लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
देशका नायक नायिका, गायक गायिका र कलाकारहरूले राजनीतिप्रति चासो राख्नु, राजनीतिक दलमा समावेश गर्नु सकारात्मक पक्ष हो । देशका सबै नागरिकले देशको राजनीतिप्रति चासो राख्नुपर्छ† राजनीतिमा सक्रिय हुनुपर्छ । त्यसो त विगतमा पनि कति देखिने तथा कति नदेखिने गरी कलाकारहरू राजनीतिमा नलागेका होइनन् । तर, केही वर्षदेखि नायक नायिका र गायक गायिकाहरू देखिने गरी राजनीतिमा लागेको पाइएको छ । उनीहरू पहिले प्रचारमा आएका थिएनन् । वर्गीय समाजमा नायक नायिका र गायक गायिकाहरू पनि विभाजित हुन्छन् । कति नायिकाहरू अर्धनग्न भएर नाच्छन्, उफ्रिन्छन् र गीत गाएर, अश्लील शब्द खोकेर युवा युवतीलाई उत्तेजित पार्ने, यौनवादी कुरा गरेर युवा युवतीहरूको मति बिगार्ने मन्दविष छर्ने गर्छन् । कम्युनिस्ट भनिने दलमा लागेका गायक गायिका र नायक नायिकाहरूले समाजका युवा युवती भड्काउने, मन बिगार्ने खालको नृत्य र गीत गाउनु ठीक होइन । मनोरञ्जनको नाउँमा एकक्षणको मञ्जाको निम्ति भन्दै अङ्ग प्रदर्शन गर्नु र अश्लील गीत गाउनु प्रगतिशील कदम होइन । त्यस्तो नृत्य र गीत कम्युनिस्टको चरित्रभित्र पर्दैन । राजनीतिमा लागेपछि अनुशासित हुनुपर्छ, चरित्रको ख्याल गर्नुपर्छ । मासलाई उत्तेजित बनाउने र अङ्ग प्रदर्शन गर्ने काम उचित होइन । मनपरी नाच्नु र गाउनु कुनै पनि कम्युनिस्ट कार्यकर्तालाई सुहाउँदैन । त्यो गायक गायिकाले पनि बुझ्नुपर्छ; उत्ताउलो र उच्छृङ्खल गतिविधि गर्नु हुँदैन ।
कलाकारले गीत गाउनुपर्छ; नाच्नुपर्छ । गीत गाएर, नाचेर सकारात्मक सन्देश छर्नुपर्छ । तर, नाच र गीत अश्लील, छाडा र उच्छृङ्खल हुनुहुँदैन । समाजमा गलत सन्देश छर्ने काम कुनै पनि राजनीतिक कार्यकर्ताले गर्नु हुँदैन । पार्टी हरेक कार्यकर्ता र नागरिकलाई सभ्य नागरिक बनाउनेतर्फ लाग्नुपर्छ । सुसंस्कृत समाज निर्माण गर्न पार्टी जुट्नुपर्छ† हल्ला पिटेर अश्लील गीत गाएर, उत्ताउलो भएर युवा–युवतीको मन जित्ने काम सही होइन । यसले युवा युवतीहरूको बानी बिगार्छ; उच्छृङ्खल गतिविधिमा बढावा दिन्छ । युवा–युवतीको मन भड्काउने काम, अश्लील दृश्य, अश्लील बोली मात्र होइन लागुऔषध खाने, गाँजा, चरेस खाने कामले पनि युवाहरूको मति भ्रष्ट भएको पाइन्छ । चोरी चकारी, हिंसात्मक, अराजनीतिक र उच्छृङ्खल गतिविधिले पनि समाजमा भड्काउने काम भइरहेको छ । समाज र परिवारको कुनै वास्ता नगर्ने, समाजमा नभिज्ने, कुलतको सङ्गतमा परेका युवाहरू पनि समाजबाट टाढा रहन्छन् । समाजबाट टाढा बस्ने युवाहरूको मन स्थिर हुँदैन । मन अस्थिर भएपछि के गर्न मिल्छ, मिल्दैन विचार गर्दैन । उनीहरूमा सद्बुद्धि पलाउँदैन । उनीहरू टोलका दाजुभाइ, साथीभाइ, नाताकुटुम्ब या समाजदेखि डराउँछन्† समाजमा मिलेर बस्न चाहँदैनन् । एक सुर या एकतर्फी ढङ्गले लागेमा उनीहरूको मति बिग्रिन्छ । उनीहरू कुलतमा लाग्छन् । कुलतको जमातमा सम्झाउने, बुझाउने व्यक्ति पनि हुँदैन । जाँड, रक्सी सेवन र गाँजा चरेसले उनीहरूको स्वास्थ्य बिगारिसकेको हुन्छ । भोको पेट भर्न गाँजा, चरेस, लागूऔषध खान थालेपछि उनीहरूलाई सुधार्न कठिन हुन्छ । यसकारण, मानिसहरू नागरिक समाजबाट टाढा बस्नु हुँदैन । समाजलाई बाटो देखाउने, गलत ठाउँमा गएकालाई सुधार्नको लागि पनि राजनीति आवश्यक हुन्छ† असल पार्टी आवश्यक हुन्छ ।
राजनीतिमा लागेका व्यक्तिहरू हरेक हिसाबले योग्य, सबल र सक्षम हुनुपर्छ । आचरण, बानी व्यहोरा शिष्ट र असल हुनुपर्छ । अनुशासित र चरित्रवान् हुनुपर्छ । राजनीतिमा लागेर जीवनमा दाग लाग्ने काम गर्नु हुँदैन । राजनीतिक कार्यकर्ताहरू उदाहरणीय भएमा त्यसले समाजमा राम्रो सन्देश छर्छ । जनतालाई बाटो देखाउने अग्रज या कार्यकर्ताहरूको मन सफा हुनुपर्छ; दूरदर्शी हुनुपर्छ; जनतामाझ भिजेको हुनुपर्छ† जनताको दुःख सुखमा साथ दिएको हुनुपर्छ । युवाहरूमा जोश जाँगर मात्र भएर हुँदैन । जोशमा होस पु¥याएन भने, सिद्धान्तनिष्ठ र कर्तव्यनिष्ठ भएन भने उनीहरू गलत बाटोमा जानेछन् । सिद्धान्त र विचार नभिजेकै कारण जेन–जीहरू विभाजित छन् । अहिले पनि उनीहरू कसको नेतृत्वमा परिचालित छन् भन्ने कुरा यकिन छैन ।
अर्धनग्न भएर उफ्रीउफ्री गीत गाएर, नाचेर आदर्शोमुख समाज बन्दैन । हाम्रो हरेक प्रयास असल नागरिक बनाउनेमा हुनुपर्छ । हामीले गलत बाटोमा लागेकोलाई सही ठाउँमा ल्याउने हो; आपराधिक क्रियाकलापमा लागेकालाई छोडाउने हो । चोरी चकारी गरेर, हत्या–हिंसा गरेर, लुटपाट गरेर जीवन सहज बन्दैन । त्यस्ता पात्रहरूलाई समाजले छिःछिः र दूरदूर गर्छ । उनीहरूको इज्जत र प्रतिष्ठा हुँदैन । बाँचेर पनि मरितुल्य भएका युवाहरूको जीवनको महत्व हुँदैन । आपराधिक क्रियाकलापमा सरिक सन्तानहरूको कारण आमाबाबुले मात्र होइन सन्तानले पनि दुःख पाउँछन् । उनीहरू समाजमा घृणित हुन्छन् । देश, समाज बनाउन, जनताको सेवा गर्न लाग्नुपर्ने युवा र कार्यकर्ताहरू सिद्धान्त र विचारलाई बन्धक राखेर मनपरी गर्न थालेपछि उदाहरणीय समाज कसरी बन्छ ? असल नागरिक कसरी बन्छ ? अनि समाज र देश कसरी बन्छ ? गरिब जनताको जीवन कसरी चल्छ ? देशमै काम–मामको व्यवस्था कसरी गर्न सकिन्छ ? देश समृद्ध र जनता कसरी सुखी हुन्छन् ?
Leave a Reply