के जागिर दिएर समाजवाद आउँछ ?
- जेष्ठ ११, २०८३
हरेक ध्वंसात्मक आन्दोलनले देशको अर्थतन्त्रलाई नराम्रो असर पार्छ । विध्वंसकहरू देश बनाउने सपना कहिले पनि बुन्दैनन् । भदौ २४ गतेको आन्दोलन ध्वंसात्मक आन्दोलनमा परिणत भयो । देशको सम्पत्तिलाई खरानी पार्ने त्यो आन्दोलनले झन्डै खरब रकम बराबरको क्षति ग¥यो । विध्वंसात्मक त्यो आन्दोलनले नेपालको विकासमा प्रभाव पा¥यो । विकास पछि पर्ने भयो । क्षति भएको भवन पुनः निर्माण गर्न विदेशबाट अरबौँ अरब रकमको सामान निर्माण गर्नुपर्ने हुन्छ । विकासमा गर्नुपर्ने रकम क्षति भएको भवनमा खर्चिनुपर्ने हुन्छ । यसले विकास गाउँ–गाउँमा पुग्दैन । गाउँमा विकास पुगेन भने स्थानीय जनताले काम पाउँदैनन् । काम नपाएपछि जीवन कष्टकर हुन्छ । जीवनको जोहो गर्न विदेश जानुपर्ने बाध्यता हुन्छ । के युवाहरू विदेश गएर देश बन्छ ? देशको अर्थतन्त्र मजबुत हुन्छ ? जहिलेसम्म देशको अर्थतन्त्र सबल हुँदैन, तहिलेसम्म देश विकास सम्भव छैन† जनताको जीवनस्तर उठ्दैन । परिणामतः आर्थिक विकास चुनौतीपूर्ण बन्छ ।
आकर्षक नाराले देशको अर्थतन्त्र मजबुत हुँदैन । न त देश समृद्ध नै बन्छ । सरकारले देश समृद्ध बनाउने आधार तयार गर्नुपर्छ । देश समृद्ध बनाउने आधार तयार गर्न अध्ययन, अनुसन्धान गर्नुपर्छ । विकासका पूर्वाधारहरू तयार गर्नुपर्छ । देशको कुन ठाउँमा के स्रोत, साधन र खनिजहरू छन् अध्ययन, अनुसन्धान गर्नुपर्छ । भएका स्रोत र साधनको अधिक प्रयोग गर्नुपर्छ । ठुलठुला र अग्ला अग्ला भवन ठड्याउनुको सट्टा जनताको आधारभूत आवश्यकता पूर्ति हुने उद्योग, कलकारखाना सञ्चालनमा बजेट लगानी गर्नुपर्छ । दैलेखमा पत्ता लागेको ग्यासझैँ यहाँ रहेका चुन खानी, नुन खानी खोजेर उत्पादनमा उपयोग गर्नुपर्छ । सिमेन्ट कारखाना सञ्चालनमा सहयोग गर्नुपर्छ । खाद्यान्न उत्पादनमा जोड दिनुपर्छ । खाद्यान्नमा आत्मनिर्भर बनाउन आवश्यक पूर्वाधारहरू तयार गर्नुपर्छ । उत्पादन र रोजगारी बढाउनेतर्फ सरकारको ध्यान पुग्नुपर्छ । वस्तु आयात गरेर मुलुक धान्ने नीतिले देश आत्मनिर्भर हुन्छ भन्ने कुरा कल्पनाको धुनमा नाच्ने नाचबाहेक अर्को हुँदैन । युवाहरू जति विदेश पठाएर रेमिटेन्सले नै मुलुकको विकास हुन्छ भन्ने सोचमा परिवर्तन नभएसम्म देश समृद्ध सम्भव छैन न त देश आत्मनिर्भर नै हुन्छ । सत्तासीन दलका प्रम, नेता र मन्त्रीहरूको ध्यान खालि दलगत स्वार्थमा केन्द्रित रह्यो । सिद्धान्त र विचार बताएर होइन जसरी भए पनि पार्टी ठुलो बनाउने, सरकारको नेतृत्व गर्न धेरै सांसद पद जित्ने सत्ताकेन्द्रित राजनीतिमा लागेर देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ ?
ऋण लिएर ऋण तिर्नुपर्ने र कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्थाले देश कुन स्थितिमा पुग्यो भन्ने आकलन गर्न गा¥हो छैन । उत्पादन बढाएर निर्यात गर्नसके, देशलाई कृषिको आधुनिकीकरण, आवश्यकताअनुसार उद्योग खोल्न सके काममामको जोहो गर्न कठिन हुँदैन । जनताको गाँस, बास र कपासको सुनिश्चित गर्न सकिन्छ । सरकारले कुनै देशबाट पाउने सहयोग, ऋण र अनुदान अनुत्पादक क्षेत्रमा होइन उत्पादक क्षेत्रमा लगानी गर्नुपर्छ । विकास योजनाको निम्ति छुट्याइएको रकम सही ढङ्गले उपयोग गर्नुपर्छ । कृषिमा आधारित साना र मझौला उद्योगमा लगानी गर्नुपर्छ । स्थानीय स–साना घरेलु उद्योग सञ्चालन गर्न देशभर बिजुली बत्ती पु¥याउनु पर्छ । सिँचाइको व्यवस्था गरिनुपर्छ । आवश्यकताअनुसार स्कूल, कलेज पु¥याएर बस्ती बस्तीमा शिक्षाको ज्योति पु¥याउनुपर्छ ।
देश विकास गर्ने एउटा आधार क्षेत्र विज्ञान र प्रविधि पनि हो । विज्ञान र प्रविधिमा प्रगति गर्न नसकेसम्म विकास उचाइमा पुग्दैन । नेपालको विज्ञान र प्रविधिको क्षेत्र पछाडि परेको छ । सरकारले नयाँ नयाँ आविष्कार गरेर विश्वलाई चिनाउन सकेको छैन । देशमा वैज्ञानिकहरू खासै तयार भएका छैनन् । नेपालजस्तै अरु साना देशहरूले विज्ञान र प्रविधिमा प्रगति गरेर विश्वलाई चिनाउने काम गरे । तर, नेपालमा अहिलेसम्म सियो पनि बनेको छैन । भएका उद्योग तथा कारखानाहरू घाटामा पु¥याएर बन्द गर्ने शासक दलको नीति नै गलत छ । देशभित्रै रोजगारी सिर्जना गर्नुको सट्टा युवा श्रमशक्तिलाई जे गरेर भए पनि विदेशतिर धकेल्ने नीति देशको अर्थतन्त्र सुधार्ने बाटो होइन । सरकारको ध्यान देशको आम्दानी बाँडफाँड गर्नेमा केन्द्रित रह्यो; योजना बाँडेर आर्थिक अनियमितता गर्नेतर्फ ध्यान गयो । देशको आम्दानी बढाउने, आम्दानी भएको रकम गाउँ–गाउँ र बस्ती बस्तीमा पु¥याएर जनताको छाना, दाना र नानाको व्यवस्था गर्नुपर्ने हो ।
Leave a Reply