्जखाङकी नाची
- फाल्गुन १४, २०८२
२००६ सालमा भक्तपुर म्युनिसिपालिटीको रूपमा स्थापना भएको आजको भक्तपुर नगरपालिका २००७ सालमा नगर पञ्चायत, २०१० सालमा नगरपालिका, २०१९ सालमा नगर पञ्चायत, २०४५ सालमा नगर पञ्चायत समिति हुँदै २०४७ साल जेठ ३० गतेदेखि हालसम्म नगरपालिकाको नाउँमा सञ्चालित छ । नगरपालिका स्थापनाकालदेखि आजसम्म विभिन्न कालखण्डमा निर्वाचित भएर सेवा गर्नुभएका जनप्रतिनिधिहरू, प्रत्यक्ष र अप्रत्यक्षरूपमा भक्तपुरको विकासमा योगदान गर्नुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०१९ सालमा नगर पचायतको सदस्य निर्वाचित भएर सेवा गर्नुभएको थियो । त्यतिबेलै उहाँहरूले भक्तपुर एउटा सुन्दर, सफा नगरको सपना देख्नुभएको थियो । निरङ्कुश पञ्चायती शासन कालका विभिन्न समयमा निर्वाचनको व्यवस्था थिएन । २०३६ सालको जनआन्दोलनपछि २०३७ सालमा जनमतसङ्ग्रह, २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव र २०३९ सालमा स्थानीय पञ्चायतको चुनाव सम्पन्न भयो ।
त्यतिबेला पार्टी प्रतिबन्धित थियो । प्रतिबन्धित नेपाल मजदुर किसान सङ्गठन (पार्टी) को तर्फबाट किसान नेता ज्ञानबहादुर न्याईच्याइँ प्रधानपञ्चसहित बहुमत उम्मेदवारहरू भक्तपुर नगर पञ्चायतमा जित्नुभयो । पारदर्शी, आर्थिक अनुशासन र भ्रष्टाचारमुक्त नगर बनाउने अभियान त्यतिबेलादेखि उहाँहरूले सुरु गर्नुभयो ।
त्यतिबेला भक्तपुर अत्यन्त फोहर र शिक्षामा देशकै पछाडि परेको मध्ये एक नगर थियो भने स्वास्थ्य उपचारको पनि राम्रो बन्दोबस्त थिएन । अर्थात्, नाउँ मात्रको नगरपालिका थियो । ज्ञानबहादुर न्याईच्याइँको नेतृत्वमा २०३९ सालदेखि सफाइ अभियान, वडा–वडामा साक्षरता कक्षा सञ्चालन, सिलाइ–बुनाइका तालिमजस्ता सीपमूलक तालिमहरू दिने कार्य सुरु भयो । नगर पञ्चायतको हिसाब पारदर्शी गर्न ‘पञ्चायत’ नाउँको पत्रिका प्रकाशन भयो ।
२०४४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान सङ्गठन (पार्टी) को तर्फबाट आशाकाजी बासुकला प्रधानपञ्चमा निर्वाचित हुनुभयो । उहाँसँगै नेमकिसङ्घ (पार्टी) का बहुमत वडा सदस्यहरू निर्वाचित हुनुभयो । हामी वडा सदस्यको रूपमा कार्यरत थियौँ ।
देशभरका ३६ वटा नगर पञ्चायतहरूमध्ये भक्तपुर नगर पञ्चायतले पृथक रूपमा काम सुरु गर्यो । देशभर कक्षा ५ सम्म सरकारले निःशुल्क गरेको बेला भक्तपुर नगर पञ्चायतभित्र कक्षा ७ सम्म निःशुल्कको व्यवस्था गरियो । ‘पञ्चायत’ पत्रिकामा पार्टी प्रतिबन्धित अवस्थामा पनि विश्व सर्वहारावर्गका महान् गुरुहरू कार्ल माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङका जीवनीहरू र समाजवादी साहित्यहरू प्रकाशित हुन थालियो । ‘पञ्चायत’ पत्रिका देशभरिका नगर पञ्चायतमा पु¥याउने व्यवस्था थियो । त्यतिबेला ‘पञ्चायत’ मासिक पत्रिका ‘कम्युनिस्ट’ वा क्रान्तिकारी पत्रिका थियो । त्यसमा नपाका बोर्ड निर्णयहरू, आम्दानी र खर्च विवरणदेखि समसामयिक विषयका लेखहरू छापिन्थ्यो । पञ्चायत पत्रिका देशका लोकप्रिय पत्रिकाहरूमध्ये एक थियो । यसरी देशमा भक्तपुर नगर पञ्चायत छुट्टै छाप निर्माण गर्दै अगाडि बढ्दै गयो । भक्तपुर नगर पञ्चायत त्यतिबेला पनि चर्चित थियो ।
प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई नेमकिसङ्गठन (पार्टी) ले राम्ररी उपयोग गर्दै थियो । त्यो पञ्चायतको आँखामा कसिङ्गर बन्यो । २०४५ साल भदौ ९ गते राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ रचेर नेमकिसङ्गठन (पार्टी) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), रापस गोविन्द दुवाल, प्रधानपञ्च आशाकाजी बासुकला, उपप्रधानपञ्च चैत्यराज शाक्यलगायत हामी सबैजसो वडाध्यक्षहरू त्यो जाली मुद्दामा फसाइयो । नगर पञ्चायत भङ्ग गरियो र मण्डलेहरूको नेतृत्वमा नगरपञ्चायत समिति गठन गरियो । पञ्चायती सरकारले अध्यक्ष रोहितलगायत नेमकिपाका नेता, कार्यकर्ताहरूलाई सर्वस्वसहित जन्मकैद वा ज्यान सजायको माग गर्यो । ६७ जना नेता कार्यकर्ताहरूलाई ज्यान मुद्दामा फसाइएको थियो । हजारौँ जनताले दुःख पाए । जनताको तीव्र विरोधसँगै २०४६ सालको जनआन्दोलनको सफलतापछि २०४७ साल वैशाख ५ गते अध्यक्ष रोहितसहित हामी सबै बन्दीहरू रिहा भयौँ ।
२०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पुनः ज्ञानबहादुर न्याईच्याइँ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । उहाँको नेतृत्वमा विगतका असल र जनपक्षीय कार्यहरूलाई निरन्तरता दिँदै नगरपालिकाका जनप्रतिनिधिहरू जनताको सेवामा अगाडि बढ्नु भयो । त्यतिबेला सम्पदाहरू बेवारिसे अवस्थामा थिए । न गुठी संस्थानले वास्ता गर्यो न पुरातत्व विभागले नै । भक्तपुरका अधिकांश सम्पदाहरू छरपष्ट थिए । त्यही समयमा २०५० सालदेखि विदेशी पर्यटकहरूसँग शुल्क लिन सुरु गरियो । भक्तपुरका केही पर्यटक व्यवसायीहरूले त्यसको विरोध गरे । तत्कालीन सरकारले पनि त्यसलाई रोक्न हर तरहले कोसिस गर्यो । तर, जनप्रतिनिधिहरू पछि हट्नु भएन । पर्यटकहरूबाट उठेको शुल्क र नगरपालिकाका सबै हिसाब पारदर्शी गर्दै गयो । पर्यटकहरूबाट उठेको रकमसमेतबाट सम्पदाहरूको मर्मत, जीर्णोद्धार गर्नुका साथै शिक्षा, स्वास्थ्य उपचार, सरसफाइलगायतका कार्यहरूमा खर्च गरियो । बिस्तारै विरोधका स्वरहरू कम हुँदै गयो । आज पर्यटक शुल्क भनपाको विभिन्न आर्थिक स्रोतहरूमध्ये एक महत्वपूर्ण स्रोत भएको छ । श्रमदानको संस्कृतिले आजसम्म निरन्तरमा पाउँदै छ ।
२०५४ सालमा प्रेम सुवाल नगर प्रमुखमा निर्वाचित हुनुभयो । ‘शिक्षालाई जोड दिने’ त्यतिबेलाको निर्वाचन घोषणापत्रमा उल्लेख थियो । त्यही क्रममा २०५६ सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ नाउँको लेख प्रकाशित गर्नुभयो । २०५९ सालमा त्यो पुस्तकको रूपमा प्रकाशित भयो । पुस्तकमा ‘सय वर्षपछिको भक्तपुर’ शिक्षा, स्वास्थ्य उपचारको बन्दोबस्त, सरसफाइ, पर्यटन विकास तथा कला संस्कृति विकासको कल्पना गर्दै ‘भक्तपुर संसारकै आकर्षक नगर, बिहान प्राचीन सहरजस्तो, दिउँसो विश्वविद्यालयजस्तो र राति सुन्दर आधुनिक सुन्दरीजस्तो देखिने’ उल्लेख गर्नुभयो । त्यो भक्तपुर विकासको मार्गचित्र थियो । २०५६ सालमा उच्च शिक्षा परिषद्बाट स्वीकृति लिई ख्वप माविको सुरुआत भयो । अनेकौँ समस्याबिच ख्वप उच्च मावि सुरु भयो ।
२०५८ साल माघ २१ गते भक्तपुरका बुद्धिजीवीहरूको एक बृहत् भेलामा अध्यक्ष नारायणमान बिजुक्छेँले अत्यन्त महत्वपूर्ण घोषणा गर्नुभयो । उहाँले ‘बिचमा कुनै बाधा व्यवधान आएन भने भक्तपुर पहिलो साक्षर जिल्ला, प्रत्येक घरमा एक स्नातक भएको, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला संस्कृति जोगिएको र आफ्नो पहिचान भएको जिल्ला बनाउन सकिने’ उल्लेख गर्नुभएको थियो । कतिको लागि त्यो पचेको थिएन । त्यो घोषणालाई लिएर महत्वाकाङ्क्षी योजना, चर्चाको लागि मात्र घोषणा गरेको, असम्भव योजनाजस्ता आलोचना पनि नभएको होइन । एक घर एक स्नातकको सपनालाई साकार पार्न नगरपालिका निरन्तर अगाडि बढ्यो । २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ख्वप कलेज र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बधन लिएर ख्वप इन्जिनियरिङ कलेजका कक्षाहरू सुरु भयो । कुनै पनि शैक्षिक संस्थाहरूको स्वीकृति र सञ्चालन सहज थिएन । ख्वप मावि स्थानीय तहहरूले सञ्चालन गरेको एकमात्र मावि हो । त्यो कार्यकालमा अन्य कार्यको अतिरिक्त उच्च शिक्षा प्रदान गर्ने महत्वपूर्ण शैक्षिक संस्थाहरू स्थापना भए ।
२०५९ साल असार मसान्तपछि तत्कालीन निर्वाचित पदाधिकारीहरूको म्याद समाप्त भयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले न म्याद थप ग¥यो न निर्वाचित नै ग¥यो । देशभरका स्थानीय निकायहरू जनप्रतिनिधिविहीन भए । पार्टीले अर्को निर्वाचितहरू नआएसम्म पहिलेका निर्वाचितहरू जिम्मेवारीबाट हट्न नहुने, जनतालाई सङ्कट परेको बेला जिम्मेवारीबाट भाग्न नहुने निर्देशनपछि सबै जनप्रतिनिधिहरूले आ–आफ्ना ठाउँमा बसेर जनताको सेवालाई निरन्तरता दिइरहनुभयो ।
जनप्रतिनिधिविहीन अवस्थामा पनि नगरपालिकाको शैक्षिक विकासको क्रम रोकिएन । २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ र त्यसपछि शारदा मावि/कलेज नगरपालिकाले स्थापना र सञ्चालन गर्यो । १५ वर्षसम्म देश जनप्रतिनिधिविहीन हुँदा देश विकासमा २५–३० वर्ष पछि पर्यो । भक्तपुर पनि त्यसबाट अछुटो रहेन । सकेसम्म भक्तपुरका जनतालाई जनप्रतिनिधिविहीनताको अनुभव गर्न दिइएन ।
२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । गणतान्त्रिक राज्य व्यवस्था, नयाँ संविधानसँगै नेपालमा पहिलोपटक सङ्घीयता कार्यान्वयनमा आयो । संविधानमै स्थानीय तहको अधिकार स्पष्ट उल्लेख गरियो । भक्तपुर नगरपालिकाले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर विभिन्न ऐन–कानुनहरू निर्माण गर्दै सबै क्षेत्रमा विकास निर्माणलाई अगाडि बढायो । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण, सीपमूलक तालिमहरू दिएर भनपाले जनभावनाअनुसार कार्य गर्दै आएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा पनि भक्तपुर नगरपालिकामा शतप्रतिशत नेमकिपाका जनप्रतिनिधिहरूले जीत हासिल गर्नुभयो । पहिले स्थापना गरिएका सबै शैक्षिक संस्थाहरूलाई निरन्तरता दिँदै थप व्यवस्थित रूपमा सञ्चालन गर्दै आएका छौँ । निर्वाचन घोषणापत्रको आधारमा २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी जनताका छोराछोरीलाई सस्तोमा गुणस्तरीय कानुन शिक्षा
(बीएएलएलबी) पाँचवर्षे कक्षा चलाउँदै छौँ । अहिले नपाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरूमा देशभरका ७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गरिब विद्यार्थीहरूका लागि रु. ५ लाखसम्म शैक्षिक ऋण, इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, नेपालभाषालगायतका विषयमा अध्ययन गर्ने नगरवासी विद्यार्थीहरूलाई विद्यावारिधिसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै शैक्षिक क्षेत्रलाई अझ व्यवस्थित र व्यापक बनाउँदै छौँ । शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म शैक्षिक संस्थाहरू चलाउने भक्तपुर नेपालको एक मात्र नगरपालिका हो । सरकारले विधेयक पारित गरिदिएको भए ख्वप विश्वविद्यालयहरू सञ्चालन गर्न पनि हामी तयार छौँ । त्यसको लागि हामीले प्रयास जारी राखेका छौँ ।
स्वास्थ्य क्षेत्रमा वडा वडामा स्वास्थ्य केन्द्रहरूको व्यवस्था, घरदैलो नर्सिङ सञ्चालन, १०० शøयाको ख्वप अस्पताल सञ्चालनले भक्तपुरका जनतालाई मात्र होइन सारा जनतालाई स्वास्थ्य उपचार सेवामा सुविधा भएको छ । गत आ.व. २०८१/०८२ मा ७० भन्दा बढी जिल्लाका २ लाख ८९ हजार बिरामीलाई ख्वप अस्पतालले सेवा दिन सफल भयो । जनताको सेवालाई ध्यान दिएर वर्षको ३६५ दिन चल्ने र दैनिक ११ घण्टा विशेषज्ञसहित ओपीडी सेवा दिने ख्वप अस्पतालको विशेषता हो भने नगरपलिकाले भक्तपुरवासीहरूलाई निःशुल्क अक्सिजन र निःशुल्क रगतको पनि व्यवस्थासँगै गरिबहरूको लागि निःशुल्क उपचारको पनि व्यवस्था गर्दै आएका छौँ ।
सांस्कृतिक नगर भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरूलाई जीवन्त राख्न भनपाले निरन्तर जोड दिँदै आएको छ । विदेशीको सहयोगमा होइन आफ्नै पौरखले हाम्रो सम्पदा उठाउनुपर्छ भन्ने भावनाले नगरपालिकाले जनतासँग मिलेर श्रमदान, आर्थिक सहयोग लिएर सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार गर्दै आएको छ ।
२०७२ सालमा ढलेका सयौँ सम्पदाहरू विदेशीको सहयोगबिना जस्ताको तस्तै पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेका छन् । भूकम्पपछि हालसम्म क्षतिग्रस्त र नयाँ निर्माणसमेत गरेर १६९ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेका छौँ भने अझै डेढ दर्जन सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धारको क्रममा छन् । सांस्कृतिक नगरको पहिचानलाई कायम राख्न समय–समयमा सांस्कृतिक प्रतियोगिता, बहाबही चिनौँ, पोखरी चिनौँ ¤ योमारी उत्सवजस्ता गतिविधिहरू गर्दै आएका छौँ । यसले आन्तरिक र बाह्य पर्यटन विकासमा टेवा पुगेको हाम्रो अनुभव छ । गत वर्षमात्रै हामीले भव्य ‘भक्तपुर महोत्सव’ सम्पन्न ग¥यौँ । भक्तपुर पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै छ । नेपाल आउने पर्यटकहरूमध्ये २५ देखि ३० प्रतिशत भक्तपुर आउने गरेको रेकर्ड छ ।
सरसफाइलाई पनि मौलिक शैलीमै व्यवस्थापन गर्दै आएका छौँ । कुहिने र नकुहिने अलग अलग फोहर सङ्कलन गरी कुहिने फोहर जतिको कम्पोस्ट मल बनाई किसानहरूलाई बिक्री गर्दै आएका छौँ भने नकुहिने फोहर छुट्याएर बिक्री गर्दै फोहरलाई पनि नगरपालिकाको आयस्रोत बनाउने प्रयास गर्दै आएका छौँ ।
युवाहरू बिदेसिने क्रमलाई न्यूनीकरण गर्न युवाहरूलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमहरूको व्यवस्था गर्दै आएका छौँ । सिकर्मी, डकर्मी, कुक, सिलाइ, कम्प्युटर, जग्गा नापजाँच, प्लम्बिङ, विद्युत्, हेयर कटिङ, छाला जुत्ता बनाउनेजस्ता थुप्रै तालिमहरू दिइरहेका छौँ । यसले युवाहरूलाई आत्मनिर्भर बन्न मद्दत पु¥याएको अनुभव छ ।
यसरी भनपाले निर्वाचनमा जनताबिच घोषणामार्फत गरेका प्रतिबद्धताहरू पूरा गर्न शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ तथा विभिन्न पर्यटनकेन्द्रित गतिविधिहरू गर्दै जनताको सेवा गर्दै आएको छ ।
नेमकिपाका अध्यक्ष नारायणमा बिजुक्छेँ (रोहित) ले २५–२६ वर्षअघि देख्नुभएको सपनाअनुसार भक्तपुर ‘एक घर एक स्नातक’, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला संस्कृति जोगिएको र आफ्नो छुट्टै पहिचान बोकेको नमुना नगरको रूपमा विकास हुँदै छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा स्पष्ट दृष्टिकोण राख्दै आउनुभएका, देश विकासको दीर्घकालीन सोच तथा भक्तपुरको सय वर्षपछिको मार्गचित्र कोर्नुभएका आदरणीय नेता नारायणमान बिजुक्छेँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । भक्तपुरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म निर्वाचित पदमा काम गर्नुभएका जनप्रतिनिधिहरू, नेमकिपाका नेता कार्यकर्ताहरू, राजनैतिकरूपमा फरक विचार भए पनि विभिन्न रचनात्मक आलोचना गरी सहयोग गर्ने विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरू र भक्तपुरका सबै तह र तप्काका जनताप्रति नगरपालिका स्थापनाको ७६ औँ वर्षको अवसरमा हार्दिक आभार व्यक्त गर्दछौँ ।
(भक्तपुर नगरपालिकाको ७६ र्औँ स्थापना दिवसको अवसरमा पुस २ गते योमारी प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्य)
Leave a Reply