भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ४३

जारशाही संसद्मा बोल्शेभिक सांसद – ४३

पाठ २४
संसदीय समूहको पक्राउ
गुप्त प्रहरीले कसरी छापा मार्ने तयारी ग¥यो । खानतलासी । पक्राउ । राजा निकोलस द्वितीयलाई माक्लाकोभको प्रतिवेदन । सरकारको बनावटी मुद्दा । संसदीय समूहको पक्राउबारे सदनको राय । सेन्ट पिटर्सबर्ग समितिको उद्घोष । मजदुरहरूको जवाफी गतिविधि । बोल्शेभिक समूहको पक्राउबारे लेनिनको धारणा ।
प्रहरी अभिलेखालय अहिले जनताका लागि खुला छ । त्यहाँका दस्ताबेज हेर्दा गुप्त प्रहरीले हाम्रो भेलालाई कुल्चिन कस्तो तयारी गरेको थियो भन्ने प्रस्ट हुन्छ । जारशाही सरकार लामो समयदेखि बोल्शेभिक सांसदहरूलाई रातै हात समात्ने दाउमा थियो । भेलाको मौका पारेर उसले काम फत्ते गर्ने निधो ग¥यो । भेलासम्बन्धी जानकारी ‘पेलागेया’ नाउँको एजेन्टले दिएको थियो । यो खासमा घुसपैठिया रोमानोभको छद्म नाम थियो । ऊ मस्को पार्टी सङ्गठनको सदस्य थियो । मस्कोको प्रतिनिधिको रूपमा रोमानोभ भेलामा उपस्थित हुनुपर्ने थियो । तर, भेलामा धरपकड गर्ने योजना बनेपछि गुप्त प्रहरीले उसलाई टाढै बस्ने आदेश दियो । प्रहरी विभागले मस्कोमा निर्देशन पठायो । आदेशको सार थियो – “भेलामा एजेन्टहरू बस्नु सही होइन तर हामीलाई भेलाको जानकारी र समयको सूचना दिनका लागि उनीहरू प्रतिनिधिहरूसँग निकट सम्पर्कमा बस्नुपर्छ ।” त्यही बेला मस्को गुप्त प्रहरीले आफ्ना एजेन्टहरूलाई यी सूचना पत्ता लगाउन भन्यो । ‘भेलालाई दबाउने चाँजो मिलाउन’ का लागि सूचना हात पार्ने बित्तिकै ‘तुरुन्तै विभाग तथा फिनल्यान्डको सशस्त्र प्रहरीको हाकिमलाई खबर गर्न’ भनियो ।
भेला फिनल्यान्डको मुस्ताम्याकीमा हुने थाहा पाएर छापा मार्ने र सहभागीहरूलाई पक्राउ गर्ने जिम्मा फिनल्यान्डको सशस्त्र प्रहरीलाई दिइएको थियो । प्रहरी विभागका हाकिमले फिनल्यान्ड बलका प्रमुखकर्नेल ये¥योमिनलाई सुझाव पठाए । उनले लेखे, “यो भेलामा संसद्को सामाजिक जनवादी समूहका सदस्यहरू भेटिने सम्भावना प्रबल छ र भेलालाई दबाउनका लागि सैन्य कानुनअन्तर्गत जिल्ला नियमअनुसार पत्राचार गर्नु वाञ्छनीय हुनेछ ।”
प्रहरी विभागले गुप्त भाषामा ३३ वटा सहरका गुप्त प्रहरी मुख्यालयमा सन्देश पठायो । त्यसमा स्थानीय सङ्गठनका प्रतिनिधिहरूलाई नजिकबाट नियाल्नुपर्ने यस्तो आदेश थियो, “प्रतिनिधिहरूलाई पत्ता लगाउन आवश्यक सबै उपाय अपनाउनू । कडा निगरानी राख्नू र तिनीहरू हिँडिसकेपछि त्यसको खबर विभाग र हेल्सिङफोर्सका कर्नेल ये¥योमिनलाई पठाउनू ।”
सेन्ट पिटर्सबर्गका सबै रेल स्टेसनमा सुराकीहरू छ्यापछ्याप्ती भए । गुप्त प्रहरीको एउटा विशेष टोलीलाई कर्नेल ये¥योमिनका मान्छेहरूलाई सहयोग गर्न फिनल्यान्ड पठाइयो । फिनल्यान्डको सीमामा पर्ने ब्यलुस्त्रोभमा सबै बोल्शेभिक सांसदहरूलाई देख्यो कि चिनिहाल्ने सुराकीहरूलाई खटाइयो । सेन्ट पिटर्सबर्गमा हाम्रा पाइला पछ्याउने सुराकीहरूको भीड बढ्यो र झन् छाडा भयो ।
मस्कोको घुसपैठिया रोमानोभले प्रहरीलाई भेला र भेला हुने मिति बताएको थियो । तर, भेला हुने स्थानको सूचना प्रहरीलाई सेन्ट पिटर्सबर्गको घुसपैठिया शुर्कानोभले दिएको थियो । त्यो बेला शुर्कानोभ सेन्ट पिटर्सबर्ग समितिमा क्रियाशील थियो । भेला हुने स्थान टुङ्गो लगाउने प्रारम्भिक बैठकमा ऊ पनि थियो । खबर पाउनेबित्तिकै उसले आफ्ना मालिकहरूलाई भनिहाल्यो । यसरी, प्रहरीले चाहेको सम्पूर्ण सूचना पायो ।
गुप्त प्रहरीका दस्ताबेजहरू हेर्दा हाम्रो समूहको गिरफ्तारी जासुसीको जञ्जालबिच कुनै बेला पनि हुन सक्ने आकस्मिक घटना थिएन भन्ने देखिन्छ । सरकारले बोल्शेभिक समूहलाई पूर्णतः निमिट्यान्न पार्ने अठोट गरिसकेको थियो । कोही बाँकी रहे उपयुक्त मौका हेरेर उनीहरूमाथि आक्रमण गर्ने योजना नै बुन्ने सोचमा थियो । एजेन्ट–प्रोभोकेटर (घुसपैठिया) मार्फत यो काम फत्ते गरियो ।
नोभेम्बर ४ गते साँझ ५ बजेतिर भेलाको तेस्रो दिन गाभ्रिलोभ परिवारको घरको ढोकामा कानै खाने गरी ढकढक गरेको सुनियो । केही सेकेन्डमै जबरजस्ती ढोका खोलियो र हाम्रो कोठाभरि जनपद र सशस्त्र प्रहरीको घुइँचो लाग्यो । नाइके प्रहरी अफिसरले रिभोल्भर निकाल्यो र चिच्याउयो, “हात माथि ।”
हामीले आपत्ति जनायौँ । जवाफमा अफिसरले आफूसँग खानतलासी गर्ने आदेश भएको बतायो । उसले कागज देखायो । राज्यको सैन्य कानुनको दफा २३ का आधारमा उसलाई यो घरको खानतलासी लिने र यहाँ भेटिने सबैलाई पक्राउ गर्ने अधिकार दिइएको थियो ।
सबैभन्दा पहिले गैरसांसदहरूको खानतलासी लिइयो । श्रीमती गाभ्रिलोभलाई पनि बाँकी छोडिएन । तर, प्रहरीले सांसदहरूको तलासी लिन थालेपछि हामीले जोडदार विरोध ग¥यौँ र नाइके अधिकारीलाई भन्यौँ,“हाम्रो तलासी लिन वा हामीलाई गिरफ्तार गर्न पाइन्न । संसद् सदस्य हुनाले राज्य ड्युमा अधिनियमको दफा १५ र १६ ले हामीलाई संसदीय उन्मुक्तिको अधिकार छ । सदनको अनुमति बेगर कसैलाई पनि हाम्रो तलासी लिने वा हामीलाई थुनामा राख्ने अधिकार छैन । प्रहरीको व्यवहार गैरकानुनी छ । यसकारण, ऊ दण्डको भागिदार बन्नुपर्नेछ ।”
हाम्रो विरोध कति सशक्त थियो भने त्यसले असर देखियो – अधिकारी अलि हच्कियो र थप निर्देशन लिन हाकिमलाई टेलिफोन ग¥यो । हामीमध्ये केही मान्छेले प्रहरीसँग तर्क गर्दै गर्दा अरुले हामीसँग भएका धेरै दस्ताबेजहरू नष्ट गर्ने मौका पाए । सुरुमा हामीले भेलाका सम्पूर्ण सामग्री नष्ट ग¥यौँ । गार्भिलोभ परिवारको घरमा कस्तो प्रकृतिको कार्यक्रम भएको थियो भनी साबित गर्ने एउटा पनि दस्ताबेज प्रहरीको हात नपारोस् भनेर भेलाको माइन्युटसमेत नष्ट गरियो । पार्टीका ठेगाना र निर्देशनहरू भएका कागजात पनि नष्ट गरियो । तर, हामीले सम्पूर्ण काजगात नष्ट गर्नलाई समय पाएनौँ ।
हाम्रो विरोधमा ध्यान नदिनू भन्ने निर्देशन पाएर प्रहरी अधिकारी फर्कियो । ऊसँगै अर्को उच्च अधिकारी पनि थियो । उसैको आदेशमा प्रहरीले हामीलाई झम्टियोे । हामीमध्ये प्रत्येकको तलासी लिइयो । हामीले लगातार प्रतिरोध गरे पनि कसैलाई बाँकी राखिएन । हरेकथोक जाँचियो । सबै साहित्य, नोटबुकलगायत सबथोक खोसियो । हाम्रा घडीधरि बाँकी राखिएन ।
पेत्रोभ्स्कीसँग भेन्डरभेल्डलाई पठाइएको पत्र र युद्धसम्बन्धी थेसिसको एकएक प्रति रहेछ । उनीसँग केन्द्रीय समितिको घोषणापत्र छापिएको ‘सोसिएल–डेमोक्रात’ को अङ्क, विदेशमा छापिएका केही पर्चाका साथै पार्टी विधान र कार्यक्रम पनि रहेछन् । प्रहरीले ती सब बरामद ग¥यो ।
मबाट पनि प्रहरीले यसै प्रकारका साहित्य, विद्यार्थीलाई सम्बोधन गरिएको पर्चाको खेस्रा, हाम्रो गैरकानुनी गतिविधिमा प्रयोग गरिने छद्म नामको पासपोर्ट फेला पा¥यो । सामोइलोभबाट प्रहरीले पर्चा, पत्रिका र नोटबुक भेट्यो । त्यही नोटबुकका टिपोटहरूबाट उनले आफ्नो प्रतिवेदन तयार पारेका थिए । तर, शागोभबाट प्रहरीले कुनै दस्ताबेज फेला पारेन ।
प्रहरीले भेटाएको सबैभन्दा सम्झौताकारी दस्ताबेज मुरानोभको नोटबुक रह्यो । भोलिपल्ट शौचालयमा प्रहरीले त्यो नोटबुक फेला पा¥यो । त्यसलाई नष्ट गर्ने मुरानोभको प्रयास सफल भएन । नोटबुकमा युराल क्षेत्रमा उनले गरेका सबै गतिविधिको सटिक जानकारी थियो । निकै दुःख गरेर उनले त्यो जानकारी टिपेका थिए । त्यसमा स्थानीय सङ्घसङ्गठनको जानकारी, पार्टी सदस्यहरूको छद्म नाम, बैठकका निर्णयहरू, विशेष ठेगानाहरू आदि थिए । मुरानोभको नोटबुकबाट उनी कति बिघ्न गैरकानुनी गतिविधिमा सक्रिय छन् भन्ने कुरा खुल्थ्यो ।
खानतलासीपछि सांसदहरूलाई छाडी भेलामा उपस्थित सबै प्रतिनिधिलाई जेल लगियो । प्रहरी नाइकेले पुनः सांसदहरूलाई के गर्ने भनेर हाकिमलाई टेलिफोन ग¥यो । त्यसपछि उसले हामी मुक्त भएको बतायो । हाम्रो रिहाइसँगै उसले हाम्रा सांसद परिचयपत्र र झिटिमिटी दियो तर दस्ताबेजहरू आफै राख्यो ।
प्रहरी घुसेको १२ घण्टा बितिसकेको थियो । एकाबिहानै हामीले त्यो घर छोड्यौँ । अघिपछि सुनसान हुने त्यो जिल्लामा मानौँ प्रहरीको मेला लागेको थियो । सबैखाले प्रहरी देख्न पाइयो । नजिकै ट्राम स्टेसन जाने बेला गुप्तचरहरू हाम्रो अघिपछि गरिरहे । तीमध्ये केही हामी चढेको ट्राममा चढे ।
हाम्रो तलासी लिएको शैली र त्यसपछि प्रहरीको व्यवहार हेर्दा हामी सरकारले मजदुर सांसदहरूको संसदीय उन्मुक्तिलाई अब सम्मान गर्ने छैन भन्ने निष्कर्षमा पुग्यौँ । प्रहरीले कुनै पनि बेला अर्को छापा मार्न सक्छ भन्ने लाग्यो । त्यसैले, मजदुरबहुल जिल्लाभरि हामीले गए रातिको समाचार फैलाउने पहल थाल्यौँ । यसपछि हामीले हाम्रा घरहरूको ‘सफाइ गर्ने’ र ‘सरसामान मिलाउने’ काम ग¥यौँ ।
हाम्रा घरमा गोप्य पार्टी दस्ताबेजहरू थिए । यसअघि हाम्रो घरलाई अरुको दाँजोमा सुरक्षित स्थान मानिन्थ्यो । हामीसँग पार्टीका निर्देशन र गुप्त साहित्य पठाउनुपर्ने ठेगानाहरू थिए† चिठीपत्र, प्रतिवेदन, नामावली आदि थिए । हामीले रुसका प्रायः सबै सहरमा सम्पर्क बनाएका थियौँ । प्रहरीहरूको हातमा ती दस्ताबेज परे हजारौँ पार्टी सदस्यहरूले जेलनेल, निर्वासन भोग्नुपर्ने हुन्थ्यो र समग्र पार्टी सङ्गठन नै ध्वस्त हुन सक्थ्यो ।
हामीले हतारहतार ती सबै दस्ताबेज जम्मा पा¥यौँ र जलाइदियौँ । अब प्रहरी आइहाले पनि खरानीबाहेक केही भेट्ने थिएन । हामीसँग केही खातापाता र रजिस्टर थिए । मैले त्यसका धेरै पाना च्यातेँ र सम्झौताकारी नाम ठेगाना मेटेँ ।
नोभेम्बर ५ को दिन बदलिएको परिस्थितिबारे छलफल गर्न हाम्रो समूह मकहाँ भेला भयो । सुरुमा त हामीले भरसक छिटो घटनाको खबर जनताबिच फैलाउने निधो ग¥यौँ । अर्को, सांसदको रूपमा हाम्रो उन्मुक्तिको हक मिच्ने प्रहरीको दुस्प्रयासविरुद्ध संसद् सचिवालयमा सुरक्षाका लागि निवेदन दिने निधो ग¥यौँ । कालासय संसद्ले हाम्रो रक्षा गर्नेछ भनेर ढुक्क हुने अवस्था थिएन । तैपनि, यो घटनामा जनताको ध्यान तान्न हामीले संसद्मा अलिकति हल्ला गर्ने निधो ग¥यौँ । रोद्जान्को पनि केही गर्न बाध्य भए । हाम्रो तलासी लिएर र हामीलाई हिरासतमा लिएर प्रहरीले हाम्रो संसदीय विशेषाधिकारको हनन गरेको थियो । संसद्को गरिमाका लागि पनि सभामुखले अलिकति विरोध जनाउनैपथ्र्यो ।
संसद्भित्र बहुमत सांसदले ‘वामपन्थी’ सांसदहरूको खोइरो खने पनिसंसदीय विशेषाधिकारको हननको घटनाले उनीहरूलाई छुन्थ्यो । तैपनि, उनीहरूको विरोध सरकारसँग सामान्य झगडाभन्दा माथि कहिल्यै उठेन । सरकारले अलिकति धाकधम्की दिनेबित्तिकै उनीहरू तैँचुपमैचुप भइहाल्थे ।
हाम्रो संसदीय समूहले म र पेत्रोभ्स्कीलाई रोद्जान्कोसँग वार्ता गर्ने जिम्मेवारी दियो । रोद्जान्कोसँग हामीले हामीलाई अवैध तरिकाले हिरासतमा राखिएको, हाम्रो तलासी लिइएको सबै विवरण सुनायौँ । उनीसँग हामीले दोषी व्यक्तिहरूलाई कारबाही गराउन उनले पहल गर्नुपर्ने माग राख्यौँ ।
उनलाई हामी पाँचै जनाले हस्ताक्षर गरेको एउटा विरोधपत्र थमायौँ । उनले आफूले गर्न सक्ने सबथोक गर्ने वचन दिए । तर, उनले के गरे र उनको प्रयासको परिणाम के निस्कियो भन्ने कुरा त्यसपछिको घटनाक्रमले देखायो ।
हामी संसद् भवन छोडेर बाहिर निस्कियौँ । यसपछि हामी वरिपरि गुप्तचरको ताँती लाग्यो । उनीहरू बिहानको भन्दा बढी बेफिक्री देखिए । प्रत्येक मोडमा, प्रत्येक कुनामा उनीहरूले हामीलाई घेरामा पारिरहे । यति कडा निगरानी र प्रहरीका सुराकीहरूको छाडापन हामीले पहिले कहिल्यै देखेका थिएनौँ । रगतको स्वाद पाइसकेका जङ्गली पशुले जस्तै कति बेला सिकार गल्छ र झम्टिउँला भनेझैँ गरी तिनीहरूले हामीलाई घेरिरहे । गुप्त प्रहरीले दुई वर्षदेखि यो क्षण पर्खिरहेको थियो । अब उनीहरू विजयमा उन्मत्त भइरहेका थिए । विजयको यो भाव प्रत्येक सुराकी र प्रत्येक प्रहरी एजेन्टको मुखमा स्पष्टै देखिन्थ्यो ।
हामी वरिपरि प्रहरीको घेरा झन्झन् कसिलो बन्दै थियो । छिट्टै उनीहरूले हामीलाई ढाक्न थाले ।
अन्तिम क्षणमा आएर हामी भाग्छौँ कि भनेझैँ प्रहरीको हामीमाथि कडा निगरानी राख्दै थियो । यसैकारण, मजदुर सङ्गठनहरूसँग सम्पर्कमा जान वा विरोध प्रदर्शनको आयोजना गर्न हामी असमर्थ रह्यौँ । हामीले गर्न सक्ने एउटै काम दस्तावेजहरूको जाँचपडताल थियो । हामीले दोहो¥याइ–तेहे¥याइ आफूसँग भएका कागजात जाँच्यौँ । प्रहरीले समातिहाल्यो भने पनि कुनै अपराधसँग जोड्न नसकोस् भनेर हामीले सावधानी अपनायौँ ।
धेरै दिनको तनाव र चिन्तापछि म बल्लतल्ल आरामले आफ्नो बिस्तरामा सुतिरहेको थिएँ । मध्यरात कसैले ढोका ढक्ढक्यायो । ढोकामा प्रहरी थियो । एक प्रहरी अधिकारीले भन्यो, “बादायेभजीमसँग तपार्इँलाई पक्रिने वारेन्ट छ ।”
लामो समयदेखिको अपेक्षित घडी आयो । मैले लुगा लगाएँ र आवश्यक सरसामान झोलामा हालेर परिवारसँग बिदा भएँ । घर प्रहरीले भरिभराउ भयो । म तल गएँ र प्रहरीसँगै अँध्यारो सडकमा पुगेँ । प्रहरीले मर्ला श्पालेर्नाया सडकको थानामा लग्यो । एकएक चीजको खानतलासी लिएपछि मलाई कालकोठरीमा हालियो । त्यहाँ मैले थाहा पाएँ, नोभेम्बर ५–६ को त्यही रात हाम्रो समूहका सबै सदस्यलाई एकैबाजि पक्राउ गरिएको रहेछ ।
अन्ततः जारशाही सरकारले हाम्रो बोल्शेभिक समूहलाई घुँडा टेकायो । मजदुर वर्गमाथि भइरहेको अन्य आक्रमणजस्तै बोल्शेभिक सांसदहरूको संसदीय उन्मुक्तिको प्रश्न शक्तिका आधारमा तय गरियो । त्यो बेला शक्ति सरकारको हातमा देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *