अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
सभ्यतामा अघि बढेका समाजहरूमा चिन्तकको अभाव हुन्न । चिन्तनको दरिद्रता पिछडिएको समाजको पहिचान हो । यस हिसाबले पश्चिमी समाज धेरै अगाडि बढिसकेका छन् । विशेषगरी समाजवादी चिन्तकहरूको परम्परा युरोपको चिन्तन परम्पराकै गौरवशाली अध्याय हो । उनीहरूको विचारको व्यापकता हेर्दा उनीहरूलाई समग्र मानव जातिकै धरोहर मान्दा फरक पर्दैन । कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, लेनिन, स्तालिनजस्ता हस्तीहरू यही परम्पराका सुयोग्य सन्तान हुनुहुन्थ्यो । कार्ल माक्र्सको पुस्ता फ्रान्सेली प्रबोधन युगबाट धेरै प्रभावित थियो भन्ने कुरालाई जति प्रचार गर्नुपर्ने हो, त्यो देखिन्न । यो छोटो लेखमा हामी समाजवादी परम्पराका केही विचारक र तिनका विचारको सङ्क्षिप्त चर्चा गर्नेछौँ ।
फ्रान्सभन्दा अगाडि हामी इटाली जान्छौँ । त्यहाँ सन् १५६८ मा टोमाजो काम्पानेलाको जन्म भएको थियो । उनी एक सार्की परिवारमा जन्मेका र पादरी शिक्षामा दीक्षित भएका अत्यन्त अध्ययनशील चिन्तक थिए । आफ्नो समयका उनी क्रान्तिकारी विचारक थिए । महान् वैज्ञानिक ग्यालिलियो उनकै समकालीन थिए । आफ्ना परिवर्तनकारी विचारको निम्ति २७ वर्ष धार्मिक कैदमा बिताएका काम्पानेलाले कैदमा छँदा एउटा छोटो रचना तयार पारे । ‘घमाइलो सहर’ नामक त्यो सानो तर विचार एवम् कल्पनाले खचाखच भरिएको पुस्तकमा शासनकलाबारे धेरै सूक्ष्म विचार पाइन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्लेटोको ‘गणतन्त्र’ र थोमस मुरको ‘कल्पनालोक’ सँगै ‘घमाइलो सहर’ लाई पनि पढ्नैपर्ने पुस्तकको सूचीमा राख्नुभएको छ ।
‘घमाइलो सहर’ मा काम्पानेलाले आफ्नो चिन्तनको सार राखेका छन् । उनी प्राचीन चिन्तन परम्पराका गम्भीर अध्येता थिए । वार्तालापको शैलीमा काम्पानेलाले गम्भीर विषयलाई सरल तुल्याएर पस्केका छन् । ‘घमाइलो सहर’ मा एकजना जहाजी कप्तान र आरामगृहका प्रमुखबिच वार्तालाप हुन्छ । जहाजी कप्तान भर्खरै एउटा टापुबाट फर्केको हुन्छ । उसले प्रमुखलाई त्यस सभ्य टापुको परिपाटीबारे बताउँदै जान्छ । जिज्ञासु प्रमुखले त्यहाँका शासक, शासन प्रणाली र जनताको जीवन एवम् चिन्तनशैलीबारे प्रश्न गर्दै जाँदा वार्तालाप गहकिलो बन्दै जान्छ ।
घमाइलो सहरका प्रधानको नाम होह हो । उनी दार्शनिक, पुजारी र ज्ञानी व्यक्ति हुन् । उनको मातहत तीनजना प्रमुख छन् । पोन (शक्ति), सिन (विवेक) र मोर (प्रेम) पनि आफ्ना सहयोगीहरूमार्फत काम गर्छन् । पोनले राज्यको दण्डविधान हेर्छन् । राज्य, सेना, युद्धजस्ता विषय उनले हेर्नुपर्छ । विवेकमातहत १३ जनाभन्दा बढी विशेषज्ञहरू हुन्छन् । ती वैज्ञानिकहरूले आफ्नो ज्ञान जनताले बुझ्ने भाषामा लेख्नु र सुनाउनुपर्छ । उनीहरूको कला घमाइलो सहरका भित्ताभित्तामा देख्न सकिन्छ । मोरले प्रेमको विषय हेर्छन् । जनताबिचको आपसी स्नेह, प्रेम, बिहेवारी तथा घरजमको बन्दोबस्त मिलाउनु उनको जिम्मेवारी हो ।
घमाइलो सहरमा जनतालाई शिक्षित पार्न बिछट्टै राम्रो परिपाटी छ । सहरलाई पर्खालको ६ वटा घेराले घेरेको छ । बाहिर निस्किने चारवटा सिधा सडक छन् । सहरबाहिर खेतीपातीको काम हुन्छ । पर्खालहरूलाई जनता शिक्षित पार्ने पुस्तकको रूपमा झिलिमिली पारिएको छ । पहिलो पर्खालमा संसारका विभिन्न जाति र संस्कृतिको समग्र जानकारी दिने चित्र छन् । दोस्रो पर्खालमा रसायन, खनिज र भूगर्भको ज्ञान दिने सामग्री कोरिएका छन् । तेस्रोमा जीवविज्ञानको ज्ञान छ । चौथोमा चारा, सरिसृप र मेरुदण्डहीन जीवहरूको जानकारी छ । पाँचौँ पर्खालमा स्तनधारी जीव र छैटौँमा प्रविधि र इतिहासको ज्ञान झल्किने सामग्री छन् । यिनको व्याख्या गर्न प्रत्येक पर्खालमा कर्मचारीहरू खटिएका हुन्छन् । प्रत्येक विद्यार्थी १० वर्षको उमेरसम्म पुग्दानपुग्दै यी पर्खालरूपी किताब पढेर दीक्षित भइसकेको हुन्छ । विद्यार्थीहरू जुम्सोपनबाट मुक्त छन् किनभने त्यहाँ कुनै कुरा बढ्ता घोटाइन्न ।
समाज निकै व्यवस्थित छ । सबैजना ‘दार्शनिक’ जीवन व्यतीत गर्छन् । समाज आपसी मित्रतामा आधारित छ । कला, स्वाभिमान र आनन्द साझा छ । निजी सम्पत्तिको अधिकार छैन । दासको व्यवस्था छैन । सबैले श्रम गर्छन् । हाम्रो समाजमा जस्तो काम नगर्ने र अरूलाई कज्याउने मान्छेलाई त्यहाँ ठुलो मानिन्न । त्यहाँ लुटपाट, हत्याहिंसा, तडकभडक, दुराचार, व्यभिचार र अन्य अपराधको नामनिसान छैन । झूटो बोल्नुलाई सबैभन्दा ठुलो पाप ठानिन्छ ।
घमाइलो सहरमा महिला र पुरुषलाई समान शिक्षा दिइन्छ । गा¥होसारो काम पुरुषले गर्छन् । २२ वर्ष नाघेका सम्पूर्ण पुरुषलाई बाबु भन्नुपर्छ भने त्यसमुनिका सबैलाई छोराछोरी भन्नुपर्छ । विद्यार्थीहरूको शिक्षादीक्षामा कुनै कसर बाँकी राखिन्न । उनीहरूलाई पेसागत, शारीरिक र सैद्धान्तिक ज्ञान दिइन्छ । एकाध वर्षसम्म नियमित अध्ययन गराएर उनीहरूलाई विज्ञ बनाइन्छ । हामीकहाँजस्तो तिनलाई एकाध दशक विद्यालयमा घोटाइन्न । विदेशी भाषा सिक्नमा उनीहरूलाई प्रेरित गरिन्छ । एउटा विद्यालयमा अनेक भाषा बोल्ने विद्यार्थी भेटिन्छन् । व्यक्तिलाई शारीरिक विशेषताअनुसार नाम दिइन्छ र तिनले जीवनमा आर्जन गर्ने ज्ञान र कौशलअनुसार थर दिइन्छ ।
बालबालिका समाजको भलाइको लागि जन्माइन्छ । तिनलाई समाजले नै हुर्काउँछ । उनीहरूलाई कुरूपता भन्ने थाहा हुन्न । कोही बिलासी बन्न चाहन्न । प्रेमलाई विशेष मित्रता मानिन्छ । श्रमलाई सबैले अनुशासन ठान्छन् । श्रमलाई अपमान गर्दा नै संसारमा दुर्गुणहरू जन्मिन्छन् भन्ने घमाइलो सहरवासीको मान्यता छ । प्रत्येक विद्यार्थीले जीवनको एक चरण खेतीपाती गरेकै हुन्छ । खेतीपाती नगरेको कुनै जमिन पाइँदैन । खानामा कसैले कञ्जुसी गर्नुपर्दैन । बुढापाकाले दैनिक तीन छाक, औसत मानिसले दुई छाक र बालबालिकाले दैनिक तीन छाक खाना खान पाउँछन् ।
घमाइलो सहरमा कोही व्यक्तिपुजा चल्दैन । त्यहाँ नेतालाई घृणा गरिन्न किनभने नेताले समस्त समाजको अभिभावकको भूमिका खेल्ने हुन्छ । कविहरू चाकडी गर्दैनन्, बनावटी कुरा गर्दैनन् । त्यहाँ जेलखाना छैन । कसैलाई सजाय दिनुप¥यो भने उसलाई सुधार्ने हिसाबले सजाय दिइन्छ । मानिसहरू आत्मसम्मानलाई ठुलो महत्व दिन्छन् । सम्मान कमाउन नै उनीहरू जीवन समर्पित गर्छन् । उनीहरू विदेशी संस्कृतिबाट सिक्न आफ्ना नागरिकहरूलाई पैसा दिएर विदेश पठाउँछन् । त्यहाँबाट फर्केर ती नागरिकले आफ्नो समाजलाई अझ सभ्य बनाउन मद्दत गर्छन् । विदेशी संस्कृतिमा उनीहरूको मोह छैन, बरु जीवन अझ उन्नत बनाउनमा उनीहरू केन्द्रित हुन्छन् ।
घमाइलो सहरमा धनीगरिबको नामनिसान छैन । निजी धन हुने मानिस उद्दण्ड, घमन्डी, अज्ञानी, विश्वासघाती, जानीटोपल्ने, ठग, गफाडी, निर्मोही, निन्दक हुने र धनी नहुने मानिस कपटी, चेपारे, चोर, घुसघुसे, आवारा, झूटबोलुवा, झूटो साक्षी बन्ने गरेको त्यहाँका बासिन्दाले विदेशी समाजबाट थाहा पाएका हुन्छन् । धनीगरिबको परिभाषा यस्तो छ – उनीहरू धनी छन् किनभने उनीहरूलाई केही चाहिँदैन । उनीहरू गरिब छन् किनभने उनीहरूसँग केही छैन । त्यसैले उनीहरू परिस्थितिका दास होइनन् तर परिस्थितिले नै उनीहरूको सेवा गर्छ ।
विचारहीन नेता र कार्यकर्ता देख्दै र भोग्दै आएको समकालीन पुँजीवादी समाजमा काम्पानेला काल्पनिक चिन्तक लाग्नु स्वाभाविक हो । आज देशको परिस्थिति हेर्दा कुनै भिजन वा कल्पनाशीलता नै नभएका तथा कल्पनामा पनि नोटका बिटा मात्र देख्ने जवान र बुढा राजनीतिक नेताको भारले देश थिचिँदै र च्यापिँदै गएको देखिन्छ । तर, एक सभ्य समाज काम्पानेलाले देखाएकै बाटोमा लाग्नुपर्छ भन्नेमा दुईमत नहोला ।
अब हामी फ्रान्सतिर लागौँ । त्यहाँ हामी ज्याँ मेल्ये र मोरेलीलाई भेट्छौँ । ज्याँ मेल्ये सन् १६६४ मा फ्रान्समा जन्मेका एक गाउँले पादरी थिए । एक दशकअघि नेपाल हिन्दू राज्य भएझैँ तिनताका फ्रान्स क्याथोलिक राज्य थियो । ज्याँ मेल्ये धनीहरूका आचरणबाट आजीत थिए । यद्यपि, गरिबप्रति उनको करुणा आजन्म रह्यो । मृत्युपछि आफ्नो सिरिखुरी गरिबलाई नै बाँड्नु भन्ने उनको इच्छा थियो । धार्मिक अनुशासनअनुसार उनी आजीवन अविवाहित रहे । यद्यपि, उनले धर्मका रुढीलाई कहिल्यै सहेनन् । त्यसैले मर्नुभन्दा १० वर्षअघि ५५ वर्षको उमेरमा उनले धर्म र धर्मग्रन्थका विरोधाभाषालाई छ्याँस्दै पुस्तक लेख्न बसे ।
ज्याँ मेल्येले आफ्नो झन्डै हजार पृष्ठ लामो र ९९ पाठमा विभाजित पुस्तक ‘मेरो इच्छापत्र’ मा धर्मको खण्डनमा ८ वटा सशक्त तर्क पेस गरेका छन् । पहिलो तर्क, धर्मधर्मबिच ठुलो बाझाबाझ छ । ईश्वर एउटै भए उनीहरूले अर्काको देवताको निन्दा गर्दै रगत नबगाउनुपर्ने थियो । दोस्रो तर्क, सबै धर्मको आधार ‘अन्धभक्ति’ हो । सबै धर्मका ईश्वरलाई वस्तुसङ्गत ज्ञानसँग डराउँछन् । तेस्रो तर्क, धर्मग्रन्थमा देवताले भनेका वचनहरू पागलप्रलाप मात्र हुन् । धर्मको नाममा धेरै घिनलाग्दा बलि चढाइएका छन् । चौथो तर्क, धर्मग्रन्थमा भनिएका कुनै भविष्यवाणी पूरा भएका छैनन् । पाँचौँ तर्क, नैतिकता खस्किनुमा धर्मले बन्देज लगाएका व्यवहारहरू दोषी छन् । धर्मले नै अनैतिकतालाई मलजल गरेको छ । छैटौँ तर्क, धर्मले राजनीतिक निरङ्कुशतालाई बढावा दिन्छ । सातौँ, ईश्वरको अस्तित्व छैन । प्रकृति नै परिपूर्ण छ । आठौँ, आत्मा आध्यात्मिक र अजम्बरी छैन । प्राणी मरेपछि उसको आत्मा पनि मर्छ ।
ज्याँ मेल्येका विचार कति शक्तिशाली थिए भने उनको पुस्तक उनी मरेपछि विदेशमा लगेर प्रकाशित गरिएको थियो । भोल्टायरले समेत उनका कतिपय विचार लुकाएर किताब छाप्नुपरेको थियो । उनको पुस्तकका धेरै प्रति पछि सोभियत सङ्घमा छापिएका थिए । अङ्ग्रेजीमा सन् २००९ मा मात्र उनको पुस्तक अनुदित भयो । उनी राजामहाराजाको पोल खोल्ने पहिलो गुरु थिए । नेपालमा यस्ता गुरूपुरोहित देखापरेका छैनन् भन्दा हुन्छ । यस मानेमा नेपाललाई पिछडिएको मान्दा कसैले नाक नखुम्चाए हुन्छ ।
ज्याँ मेल्येले धर्मको विशद् खण्डन मात्र गरेनन् । उनले नयाँ समाज कस्तो हुनुपर्छ भनेर पुस्तकमा अलग्गै अध्याय लेखेका थिए । त्यसमा अभिव्यक्त उनको विचारलाई सारमा यसरी राख्न सकिन्छ :
धर्तीमा प्रचुर प्राकृतिक सम्पदा छ । यसको न्यायपूर्ण वितरणले धर्तीका सबैलाई पुगिसरी हुन्छ । यसको लागि शारीरिक र मानसिक श्रम गर्नुपर्छ । उचित र साझा उपभोग तथा बुद्धिमत्तापूर्ण व्यवस्थापनको आवश्यकता छ । समाजमा सबैले अरूलाई आफ्नो दाजुभाइ तथा दिदीबहिनी देख्नुपर्छ । वैवाहिक सम्बन्ध बाध्यात्मक हुनुहुँदैन । छोराछोरीलाई एकै प्रकारको लालनपालन र शिक्षा हुनुपर्छ । सबैको हुर्काइ सामाजिक हुनुपर्छ । कसैलाई घरानाअनुसार भेदभाव गर्नुहुन्न । सबैले एउटा न एउटा काम गर्नुपर्छ । काम नगरे व्यक्तित्वमा अनेक विकार उत्पन्न हुन्छ । निजी सम्पत्ति नै सबै भेदभाव, युद्ध तथा मुद्दामामिलाको मुहान हो ।
ज्याँ मेल्येको विचारमा गम खाँनु हिजोभन्दा आज अझ बढी सान्दर्भिक हुन्छ । प्रकृति नै उल्टिरहेको वर्तमान घडीमा ज्याँ मेल्येको विचारलाई एउटा देशमा मात्र होइन, विश्वकै चिन्तनधारा बनाउनु ढिलो भइसकेको छ ।
अक्टोबर क्रान्ति हुनुभन्दा ठीक २०० वर्षअघि सन् १७१७ मा फ्रान्समै जन्मेका मोरेलीको विचारलाई एङ्गेल्सले ठुलो महत्व दिनुभएको छ । एटियन ग्याब्रियल मोरेलीले प्रकृतिसुहाउँदो समाजको विधान नै लेखे । उनको पुस्तकलाई ‘प्रकृतिको विधान’ भनिन्छ । उनको पुस्तकलाई नयाँ समाजसम्बन्धी प्रथम पुस्तक भनिन्छ । पुस्तकमा उनले आफ्नो अवधारणालाई दार्शनिक जग पनि दिएका छन् । उनी लोभलाई नै संसारका सबै मनोविकारको मुहान मान्छन् । उनी लेख्छन् – ब्रह्माण्डमा मैले देखेको एउटै खोट भनेको लोभ हो । अरू सबै दुर्गुणहरू थोरैधेरै मात्रामा यसकै फरक रूप हुन् । लालच नै सम्पूर्ण मानवीय दुर्गुणहरूको उत्प्रेरक, अग्रदूत, आधार र वाहन हो । अहङ्कार, मूर्खता, घमण्ड, महत्वाकांक्षा, दोहोरो चरित्र, पाखण्ड, बेइमानी आदिलाई केलाउनुस् । हाम्रा सारा मिथ्या आचरणहरूलाई स–साना टुक्रामा टुक्र्याउनुस् । ती सबै दोष एउटै मसिनो र घातक तत्वमा गएर टुक्रिन्छ । त्यो दोष हो आफ्नो बनाउने भोक । रुचिहीनता वा उदासिनताको जरामा समेत तपाईँले यही दोष भेट्नुहुनेछ । त्यसैले मोरेली जोड दिँदै लेख्छन् – सम्पत्ति नै नरहने हो भने यसका कुनै पनि घातक असरहरू बाँच्न सक्नेछैनन् ।
मोरेलीलाई समाजवादका अघिल्ला प्रतिनिधि मानिन्छ । उनले आफ्नो विधानमा तीन नियमलाई मूलभूत भनेका छन् । एक, निजी सम्पत्तिको रूपमा केही पनि चीजको किनबेच गर्न नपाइने । दुई, प्रत्येक नागरिक सार्वजनिक व्यक्ति हुने, उसको पालनपोषण सार्वजनिक खर्चबाट हुनुपर्ने । तीन, प्रत्येक नागरिकले आफ्नो क्षमता, प्रतिभा र उमेर अनुसार निश्चित योगदान गर्नैपर्ने । यसबाहेक मोरेलीले वितरण, आर्थिक, निर्माण, कृषि, मितव्ययिता, निरङ्कुशता रोक्ने, प्रशासन र सरकार चलाउनेलगायत अन्य १० वटा कानुनको खाका कोरेका छन् ।
मोरेलीको ‘प्रकृतिको विधान’ को उद्देश्य सारमा यसप्रकारको समाज निर्माण गर्नु हो ः समाजबाट निजी सम्पत्तिको उन्मूलन गर्नुपर्छ । समाजका प्रत्येक एक सदस्य सबैका लागि, सबै एकका लागि हुनुपर्छ । हरेकले आफ्नो योग्यता अनुसार काम गर्नुपर्छ र प्रत्येकले आफ्नो आवश्यकताअनुसार पाउनुपर्छ । फजुल उत्पादन गर्नुहुँदैन । प्रत्येक वस्तु टिकाउ हुनुपर्छ । मोरेलीको विचार पछ्याउँदै फ्रान्समा चाल्र्स फ्युरिए देखापरे भने बेलायतमा रोबर्ट ओवेन देखापरे । ओवेन फ्रान्सेली प्रबोधन युगबाट अत्यन्त प्रभावित थिए । फ्युरिएले पुँजीवादी समाजको आलोचनामा द्वन्द्ववादको प्रयोग गरेर हेगेलभन्दा एक पाइला अघि बढेको पाइन्छ । फ्युरिएले व्यक्तिलाई सामाजिक तुल्याउन बाल्यकालको सामाजिकीकरण गर्नुपर्ने कुरामा ठुलो जोड दिएका छन् । आमाबाबुको लाडप्यारले धनीमानीका छोराछोरी सामाजिक सरोकारका विषयमा असंवेदनशील हुने र समाजलाई कामै नलाग्ने बन्ने गरेकोमा उनले निकै आक्रोशित थिए । अर्कोतिर ओवेनले संसाधनको उचित व्यवस्थापन गरेर आर्थिक मन्दीको बेला पनि आफ्ना कामदारहरूबिच ज्यालाको समुचित वितरण गर्न सफल भएका थिए ।
हामी नेपाली इतिहासलाई २५ सय वर्षअघि तन्क्याएर ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने नारा भट्याउँदा औधी हौसिन्छौँ । तर, बुद्धले कल्पना गरेको समाजमा धेरैको चासो हुन्न । अति बाहुनवादीले समेत आफ्नो आस्थाविपरीत ‘महान् बुद्धको देश’ भनी छाती तन्काउन सक्ने पाखण्ड हामीकहाँ छ । माथि चर्चा गरिएका समाजवादी चिन्तकहरूको आलोकमा नेपाली समाजलाई पर्गेल्ने हो भने हामीले आफ्ना सामाजिक समस्याहरू सर्वत्र देख्नेछौँ र जानुपर्ने मार्ग पनि पहिल्याउनेछौँ । चिन्तनमा समृद्ध वर्गसङ्घर्षले मात्र नेपाली समाजलाई आफ्नो विकासक्रमको उन्नत खुड्किलोमा प्रवेश गराउनेछ ।
Leave a Reply