भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ४५

जारशाही संसद्मा बोल्शेभिक सांसद – ४५

(टिपोट : यो पत्र सुरूमा विचारका लागि गृहमन्त्री माक्लाकोभलाई पठाइएको थियो । प्रहरी अभिलेखालयमा यो पत्र पढ्न पाइन्छ । अभिलेखमा माक्लाकोभको टिप्पणी पढ्दा उनी राजशाहीका अब्बल पहरेदार थिए भन्ने उजागर हुन्छ । रोद्जान्कोको पत्रले माक्लाकोभ चिढिए । उनले पत्रमा एउटा नोट लेखे, “प्रहरीले संसद्का पाँच सदस्यहरूलाई अपराधी प्रमाणित गरेको कारबाहीलाई कसैले ‘लापरबाह’ र ‘गैरजिम्मेवार’ भनेको म स्वीकार गर्न सक्दिनँ । सभामुख यसमा असहमत हुन सक्नुहुन्छ । तर, तथ्य यही हो । यस्तो कारबाहीलाई ‘असह्य’ भन्नु उचित होइन बरू ‘संसदीय उन्मुक्ति’ को आवरणमा दण्डहीन भई राज्यविरूद्ध सङ्गीन कसुर गर्नुलाई ‘असह्य’ भन्नुपर्छ । कसैको संसदीय उन्मुक्ति भन्दा महत्वपूर्ण रूसी राज्यको अखण्डता हो । कानुन मिच्न खोज्ने सांसदहरूलाई प्रहरीले सधैँ ठेगान लगाउनेछ । क्रान्तिको लागि लड्ने, जनताबिच असन्तोषको बीउ रोप्ने काम प्रशासनले गरेको होइन । बरू, प्रशासनसामु लापरबाही ढङ्गले चिच्याउनुबाहेक केही नजान्ने कायरहरूले ती काम गरिरहेका छन् । यस्ता व्यवहारलाई फाल्ने बेला भइसक्यो । असन्तोषको झूटो राइलो सनक मात्र हो । घटनासँग यसको कुनै सम्बन्ध छैन । म फेरि पनि संसद् सदस्यलाई पत्ता लगाएर गिरफ्तार गर्ने प्रहरी बलका ती सदस्यहरूलाई धन्यवाद भन्छु ।”)
गोरेमिकिनलाई लेखिएको निरर्थक र नाथे पत्र नै मजदुर सांसदहरूको पक्राउका सम्बन्धमा संसद्को बहमतले चालेको एक मात्र पाइला थियो । मेन्शेभिक र त्रुदोभिकहरूले संसद्को विशेष अधिवेशन बोलाउन गरेको पहललाई रोद्जान्कोले एकै झपटमा रोकिदिए । उनले सदन बन्द भइरहेको बेला कानुनले संसद्हरूको बैठक बस्न नदिने घोषणा गरे । उनको विचारमा बैठक बस्न आवश्यक नै थिएन ।
लामो अन्तरालपछि सन् १९१५ को जनवरीमा पुनः संसद्को बैठक बस्यो । हाम्रो पक्राउको विषयमा संसद्को बहुमतले प्रश्न उठाउनै दिएन । सरकारलाई प्रश्न गर्ने विषयमा सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न असम्भव भएको भन्दै क्याडेटले प्रश्नलाई लत्याए । चखाइद्जे र करेन्स्कीले बजेटको विषयमा बोल्ने बेला धेरै समय बोल्शेभिक समूहको दुर्दशाबारे नै बोले । तर, सभामुखले त्यसलाई पत्रिकामा छाप्नबाट रोके ।
स्वाभाविकै थियो, कालासय सदनले रोमानोभ सरकारको निर्णयलाई शिरोपर ग¥यो । हाम्रो समूहको पक्राउबाट सम्पूर्ण क्रान्तिकारी सङ्घसङ्गठनलाई तहसनहस पार्ने अध्यायको पटाक्षेप भयो । सदनका बहुमत सांसदहरूको आकाङ्क्षा पनि यही थियो । सरकारले जनपद र गुप्त प्रहरीका मान्छेलाई घरभित्रका नायक भन्दै पुरस्कार बाँड्यो । त्यो बेला रूसी उदारवादका ‘फूलहरू’ ले जारशाहीको पाउमा खुसामदी घुँडा टेके ।
तर, विरोधी शिविरमा के भइरहेको थियो ? कलकारखाना र खानीहरूको हाल कस्तो थियो ? बोल्शेभिक सांसदहरू पक्राउ परेको खबरले जनता आक्रोशित भए । सरकारका दुःखी कठपुतली अक्टोबरवादीहरूले समेत यो तथ्य बुझेका थिए । बोल्शेभिक सांसदहरूलाई नष्ट गरे रूसी सर्वहारा जनताबिच शक्तिशाली ज्वारभाटा उठ्छ–उठ्छ भन्ने उनीहरूले बोले । उनीहरूको बुझाइ गलत थिएन । क्रान्तिकारी आन्दोलनको मूल मागसँगै बोल्शेभिक सांसदहरूलाई पनि रिहा गर्नुपर्छ भनेर फेब्रुअरी क्रान्तिसम्मै मजदुरहरूले सङ्घर्ष गरिरहे । तर, हामीलाई पक्राउ गर्ने बेला लामो समयसम्म टिक्ने आन्दोलन उठाउनका लागि मजदुर वर्गसँग पर्याप्त शक्ति थिएन । युद्धको आतङ्कले देशको घाँटी समाइरहेको अवस्था थियो । क्रान्तिकारी क्रियाकलापमा भाग लिएको खण्डमा कि त सैन्य अदालतले मृत्युदण्ड दिन्थ्यो नत्र लामो समयलाई श्रमशिविरको दण्ड भोग्नुपथ्र्यो । समूहको पक्राउ हुनुको अर्थ रूसभित्रको मुख्य पार्टी केन्द्र नै ध्वस्त भएको थियो । पार्टी गतिविधिका सबै धागा संसद्का ‘पाँच बोल्शेभिक’ सँग जोडिएका थिए । अब ती धागोहरू चुँडेको अवस्था थियो ।
सांसदहरूलाई पक्राउ गर्न तम्तयार भएपछि समूहको प्रतिरक्षामा मजदुरहरूले कुनै पनि गतिविधि गर्न नपाऊन् भनेर गुप्त प्रहरीले अनेक होसियारी अपनायो । मजदुर बहुल जिल्लाहरूमा दोब्बर गुप्तचर खटाइयो । धेरै पार्टी कार्यकर्ताहरूलाई पक्राउ गरियो । यति हुँदाहुँदै पनि सेन्ट पिटर्सबर्ग समितिले पक्राउका सम्बन्धमा वक्तव्य जारी गर्न भ्यायो । वक्तव्यका नक्कल प्रति बनाएर नोभेम्बर ११ मा वितरण गरियो । वक्तव्यमा मजदुरहरूलाई हडतालमा उत्रिन र विरोधमा बैठकहरू गर्न आह्वान गरिएको थियो । वक्तव्य यसप्रकार थियो :
“कामरेडहरू, नोभेम्बर ५ मा राति दुष्ट जारशाही सरकारले रूसी सामाजिक जनवादी मजदुर समूहका सदस्यहरूलाई जेलमा हाल्यो । यसअघि पनि यो सरकारले प्रजातन्त्रका योद्धाहरूको रगतले हात रङ्ग्याएको थियो† यो जल्लादहरूको सरकार हो† यसले दोस्रो संसद्का निर्वासत मजदुर सांसदहरूलाई यातना दिएको छ; हजारौँको सङ्ख्यामा सर्वहारा जनताका उत्कृष्ट सन्तानहरूलाई कैदमा राखेको छ ।
यो निरङ्कुश सरकार तीन करोड मजदुरहरूका संसदीय प्रतिनिधिहरूविरूद्ध निर्लज्ज र निन्दनीय शैलीमा उत्रेको छ । जार र जनता एक भए भन्ने झूट र कपटपूर्ण प्रलाप अहिले उदाङ्गो भयो । जनतालाई दिएको धोका र भ्रष्टाचार अहिले छताछुल्ला भयो । जारशाही सरकारको अत्याचार अति भइसक्यो । अब मजदुरवर्ग र सम्पूर्ण प्रजातन्त्रप्रेमी शक्तिहरूले जनताको सच्चा प्रतिनिधित्वको निम्ति, संविधानसभाको आयोजनाका निम्ति लड्नुपर्ने बेला आएको छ ।
यो युद्ध र सैन्य कानुनले सरकारलाई सर्वहारा जनताको हकहितका निम्ति बहादुरीसाथ लडिरहेका मजदुर सांसदहरूमाथि हमला गर्ने मौका दिएको छ ।
बन्दुक र बारूदको आवाजबिच सरकारले क्रान्तिकारी आन्दोलनलाई रगतको नदीमा डुबाउने प्रयास गर्दै छ । मजदुर र किसानहरूलाई मारेर उसले स्वतन्त्रताको तिनको आशालाई मार्ने सोचेको छ ।
सम्पूर्ण स्लाभ जनताको मुक्तिको ध्वाँस फलाक्दै जारशाही सरकारले मजदुरवर्गका सम्पूर्ण सङ्घसङ्गठनलाई निमिट्यान्न पार्दै छ, मजदुरहरूको छापाखानालाई ध्वस्त पार्दै छ । उसले सर्वहारा जनताका अब्बल लडाकुहरूलाई जेलमा कोच्दै छ ।
यतिले मात्र मजदुरवर्गको दुश्मनको मन मरेको छैन । उसले मजदुरहरूका सांसदमाथि आक्रमण गर्ने निर्णय गरे किनभने उनीहरूले सरकारको दमनकारी, हिंस्रक र जेलनेलमुखी नीतिविरूद्ध वीरतापूर्वक लडिरहेका थिए । जारशाही डाँकाहरूले मजदुरवर्गले छनोट गरेको प्रतिनिधिहरूलाई भने – तिमीहरू बस्नुपर्ने यही जेलमा हो ।
मजदुरवर्गलाई नै जेलमा कोचेझैँ भएको छ । डाँका र शोषकहरूको गिरोहले, नरसंहार मच्चाउने गिरोहले रूसको समग्र मजदुर वर्गलाई निन्दा गर्ने दुस्साहस गरेका छन् । मजदुर वर्गमाथि जीवन र मृत्युबिच एउटा चुन्ने खण्ड आइलागेको छ । तर, सैनिक शासनको जतिसुकै कठोर दमनचक्रले पनि मजदुरहरूलाई विरोधको स्वर दबाउन सक्ने छैन । रूसका करोडौँ मजदुरहरूले ‘जल्लाद र हत्याराहरू मुर्दावाद’ को नारा लगाइरहनेछन् । उनीहरू आफ्ना सांसदहरूको रक्षा गर्न तम्तयार छन् ।
कामरेडहरू, रूसी सामाजिक जनवादी मजदुर पार्टीको सेन्ट पिटर्सबर्ग समिति जारशाही जमिनदारहरूको गुटका कर्तुतहरूविरूद्ध सेन्ट पिटर्सबर्गका सम्पूर्ण मजदुरसँग बैठकहरूका डाक्न र एकदिने हडतालमा उत्रिन आह्वान गर्छ ।
जारशाही मुर्दावाद !
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद !
रूसी सामाजिक जनवादी मजदुर पार्टी जिन्दावाद !
समाजवाद जिन्दावाद !
नोभेम्बर ११, रूसी सामाजिक जनवादी मजदुर पार्टीको सेन्ट पिटर्सबर्ग समिति ।”
त्यही बेला सेन्ट पिटर्सबर्गको सामाजिक जनवादी विद्यार्थी सङ्गठनले निम्न वक्तव्य जारी गरेको थियो :
“रूसी निरङ्कुशतन्त्र मैमत्त छ । देशविरूद्ध यसको कुकर्म रोकिएको छैन । हालै भएको सामाजिक जनवादी समूहको पक्राउ सत्ताविद्रोहसरह हो । जनतालाई प्रतिनिधि छान्न दिने नाटकको पटाक्षेप भएको छ । स्वेच्छाचारीहरूले सक्कली रूप देखाइसकेका छन् । प्रजातन्त्रको आँखैअगाडि घृणास्पद नाङ्गो नाच चल्दै छ ।”
वक्तव्य जारी गर्दै गर्दा सेन्ट पिटर्सबर्ग समितिले मजदुरहरू ठुलो आकारमा विरोधमा उत्रिने सम्भावना देखेको थिएन । पर्चाको उद्देश्य केवल मजदुरहरूलाई नयाँ सरकारको अपराध अवगत गराउनु थियो । त्यसमो उद्देश्य सरकार र पुँजीवादी पत्रपत्रिकाले चलाइरहेको देशभक्तिको रटानलाई जवाफ दिनु थियो । समूहलाई पक्राउ गर्नुको अर्थ समस्त रूसी मजदुर वर्गलाई जेलमा थुन्नु बराबर हो भनी औँल्याउँदै हाम्रो पार्टीले जनतालाई जारशाही सरकारलाई चुनौती दिन तम्तयार रहन भन्यो ।
तर, पर्चाको प्रभाव तत्कालै देखियो । धेरै कारखानाका मजदुरले एकदिने हडतालको आह्वान गरे । कतिपय कारखानामा ठुलो शक्ति परिचालन गरेर मजदुरलाई हडतालमा उत्रिनबाट रोकियो ।
‘नयाँ लेसनर’ कारखानाका मजदुरहरूले हडताल गर्ने विषयमा बिहानीपख छलफल गर्दै थिए । यत्तिकैमा दलबलसहित प्रहरी आइपुग्यो । यो दस्तालाई त्यसअघि नै कारखानामा राखिएको थियो । प्रहरी मजदुरहरूमाथि जाइलाग्यो र ‘पाठ पढाउने गरी’ मजदुरहरूलाई पक्राउ ग¥यो । यही हत्कन्डा अपनाएर अन्य कारखानाका हडताललाई पनि सरकारले दबायो ।
हडताल भएका स्थानहरूमा कठोर सजाय दिइयो । एकदम खतरनाक मानिएका मजदुरहरूलाई दनादन समाउँदै पिटर्सबर्गबाहिर गलहत्याइयो । कतिपय मजदुरलाई नयाँ नयाँ दण्ड दिइयो । सेनाले जगेडामा राखिएका मजदुरलाई अथवा सैन्य सम्झौतामा नै ढिलो काम दिने तय भएका मजदुरलाई तुरून्तै लडाइँको अग्रमोर्चामा पठाइयो । पार्भायनिन कारखानाका १५ सय मजदुरले हडतालमा भाग लिएका थिए । तीमध्ये १० जनालाई निर्वासनमा पठाइयो भने २० भन्दा बढी मजदुरलाई युद्धका अघिल्ला मोर्चामा पठाइयो ।
यस्तो स्थितिमा हडतालले ठुलो आकार लिने सम्भावना थिएन । तर, यिनै हडतालबाट पनि मजदुरवर्गको आन्दोलन पूर्णतः नदबेको र ढिलोचाँडो यो बलशाली भएर उदाउने पुष्टि भयो ।
हाम्रो पार्टीसामु गर्नुपर्ने अथाह काम थियो । तर, काम गर्नलाई अतिशय गा¥हो थियो । संसदीय समूह पक्राउ गरेपछि हाम्रो सङ्गठनलाई नामेटजस्तै भएको थियो । केन्द्रीय समिति रूसबाट काटिएको वा एकदम अलग्गिएको थियो । अब समग्र पार्टी सङ्गठन निर्माण गर्ने काम उसकै काँधमा आएका थिए । एकदम चनाखो हुँदै लेनिनले स्टकहोममा रहेका श्ल्याप्निकोभलाई चिठी लेख्नुभयो, “यो खबर साँचो हो भने अत्यन्त दुःखद हो ।” चिठीमा उहाँले समूह पक्राउ परेको खबर साँचो हो–होइन, पत्ता लगाउन भन्नुभएको थियो ।
तीन दिनपछि लेनिनले खबर पक्का भएको थाहा पाउनुभयो । उहाँले श्ल्याप्निकोभलाई पुनः लेख्नुभयो, “डरलाग्दो घटना भएछ । झट्ट हेर्दा सरकारले रूसी सामाजिक जनवादी मजदुर समूहसँग मात्र बदला लिन खोजेजस्तो देखिन्छ । उसले अन्त नजर नलाएको प्रतीत हुन्छ । तर, हामीले योभन्दा पनि भयावह स्थिति आउन सक्छ भनी सोच्नुपर्छ । किर्ते कागजात, झूटा प्रमाण, बनावटी बयान, गुप्त इजलास जे पनि हुन सक्छ ।” लेनिनले पार्टी गतिविधिसँग सम्बन्धित यामानका कठिनाइतर्फ औँल्याउनुभयो । साँच्चै हाम्रा कठिनाइ सयौँ गुणा बढेका थिए । उहाँले लेख्नुभयो, “तैपनि हामीले प्रयास जारी राख्नेछौँ । ‘प्राभ्दा’ ले हजारौँ वर्गसचेत मजदुरलाई शिक्षा दियो । जति कठिनाइ भए पनि तिनै मजदुरहरूबाट नेताहरूको नयाँ समूह, नयाँ रूसी केन्द्रीय समिति जन्मिनेछ ।…”
सदाझैँ लेनिनको शब्दमा मजदुरवर्गको शक्ति र क्रान्तिको विजयमाथि मनग्गै आस्था थियो । पार्टी गतिविधिमा आएका कठिनाइहरूलाई उहाँले प्रस्टै देख्नुभयो । तर, क्रान्तिकारी सङ्घर्षको सबैभन्दा सङ्गीन अवधिमा समेत लेनिनमा निहीत अपवादस्वरूप शक्ति र ऊर्जा एक क्षण पनि डग्मगाएनन् ।
पाठ २५
मुद्दा
कारागारमा । कोर्ट मार्सलको प्रश्न । मजदुर प्रदर्शनको तयारी । इजलास । समूहका सदस्यहरूको घोषणा । सरकारी वकिलको मन्तव्य । प्रतिरक्षाका मन्तव्यहरू । सजाय ।
हामीलाई संसारबाट एकदम अलग कडा पहराभित्र काठकोठरीमा थुनिएको थियो । बेलाबेला हामी रूसी सेनाले जितेको र देशभरि देशभक्तिको लहर चलेको सरकारी समाचार र प्रतिवेदनका टुक्राटाक्री सुन्थ्यौँ ।
सेन्ट पिटर्सबर्गका कारखानाहरूमा नयाँ दृश्य देखाप¥यो । ‘जनतासँग एकता’ लाई मूर्त रूप लिने प्रयासमा राजा निकोलस आफै कारखानाहरूमा चक्कर लगाउन निस्के । रोबदार लुगामा ठाँटिएर र पोशाक लगाएका अर्दलीहरूको भीड र नलगाएका प्रहरीले सावधानीपूर्वक घेरिएर राजाले विभिन्न कारखानाको भ्रमण गरे । उनी पुतिलोभ कारखानालगायत विभिन्न सरकारी कारखानामा गए । पूरै भ्रमण नाटकजस्तै नियमबद्ध मञ्चन गरिएको हुन्थ्यो । भ्रमणसँगै देशभक्तिका धुमधाम जुलुसहरू गरिन्थ्यो । जुलुसमा ‘जिन्दावाद’ का नारा लाग्थे, राष्ट्रगान घन्किन्थ्यो, राष्ट्रिय चिह्न फहराइन्थ्यो । नाटकझैँ झिलिमिली हुन्थ्यो ।
मजदुरहरू के हुँदै छ ? क्रान्तिकारी प्रचारप्रसार कसरी गरिँदै छ ? तिनका मनोभावना कस्ता छन् ? यी कुरा हामीलाई थाहा थिएन । थाहा पाउने उपाय पनि थिएन ।
पक्राउ गरेको दुई–तीन दिनपछि हामीलाई सोधपुछ गरियो । फर्केर सँगै हुँदा हामी आपसमा कुराकानी गथ्र्यौँ । तर, छिट्टै हामीलाई अलग पारियो र व्यक्तिपिच्छे छानबिन सुरू भयो ।
ओज्योर्कीमा खानतलासी हुँदा नै हामीले पार्टी भेला गरिरहेका थियौँ भनेर प्रमाणित गर्नबाट प्रहरीलाई हर हिसाबले रोक्ने प्रण गरेका थियौँ । हामीले सबै महत्वपूर्ण दस्ताबेज, माइन्युट, एजेन्डा आदि नष्ट ग¥यौँ । हामी श्रीमती गारिलोभका पाहुना मात्र थियौँ भन्ने निधो गरेका थियौँ । अधिकृतले सोधपुछ गर्ने बेला हामीले यही कुरा भनिरह्यौँ र अर्थोक केही स्वीकारेनौँ । हामी श्रीमती गारिलोभका पाहुना थियौँ र त्यही मौकामा मजदुर सङ्गठन, बीमाको मुद्दा, पत्रिकाको प्रकाशनबारे छलफल गरेका थियौँ भन्यौँ । एकैपल्ट हामीसँग धेरैले भेट्न खोज्दा प्रहरीको आँखामा परिने हुनाले हाम्रो समूहले मौकामा केही मजदुर प्रतिनिधिसँग भेट्नु पनि अन्यथा नभएकोमा हामीले जोड दियौँ । हामीसँग पार्टी साहित्य भेटिएको प्रश्नमा हामी सांसद हुनाले देशका विभिन्न राजनीतिक विचारबारे जानकारी राखिरहनुपर्ने बतायौँ । प्रश्न सोध्ने अधिकृतले युद्धप्रति हाम्रो धारणाबारे प्रश्न गर्दा हामीले जुलाई २६ गते संसद्मा वाचन गरिएको सामाजिक जनवादी समूहको वक्तव्य हेर्न भन्यौँ ।
शागोभले कामको सिलसिलामा श्रीमती गाभ्रिलोभ संसदीय समूहको कार्यालयमा आउँदा उनीसँग चिनापर्ची भएको र पछि उनले नै समूहका सदस्यहरूलाई घरमा बोलाएको बताए । उनको घरमा कुनै भेलासेला नभएको, कुनै निर्णयको खेस्रा नगरिएको बरू पूरै बातचित बीमा क्लब र पत्रिकाको प्रकाशनकै सेरोफेरोमा घुमेको शागोभले बताए ।
मैले श्रीमती गाभ्रिलोभको निमन्त्रणामा आफू त्यहाँ गएको बताएँ । मुद्दासँग त्यो निम्तोको कुनै सम्बन्ध नरहेको र साथीहरूबिच मामुली कुराकानी भएको भनेँ । भेलाको आयोजना र निर्णय गर्ने जस्ता कुनै काम नभएको बताएँ ।
कुरा फुत्काउने प्रयास गर्दै अधिकृतले लगातार मसँग सेन्ट पिटर्सबर्गका प्रतिनिधिहरू आन्तिपोभ र कोज्लोभको विषयमा सोधिरह्यो । उनीहरू दुवै सेन्ट पिटर्सबर्ग समितिका सदस्य थिए । आन्तिपोभ सेन्ट पिटर्सबर्ग समितिका पदाधिकारी नै थिए । आन्तिपोभसँग चिनापर्चीको विषयमा मैले बेरोजगार हुँदा मसँग भेट्न आएको र काम खोजिदिन आग्रह गरेको बताएँ । गाभ्रिलोभमा पनि यही कुराका लागि आएका थिएँ भने ।
कोज्लोभलाई भने सामाजिक बीमासम्बन्धी पत्रिका प्रशासनलाई सरसल्लाहका लागि बोलाएको बताएँ । कामेनेभबारे सोध्दा उनले ‘प्राभ्दा’ मा लेख लेखिरहने हुनाले पत्रिकाकै कार्यालयमा उनीसँग भेट भएको बताएँ । सबैभन्दा अप्ठ्यारो प्रश्न फर्जी पासपोर्टको थियो । अर्कै नामको पासपोर्ट कसरी आयो भन्दा मैले मजदुरहरूले मसँग संसद् भवनको ग्यालरीमा जानका लागि पासपोर्ट दिएर अनुरोध गर्ने गरेको बताएँ । कहिलेकाही व्यक्तिले माग्न नआउँदासम्म लामो समय यी कागजात मसँगै हुने भनेँ । मसँग भेटिएको पासपोर्टको खेल त्यही टुङ्गियो । तर, सोधपुछ अधिकारी सन्तुष्ट भएन । तर, त्यसबारे उसले मबाट केही फुत्काउन सकेन ।
पेत्रोभ्स्कीले पनि यही रीतले जवाफ दिए । उनले आफूलाई निम्तो दिने व्यक्तिको नाम भन्न अस्वीकार गरे । उनले सांसदहरू र कामेनेभलाई बाहेक गाभ्रिलोभको घरमा कसैलाई नचिनेको बताए । आफूबाट प्रहरीले बरामद गरेका सबै दस्तावेजहरू केही हुलाकबाट र केही अज्ञात व्यक्तिबाट पाएको बताए । युद्धबारे थेसिसमा सच्याएको अक्षर आफ्नै भएको र त्यसो गर्न आफूलाई एक अज्ञात व्यक्तिले भनेको उनले बताए । यही सच्याएका बुँदाको आधारमा आफूले सदनमा बोल्ने तयारी गरेको उनले बताए । आफूसँग भएका सामग्रीको आधारमा युद्धसम्बन्धी आफ्नो धारणा अनुमान लगाउन नमिल्ने उनले बताए ।
सामोइलोभले गाभ्रिलोभको घरमा मानिसहरू संयोगले भेटेको बताए । कतिपय व्यक्तिले आफ्ना सांसदलाई भेट्न आएका थिए भने । धेरै प्रश्नको जवाफ उनले बताउनै परेन । विदेशमा उपचार गराउन गएको हुनाले आफ्नो अनुपस्थितिमा केके भयो, त्यो थाहा नभएको उनले बताए ।
कामेनेभले आफूले मजदुरहरूको पत्रिकामा लगातार लेखिरहेको र पत्रिका बन्द भएपछि त्यसको पुनः प्रकाशनका लागि कुराकानी गर्न त्यो घरमा आएको बताए । पेत्रोभ्स्कीको घरमा जान डर लागेको हुनाले तेस्रो व्यक्तिकहाँ भेट्न सजिलो हुनाले त्यहाँ गएको उनले बताए । कुराकानी त्यही दिनमा सीमित भएको र कुनै भेला वा निर्णय नगरेको बताए । सारमा काभेनेभले आफूसँग भेटिएको दस्तावेजमा अभिव्यक्त युद्धसम्बन्धी विचारमा आफ्नो विमति रहेको बताए ।
हामीसँगै पक्राउ परेका आन्तिपोभ, कोज्लोभ, भोरोनिन, याकोभ्लेभ, लिन्दे र श्रीमती गाभ्रिलोभले पनि झन्डै एवम्रितले बयान दिए । सबैले आ–आफ्नै शैलीमा कारण पेश गरे र आ–आफ्नै कामले सेन्ट पिटर्सबर्ग आएको बताए । त्यो घरमा भेट हुनुलाई उनीहरूले संयोग मात्र बताए । खासमा आफू आफ्ना सांसदहरूलाई भेट्न आएको बताए ।
मुरानोभ एकदम सकसमा परे । उनको नोटबुकमा उनकै हस्ताक्षरमा पार्टीका गैरकानुनी गतिविधिका टिपोटहरू थिए । त्यो नोटबुक आफ्नो होइन भन्ने बाटै थिएन । यसकारण, उनी मौन बसिरहे र थप कुनै प्रमाण दिन अस्वीकार गरिरहे ।
हामी सबैलाई एक्लाएक्लै पारेर सोधपुछ गरियो । पहिलो भेटपछि हामीलाई अलग अलग अधिकृतकहाँ पठाइयो । कारागारमा पनि हामी एकअर्कासँग कुरा गर्न पाउँदैनथ्यौँ । अर्को साथीले के भन्यो भन्ने थाहा पाउने कुनै उपाय थिएन । प्रारम्भिक छानबिन पूरा भएपछि मात्र हामीलाई आफूमाथि लगाइएको आरोपसम्बन्धी सामग्री हेर्न दिइयो । बल्ल हामीले सबैका जवाफहरू थाहा पायौँ ।
प्रारम्भिक छानबिन तीव्र गतिमा अगाडि बढेको थियो । परिस्थिति अनुकूल हुनाले सरकार मुद्दाको काम छिटोछिटो टुङ्ग्याउन चाहन्थ्यो । हाम्रो पक्राउ र मुद्दा नियोजित थियो । त्यसकारण, मसिनो छानबिन गर्न आवश्यक थिएन । अधिकृत र सरकारी वकिलको काम खोसिएका दस्तावेजहरूका आधारमा मुद्दाको मजबुन लेख्नुमा सीमित थियो । हामीलाई दिइने सजाय पहिल्यै टुङ्गो लागिसकेको थियो ।
डिसेम्बरको अन्त्यसम्म हामीलाई ६ महिना कैदमा राखेपछि प्रारम्भिक छानबिन पूरा भयो । हामीलाई पनि छानबिनका लागि अधिकृतले बोलाए । हामीलाई छानबिनको निष्कर्ष सुनाउनको लागि बोलाइएको थियो । लामो अन्तरालपछि हामीले एकअर्कालाई भेट्यौँ । मुद्दाप्रति हामीले कस्तो व्यवहार गर्ने भन्ने विषयमा हामीले आपसमा एउटै मत बनायौँ । प्रारम्भिक छानबिनको निष्कर्ष निकै लामो थियो । त्यसमा हामीबाट खोसिएका सबै दस्तावेज, सामग्री, प्रहरीले बटुलेको जानकारी, युद्धको क्रममा सेन्ट पिटर्सबर्गमा जारी गरिएका विभिन्न पर्चा र हाम्रो समूह क्रान्तिकारी गतिविधिमा लागेको प्रमाणित गर्न सक्ने अन्य धेरै दस्तावेजको चर्चा थियो । यी कागजातको वाचन सुन्दैमा केही दिन बिते ।
घटनाको स्थिति बुझिल्याउँदा हामीलाई कोर्ट मार्शल गरिने सम्भावना स्पष्ट हुँदै गयो । बाहिर रहेका हाम्रा साथीहरूले पनि त्यस्तै सोचेका थिए । उनीहरू निकै चिन्तित थिए । अधिवक्ताहरूको मद्दतले उनीहरू घटनालाई सामान्य मुद्दामा परिणत गर्न प्रयत्नशील थिए ।
छापा मारिएको स्थान ओज्योर्की सैन्य कानुन घोषणा गरिएको जिल्लामा पथ्र्यो । सैनिक कानुनअनुसार नै गाभ्रिलोभ परिवारको घरमा छापा मारिएको थियो । यसकारण, कानुनी रूपमै हामीलाई कोर्ट मार्शल गर्न सकिन्थ्यो । सरकारका लागि पनि मौकामा चौका थियो । देशद्रोहको मुद्दा लगाएर उसले सदाका लागि हाम्रो समूहलाई ठेगान लगाउन सक्थ्यो ।
यसकारण, हाम्रो मुद्दालाई सामान्य मुद्दामा झार्ने सरकारको निर्णयले हामी तीनछक्क प¥यौँ । कानुनअनुसार आरोपीहरूलाई आफूविरूद्ध दायर मुद्दाका प्रमाण केके छन् भनेर हेर्ने अधिकार थियो । हामीले एकआपसमा भेटघाट गर्न र प्रतिरक्षाका लागि एउटै धार कोर्नका लागि यो अधिकारलाई उपयोग ग¥यौँ । दोस्रोपल्ट हामीले ती प्रमाण पढिरहेकै बेला हामीले थाहा पायौँ, राजाको ‘परमादेश’ ले हाम्रो मुद्दालाई सैन्य अदालतबाट सामान्य अदालतमा सारिएको थाहा पायौँ । हाम्रो मुद्दा अब पेत्रोग्राद हाइकोर्टको विशेष शाखाले हेर्ने भयो ।
सरकारको योजनामा आएको आकस्मिक परिवर्तनको कारण के थियो ? यसको कारण देशको बदलिँदो परिस्थिति थियो । रूसी सेनाले धेरै ठाउँमा पराजय व्यहोर्नुपरेको थियो । सेनाको हालत एकदम खस्केको हल्ला व्यापक थियो । देशको बडाराष्ट्र अहङ्कारी माहोलमा चिरा पर्न थालेको थियो । कमजोरै भए पनि मजदुर आन्दोलन पनि बिस्तारै उठ्ने संकेत देखिँदै थियो । बेलाबेला आर्थिक हडताल भइराखेका थिए । सन् १९१५ को जनवरीमा केही जिल्लामा राजनीतिक हडताल नै भए । मजदुर सांसदहरूलाई दण्ड सुनाइरहँदा जनताबिच देशभक्तिको गीत गुञ्जिने सरकारको अपेक्षा अब साकार हुन गा¥हो थियो ।
यी कुराहरूलाई ध्यान दिएर निकोलस द्वितीयले ‘दयापूर्ण’ आदेशमा हस्ताक्षर गरेका थिए । यसरी मजदुर सांसदहरूलाई गोली ठोक्ने सुरूको योजनाबाट सरकार पछि हट्नुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *