भर्खरै :

के आफ्ना शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ ?

के आफ्ना शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ ?

जब स्कूल जाने केटाकेटीको खाना बट्टामा बाबुआमाले नै खाजाको रूपमा चाउचाउ, बिस्कुट, कुरमुरे, दुनोट हालेको देख्छु मेरो मन कटक्क काट्छ । कतिलाई त भन्ने गर्छु, “तपाईंले बच्चालाई मन परेको भनेर यस्ता खाना दिनुहुन्छ । तर, यसले त बच्चालाई मन्द विषको काम गर्छ । मिर्गौला, मुटु, आन्द्रा सबै विस्तारै खराब हुँदै जान्छ ।”
यसो भन्दा कतिले ‘ए हो र, हामीलाई थाहा थिएन’ भनेर बच्चाको हातबाट खोस्छन् पनि, कतिले पर्लक्क आँखा पल्ट्याउँदै भन्छन्, “तपार्इंलाई के चासो, मेरो छोराछोरीलाई म जे मन लाग्छ दिन्छु ।”
कतिले “हो, हामीलाई थाहा छ, तर के गर्नु बच्चाले रोएर, मान्दै मान्दैन, अनि दिक्क लागेर दिन्छु” भन्छन् । त्यस्ता बाबुआमालाई मेरो एउटै प्रश्न हुन्छ, “के तपाईंको बच्चाले रक्सी र चुरोट खान्छु भनेर लडीबुडी गरे दिनुहुन्छ ।”
तुरुन्तै जवाफ आउँछ, “अहँ, दिन्न नि, त्यो त स्वास्थ्यको लागि खराब हुन्छ ।” म भन्छु, “त्यसरी नै यस्ता प्याकेटका खानाले तपाईंको बच्चालाई हानि गर्छ । भोलि स्वस्थ युवायुवती बन्नुको सट्टा उनीहरू रोगी बन्छन् ।”
अभिभावकहरूले यदि आफ्ना शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ्य राम्रो पार्न र उनीहरूलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महँगो खाना, “उचाइ र बुद्धि बढाउने” भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्छामा जे छ त्यसैलाई शिशुको रुचिअनुसार र उसले खानसक्ने गरी बनाएर दिनुपर्छ ।
अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ । एउटा त यसले बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरको लागि घरको खानाभन्दा बाहिरको खाना उत्तम हुन्छ भन्ने सिक्छ । अनि युवावस्था नपुग्दै उच्च रक्तचाप, मधुमेहको शिकार हुन्छ । प्याकेटका खानेकुरा राम्रोसँग सुरक्षित राख्न बढी नून र चिनी दुवै हालेको हुन्छ । बच्चाको सानो मृगौलामा त्यसले नराम्रो असर पर्छ ।
कतिले भन्छन् “हाम्रो भान्छामा त शिशुलाई खुवाउनयोग्य वस्तु नै छैन ।” अनि कतिचोटि सञ्चारमाध्यमहरूमा बजारका प्याकेटका खानाको विज्ञापन आउँछ, “बच्चा एक वर्षको भएपछि घरको खानाले पुग्दैन । घरको खानामा प्रोटिन र भिटामिन हुँदैन । त्यसैले प्याकेटका खाना नै खुवाउनुपर्छ ।”
विज्ञापनको प्रभावमा परेर यस्ता प्याकेटका खाना बच्चालाई दिनु हुँदैन । यस्ता खाना त गहुँ, चामल, मकैबाट नै बनाइएका हुन्छन्, प्याकेटमा राखेपछि यसको मूल्य बीसौँ गुना बढ्न जान्छ । फेरि यस्ता प्याकेटमा राखेका अन्न कुहिएका वा म्याद नाघेका हुन्छन् कतिलाई थाहा नै हुँदैन । त्यसैले शिशु र बालबालिकालाई आफ्नै भान्छाको खाना दिनपर्छ ।
पास्नीपछि जब शिशुलाई अन्न दिन सुरु गरिन्छ, त्यसपछि थोरै थोरै चामलको पिठोको हलुवा खुवाउन सकिन्छ । शिशुलाई खान दिँदा उसलाई पहिले स्वाद लाग्दैन । सुरुसुरुमा थुथु गर्छ होला, तर विस्तारै धैर्यपूर्वक खुवाउनै जानुपर्छ । शिशुले खाएन भनेर धेरै चिनी हालेर खुवाउँदा एकछिन त शिशुले खान्छ तर चिनीले उसको स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन । चामलको पिठो, गहुँको पिठो आदिबाट हलुवा, लिटो बनाएर शिशुलाई खुवाउन सुरु गर्न सकिन्छ । गहुँ र चामलका पिठो, सुजी त प्रत्येकको भान्छामा हुन्छ । एक चम्चाबाट खुवाउन सुरु गरेर विस्तारै बढाउन सकिन्छ ।
शिशुको पेट सानो हुन्छ, त्यसैले एकैपल्ट धेरै खुवाउनु हुँदैन भन्ने हेक्का त राख्नै पर्छ । आलुलाई उसिनेर लिटो जस्तो बनाएर शिशुलाई खान दिने चलन त पुरानै हो । आलु शिशु र बालबालिकाका लागि शक्ति र विभिन्न किसिमका भिटामिन दिने राम्रो भोजन हो तर आलुलाई बेस्सरी तेलमा तारेर वा फ्रच फ्राई जस्तो गरेर दिनु हुँदैन ।
शिशुलाई रक्तअल्पता नहोस् भनेर ध्यान पु¥याउनैपर्छ । भटमासको पिठो, बदामको पिठो अलिकता दूधमा पकाएर दिनाले शिशुको शरीरमा प्रोटिन पुग्छ । गाउँघरको चलनअनुसार फलामको भाँडामा पकाएको खानेकुराले शिशुलाई फाइदा गर्छ । विभिन्न प्रकारका दाल, भुटेर, चामल र मकै पनि भुटेर त्यसको सर्वोत्तम पिठो बनाएर त्यो दूध वा पानीमा पकाएर हलुवा वा मोहनभोग जस्तो गरेर दिन सकिन्छ ।
शिशुलाई दिनभरिमा पाँच छ पटक खुवाउँदा शिशुको स्वास्थ्य राम्रो हुन्छ । खाना खुवाउँदा शिशुलाई गाली गरेर, तर्साएर, पिटेर जबरजस्ती कोच्याएर खुवाइयो भने त्यसले शिशुको शारीरिक र मानसिक दुवै स्वास्थमा नराम्रो असर गर्दछ । कतिले शिशुलाई एकदुई चोटि खुवाउन कोसिस गर्दा नखाएपछि, “आ, फुर्सद छैन । पछि खाइहाल्छ” भनेर बेवास्ता गरिदिन्छन् ।
घरमा पाइने दलहन, गहुँ, कोदो, फापरको पिठो उचित तरिकाले पकाएर खान दिँदा शिशुले पोषण प्राप्त गर्छ । यी वस्तुमा भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि पनि हुन्छन् अर्थात् शरीरलाई चाहिने पौस्टिक तत्व सहजै पाइन्छ ।
शिशु एक वर्षको भएपछि अलिकता दाँत आउन थालेपछि जब केही टोक्न खोज्छ उसलाई सानो, टुक्रा गाजर टोक्न दिन सकिन्छ । शिशुलाई गाजर, फर्सी, लौका आदि उसिनेर, मुछेर गिलो बनाएर दिन सकिन्छ । यी सबै तरकारी विभिन्न खनिज तत्वले भरिपूर्ण हुन्छन् र यसको प्रयोगले गर्दा शरीरमा रेशादार पदार्थ पनि पुग्छ । रेशादार पदार्थले शिशु र बालबालिकालाई कब्जियतबाट बचाउँछ ।
कतिपय बाबुआमाले बच्चालाई बाहिरका भिटामिन, क्याल्सियम, प्रोटिन आदि औषधिको रूपमा खान दिनुपर्छ भन्ने विश्वास गर्छन् । अनि बच्चाका लागि भिटामिनका ठुलाठुला बोतल किनेर ल्याउँछन् र बच्चालाई राम्रो स्वास्थ्य दिएका छौँ भनेर खुसी हुन्छन् । तर ५० वर्षअघि जब नेपालमा भिटामिनका सिसी पाइँदैनथ्यो, हाम्रा बाबुआमाले त हामीलाई राम्रो स्वास्थ्य हुर्काएका थिए । यो घरकै खानाबाट सम्भव भएको हो भन्ने कुरा बिर्सन हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *