भर्खरै :

अवसरवादी र विश्वासघातीहरूदेखि सावधान !

अवसरवादी र विश्वासघातीहरूदेखि सावधान !

छिनछिनमा बोली फेर्ने र अडान नभएका नेताहरूप्रति जनताको विश्वास हुँदैन । बोली फेर्ने र अडान छोड्ने नेताहरू अवसरवादी हुन्† विश्वासघाती हुन् । यही कारण विगतमा शासक दलका शीर्ष नेताहरूप्रति आफ्ना पार्टी कार्यकर्ता र जनताको मात्र होइन नेताहरू पनि असन्तुष्टि हुन थालेका हुन् । ती शासक दलका नेताहरूले निर्वाचन घोषणाअघि एक्लाएक्लै निर्वाचनमा लड्ने उद्घोष गरेका थिए । माओवादी, एमाले र नेकाले छुट्टाछुट्टै निर्वाचनको मैदानमा लाग्ने विश्वास नेपाली जनतालाई दिएका थिए । उक्त विश्वास दिलाएको स्वर सेलाउन नपाउँदै नेपाली कम्युनिस्ट पार्टी र नेकाका नेताहरूले निर्वाचनमा मिलेर जानुपर्ने विचार व्यक्त गर्न थालेका छन् । विशेषतः फागुन २१ गते हुने निर्वाचन प्रयोजनको सन्दर्भमा केही पुराना र नयाँ दलबिच पार्टी एकीकरण हुन थालेपछि ठुला दल भनिने नेपाली कम्युनिस्ट पार्टी, एमाले र नेकाका नेताहरूमाझ मिलेर जानुपर्ने विचार व्यक्त भएको पाइन्छ । पुस १६ गते प्रकाशित ‘नेपाल समाचारपत्र’ दैनिकमा ‘जेन–जी आन्दोलनपछि नयाँ–पुराना दल आमने–सामने† ठुला दल पनि चुनावी तालमेलतर्फ’ शीर्षकको समाचार छापियो । नयाँ दलको बढ्दो चहलपहल देखेर पुराना ठुला दलहरू एक अर्कोसँग सहकार्य गरेर निर्वाचनमा जानुपर्ने कुरा व्यक्त भएबाट उक्त कुरा खुलासा भएको हो ।
निर्वाचनमा हुने हारलाई दलको आस्था र इज्जतमा दाग लाग्ने र जीतलाई मान र विश्वास बढ्ने सोचेर ठुला दल भनिने नेताहरू अबको निर्वाचनमा हार्लान् भनेर छटपटिन थालेका छन् । एमालेका अध्यक्ष केपी ओलीले अब बन्ने सरकार नेका र एमालेकै हुने दाबी गरेका छन् । यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ठुला दलहरू निर्वाचनमा जान संवादमा रहेको खुलासा गरेका छन् । ठुला दलका नेताहरूको यो चिन्तित अभिव्यक्तिले नयाँ दलबिच भएको एकताबाट झस्किएको हो कि भन्ने आशङ्का जमाएको छ । दल घोषणा गरेको स्वर सेलाउन नपाउँदै, मसी सुक्न नपाउँदै, दल खोल्दाको जाँगर कार्यकर्तामाझ बाँड्न नपाउँदै दलको एकीकरण भएको घटनाले दल दर्ता पद र पैसाको लागि भएको आकलन गर्न कठिन छैन । कति दलका नेताहरूले निर्वाचन अगाडि नै प्रधानमन्त्री हुने आशा व्यक्त गर्न थालेका छन् । देश र जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभन्दा प्रम बन्ने सपना बोकेर राजनीति गर्ने नेताहरूलाई जनताले कसरी लिने र बुझ्ने ? जनताले ती नेताहरूलाई कसरी साथ दिने र विश्वास गर्ने ?
के ठुला दलका नेताहरू आत्तिएका हुन् ? के उनीहरू अबको निर्वाचनमा हार्लान् भन्ने चिन्तामा डुबेका हुन् । ठुला दलहरूको पालामा भएको देशविरोधी, जनविरोधी र भ्रष्टाचारजन्य कार्यबाट असन्तुष्ट भएका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेको, साथ नदिएको कारण दलका शीर्ष नेताहरूमा त्यो चिन्ताले छोएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । कति दलका नेताहरू थ्रेसहोल्ड (मतसीमा) पार गर्न नसक्ने ठानेर निर्वाचनमा भाग नलिने पक्षमा देखिएका छन् । निर्वाचन प्रयोजनको निम्ति दल दर्ता गरेका सबै दलले फागुन २१ गते हुने निर्वाचनमा भाग नलिने स्थिति देखिएका छ । मतसीमा राख्नु प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत छ । त्यो प्रावधान खारेज गर्नको निम्ति दलहरू आन्दोलित हुनुपर्छ । तर, ‘मतसीमा’ बाट दलका नेताहरू हरेस हुनुपर्ने होइन । निर्वाचनमा हार–जीत स्वाभाविक छ । निर्वाचन पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउने एउटा भरपर्दो माध्यम पनि हो । पार्टीलाई जनतामाझ चिनाउने र शासक दलहरूले गरेका कुकृत्य र कमी कमजोरीको भण्डाफोर गरी जनतालाई सचेत पार्ने माध्यम हो निर्वाचन । निर्वाचन दलहरूको सैद्धान्तिक सङ्घर्ष गर्ने थलो हो । अतः निर्वाचनदेखि दलका नेताहरू झस्कनुपर्ने होइन† चिन्ता लिनुपर्ने होइन ।
दलका नेताहरूले छिनछिनमा बोली वचन फेर्नु र अडान छोड्नु उपयुक्त होइन । एकता, गठबन्धन र भागबन्डाको नाउँमा सिद्धान्त र विचार फेर्ने काम कुनै पनि राजनीतिक दललाई सुहाउँदैन । तुरुन्तै पार्टी एकता हुने र पार्टी एकता भएको स्वाद लिन नपाउँदै टुक्रिनु पनि राम्रो होइन । अहिले पार्टी एकताप्रति असन्तुष्ट भएका नेताहरूको पनि छुट्टै दल खोलिएको छ । एकीकृत भएका दलका नेताहरूले सहभागी दललाई कसरी मिलाउने हो ? पद बाँडफाँड कसरी गर्ने हो ? निर्वाचनमा क–कसलाई उम्मेदवारी दिलाउने हो ? त्यो अर्को समस्याको पाटो हो । उम्मेवारी दिने र पद बाँडफाँडको समुचित व्यवस्था गर्न नसकेरै फेरि पार्टी टुक्रिने, छोड्ने नेताहरू नहोला भन्न सकिँदैन । नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकतामा सामेल भएका नेताहरूलाई उचित प्रबन्ध गर्नसकेको छैन । सो पार्टीमा अहिले पार्टी संयोजक पुष्पकमल दाहालको हुकुम चलेको छ । सहसंयोजक माधवकुमार नेपाललाई साक्षी राखेर प्रतिनिधिसभाको निर्वाचनमा उठाइने उम्मेदवार आफूखुसी घोषणा ग¥यो भनी अहिले नै विवाद सुरु हुन थालेको छ । ती दलका संयोजक र सहसंयोजकले सन्तुलत मिलाउन सकेनन्, उचित बाँडफाँड मिलाउन सकेनन् भने असन्तुष्ट व्यक्त गर्ने नेता कार्यकर्ताहरू विद्रोही उम्मेदवार दिन पछि नपर्ने विश्लेषण पनि गरिएको छ । केही दलका नेताहरू अबको निर्वाचनमा बहुमत ल्याउने सपना बाँड्दै छन् । ती दलले बहुमत ल्याउने हो कि आफूलाई नराम्रोसँग हराउने हो ? त्यो समयले बताउनेछ । ठुला दल या विगतका शासकहरूप्रतिको असन्तोष र विरोध अहिले पनि सेलाएको छैन । निर्वाचनको नतिजा के हुन्छ अहिले नै भन्न सक्ने स्थिति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *