भर्खरै :

सुसंस्कृत समाज निर्माणमा विद्यालयको भूमिका

सुसंस्कृत समाज निर्माणमा विद्यालयको भूमिका

साधारणतया नेपालजस्तो पीडित समाजमा जान्ने–बुझ्ने र समाजको भविष्यबारे चिन्तन गर्ने व्यक्तित्व थोरै हुन्छन् । यहाँ जान्ने–बुझ्ने व्यक्तिको अर्थ आ–आफ्ना पेसामा जानकार वा आफ्नो पेसाप्रति खप्पिसलाई भन्न खोजिएको होइन । संसारका सबै प्राचीन समाजमा सभ्यताको सुरुदेखि नै महादेशका विभिन्न देशहरूमा विभिन्न समय र प्रकारका सभ्यताको उत्थान र सोअनुसारको भौतिक प्रगति र आध्यात्मिक प्रगति हुँदै गयो भन्ने जानकारी राख्ने व्यक्तिहरूलाई भनिएको हो । आध्यात्मिक प्रगतिको अर्थ यहाँ धर्म, कला र संस्कृतिको उन्नतिबारे अल्झाउन खोजिएको होइन बरु वर्तमान युगमा भएका भीमकाय भौतिक प्रगतिमा विनाशका नयाँ–नयाँ वैज्ञानिक र प्राविधिक हतियारहरू तथा धर्मको नाममा एकले अर्काे धर्मलाई अस्वीकार गर्ने र आफ्नो विचार तथा धर्मलाई फरक समाजमाथि लाद्न खोजेका समाज र सरकारको आलोचनात्मक दृष्टिकोण भएका व्यक्तिहरूप्रति इङ्गित छ । त्यसमा ठुलो धनराशि खर्च गर्दै हजारौँ र लाखौँ जनधनको क्षति गर्ने गरिन्छ ¤ महिला र बालबालिकाहरूलाई छानी–छानी हत्या गरी नयाँ पुस्तै आउन नदिई जातजातिलाई नै नष्ट गर्ने सोच र चिन्तनमा कुनै दृष्टिले पनि मानवीय परिवर्तन आइनसकेको एक मानव सभ्यता र संस्कृतिद्वेषी समाज, अमानवीय कार्य र सोचलाई सुसंस्कृत समाजको उपज भन्न गा¥हो हुन्छ । बरु, तत्तत् समाजका अनेक भौतिक र चिन्तनको प्रगतिमा देखिएका नकारात्मक पक्षको रूपमा जनतालाई सचेत पार्ने व्यक्तिहरूप्रति समाजको पहुँचको आवश्यकता खोजिएको हो ।
मानव जातिको विकासमा
मानव सभ्यताको विकासमा भूगोलको पनि ठुलो भूमिका होला । तर, मानिसको मस्तिष्क र मर्मले पनि अचेतन ढङ्गले नै भूमिका खेलेको हुन्छ । संसारमा सबै महादेशका सबै ठाउँमा एकै समयमा सभ्यताको विकास नभएको प्रस्टै छ । त्यसबेलाका मानिसहरूमा तत्तत् ठाउँका हावापानी, भौतिक वस्तु, भूभागको स्थितिले ठुलो निर्णय गरेको पत्ता लाग्छ । आगो पत्ता लागेपछि पशुपन्छी र माछाको आहारले मानिसको मस्तिष्कको विकासमा सहयोग पुगेको देखिन्छ । भर्खर जन्मेको शिशुको कोल्टे फेर्ने क्रिया, वामे सर्ने, टुकुटुकु हिँड्ने र आमासँग खेल्ने आदि सबै क्रियाकलापहरू शरीर विज्ञानले बताउने विषय भएजस्तै वाणको आविष्कार, काठको डुङ्गा बनाउने शिल्प र कुमालेका माटाका भाँडाकुँडा बनाउने चक्रको आविष्कार संसारका सबै सभ्यतामा देखिने उपलब्धिको समानता के आश्चर्यको विषय
होइन ?
मानव सभ्यताका यी विस्मयका कार्यहरू एवम् आज अनेक देशमा भइरहेको उत्खनन् कार्यमा प्राप्त वस्तुहरूले मानव सभ्यताको विकास र प्रगतिले झन्झन् धेरै पहिलेतिरको यात्रा र अध्ययन गराउँदै जाने बताउँदै छन् । जसरी पुरातत्व विज्ञान अनुमान नभई भौतिक वस्तु र रासायनिक विज्ञानको सहाराले हिजोसम्म अज्ञात समय र विषयको सुरुङभित्र मानव समाजलाई अध्ययनको निम्ति तानिँदै छ ।
यही विषय अन्तरिक्ष र असीम ब्रह्माण्डतिर पनि मानिसलाई अत्यन्त विस्मयकारी प्रगतिहरू बताउँदै जानेछन् भन्ने अनुमान गर्न कठिन छैन । संसारमा आकाश, पाताल र महासागरहरूबारे नयाँ–नयाँ जानकारी र उपलब्धिहरू विध्वंसमा होइन मानव मात्रको सेवामा समर्पित हुने यान्त्रिक र हालैका आईटी उपलब्धिहरूलाई सकारात्मक प्रयोगबाट व्यक्ति र समाजलाई सभ्य र असभ्य (बर्बर) को रूपमा भेदहरू प्रस्तुत गरिनेछ ।
भविष्यसँग सम्बन्धित विषयहरूका चिन्तक र कार्यरत जनशक्ति हाम्रो समाजले जति बढी उत्पादन गर्न सक्यो उति हाम्रो समाज सुसंस्कृत समाज देखिनेछ । स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू र डाक्टरले रोगीहरूको सेवा र भविष्यमा हुने सम्भावित रोग र त्यसको निदान एवम् उपचारमा आफूहरूलाई समर्पित गर्ने होइन । त्यस क्षेत्रमा आवश्यक अनुसन्धान र चमत्कारहरू पनि देखाइँदै जाने हो । इन्जिनियरहरू समयअनुसार टिकाउ, हावापानी सुहाउँदो, किफायती निर्माणमा लाग्दै छन् भने नयाँ पुस्ता नयाँ–नयाँ विषय र आविष्कारमा लाग्दै जानेछन् ।
तर, ती नयाँ पुस्तालाई तयार गर्ने पाठशाला आज गुरु पुरोहितहरूको आश्रम र गुरुकुल होइनन् बरु साधारण जनताका विद्यालयहरू हुन् । जसरी राम्रा अक्षर लेख्ने शिक्षकका विद्यार्थीहरू सुलेख हुन्छन्, गीत सिकाउने शिक्षिकाका छात्रछात्राहरू गीत गाउनमा अब्बल देखापर्ने छन् भने अन्य विषयका शिक्षकहरूको उत्पादन पनि आफ्नै ‘कार्बोनमा लेखिएका कापी’ जस्तै त आउनेछन् दुरुस्त र अझ तिखारिएका !
हाम्रो विद्यालय र शिक्षकहरूको सिकाइको घेरा सरकारको खोटपूर्ण पाठ्यक्रम र परीक्षा प्रणालीमा छ । परीक्षा नै नलिई उत्तीर्णको प्रमाणपत्र दिने नीति पारित गर्ने मन्त्रीलाई किन शिक्षक र शिक्षिकाहरूले समयमै वैचारिक रूपमा जिम्मेवार ठह¥याएनन् ? त्यति मात्र होइन दुई÷चार वर्षपछि मात्रै आउने पाठ्यपुस्तक वा ज्ञानसँग सम्बन्धित विषयमा हरेक शिक्षकले अध्ययन गरेर आजका नयाँ पुस्तालाई जानकारी दिनु अत्यन्त समय सुहाउँदो हुनेबारे दुईमत नहोला । अर्को भाषामा भन्नुपर्दा – पाठ्यपुस्तकमा नभएको भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र आदि विषयमा तल्लो कक्षाबाटै जानकारी गराउनुपर्ने हो । प्रचलित ऐन र कानुन थाहा नपाएर धेरै युवाहरू कारागारमा छन् । विभिन्न जातजातिका सबै युवाहरूले ‘नेपाली भाषा’ राम्रो जानेका र बुझेका हुँदैनन् । यसकारण, हरेक शिक्षकले आफ्नो मातृभाषा र ‘सरकारी भाषा’ बाहेक नेपालमा जनताले बोल्ने अन्य एउटा भाषा सिक्नैपर्ने बन्दोबस्त के उपयुक्त सल्लाह थिएन ? यसले नयाँ पुस्तामा भाषा र जातजातिबारेको गहन जानकारी हुनेछ र विदेशी भाषा पढ्ने उत्सुकता र उत्साहलाई थप बल प्रदान गर्नेछ ।
संसद्मा नेपालको संविधान नपढेका र नबुझेका सदस्यहरू पनि पुग्छन्, अनि नबुझेको विषयमा छलफलमा नबस्दा सधैँजसो गणपुरक सङ्ख्या पुग्दैन । संसद्मा अनेक तमासा हेरिरहेकै विषय हो । तर, आज हाम्रो देशको मात्र होइन छिमेकी देशहरू, युरोप, उत्तर र दक्षिण अमेरिकी देशहरूका राज्य व्यवस्था, अर्थतन्त्र र परराष्ट्र नीतिबारे जानकारी राख्नु समय सुहाउँदो छ । नत्र, पूर्वपरराष्ट्रमन्त्रीले जनतालाई थाहै नदिई नेपालको तटस्थ परराष्ट्र नीति छोडी इजरायल र युक्रेनको पक्षमा संयुक्त राष्ट्रसङ्घको बैठकमा बोल्ने वा मत दिने आँट गर्ने थिएन । उक्त समाचार सुनेर देशका कैयौँ बुद्धिजीवीहरू स्तब्ध भए । विदेशी विश्वविद्यालयबाट तयार भएका युवाहरूको आलोचनात्मक दृष्टिकोण नराख्नु अपराध होइन बरु त्यस्तालाई पदमा राख्नेहरू नै त्यस अपराधका जिम्मेवार हुन् । यसकारण, नयाँ पुस्ताले अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपाली जनताको मत राख्ने तथा गलत दृष्टिकोणलाई सविस्तार खण्डन गर्न सक्ने व्यक्ति र पैसामा नबिकी कूटनैतिक व्यक्तिहरू जनताका विद्यालयले उत्पादन गर्नुपर्दैन र !
यस अर्थमा शिक्षकको सिकाइ नै हाम्रो देशको सफलता र असफलताको नापो हो । नेपालको पुरानो पाठ्यक्रम बेलायती उपनिवेशवादीले भारतमा लागू गरेका नयाँ–नयाँ संस्करणहरू थिए र प्रजातन्त्र पुनः स्थापनापछिका पाठ्यपुस्तक र पाठ्यक्रम अमेरिकी साम्राज्यवादी पुस्तकहरूकै एउटा भाग हो । यसकारण, नेपालमै हुर्केका विविध विषय र देशबारे जानकारहरूबाट यो काम हुनसक्छ भन्ने ठम्याइ हामीले लिनु आवश्यक छ ।
हाम्रो नयाँ पुस्ताप्रति पुराना पुस्ता वा बुबाआमा, हजुरबुबा, हजुरआमासँग गरिने व्यवहारदेखि लवाइ–खवाइ नेपाली भाषाको हरेक वाक्यमा समेत अङ्ग्रेजी शब्दमा अभिव्यक्ति गर्दा सरोकारवालाले त्यो वाक्य राम्रोसँग बुझ्यो बुझेन मतलब नै नराख्दा व्यापारीले के कसरी व्यापार गर्ने ? ज्येष्ठ नागरिकले आफ्नै गाउँ र टोलको पसलमा दैनिक आवश्यक वस्तु किन्न जाँदा नयाँ पुस्ताको व्यापारी भाइले विदेशी भाषा मिसिएको उत्तर फर्काउँदा के होला ?
नयाँ पुस्तालाई मात्र होइन विदेशमा बसेर आफू र आफू बसेको देशका व्यापारीको हितलाई प्राथमिकता दिएर काम गर्ने हो भने नेपाल र नेपालीकै अहित हुन जाने निश्चित छ । पश्चिमी उपनिवेशवादीहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा आ–आफ्ना ती महादेशकै देशहरूका स्थानीय आफ्ना देशका ‘बिचौलिया’ वा ‘दलाल’ वा ‘एजेन्ट’ हरू प्रयोग गरेर संसारलाई उपनिवेश बनाए । त्यसबेला पुँजीवादको पहिलो चरणमा विकास गरेको देश बेलायत थियो । त्यसकारण, बेलायत पृथ्वीको चारैतिर आफ्नो उपनिवेशका अधिनस्थ देश बनाएको हुनाले भन्ने गर्थे – ‘बेलायतको साम्राज्यमा सूर्य कहिले डुब्दैन ।’
तर, दोस्रो विश्वयुद्धपछि पहिलो शक्तिशाली देशको ठाउँ संयुक्त राज्य अमेरिकाले लियो । आश्चर्य छ, उपनिवेशहरूका दलाल वा ‘कम्प्रोडर’ का छोरा–नातिहरूका आज तेस्रो पुस्ताले आफ्ना बुबा र हजुरबुबाहरूले पश्चिमी साम्राज्यवादीहरूको गोटी बनेकोमा सा¥है दुःख मनाउने गर्छन् । यसकारण, ती सबै देशका ‘नयाँ पुस्ता’ ले साम्राज्यवाद र उपनिवेशवादको विरोधमा आ–आफ्नो देशको इतिहास आफैँले नै लेख्नुपर्ने अनुभव गर्दै छन् । ती आक्रामक देशहरू र अरू देशमाथि शासन गर्ने देशहरूलाई तारिफ गरेका होइनन् बरु उपनिवेशका युवाहरूलाई सेनामा भर्ती गरेर खेती, खानी र अन्य काममा सस्तो ज्यामी बनाएर उल्टै हजारौँ रूपैयाँ दिनुपर्नेमा १०–२० रूपैयाँ मात्र दिएर ठगी राखेका पहिले बेलायतलाई गोर्खा पल्टनमा जाने नेपाली युवालाई छानीछानी लैजाने बेलायती दलालहरूलाई ‘गल्लावालहरू’ भन्थे । आफ्ना छोराहरूलाई काम दिने भन्दै उनीहरू गल्लावालहरूलाई खुब सम्मान र मर्यादा गर्थे । तर, आज त्यस व्यवहारमा भिन्नता आएको छ । आज विभिन्न देशमा नेपाली युवा र युवतीहरू पठाउने काम ‘म्यानपावर कम्पनी’ ले गरेको छ । यस्ता कामका प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विदेशमा बसी काम गर्ने गल्लावालहरू पनि प्रत्यक्ष र अप्रत्यक्षरूपमा प्रयोग हुँदै छन् । यसमा भारतीय र अन्य कम्पनीहरूको पनि साँठगाँठ छ ।
इराकको लडाइँमा अमेरिकी सेनाको सहयोगमा नेपाली युवाहरूलाई निजी सेनामा ट्रक ड्रात्र, भान्छे र अन्य अनेक काममा लगाउन भारतका विभिन्न नाउँ चलेका महँगा होटलहरूमा काम सिकाउँथे र पछि गुप्त रूपमा कुबेतबाट इराकमा राखिएका अमेरिकी सेनाको सेवा गर्थे । त्यस्तै, अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) ले इराकमा राष्ट्रपति सद्दाम हुसेनलाई हत्या गरेर देश कब्जा गरेजस्तै लिबियामा पनि त्यहाँको राष्ट्रपति कर्नेल गद्दाफीलाई हत्या गरेर आफ्ना पिछलग्गूहरूको शासन कायम ग¥यो । यस्ता उदाहरणहरू धेरै छन् तर पश्चिमी साम्राज्यवादीहरूले केही पुराना उपनिवेशहरूमा आफूहरूले प्रत्यक्ष शासन नगरी आर्थिक र सांस्कृतिक रूपले अर्थात् पुँजी निर्यात गर्दै र आफूले तयार पारेका त्यही देशका दलालहरूमार्फत शासन गर्दै छन् । त्यसलाई नवउपनिवेशवाद र अर्ध–उपनिवेशवाद पनि भन्ने गरिन्छ ।
हाम्रो नयाँ पुस्तालाई शासक दलहरू आफै पुरानै ढङ्गले जनतालाई शासन गरिरहँदा नेपालमा पनि विदेशी हस्तक्षेप हुने पक्का छ । यसकारण, नयाँ पुस्तालाई देशको माया गर्नेबारे, विदेशीको हाहामा नलाग्ने र प्राथमिकता देश र जनतालाई दिने हो आफूलाई होइन भन्नेबारे गम्भीर ढङ्गले बताउनुपर्नेछ ।
पूर्वेली संसारको मानव सभ्यताको विकास हुँदाका वस्तुहरूबाट पनि त्यसबेलाका जनताका जीवनशैली थाहा हुन्छ । त्यही जीवनशैलीको विकास नै आजको कला र संस्कृतिको आधार हो । समय–समयमा अनेक भौगोलिक र प्राकृतिक ठुलठुला दुर्घटना अर्थात् आँधी–बेहरी, जाडो र गर्मी, बाढी–पहिरो, भूकम्प र अनेक रोग व्याधिले पनि ती प्राचीन सभ्यताका मानिसहरू सा¥है प्रताडित भए होलान् । ती प्राकृतिक दुर्भाग्यहरूसँग लड्दै भिड्दै, पुनः नयाँ–नयाँ उपायबाट जोगिने र पुरानो स्थितिमा पुगेपछि थप जीवनशैलीमा प्रगति गरे होलान्, एकले अर्काे ठाउँमा पीडितलाई सहयोग गर्ने, आपसमा मिलीजुली खाने तथा आ–आफ्ना प्राकृतिक र मानिस निर्मित वस्तुहरूको आदान–प्रदानले मानव समाजको अगाडि ज्ञानको र परस्पर मित्रताको समेत क्षितिज खुल्यो होला† मानव सभ्यताको जीवन सङ्घर्षमात्र नभई मेलका बिन्दुहरू पनि देखे होलान् ।
यसरी मूर्त तथा अमूर्त कला र संस्कृतिजस्तै मानिसको चिन्तन र हार्दिकताको विकास हुँदै गर्दा समाजमा नयाँ–नयाँ आयामको ढोका खुल्दै गयो । दल नायकको सीप र अनुभवलाई नयाँ पुस्ताले सिक्दै गयो र नयाँ–नयाँ पुस्ताको अगाडि निर्माणको थप क्षेत्र खुल्दै गयो । जसलाई दल नायकहरूकै कारण लेनदेन, सामान साटफेर र व्यापारको प्रथम चरण सुरु भयो । नेपाली समाजका विविध जात–जाति र भाषाभाषीहरूमा ‘मित लाउने’ सामाजिक संस्कृति त्यसमध्ये एक हो । मितलाई स्वागत र बिदाइ, खुसीको बेला सुखको सामूहिक खुसीको अनुहारबाट अभिव्यक्ति र दुःखको आपसमा सहानुभूतिको आँसुले अभिव्यक्ति दिए होलान् । यसरी आदिम मानव समाजमा पनि ज्येष्ठलाई सम्मान, सानोलाई माया गर्ने, अभिवादन, बिदाइ, शुभकामना आदि भावनाका अभिव्यक्तिहरू सभ्यताकै सिलसिला हुनुपर्छ भन्ने अनुमान गर्न गा¥हो छैन । त्यसको महत्वको गहिराइलाई कक्षाकोठाबाटै सिकाउनु राम्रो हुने प्रस्ट छ ।
मानिसमा हाँस्ने र रुनेजस्तै क्रोध र माया भने पनि मानिसको सृष्टि र विकास सँगसँगै भयो होला । सानो लठीको पनि टाउको र पुच्छर, पैसाको दुई पाटाजस्तै हरेक वस्तुको उल्टो पक्ष भएजस्तै, मानिसको भावनाको अभिव्यक्ति भाषाको व्यवस्थित विकास नभएसम्म जरुरै हाउभाउ र मानिसको अनुहारले दिए होला । एक दुई सय वर्ष पहिलेसम्म ‘जङ्गली जाति’ वा आदिम साम्यवादी समाजमा पनि स–साना नानीहरू वा शिशुहरूको मृत्युको कारणले प्रकृति र एक काल्पनिक ईश्वरसँग रिसाएर जङ्गलको चारैतिर रुखहरूमा वाण वर्षा गर्थे । तर, ज्येष्ठको मृत्युमा तिनीहरूको अनुहारमा क्रोध होइन दुःखका रेखाहरू देख्थे र टाढाको एकान्त जङ्गलको एक रुखमा झुन्ड्याउँथ्यो र त्यो लाश बिस्तारै कुहिँदै जान्थ्यो ।
मानिस मर्दाको दुःख र बच्चा पाउँदाको सुखबारे त्यसैबेलादेखि मानिसमा दुःख–पीडा र खुसीको भावना देखिए होला – जसको परम्परा फरक–फरक ढङ्गले आजसम्म संसारले मनाउँदै आएको छ ।
हरेक धर्म एक दर्शन वा अनुमान र अनुभव हो । इस्लाम धर्म मान्नेहरू बच्चा जन्मँदा ‘दुःखको सागरमा किन आयौ तिमी’ भनी उनीहरू दुःखी हुन्थे भने मर्दा ‘अब तिमी यो दुःखको संसारबाट मुक्त भयौ’ भनी खुसी हुन्छन् भन्ने भावना धर्मग्रन्थसम्म पुग्यो होला । हिन्दू धर्म र अन्य धर्ममा पनि मृतकलाई सम्झने र सम्झना स्वरूपको पूजापाठ र गाईजात्रा मनाउनेजस्ता विषयमा पनि ‘नयाँ पुस्ता’ ले अर्थ खोज्दै जानेछ ।
त्यस्तै, सभ्यताको विकासदेखि नै मानिसहरू जम्मा भएर आ–आफ्नो विचारको आदानप्रदान गर्थे होलान् । त्यसबेला ‘प्रमुख’ व्यक्तिलाई श्रद्धा र सम्बोधनपछि सभालाई उचित आदर प्रकट गर्दै सबैलाई चित्त बुझाएर आ–आफ्नो सफलताको निम्ति दूतको काम गर्ने परम्परा सुरु भयो होला । खेलकुद र नाचगानमा समेत प्रतिस्पर्धा र मित्रताको धागोले फरक–फरक समाजलाई एकै सूत्रमा बाँधे होला । नेवारहरूको पासुकामा हिमालको प्रतीकको रूपमा सेतो, महाभारत र चुरे पहाडसम्मको प्रतीकको रूपमा कालो (हाकुगु) धागो, तराईको हरियो धागो, पूर्व र पश्चिमको प्रतीकको रूपमा रातो रङ्ग बिहानी र साँझको प्रकाशको प्रतीक धागो बन्यो । त्यसको अर्थ उत्तर र दक्षिण, पूर्व र पश्चिमका हामी सबै एक हौँ भनी हातमा र गलामा लाउने चलन चल्यो होला । प्राचीन कालदेखि २१ औँ शताब्दीसम्मका सबै प्रकारका अभिवादन, शुभकामना, बधाईदेखि समवेदनासम्मका सबै रीतिरिवाजलाई कक्षाकोठादेखि नै शिक्षित र दीक्षित गर्दा भोलिको समाज आजभन्दा सुसंस्कृत हुनेमा दुईमत नहोला । हिजोको नेपाली समाजमा चुरोटले स्वागत र सम्मान गथ्र्याे । तर, आज सबैतिर क्यान्सर रोगको कारकको रूपमा चुरोटलाई निषेध गर्दै ‘नयाँ राम्रो पुस्ता’ सिर्जना हुँदै छ । निराशा होइन, आशाका ठुलो क्षितिज हाम्रो सामु छ ।
हरेक देशका विभिन्न जात–जाति र भाषाभाषीहरूको भाषा, साहित्य, कला, नाच–गान एवं रीतिरिवाज, खानपिन, पोशाक, श्रृङ्गार, उत्सव, जात्रा र सुख–दुःखका फरक फरक भोज र श्रद्धाञ्जली र श्राद्ध आदि आ–आफ्ना संस्कृतिका अङ्ग बने । यस्ता सयौँ र हजारौँ संस्कृतिका राम्रा राम्रा पक्षलाई मानव मात्रको निम्ति छानिएका बानी–व्यहोरा, बोली–वचन र व्यवहार नै सुसंस्कृत समाजको परिचय हो । हाम्रो नयाँ पुस्तालाई विद्यालय तहदेखि नै परिमार्जित संस्कृतिबाट शिक्षित–दीक्षित गर्दै जानु नयाँ पुस्तालाई सुसंस्कृत बनाउने एक प्रक्रिया हो – जसमा विद्यालयले नै अगुवाइ गर्नेछ । घरदेखि विद्यालय र विद्यालयदेखि विश्वविद्यालयसम्मको यो प्रक्रिया एउटा सुसंस्कृत समाज निर्माणको आन्दोलन पनि हो र प्रतीक पनि हो ।
साधारणरूपले शिक्षित व्यक्तिहरू वा अर्को अर्थमा स्नातक, आचार्य र विद्यावारिधि गरेका व्यक्तिहरूमात्रै सुसंस्कृत हुन्छन् भने धारणा पनि कहिलेकाहीँ व्यवहारमा सटिक नदेखिन सक्छ । यसकारण, शैक्षिक र प्राविधिक जीवन सँगसँगै बदलिँदो संसारका नयाँ नयाँ ज्ञान, जानकारी र आफ्नो समाजलाई सोअनुसार लैजान अगुवाइ गर्नु नै सुसंस्कृत व्यक्तित्वका गुण हुनेछन् जो स्थिर नभई समयअनुसार ज्ञान र जानकारी फराकिलो हुँदै जाने क्षितिज पनि सदा खुला रहनु स्वाभाविक विषय हो ।
स्रोत : तीस वर्षको अथक यात्रा, जेन्युइन सेकेन्डरी स्कूल

Leave a Reply

Your email address will not be published. Required fields are marked *