक्षा प्राप्त गरेपश्चात् दीक्षा दिने समयमा समाजमा बाजा बजाएर बाहिर निस्कनलाई उहाँलाई केही समस्या भयो । बुबाको सल्लाह र इच्छाअनुसार वि.सं. २०५२ सालको बिस्का जात्राको दिनमा याछेँमा गणेश जात्रा हुने दिन उहाँले सर्वप्रथम आफ्नो प्रतिभा समाजमाझ प्रस्तुत गर्नुभयो । त्यसपछि मङ्गलचौथीको साँझ याछेँको फल्चामा बुबासँगै बाजा बजाउन जानुभयो । मङ्गलचौथी बिस्का जात्रा महानवमी तथा सकिमना पुन्हिको दिनमा विशेष प्रस्तुति हुने गर्दथ्यो ।
उहाँले सर्वप्रथम धाः बाजा बजाएर जात्रामा सहभागी हुँदा सबैले राम्रो छ त भन्नुभयो तर उहाँको पछाडि धेरैले कुरा काटे । नेपाली समाजमा महिलाहरूको जीवनमा विवाहको ठुलो स्थान रहेको छ । उहाँलाई पनि परम्परागत सङ्गीतमा आबद्ध भएकै कारण पछि विवाह गर्न गा¥हो हुने भन्नेजस्ता कुरा नभएको होइन । उहाँको बुबाको आशीर्वादका साथ पढाइ सँगसँगै उहाँले अन्य बाजा पनि बजाउन सिक्नुभयो । नौ बाजाअन्तर्गत धाः, कोत, ढोलक, ढाँचा, धिमेचा, नायखिँचा, पछिमा, नगडा बाजाहरूको उहाँलाई ज्ञान छ । उहाँले आफूसँग भएको ज्ञान आफूमा मात्र सीमित नराखी आफूजस्तै अरु महिला दिदी बहिनीहरूलाई पनि सिकाउनुभयो । उहाँले भक्तपुरमा अवस्थित द राइजिङ इङ्ग्लिस स्कूलका विद्यार्थीहरूलाई ७ वर्ष सङ्गीतको ज्ञान दिनुभयो ।
परम्परागत लोक सङ्गीतमा आफ्नो फरक पहिचान बनाउन सफल मनसादेवीको साङ्गीतिक जीवनमा विवाहपश्चात् भने केही परिवर्तन भयो । भक्तपुर जन्मथलो रहे तापनि उहाँको कर्मथलो कीर्तिपुर भएको छ । दुई ठाउँको सांस्कृतिक भिन्नता तथा भौगोलिक दूरीको कारण उहाँसँग भएको नौ बाजा सङ्गीतको ज्ञान आज खुम्चिन पुगेको छ ।
रञ्जितकार समाजको अध्ययनबाट प्रथम महिला नौ बाजा वादकको परिचय बनाउन सफल मनसादेवी रञ्जित महर्जन हाल कीर्तिपुर नगरपालिकाको पाँगामा आफ्नै निवासमा टेलरिङ व्यवसाय गर्दै आउनुभएको छ । सांस्कृतिक नगर कीर्तिपुरमा यदि कुनै दिन नौ बाजाले स्थान पाउँछ वा कसैले नौ बाजा सिक्न इच्छा गरेमा आफूले सक्दो सहयोग गर्न तयार रहेको विचार मनसादेवी रञ्जित महर्जनको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *