भर्खरै :

पठन संस्कृति र कामरेड स्तालिन

पठन संस्कृति र कामरेड स्तालिन

जोसेफ स्तालिन एक सचेत बौद्धिक हुनुहुन्थ्यो । उहाँ एक अथक र समर्पित पाठक हुनुहुन्थ्यो । उहाँले आजीवन नयाँनयाँ ज्ञानको खोज गरिरहनुभयो । उहाँको लागि पढाइ निजी सोख थिएन । बरु, व्यवहार र राजनीतिको अभिन्न अङ्ग थियो ।

पुस्तक पढैयाहरूको देश
बोल्शेभिकहरू विचार वा शब्दको शक्तिमाथि आस्था राख्थे । उनीहरूको अगुवाइमा भएको सन् १९१७ को अक्टोबर क्रान्तिमा छापाखानाको ठुलो योगदान रह्यो । स्तालिन आफै यो छापाखाना संस्कृतिका एक सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । माक्र्सवाद र लेनिनवादको अप्ठ्यारो सिद्धान्तलाई सरल भाषामा जनतामाझ लग्ने सच्चा प्रचारक र सहजकर्ता हुनुहुन्थ्यो स्तालिन । क्रान्तिअघि बोल्शेभिक पार्टीको प्रकाशन ‘प्राभ्दा’ लाई बहुसङ्ख्यक जनताबिच लैजान उहाँको ठुलो योगदान रह्यो ।
क्रान्तिपछि बोल्शेभिक पार्टीले आफ्नो पठन संस्कृतिलाई जनताबिच विस्तार ग¥यो । बोल्शेभिकहरूले पुस्तक पढैयाहरूको देश निर्माण गर्ने उद्देश्य लिए । पठन संस्कृतिले राज्यकीय नीतिको रूप लियो । उनीहरूले खासगरी यी तीन नीति लिए :
१. राष्ट्रियकरण : क्रान्तिलगत्तै बोल्शेभिक पार्टीले प्रकाशन उद्योगलाई राष्ट्रियकरण ग¥यो ।
२. पुस्तकालय सञ्जाल : लेनिनले सामूहिक साक्षरता र सांस्कृतिक ज्ञानमा जोड दिनुभयो । पुस्तकालय, वाचनालय र घुम्ती पुस्तकालयको एउटा विशाल सञ्जाल निर्माण गर्नुपर्छ भन्नुभयो । उहाँले प्रत्येक घरबाट १० मिनेटको दूरीसम्म पुस्तकालय पु¥याउने चाँजो मिलाउन भन्नुभयो । क्रान्तिपछि उहाँको परिकल्पनाले साकार रूप लियो । यो नीति कति सफल भयो भने दोस्रो विश्वयुद्धको अन्त्यसम्ममा सोभियत सङ्घभरि ८० हजार पुस्तकालयहरू अस्तित्वमा आए ।
३. साहित्य प्रवद्र्धन : बोल्शेभिकहरू जनतालाई आख्यानका कालजयी कृति पढाउन चाहन्थे । सन् १९१८ मा उनीहरूले यी पुस्तकहरूको एउटा शृङ्खला नै तयार पार्न ‘जनताको पुस्तकालय’ स्थापना गरे । स्वदेशी र विदेशी दुवै किताब यो शृङ्खलामा समावेश थिए । जनतालाई विलियम शेक्सपियर, चाल्र्स डिकेन्सलगायतका कृति पढाउने अभियान थालियो ।
यसरी पुस्तक अध्ययन वा पठन संस्कृतिलाई समाज रूपान्तरणको मुख्य औजार नै बनाइयो । सोभियत सङ्घ पढैयाहरूको देशको रूपमा चिनिन थाल्यो ।

पढाइका पहिला वर्षहरू
स्तालिन बाल्यकालदेखि नै किताबप्रेमी र स्वाध्यायी हुनुहुन्थ्यो । यो बानीले उहाँलाई जुनीभरि छोडेन ।
एक पहाडी राज्यको गरिब परिवारका सन्तान स्तालिनको जीवन वास्तवमा पुस्तकले नै बदलिदिएको थियो । उहाँका बुबा जुत्ता सिउने सार्की हुनुहुन्थ्यो भने आमा धनीमानीका लुगा धुने काम गर्नुहुन्थ्यो । पढाउन नसकेर उहाँलाई सानै उमेरमा धार्मिक गुरुकुलमा भर्ना गरिएको थियो । गुरुकुलमा पढ्दापढ्दै उहाँले माक्र्स, एङ्गेल्स, डार्विन, फाराडेलगायत रुसका साहित्यको लुकीछिपी अध्ययन गर्नुभएको थियो । पन्ध्र वर्षको उमेरमै उहाँ माक्र्सवाद अध्ययन मण्डल नामक सङ्गठन बनाएर पठन संस्कृतिमा होमिनुभयो । गुरुकुल प्रशासनले गैरकानुनी किताबहरू (क्रान्तिकारी र वैज्ञानिक साहित्य) पढेकोमा उहाँलाई गुरुकुलबाट निकाला ग¥यो । उहाँको औपचारिक अध्ययन १० कक्षा पनि पूरा नपढी टुङ्गियो । तर, स्वाध्ययन झन्झन् गहिरिँदै गयो । उहाँ अध्ययन अनुसन्धानसँगै लेखन र सम्पादनमा पनि सक्रिय रहनुभयो ।
अध्ययनले स्तालिनलाई व्यक्तिगतरूपमा मात्र बदलेन । रुसका मजदुर र किसानहरूको अध्ययन गर्ने बानीले देशलाई नै क्रान्तितर्फ डोहो¥यायो । यसमा बोल्शेभिक पत्रिका ‘प्राभ्दा’ ले ठुलो भूमिका खेल्यो । यिनै अनुभवले गर्दा अध्ययन र चिन्तनमा समाज र मानव स्वभावको काँचुली फेर्न शक्ति हुन्छ भन्ने विश्वास थियो स्तालिनको ।

स्तालिनको पुस्तक सङ्ग्रह
स्तालिनको निजी पुस्तक सङ्ग्रह वा पुस्तकालय निकै भव्य थियो । उहाँको मृत्यु हुँदा उहाँको पुस्तकालयमा करिब २५ हजार पुस्तक, पत्रपत्रिका र पर्चा थिए । तीमध्ये झन्डै ११ हजार पुस्तक आख्यान थिए भने ८५ सय पुस्तक गैरआख्यान थिए । उहाँको पुस्तक सङ्ग्रह एकै स्थानमा थिएन । उहाँका धेरै पुस्तक मस्कोस्थित उहाँको घर (दाचा) मा राखिएका थिए । त्यहाँ एउटा भव्य पुस्तकालय कोठा थियो । त्यसको टेबलमा किताब, किताबका पाण्डुलिपि र कागजातहरूको चाङ लागेको हुन्थ्यो ।
स्तालिनको बौद्धिक रुचि फराकिलो थियो । सन् १९२५ को मे महिनामा उहाँले आफ्नो निजी पुस्तकालयमा रहेका पुस्तकलाई विभिन्न विधामा वर्गीकरण गर्न भन्नुभयो । यसबाट उहाँको व्यवस्थित सोच, फराकिलो विश्व दृष्टिकोण र बौद्धिक प्राथमिकता उजागर हुन्छ ।
पुस्तकको वर्गीकरण यसप्रकार थियो – दर्शन, मनोविज्ञान, समाजशास्त्र, राजनीतिक अर्थशास्त्र, वित्त, उद्योग, कृषि, सहकारिता, रुसी इतिहास, अन्य देशहरूको इतिहास, कूटनीति, बाह्य र आन्तरिक व्यापार, सैन्य मामिला, राष्ट्रिय प्रश्न, अधिवेशन र सम्मेलनहरू, मजदुरहरूको अवस्था, किसानहरूको अवस्था, कोम्सोमोल (युवा सङ्घ), अन्य देशका क्रान्तिको इतिहास, सन् १९०५ को क्रान्ति, सन् १९१७ को फेब्रुअरी क्रान्ति, सन् १९१७ को अक्टोबर क्रान्ति, लेनिन र लेनिनवाद, रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) र इन्टरनेसनलको इतिहास, रुसी कम्युनिस्ट पार्टीका बहसहरू (लेख, पर्चा), ट्रेड युनियनहरू, आख्यान, कला समीक्षा, राजनीतिक जर्नलहरू, विज्ञानका जर्नलहरू, शब्दकोशहरू, संस्मरणहरू । यसरी स्तालिनको पुस्तकालयमा ३० भन्दा बढी विधाका पुस्तक थिए । आफ्ना पुस्तकहरूमा स्तालिनले एउटा छाप लगाउनुहुन्थ्यो । छापमा लेखिएको हुन्थ्यो – Biblioteka I. V. Stalina ।

पुस्तकालयको दुःखद कथा
स्तालिनको निधनपछि उहाँको पुस्तकालयको संरक्षण गरिएन । धेरै पुस्तक यत्रतत्र छरिएको अवस्थामै रहे । कति पुस्तक अनेक पुस्तकालयलाई बाँडियो । स्तालिनको निधनपछि उहाँको दाचालाई सङ्ग्रहालयमा परिणत गर्ने योजना बनेको थियो । तर, सन् १९५६ मा स्तालिनविरुद्ध विषवमन गर्ने ‘गोप्य भाषण’ गरेपछि संशोधनवादी नेता ख्रुश्चेभले त्यो योजना नै खारेज गरे । यसपछि स्तालिनका अधिकांश पुस्तक अन्य पुस्तकालयहरूमा छरिन पुगे ।
पछि सोभियत अभिलेख र पुस्तकालयमा काम गर्ने केही संवेदनशील व्यक्तिहरूले स्तालिनको पुस्तकालयको महत्वपूर्ण हिस्सालाई जोगाए । यसरी जोगाइएका पुस्तकमध्ये स्तालिनले चिह्न लगाउनुभएका र टिपोट लेख्नुभएका झन्डै ४०० पुस्तक रुसी कम्युनिस्ट पार्टीको अभिलेखालयमा सुरक्षित छन् । यी टिपोटलाई ‘पोमेत्की’ भनिन्छ । यी टिपोटले पुस्तकप्रति स्तालिनको निजी विचार र पुस्तक पढ्दा उहाँमा उत्पन्न भएको भावना बुझ्न सघाउँछन् । यसबाहेक स्तालिनका अन्य केही हजार थान पुस्तक पनि जोगाइएको छ । यी अभिलेखबाट स्तालिनको व्यक्तित्वको नखुलेको पाटो उजागर हुन्छ ।

मनपर्ने विधाहरू
स्तालिनले मूलतः रुसी र मातृभाषा जर्जियालीमै पुस्तक पढ्नुहुन्थ्यो । यसकारण, उहाँ प्रायः अनुवादमा निर्भर हुनुहुन्थ्यो । यिनै भाषामा उहाँले इतिहास, माक्र्सवादी सिद्धान्त, सैन्य रणनीति र आख्यानका पुस्तकहरू पढ्नुभयो ।
इतिहासमा स्तालिनको विशेष लगाव थियो । खासगरी प्राचीन इतिहासमा उहाँको गहिरो रुचि थियो । उहाँले जारकालीन रुसको इतिहासको गहिरो अध्ययन गर्नुभएको थियो । खासगरी तन भयङ्कर, पिटर महान् र क्याथरिन महान्जस्ता जार शासकबारे विस्तृत अध्ययन गर्नुभएको थियो । ती विषयमा उहाँले अलेक्सेइ तोल्सतोय र रोबर्ट भाइपरले लेखेका ‘तन ग्रोज्नी’ लगायत रचना पढ्नुभएको थियो । प्राचीन इतिहासमा उहाँको विशेष दक्खल थियो । उहाँले प्राचीन इतिहासकार हेरोडोटसको दुई खण्डमा प्रकाशित पुस्तक ‘इतिहासहरू’ पढ्नुभयो । उहाँले रोमन साम्राज्यको उदय र पतनबारे गहिरो अध्ययन गर्नुभएको थियो । प्राचीन रोम, ग्रिस र पूर्वी सभ्यताबारे रोबट भाइपरले लेखेका पुस्तकहरू पनि उहाँको रोजाइमा परेका थिए ।
स्तालिनले सैन्य इतिहास र सैन्य रणनीतिका पुस्तकको व्यापक अध्ययन गर्नुभयो । उहाँ जारकालीन सेनापतिहरू अलेक्सान्द्र सुभोरोभ र मिखाइल कुतुजोभका ठुला प्रशंसक हुनुहुन्थ्यो । नेपोलियनले रुसमा आक्रमण गर्दा जर्नेल कुतुजोभकै नेतृत्वमा रुसी जनता विजयी भएका थिए । उनको विषयमा स्तालिनले मिखाइल ब्रागिनले लेखेको ‘पोल्कोभोदेत्स कुतुजोभ’ पुस्तक पढ्नुभएको थियो । त्यस्तै, उहाँले विदेशी सैन्यविद्का रचना पनि पढ्नुभयो । उहाँले फ्रान्सेली जर्नेल फ्रेडरिक जर्ज हेरको तोपखानासम्बन्धी पुस्तक पढ्नुभएको थियो । सैन्य सिद्धान्तकार क्लाउवित्जको पुस्तक ‘युद्धबारे’ लाई स्तालिनले पुरानो भनी आलोचना गर्नुभयो भने रुसी सिद्धान्तकार हाइनरिख लीरको सैन्य सिद्धान्तमा बढी चाख लिनुभयो । उनका चार ग्रन्थको अध्ययन गर्नुभयो । उहाँले बोरिस शापोश्निकोभको ‘सैन्य बुद्धि’ पढ्नुभयो । शापोश्च्निकोभले ‘फौजी तैनाथी नै युद्ध हो’ भन्ने वाक्यांशलाई लोकप्रिय बनाएका थिए । त्यस्तै उहाँले युद्धकला र सैन्य इतिहासको विशद अध्ययन गरेकै हुनाले दोस्रो विश्व युद्धमा स्तालिनले सोभियत सङ्घको सफल सैन्य नेतृत्व गर्नुभयो ।
रुसको बहुजातीय भूराजनीतिक बनोटबारे स्तालिन संवेदनशील हुनुहुन्थ्यो । यसकारण, उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाको मसिनो अध्ययन गर्नुहुन्थ्यो । उहाँ कूटनीतिका पनि गम्भीर अध्येता हुनुहुन्थ्यो । उहाँले जर्मन चान्सलर बिस्मार्कको ‘आत्मसंस्मरण’, भिस्काउट डिएबर्ननको ‘डायरी’, एनाबेल बुकरको ‘अमेरिकी कूटनीतिहरूको सत्य’ आदि पढ्नुभएको थियो । उहाँले ह्यारोल्ड निकोल्सनको कूटनीतिसम्बन्धी पुस्तकहरू पढ्नुभयो । बेलायतको विदेश नीतिमा उहाँको गहिरो चासो थियो । त्यस्तै, उहाँले अमेरिकाको संविधानको अध्ययन गरेर अमेरिकाको सङ्घीय प्रणालीलाई व्यवहारमा एकात्मक राज्य भन्नुभयो । उहाँले चर्चिल र रुजवेल्टको पनि अध्ययन गर्नुभएको थियो ।

चौतर्फी अध्ययन
स्तालिनका प्रिय लेखक लेनिन हुनुहुन्थ्यो । आफ्नो पुस्तकालयमा उहाँले लेनिनका कृतिहरू राख्ने अलग्गै खण्ड बनाउनुभयो । लेनिनलाई उहाँ आफ्ना शिक्षक र आदर्श मान्नुहुन्थ्यो ।
उहाँले लेनिनका ‘एक पाइला अगाडि, दुई पाइला पछाडि’, ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ लगायत पुस्तकको गहिरो अध्ययन गर्नुभएको थियो । उहाँ लेनिनका रचनामा पाइने तर्कशक्तिको बेजोड प्रयोगबाट कायल हुनुहुन्थ्यो । लेनिनका पुस्तक तथा लेखमा स्तालिनले कतै पनि आलोचना गरेको पाइँदैन । बरु, आफूलाई लेनिनको योग्य शिष्य बनाउने लक्ष्यमा उहाँ आजीवन हिँडिरहनुभयो ।
स्तालिनले त्रोत्स्कीका कृतिहरूको पनि मसिनो अध्ययन गर्नुभएको थियो । उहाँले त्रोत्स्कीले लेखका ‘आतङ्कवाद र साम्यवाद’, ‘नयाँ बाटो’, ‘रुसी क्रान्तिदेखि ब्रेस्त लितोभ्स्कसम्मको इतिहास’, ‘समाजवाद वा पुँजीवाद ?’, ‘आठ वर्ष : परिणाम र दृष्टिकोण’, ‘हाम्रा नयाँ अभिभाराहरू’ लगायत पुस्तक पढ्नुभएको थियो । ती पुस्तकमा उहाँले ठाउँठाउँमा टिप्पणीहरू लेख्नुभएको थियो । तीमध्ये कतै ‘मूर्ख ¤’ त कतै उहाँले स्वीकार्दै ‘ठीक !’ भनी लेख्नुभएको थियो । यसरी स्तालिनले विषयलाई विरोधीका कोणबाट पनि अध्ययन गर्नुहुन्थ्यो ।
माक्र्स, एङ्गेल्स, लेनिनबाहेक उहाँले धेरै माक्र्सवादी विचारकहरूका कृतिको अध्ययन गर्नुभएको थियो । उहाँले प्लेखानोभको कृति ‘इतिहासको एकाङ्की धारणा’, रोजा लक्जेम्बर्गको ‘आम हडताल’, पाउल लाफार्जको ‘अल्छी बन्ने अधिकार’, ‘भाषा र क्रान्ति’ जस्ता कृतिको गम्भीर अध्ययन गर्नुभएको थियो । उहाँले आफ्ना समकालीन जिनोभित्, बुखारिन, कामेनेभ, मोलोतोभ, कार्ल रडेक र लोजोभ्स्कीका धेरै माक्र्सवादसम्बन्धी रचना पढ्नुभएको थियो । कार्ल काउत्स्कीका पुस्तकहरूमा उहाँले ‘झूट !’, ‘मूर्ख !’ र ‘हाहा !’ भनी टिप्पणी गर्नुभएको भेटिन्छ ।

अध्ययन गर्ने शैली
स्तालिन आफ्ना पुस्तक पढ्नुमात्र हुँदैनथ्यो, तिनलाई पचाउनु पनि हुन्थ्यो । यसको लागि उहाँले विशेष विधि निर्माण
गर्नुभएको थियो । यही विधिमार्फत उहाँ आफूले पढ्ने पुस्तकका लेखकहरूसँग संवाद गर्नुहुन्थ्यो । खासगरी माक्र्सवादी साहित्यको अध्ययनमा उहाँले यो विधिको व्यापक उपयोग गर्नुभएको थियो ।
आफूले पढेका पुस्तकहरूमा उहाँले प्रचुर मात्रामा विशेष चिह्न र टिप्पणी लेख्नुहुन्थ्यो । यिनलाई रुसी भाषामा ‘पोमेत्की’ भनिन्छ । यी पोमेत्कीहरूबाट उहाँको विचार प्रक्रिया र अध्ययन शैली थाहा पाउन सकिन्छ ।
स्तालिनले पुस्तक पढ्ने बेला विभिन्न रङका कलम प्रयोग गर्नुहुन्थ्यो । खासगरी उहाँले नीलो, हरियो र रातो कलम प्रयोग गर्नुभयो । उहाँका टिप्पणी आफ्नो पूर्व जानकारीलाई व्यवस्थित पार्न गरिन्थे । जस्तै, एक सैन्यविद्को प्रशंसा गरिएको हरफको छेउमा उहाँले लेख्नुभयो – सबैभन्दा महत्वपूर्ण कुरा माक्र्सवादको ज्ञान हो । उहाँको तात्पर्य ‘सैन्य नेतृत्व मात्र पर्याप्त नहुने’ थियो ।
स्तालिनले पुस्तकका धेरै स्थानमा ‘ध्यान दिनुपर्ने’ वा ‘सबैलाई थाहा भएको कुरा’ लेख्नुहुन्थ्यो । पुस्तकमा उहाँ बालसुलभ मनोभाव अभिव्यक्त गर्नुहुन्थ्यो । जस्तो, उहाँले ‘हो’, ‘राम्रो’, ‘सही’, ‘हाहाहा’, ‘हो र ?’, ‘झूटो !’, ‘सहमत’, ‘हैट !’ जस्ता आफ्ना भावावेगसमेत किताबका किनारमा लेख्नुहुन्थ्यो । यसबाट पुस्तक अध्ययनमा उहाँको लगाव अभिव्यक्त हुन्छ ।
स्तालिनका पुस्तकहरूमा औँठाका छाप, चियाका दाग र कताकति चुरोटका खरानी समेत भेटिन्छन् । त्यस्तै, उहाँ मार्जिनमा आफ्ना निजी विचार र विभिन्न चित्रहरू पनि कोर्नुहुन्थ्यो । यसबाट उहाँ सक्रिय पाठक हुनुहुन्थ्यो भन्ने बुझिन्छ । उहाँ ‘कमजोरी’, ‘अल्छीपना’ र ‘मूर्खता’ लाई माक्र्सवाद–लेनिनवादसँग मेल नखाने दुर्गुण ठान्नुहुन्थ्यो । उहाँ माक्र्सवादलाई सर्वोपरि मान्नुहुन्थ्यो र यसको ज्ञानबिना व्यक्ति बौद्धिक रूपमा कमजोर र अज्ञानी बन्ने ठान्नुहुन्थ्यो ।

लेखकहरूसँगको सङ्गत
स्तालिनले साहित्यकार तथा लेखकहरूलाई ‘मानव आत्माका इन्जिनियरहरू’ को संज्ञा दिनुभयो । यी ‘इन्जिनियर’ हरूले मान्छेको स्वभाव र समाजलाई नै बदल्ने सामथ्र्य राख्छन् भन्ने उहाँको बुझाइ थियो । यसकारण, स्तालिनले प्रशस्त आख्यान साहित्यको अध्ययन गर्नुभयो । उहाँले हजारौँ कथा, कविता, नाटक र उपन्यासका पुस्तक सङ्कलन गर्नुभएको पाइएको छ ।
सानोमा धार्मिक पाठशालामा पढेको हुनाले स्तालिनले सबैभन्दा गहिरो गरी पढेको पुस्तक बाइबल थियो । तिनैताका उहाँले धर्मइतर पुस्तक पढ्न थाल्नुभयो । फ्रान्सका साहित्यकार भिक्टर ह्युगोको उपन्यास ‘समुद्रका दीनदुखीहरू’ पढ्दै गर्दा उहाँलाई पक्राउ गरेर पाठशालाबाट निकालिएको थियो । जारकालीन रुसमा त्यो उपन्यास प्रतिबन्धित साहित्यमा पथ्र्यो । स्तालिनले जर्जियाली लेखक अलेक्सान्द्र काजबेगीबाट प्रभावित भएर आफ्नो छद्म नाम कोबा राख्नुभयो । तिनताका उहाँले जर्जियाली भाषामा देशभक्तिपूर्ण कविताहरू लेख्नुभएको थियो ।
स्तालिनले तोल्सतोय, दोस्तोएभ्स्की, गोगोल, चेखोभ, शेक्सपियर, सर्भान्टेस, शिलर, हाइन, ह्युगो र बाल्जाकका साहित्य पढ्नुभयो । उहाँलाई म्याक्सिम गोर्कीको ‘आमा’ र ‘मृत्यु र एक केटी’ असाध्यै मन पर्थे । उहाँले व्यङ्ग्यकार स्चेद्रिनका अप्रकाशित रचना पढ्नुभएको थियो । त्यस्तै, डेनियल डेफो, रडयार्ड किप्लिङका उपन्यासहरू पनि स्तालिनको सङ्कलनमा भेटिएका छन् ।
स्तालिनले रुसका महाकवि पुश्किन, उपन्यासकार दोस्तोएभ्स्की, तोल्सतोय, गोर्की र फ्रान्सका साहित्यकार अनातोली फ्रान्सका पुस्तक बारम्बार पढ्नुहुन्थ्यो । खासगरी आफ्नी पत्नीको निधनपछि उहाँको एक्लोपनका सहारा र बौद्धिक सङ्गतमा उहाँले यिनै लेखकलाई राख्नुभयो । उनीहरूका पुस्तकमा उहाँले प्रेम, विश्वास र मृत्युबारे गहन टिप्पणीहरू लेख्नुभएको थियो ।

एक अमिट छाप
एक गम्भीर पाठक भएकै हुनाले स्तालिनले सोभियत विचारधारालाई अकार दिन सक्रिय र प्रत्यक्ष भूमिका खेल्नुभयो । उहाँले माक्र्सवादी सिद्धान्त, इतिहास, भाषाविज्ञान र अर्थशास्त्रका क्षेत्रमा अध्ययनको धार नै मोड्ने कृतिहरू लेख्नुभयो ।
उहाँले रुसी कम्युनिस्ट आन्दोलनको पाठ्यपुस्तक ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्शेभिक) को इतिहास’, ‘इतिहासको मिथ्याकरण’ लगायत पुस्तक तथा दस्ताबेजको सम्पादन गर्नुभयो ।
स्तालिनकै शासनकालमा रुसका बोल्शेभिक कम्युनिस्टहरूले ‘पठन संस्कृति’ लाई चरमचुलीमा पु¥याए । पुस्तक पढ्नु रुसी जनताको बानी नै बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *