मेरो गर्वका आधार
- माघ ३, २०८२
भक्तपुर, २० पुस । वि.सं. २०५७ सालमा बासु माध्यमिक विद्यालय, भक्तपुरमा कक्षा १० मा अध्ययन गरेका पूर्वविद्यार्थीहरूले विद्यालय शिक्षा पूरा गरेको २५ औँ वर्षगाँठको उपलक्ष्यमा आइतबार साक्व रिसोर्ट शङ्खरापुरमा भेटघाट तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरे ।
कार्यक्रममा तत्कालीन प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूलाई दोसल्ला ओढाइ, मायाको चिनो तथा उपहारसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमा पूर्वप्रधानाध्यापकहरू बालमुकुन्द बासुकला र अम्बिका न्याइचाई तथा पूर्वशिक्षक–शिक्षिकाहरू लक्ष्मीभक्त लासिवा, गोपाल बासुकला, पुरुषोत्तम नापित, राजुराम लोहला, राजेन्द्र प्रधान, दुर्गा न्यौपाने, प्रेम थापामगर, हरिमाया कायस्थ, गणेश थिङलगायत रहनुभएको थियो ।
सो अवसरमा पूर्वप्रधानाध्यापक बालमुकुन्द बासुकलाले शिक्षण पेसामा संलग्न शिक्षकहरूले पाठ्यक्रमसँगै विद्यार्थीहरूलाई नैतिक, सामाजिक तथा राजनीतिक शिक्षासमेत दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बासु माध्यमिक विद्यालयको स्थापना, यसको ऐतिहासिक पृष्ठभूमि तथा शिक्षा क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभयो ।
सम्मान ग्रहण गर्ने अन्य शिक्षक–शिक्षिकाहरूले २०५७ ब्याचका विद्यार्थीहरूलाई शुभआशीर्वाद तथा धन्यवाद व्यक्त गर्दै उनीहरूको प्रगतिप्रति खुसी प्रकट गर्नुभयो । उहाँहरूले विद्यालय जीवनका सम्झनाका क्षणहरू स्मरण गर्दै अवकाशपछिको जीवनका अनुभवहरूबारे बताउनुभयो । बासु माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले समाजमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याइरहेका र विभिन्न परिस्थितिमा सहजीकरण गर्दै आएको विषयमा पनि शिक्षकहरूले प्रशंसा गर्नुभयो ।
उक्त कार्यक्रम बासु मा.वि. २०५७ ब्याचका पूर्वविद्यार्थीहरूको समूहको पहलमा आयोजना गरिएको थियो । कार्यक्रम आयोजक समितिका संयोजक तथा पूर्वविद्यार्थी रमेश सुकमनीले पाठ्यपुस्तकको ज्ञान मात्र नभई जीवन जिउने कला, नैतिकता, अनुशासन र जिम्मेवारी सिकाउन शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै गुरु–शिष्य सम्बन्धको महत्वमाथि प्रकाश पार्नुभयो । पूर्वविद्यार्थी गणेशराम ध्वजुले यो भेटघाटले सबैलाई पुनः विद्यार्थी जीवनका सुनौलो दिनहरूमा फर्काइदिएको उल्लेख गर्दै समय बिते पनि गुरु–शिष्यको सम्बन्ध कहिल्यै पुरानो नहुने र शिक्षकहरूको योगदान पुस्तौँसम्म जीवित रहने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वविद्यार्थी रत्नमैयाँ भैलले स्वागत मन्तव्य दिँदै शिक्षकहरूले प्रदान गर्नुभएको जीवनोपयोगी शिक्षाका कारण आजको सफलता सम्भव भएको उल्लेख गर्नुभयो । कार्यक्रममा उपस्थित अन्य पूर्वविद्यार्थीहरूले शिक्षकहरूप्रति आभार प्रकट गर्दै आफूहरू हाल संलग्न रहेका सकारात्मक तथा सामाजिक कार्यहरूबारे जानकारी गराएका थिए ।
Leave a Reply