सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
हरेक सरकारले आफ्नो पालामा ठुलठुला विकास गरेको ध्वाङ फुक्छ; आफूले जति अरुले के विकास गरेको छ भनी रवाफ देखाउँछ । थोरै धेरै विकास त कुनै पनि सरकारले गर्छ । देशको बजेट कुनै पनि सरकारले उपयोग गर्छ । सडक पीच हुनु, पुल बन्नु या बनाउनु मात्र विकास होइन । नाना थरीका सपना बाँडेर लोभ देखाउनु, धम्की दिनु र मुख चलाउनु नै विकास होइन । एक राजनीतिक विश्लेषकले प्रश्न गरे, मुख चलाएर हात मुख चल्दैन भन्ने के गर्ने ? सरकारले देश र जनताको पक्षमा राम्रो काम गरेको छ कि छैन भन्ने आधार सडक र पुल बनाउनु मात्र होइन । समृद्ध देश सुखी नेपालीको नारा फुकेर देश विकास हुने पनि होइन ।
विकासको ध्वाङ फुकेर देशलाई ऋणमा डुवाउँछ भने त्यो कसरी विकास हुन्छ ? देश झन्झन् परनिर्भर हुँदै छ । आत्मनिर्भर बनाउने बाटो खोजेको छैन भने त्यो कसरी विकास हुन्छ ? देशलाई आत्मनिर्भर बनाउने पूर्वाधार तयार गर्छ, ऋणमुक्त देश कुनै सरकारले बनाउँछ भने त्यो सरकारको सफलता हुन्छ† त्यो सरकारले गरेको प्रगति मान्नुपर्छ । देशलाई भ्रष्टाचारमुक्त बनाउँछ या बनाउन पूर्वाधार तयार गर्छ; भ्रष्टाचारीहरूमाथि कारबाही गर्छ भने त्यसलाई सरकारको सफल कार्य मान्नुपर्छ । तर, विडम्बना ! देश भ्रष्टाचारको आहालमा डुबेको छ । नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई बढी भ्रष्टाचार हुने देशको सूचीमा राखेको छ । यो नेपाल र नेपालीको निम्ति मात्र होइन विश्वकै निम्ति नमज्जाको विषय हो ।
नेपाल सरकार विदेशी डिजाइनमा चलेको छ । विदेशी शक्तिराष्ट्रको उठबसमा चल्ने सरकारले नेपाल र नेपाली जनताको हित हेर्दैन । विदेशीहरूको स्वार्थ पूरा गर्न पल्केको दल या सरकारले देश र जनताको हितभन्दा विदेशीकै हित हेर्छ । देशमा राजनीतिक दल र वर्गीय सङ्गठनको गतिविधिभन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाको गतिविधि बढी हुन्छ । यो पार्टीका इमानदार नेता तथा कार्यकर्ताको लागि सुहाउने विषय होइन । सरकारी तलब खाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामा पल्केर दोहोरो पाश्रिमिक लिने, कार्यकर्ता भड्काएर मति बिगार्ने दल र दलको सरकारले के राम्रो काम ग¥यो भनेर विश्वास दिलाउने ? राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले के देश ढाक्नु सरकारको सफलता हो ? सरकारको नेतृत्वको निम्ति हुने नहुने दलसँग घाँटी जोड्नु सरकारको सफलता हो ? सरकारको नेतृत्व गर्न पाएपछि या सरकारमा बस्न पाएपछि आफूलाई ठुलो मान्ने, ठान्ने दल र दलका नेताहरू कसरी सच्चाइका पात्र हुन्छन् ? छिनछिनमा सरकार ढाल्न गठबन्धन गर्ने शासक दलका नेताहरू कसरी असल र सिद्धान्तनिष्ठ हुन्छन् ?
देशमा बेथिति बढेको बढ्यै छ । आफ्नो दलमात्रै सही ठान्ने शासक दलका नेताहरू आफ्नो दल बलियो बनाउन, आफ्नो क्रियाकलाप बढाउने नाउँमा झूटको खेती गर्ने, छलकपट, प्रप्रञ्च गर्ने, प्रतिशोध साट्ने, दल फुटाउने, दलका नेता तथा कार्यकर्ताहरू पद र लोभ लालच देखाएर तान्ने काम र प्रवृत्तिले जनताले साँच्चै न्याय र समानता पाउँदैनन् । विकासको निम्ति, जनताका आधारभूत आवश्यकता पूर्ति गर्नको निम्ति देशको कुन कुन ठाउँमा खानी छ; भएको खानीलाई कसरी उपयोग गर्ने ? ती योजनाहरू कसरी उपयोग गर्ने भन्नेतर्फ शासकहरू लागेकै छैनन् । घुस्याहा, कमिसनखोर, विचौलिया, भ्रष्टाचारी, कालाबजारी, कमिसनखोरहरूको घेरामा देश रहेको छ । उत्पादनका स्रोत र साधनहरू बन्द गर्ने; खानेपानी निजीकरण गर्ने, सरकारी उद्योग तथा कारखानाहरू निजीकरण गर्ने, विदेशी व्यापारी या व्यवसायीलाई सुम्पेर देशको अर्थतन्त्र मजबुत हुनेछैन । शिक्षा र स्वास्थ्य सेवाको स्थिति पनि नाजुक छ । देशका शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीहरू सरकारसित चिढिएका छन्† असन्तुष्ट छन् । आफूलाई ठुला, गौरवशाली र कम्युनिस्ट भनिएका ठुला दलभित्रै असन्तुष्टि पोख्ने नेताहरू छन् ।
देशले जित्नुपर्छ दलले होइन । दल सिद्धान्त र विचारको आधारमा चल्नुपर्छ । दल र दलका नेताहरू देश ठप्प पार्न होइन बनाउन जुट्नुपर्छ । दलका नेता कार्यकर्तालाई उत्तेजित बनाउन, उच्छृङ्खल गतिविधि गर्न खोक्ने होइन देश विकासमा जुट्न, बहुमत जनताको सांस्कृतिक, सैद्धान्तिक, राजनीतिक स्तर उठाउन आग्रह गर्नुपर्छ । ठुलो दलको काम देश ठप्प पार्ने होइन; आफ्ना दलका नेता तथा कार्यकर्ताहरू भ्रष्टाचार, अनियमिततामा फसे पनि मौन रहने होइन, कारबाही गर्न र गराउन पार्टी जुट्नुपर्छ । राजनीति पद र पैसाको निम्ति गर्ने होइन भन्ने कुरामा नेता र कार्यकर्ताहरू सचेत हुनुपर्छ । राज्यको आयस्रोत बाँडफाँड गर्ने, पद भागबन्डा गर्ने काम भएसम्म देशमा सुशासन हुनेछैन† विधिको शासन हुनेछैन । त्यस्तो सरकारलाई सफल मान्न सकिँदैन ।
Leave a Reply