भर्खरै :

नेपाली भाषालाई माया गरौँ

नेपाली भाषालाई माया गरौँ

नेपाल हाम्री आमा हुन् । नेपाली हाम्री आमाको भाषा हो । हामीले जन्म लिएको भूमि, हामी खेलेको ठाउँ, हामीले सास फेरेको हावा जसले हामीलाई हुर्काएर आजको अवस्थासम्म ल्याइपु¥यायो । उहाँले बोल्ने भाषाबिचको सम्बन्धलाई कहिल्यै पनि भुल्न सकिँदैन । कुनै पनि व्यक्तिको मौलिक पहिचान, उसको आत्मसम्मान र संसारलाई हेर्ने दृष्टिकोण निर्माण गर्ने सबैभन्दा शक्तिशाली माध्यम नै भाषा हो । “हामी नेपाली हौँ” भनेर चिनाउने सबैभन्दा सशक्त माध्यम पनि नेपाली भाषा नै हो । तर, आज हाम्रो शैक्षिक प्रणालीमा देखिएको एउटा कटु यथार्थले मनलाई अमिलो पार्छ : हाम्रा धेरै विद्यालयमा अङ्ग्रेजी विषयमा जोड दिने गरिएको छ । सबैजसो विषय अङ्ग्रेजी माध्यममा पढाइन्छ । कतिपय विद्यालयमा अङ्ग्रेजीबाटै बोल्नुपर्ने बाध्यता पनि छ । यस्तो परिवेशमा, हाम्रो आफ्नै भाषा ओझेलमा परेको छ ।
यो अङ्ग्रेजी मोह जब अन्धोपनमा परिणत हुन्छ, तब यसले हाम्रा मौलिक पहिचानका जराहरूलाई कमजोर बनाउँदै लैजान्छ । सबैजसो विषय अङ्ग्रेजी माध्यममा पढाइँदा विद्यार्थीले गणित, विज्ञानका जटिल अवधारणाहरू बुझ्नुभन्दा पहिले अङ्ग्रेजीको अपरिचित भाषिक बोझ बोक्नुपरेको छ । उनीहरूको सम्पूर्ण ध्यान विषयवस्तुको अन्तर्निहित ज्ञानमा भन्दा पनि भाषाको संरचनामा केन्द्रित हुन पुग्छ । यसको प्रत्यक्ष असर हाम्रो आफ्नै राष्ट्रभाषा, नेपाली विषयमा देखिएको छ । आजकालका धेरै विद्यार्थी नेपाली विषयमा कमजोर छन् । कक्षा ९÷१० मा पढ्ने कतिपय विद्यार्थीहरूलाई बाह्रखरी नै राम्ररी आउँदैन, जुन हामीले शिशुकालमा सिक्ने आधारभूत ज्ञान हो । बाह्रखरी नै नआएपछि उनीहरूको सामान्य लेखाइ पनि अशुद्ध हुने नै भयो । यसो भएपछि उनीहरूले सानैदेखि नेपाली साहित्यलाई गहन रूपमा बुझ्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ । हाम्रा विद्यार्थीहरू परीक्षामा पास गर्नका लागि जबरजस्ती भए पनि नेपाली पाठ्यपुस्तक पढे पनि सोखले पढ्नुपर्दा भने अङ्ग्रेजी भाषाका पुस्तक पढ्छन् । यो हाम्रो शैक्षिक जग कति कमजोर बन्दै छ भन्ने कुराको स्पष्ट सङ्केत हो ।
आजका विद्यार्थीहरूलाई नेपाली सिक्नेभन्दा पनि त्यो विषयको परीक्षामा पास गर्ने चिन्ताले सताएको छ । उनीहरूको सफलताको मापदण्ड अङ्कमा सीमित छ, जसले गर्दा सिकाइको वास्तविक उद्देश्य हराएको छ । नेपाली भाषालाई ‘घोकेर पास गर्ने’ औपचारिकतामा बाँधेर हेर्नु सबैभन्दा ठुलो गल्ती हो । नेपाली त्यो भाषा हो, जसमा हामी आफ्ना पहिलो प्रेमका शब्दहरू बोल्छौँ, आमाको लोरी सुन्छौँ र दुःख पर्दा मनका वेदनाहरू पोख्छौँ । कुनै पनि विदेशी भाषामा आफ्नो खुसी र पीडालाई जतिसुकै अभिव्यक्त गरे पनि, मनको गहिराइबाट आउने सन्तुष्टि र शान्ति त आफ्नै भाषामा बोल्दा मात्र प्राप्त हुन्छ । आफ्नै भाषामा बोल्दा मात्र ‘यो मेरो हो’ भन्ने अपनत्वको भावना जागृत हुन्छ ।
सम्झँदै गर्दा, एउटा डरलाग्दो र अपराधपूर्ण अवस्था त के छ भने, हामी जानीजानी आफ्नै शब्दहरूको घाँटी निमोठ्दै छौँ । नेपाली शब्द हुँदाहुँदै जब हामी अङ्ग्रेजी शब्दको प्रयोग गर्छौँ, तब यो भाषिक मिश्रण मात्र रहँदैन, यो त हाम्रा शब्दमाथि गरिएको एक निर्मम अन्याय र अपराध नै ठहरिन्छ । हामीले ‘किताब’ भन्नुको सट्टा ‘बुक’, ‘धन्यवाद’ भन्नुको सट्टा ‘थ्याङ्क यू’, ‘क्षमा’ माग्नुको सट्टा ‘सरी’ भन्दा, हाम्रो भाषाको आत्मा रोएको सुनिन्छ । जब हामी सजिलै उपलब्ध र हृदयस्पर्शी आफ्ना शब्दहरूलाई बेवास्ता गरेर परदेशी शब्दहरूलाई सिंहासनमा बसाल्छौँ, तब त्यो सिंहासनमा हाम्रा हजारौँ वर्षदेखिका संस्कृति र साहित्यले निर्माण गरेका मौलिक शब्दहरू पीडाले छटपटाउँछन् । भाषाका शब्दहरू त हाम्रा पुर्खाहरूका अमूल्य उपहार हुन् । तिनलाई यसरी हेला गर्नु भनेको आफ्नो विरासतलाई आफैँले मास्नु हो । यो भाषिक अस्मितामाथिको प्रहार हो, जसले हाम्रो राष्ट्रिय पहिचानलाई भित्रभित्रै धुमिल बनाउँदै लगेको छ ।
नेपाली भाषा हाम्रो मुटुको धड्कन हो, जुन भावनात्मक, सांस्कृतिक र ऐतिहासिक कारणले गर्दा हाम्रो जीवनको आधार बनेको छ । भानुभक्तका रामायण र देवकोटाका मुनामदनलाई अङ्ग्रेजीमा अनुवाद गरेर पढ्दा भाव त बुझिएला, तर तिनमा निहित मौलिक रस, लय र आत्मा गुम्छ । भाषा, संस्कृतिलाई जोगाउने र पुस्तान्तरण गर्ने सेतु हो । नेपाली भाषा हाम्रो राष्ट्रिय एकताको प्रतीक हो, जसले विविधताले भरिएको समाजलाई एकसूत्रमा बाँधेको छ । यसलाई बेवास्ता गर्नु भनेको हाम्रो इतिहासलाई बिर्सनु र हाम्रो मौलिक पहिचानलाई मेट्नु हो । हामीलाई परीक्षामा पास हुनका लागि भन्दा पनि हाम्रो मौलिक पहिचान, परिचय, अपनत्व र शानका लागि नेपाली भाषा सिक्न जरुरी छ भन्ने कुराको गहिरो बोध हुनुपर्छ ।
जसरी जुन आमाले हामीलाई हुर्काएर यतिसम्म बनाउनुभयो, जुन आमा हाम्री जीवन हुन्, तिनै आमाले बोल्ने भाषालाई बेवास्ता गर्दा हामीलाई आत्मसन्तुष्टि होला त ? अवश्य पनि हुँदैन । ठीक त्यसरी नै आफ्नो भाषालाई बेवास्ता गर्दा व्यक्तिको मनमा एक प्रकारको ‘अपराध बोध’ र ‘आत्मसम्मानको कमी’ महसुस हुन्छ । ऊ न त पूर्ण रूपमा विदेशी भाषाको बन्न सक्छ, न त आफ्नो संस्कृति र पहिचानमा गर्व गर्न नै सक्छ । ऊ दुई किनारमा तैरिएको माझीजस्तो हुन्छ, जसको कुनै निश्चित गन्तव्य हुँदैन । विद्यालयमा अङ्ग्रेजीबाटै बोल्नुपर्ने नियमले विद्यार्थी र शिक्षकबिच कृत्रिम दूरी बनाउँछ र घरमा मातृभाषा बोल्ने विद्यार्थीले विद्यालयमा जबरजस्ती अङ्ग्रेजी बोल्नुपर्दा उसको मौलिक सिर्जनशीलतामा ¥हास आउँछ । यदि आजका पुस्ताले नेपाली भाषालाई बेवास्ता गरे भने, भोलिको पुस्ताले आफ्ना हजुरबुबा–हजुरआमाका कथाहरू र लोकगीतहरू बुझ्न सक्ने छैनन्, जसले गर्दा सांस्कृतिक ज्ञानको पुस्तान्तरणको क्रम टुट्नेछ ।
नेपाली भाषाको महत्वलाई पुनःस्थापित गर्नका लागि अब ढिला गर्नु हुँदैन । यो सरकारी नीति र शिक्षा प्रणालीको जिम्मेवारी मात्र होइन, यो त प्रत्येक नेपालीको व्यक्तिगत दायित्व हो । विद्यालयहरूले नेपाली विषयलाई केवल परीक्षाको रूपमा नभई, ‘जीवनोपयोगी सीप’ र ‘सांस्कृतिक शिक्षा’ का रूपमा पढाउनुपर्छ । बा¥हखरी, हिज्जे र व्याकरणलाई प्राथमिक तहदेखि नै गहिरो रूपमा बुझाउनुपर्छ । अभिभावकहरूले घरमा आफ्ना सन्तानसँग शुद्ध नेपालीमा संवाद गर्नुपर्छ र नेपालीमा पढ्ने, लेख्ने बानीको विकास गर्न प्रेरित गर्नुपर्छ । युवा पुस्ताले अङ्ग्रेजी बोल्न सक्नुमा गर्व गर्नु स्वाभाविक भए पनि, आफ्नो मातृभाषा शुद्ध र प्रभावशाली ढङ्गले बोल्न सक्नुमा झनै ठुलो गर्वको महसुस गर्नुपर्छ† नेपाली बोल्नु कुनै लज्जाको विषय होइन, यो त हाम्रो शान हो ।
अन्त्यमा, नेपाली भाषा हाम्रो मुटुको भाषा हो । यो हाम्रो जीवन हो – हिजोको, आजको र भोलिको पनि । यसलाई बचाउनु भनेको कुनै पुरानो वस्तुलाई सङ्ग्रहालयमा राख्नु होइन, बरु यो त हाम्रो आत्मालाई जीवित राख्नु हो । हामीले नेपालीलाई माया गरौँ, यसको सम्मान गरौँ र यसको प्रयोगमा शुद्धता ल्याऔँ । हाम्रा शब्दहरूमाथि हामीले अन्याय र अपराध नगरौँ । नेपाली भाषाको जरो बलियो भयो भने मात्र हाम्रो राष्ट्रियताको विशाल वृक्षले गुनिलो फल दिन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *