भर्खरै :

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुयला

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुयला

काराकास, १८ डिसेम्बर (एएफपी) । भेनेजुयलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ । बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेको हो ।
मङ्गलबार ट्रम्पले भेनेजुयलाबाट भित्र–बाहिर हुने सबै तेल ट्याङ्करहरूलाई लक्षित गर्दै ‘पूर्ण र सम्पूर्ण अवरोध’ लगाएको घोषणा गरेका थिए । यो कदमलाई अधिनायकवादी वामपन्थी राष्ट्रपति निकोलस मादुरोविरुद्ध महिनौँदेखि चलिरहेको सैन्य तथा आर्थिक दबाब अभियानको पछिल्लो कडीका रूपमा हेरिएको छ ।
विश्वकै सबैभन्दा ठुलो प्रमाणित तेल भण्डार रहेको भेनेजुयलाले भने यस्तो घोषणाले आफूलाई नछोएको बताएको छ । राज्य स्वामित्वको तेल कम्पनी पेट्रोलिओस डे भेनेजुयला (पिडिभिएसए) ले विज्ञप्ति जारी गर्दै ‘कच्चा तेल तथा उप–उत्पादनको निर्यात सञ्चालन पूर्ण रूपमा सामान्य अवस्थामा छ र कम्पनीसँग सम्बन्धित ट्याङ्करहरू सुरक्षित रूपमा यात्रा गरिरहेका छन्’ भनी जानकारी दिएको छ ।
ट्रम्पले क्यारिबियन क्षेत्रमा रहेको भारी अमेरिकी सैन्य उपस्थितिको उल्लेख गर्दै भेनेजुयला ‘दक्षिण अमेरिकाको इतिहासकै सबैभन्दा ठुलो नौसैनिक घेराबन्दीमा परेको’ चेतावनी दिएका थिए । बुधबार पुनः उनले अमेरिकी सेनाले कसैलाई पनि भेनेजुयलाभित्र पस्न नदिने दोहो¥याउनुभयो र भेनेजुयलाले ‘हाम्रो सबै तेल लिएको’ आरोप लगाउनुभयो । उहाँले भेनेजुयलाको तेल उद्योग राष्ट्रियकरणप्रति सङ्केत गर्दै अमेरिका आफ्नो ऊर्जा अधिकार फिर्ता चाहने धारणा व्यक्त गर्नुभएको हो ।
यसैबिच राष्ट्रपति मादुरोले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गरी वासिङ्टनबाट आएका ‘खतराहरूको वृद्धि’ र त्यसले क्षेत्रीय शान्तिमा पार्न सक्ने प्रभावबारे छलफल गर्नुभएको छ । महासचिव गुटेरेसले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गर्नुभएको छ ।
भेनेजुयलाको अर्थतन्त्र मुख्यतः पेट्रोलियम निर्यातमा निर्भर छ । ट्रम्पको दबाब अभियानको उद्देश्य मादुरोको आन्तरिक समर्थन कमजोर पार्नु रहेको विश्लेषकहरू बताउँछन् । तर भेनेजुयलाको सेनाले आफूहरू यस्तो धम्कीबाट ‘डराएका छैनौँ’ भन्ने प्रतिक्रिया दिएको छ ।
भेनेजुयलाको तेलको प्रमुख बजार चीनले पनि काराकासलाई समर्थन जनाएको छ । चिनियाँ विदेशमन्त्रीले आफ्ना भेनेजुयलाली समकक्ष यवन गिलसँग फोनवार्ता गर्दै सबै एकपक्षीय धम्कीको विरोध गर्ने र सबै देशको सार्वभौमिकताको रक्षा गर्न समर्थन जनाउने बताउनुभएको छ ।
गत हप्ता एम/टी स्किपर नामक जहाज अमेरिकी कारबाहीमा कब्जा भएपछि मादुरोविरुद्धको दबाब झनै तीव्र भएको मानिन्छ । अगस्टमा ट्रम्पले क्यारिबियन क्षेत्रमा सन् १९८९ पछि सबैभन्दा ठुलो अमेरिकी सैन्य तैनाथीको आदेश दिनुभएको थियो, जसलाई औपचारिक रूपमा लागुऔषध तस्करीविरुद्धको कदम भनिए पनि भेनेजुयलालाई लक्षित गरिएको आरोप काराकासले लगाउँदै आएको छ ।
क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा भएका यस्ता अमेरिकी कारबाहीमा कम्तीमा ९९ जनाको ज्यान गइसकेको छ, पछिल्लो आक्रमणमा मात्र चार जनाको मृत्यु भएको बताइएको छ । काराकासले यी अपरेसनहरू मादुरोलाई हटाउने र भेनेजुयलाको तेल नियन्त्रणमा लिने प्रयासको आवरण भएको दाबी गरेको छ ।
बढ्दो तनावका बिच सम्भावित अमेरिकी हस्तक्षेपको डर पनि चुलिँदै गएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले संयुक्त राष्ट्रसङ्घको भूमिका कमजोर देखिएको टिप्पणी गर्दै ‘कुनै पनि रक्तपात रोक्न’ अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताउनुभएको छ ।
अमेरिकी नाकाबन्दीले भेनेजुयलाको कमजोर अर्थतन्त्रलाई गहिरो असर पारेको इतिहास छ । सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्ध झेल्दै आएको भेनेजुयलाले आफ्नो तेल कालो बजारमा निकै सस्तो मूल्यमा, मुख्यतः एसियाली मुलुकहरूमा बेच्नुपरेको छ । हाल देशले प्रतिदिन करिब १० लाख ब्यारेल तेल उत्पादन गर्छ । यो उत्पादन सन् २००० को सुरुआततिरको उत्पादनभन्दा धेरै कम हो ।
विश्लेषकहरूका अनुसार यो नयाँ नाकाबन्दीले छोटो अवधिमा भेनेजुयलाको अर्थतन्त्रको ‘मुख्य जीवनरेखा काट्न सक्ने’ खतरा बोकेको छ र मध्यम अवधिको प्रभाव अमेरिका–भेनेजुयला सम्बन्ध कतातर्फ जान्छ भन्नेमा निर्भर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *