अन्याय
- माघ ३, २०८२
“मच्चाउने बेलामा हुल्लडबाज बदमासहरूले विध्वंस मच्चाए । दोष जति मलाई ?”
आउरेबाउरेको घेराबन्दीमा छरछिमेक भेला गरेर भैरव कटाक्ष गर्दै थियो, त्यत्निखेरै आकाशवाणी भयो, “हेर भैरे ! चोर औँलो देखाएर आफू पानीमाथिको ओभानो बन्ने कुचेष्टा नगर । तेरो चर्तिकला हामीले माथिबाट राम्रोसँग नियालिरहेका छौँ । वाहियात कुरा किन ? समय छ । बरु प्रायश्चित्त गर् । आफूले आफैँलाई सम्हाल् । सुध्री । नत्र …”
“त्यहाँ को कराउँदै छ हँ ? सामुन्ने आइज ।” आकाशवाणी नसकिँदै आँखा राता पारेर भैरवले पाखुरा सुक्र्यो । सहभागीहरू सशङ्कित भए, पल्याकपुलुक गरे, सलबलाए ।
“… तँलाई म सम्झाउँदै छु । यी सोझासाझालाई किन ढाँट्दै छस् ? त्यत्रा जन र इमारतहरू ढल्नुमा अरू कुनै कारण छ र ? यसलाई अङ्ग्रेजीमा वाइ–प्रोडक्ट भनिन्छ । त्यसको मूल जड तैँ होस् । तैँल्यै त्यसको जिम्मा लिनुपर्छ ।”
Leave a Reply