भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- माघ ३, २०८२
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ सम्पन्न
भक्तपुर, १ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भएको टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल खेल बुधबार सम्पन्न भई विजेता खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समापन र विजयी खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण कार्यक्रम सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न भयो ।
समापन समारोहमा अतिथि सुवालले भलिबल नेपालको राष्ट्रिय खेल भएको र भलिबल खेलको लोकप्रियता बढ्दो क्रममा रहेको उल्लेख गर्दै उहाँले खेलकुद पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भलिबल खेलको विकासको निम्ति संसद्मा खेलकुद ऐनमा संशोधन पनि राखेको स्मरण गर्दै भन्नुभयो, “नेपालको राष्ट्रिय खेल भलिबलको अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार कभर्ड हल बनाउने र एसियाली स्तरको भलिबल प्रतियोगिता नेपालमै हुनसक्ने गरी कभर्ड हल निर्माणको लागि संशोधन प्रस्ताव राखेका थियौँ । संसद विघटनको कारण अहिले विचाराधीन अवस्थामा रहेको र नयाँ संसदले अगाडि बढाउने विश्वास छ ।”
खेलकुदले नागरिकको व्यक्तित्व विकासमा मात्र नभई सामाजिक विकासमा समेत टेवा पु¥याउने औँल्याउँदै उहाँले शासक दलहरूले समूहगत कार्यमा जोड नदिँदा भदौ २३ र २४ गते नेपालमा अकल्पनीय घटना घटेको बताउनुभयो ।
देशमा आएको विभिन्न परिवर्तनले देशले कुनै उपलब्धि हासिल गर्न नसकेको स्पष्ट पार्दै उहाँले प्रजग कोरियाको राजनीतिक नेतृत्वले टीम वर्कमा ध्यान दिएका कारण आज संसारका प्रतिस्पर्धी देशको तुलनामा अगाडि बढिरहेको बताउनुभयो ।
नयाँ पुस्ताले देशको राजनीतिबारे बुझ्न आवश्यक रहेको चर्चा गर्दै उहाँले युवा विद्यार्थी भनेका देशका विकासका कर्णधार हुन् भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याइरहेको उल्लेख गर्दै खेलाडीहरूको आवश्यकता र मागबमोजिम नगरका विभिन्न ठाउँमा कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुरमा व्यवस्थित खेलमैदान निर्माणको प्रक्रियालाई पनि अगाडि बढाउँदै लाने उल्लेख गर्दै उहाँले समाजलाई सभ्य र सुसंस्कृत बनाउने नगरपालिकाको उद्देश्य विस्तारै पुरा हुने क्रममा रहेको बताउनुभयो ।
वाग्मती प्रदेशका सभासद् सृजना सैँजूले देशको सार्वभौमिकता रक्षा गर्न र देश विकासको लागि १८ वर्ष उमेर पुगेका युवाहरूलाई सैनिक तालिम दिन आवश्यक भएको बताउनुभयो । विद्यार्थीहरूलाई विद्यालयस्तरबाटै खेलकुद क्षेत्रमा सक्रिय बनाउन सके उसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रतिभा देखाउने अवसर मिल्ने विश्वास दिलाउँदै उहाँले विद्यालय तहदेिख नै इमानदार नागरिक बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वस्थ नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखी लगानी गर्दै आएको उल्लेख गर्दै मानव शरीरलाई स्वथ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
समापन कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ८० वटा विद्यालयहरूको सहभागिता रहेको यस वर्षको प्रतियोगितामा १५ वटा खेलमा हजारौँ खेलाडीबिच प्रतिस्पर्धा भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय भलिबल खेलका प्रशिक्षक विनोदचरण रायले प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषणा गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुवाल र अन्य अतिथिहरूले विभिन्न खेलमा उत्कृष्ट खेलाडी एवं विद्यालयहरूलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुका साथै सहभागी विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गर्नुभयो ।
Leave a Reply