भर्खरै :

अमेरिका निर्माणको रक्तरञ्जित विगत

  • पुष २०, २०८२
  • योगेन्द्र
  • विचार
अमेरिका निर्माणको रक्तरञ्जित विगत

(डिसेम्बर ३ को दिन बिहान २ बजे आफ्नो विशेष सैनिक दस्ता डेल्टाफोर्सले भेनेजुयलाको राजधानी काराकसमा भीषण आक्रमण गरी त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मादुरो र उनका पत्नीलाई अपहरण गरी ल्याएको खुलासा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेपछि विश्व समुदायलाई स्तब्ध तुल्यायो । यसको अमेरिका भित्र र बाह्य संसारले भत्र्सना गरे  । किन युरोपी देशहरू र संयुक्त राज्य अमेरिका आफूभन्दा सानो र निर्बल देशलाई थिचोमिचो र लुट्छन् भन्ने ऐतिहासिक पृष्ठभूमिलाई यस आलेखमा चर्चा गर्न खोजिएको छ । – सम्पादक)
युरोप र पूर्वी एसियाका देशहरूको वस्तु विनिमय तथा अन्य व्यापारको माध्यम चीनको प्राचीन रेशम मार्ग थियो । यो रेशम मार्ग ईसापूर्व १३० वर्षदेखि सन् १४५३ सम्म निर्वाधरूपमा युरोप, टर्की, मध्य एसिया हुँदै चीनसम्म पुग्ने बाटोको रूपमा सञ्चालनमा थियो । तर, सन् १४५३ पछि पूर्वी रोम भनेर चिनिने टर्कीको कन्सटानतिलोपल सहरलाई मुसलमान अटोमन साम्राज्यले आफ्नो अधीनमा राखेपश्चात् प्राचीन रेशम मार्गमा अवरोध हुनपुग्यो । यही कारणले युरोपेलीहरूलाई पूर्वी एसिया पुग्न अर्को मार्गको आवश्यकता प¥यो । यस आवश्यकताले युरोपमा पन्ध्रौँ शताब्दीको आधाआधीको समयदेखि विभिन्न जहाजी यात्रा सुरु भयो । त्यहीँ जहाजी

“म्यानिफेस्ट डेस्टीनी” को अर्थ बुझाउने जोन ओ सुलिभान नामक पत्रकारको परिकल्पना

यात्रा बिस्तारै अन्वेषणको युगमा (Age of Exploration) परिणत भयो । यही क्रममा एसियाको हिन्दुस्तानमा पुग्ने लक्ष्य लिएर आफ्नो यात्रामा लागेका कोलम्बस सन् १४९२ मा अमेरिकी महादेशको पूर्वमा रहेका बहामा तथा हाइटी टापुहरूमा आइपुगे । कोलम्बसले आफू भारतकै भूमिमा पुगेको ठानी त्यहाँका ताम्र वर्णका आदिवासी मानिसहरूलाई ‘रेड इन्डिएन’ अथवा राता भारतीय भनी नाम दिएका थिए ।
अमेरिकी भूमिमा युरोपेलीहरूको रजाइँ
सन् १४९२ भन्दा पहिला युरोपलाई जानकारी नभएको अमेरिकालाई त्यसपश्चात् उनीहरूले नयाँ विश्व (The New World) को संज्ञा दिन थाले । हुन त युरोपेलीहरू अमेरिकी भूमिमा पुग्नुभन्दा पहिले त्यहीकै रैथाने आदिवासीहरूको बस्ती र सभ्यता थियो । मध्य एसियाबाटै बसाइँ सर्दै करिब २०,००० देखि १४,००० वर्ष पहिले हालको रुसको सुदूरपूर्वी भाग बेरिङ्ग जलडमरु र अलास्का हुँदै अमेरिकी महादेशमा मानिसहरू बसोबास गरेको तथ्य हाल सालैको ओरेगन विश्वविद्यालयको जलवायु परिवर्तनसम्बन्धीको अन्तरविधागत अनुसन्धान टोलीको अध्ययनले देखाएको छ । युरोपको कम र सीमित जमिन र नयाँ विश्वमा विशाल जमिनको उपलब्धताले गर्दा सो¥हौँ शताब्दीमा युरोपबाट ‘नयाँ विश्व’ अमेरिकामा जाने युरोपेलीहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढ्दै गयो ।
कोलम्बस बहामा टापुमा पुगेको २ वर्षपछि अथवा सन् १४९४ देखि नै अमेरिकी भूमिमा आधिपत्य जमाउने युरोपेलीहरूमा स्पेन पहिलो देश बन्यो । हुन त स्पेन सँगसँगै पोर्चुगलले पनि नयाँ संसारमा आधिपत्य जमाउन नखोजेको होइन । नयाँ भूमिमा आधिपत्य जमाउने होडमा स्पेन र पोर्चुगल द्वन्द्वको अवस्थामा पुग्यो । यस द्वन्द्वलाई रोक्न दुई देशबिच सहमति भयो । ‘ट्रोडेलासको सन्धि’ नामले चिनिने यस सन्धिअनुसार उत्तरी आन्ध्र महासागरको बिचबाट एउटा काल्पनिक रेखा कोर्दै त्यसबाट पश्चिमको भूभाग स्पेनले अधीनस्थ गर्न पाउने र त्यसको पूर्वी भागमात्र पोर्चुगलले कब्जा गर्न पाउने थियो । तर, युरोपेली देशहरूका बिचमा नयाँ विश्वमा पुग्ने र त्यहाँको विपुल प्राकृतिक स्रोत कब्जा गर्ने अघोषित होड नै चल्यो । यही सिलसिलामा सन् १५३५ सम्ममा फ्रान्स हालको क्यानडाको न्युफाउन्ड लैन्ड र सेन्ट लरेन्स नदीको मुखसम्म पुग्न सफल भयो । सत्रौँ शताब्दी (सन् १६०० देखि १६९९ सम्म) को पहिलो दशकसम्ममा बेलायत अमेरिकाको पूर्वी किनारमा पुग्यो, जहाँ हालको भर्जिनिया राज्यको एक स्थानमा जेम्सटाउन नामक सहर नै नामकरण गरेर बस्ती बसाल्न सुरु गरे । बेलायती राजा जेम्स प्रथमको पालामा अमेरिकालाई उपनिवेश बनाउने अनुमतिअनुसार सो सहरको नामकरण गरिएको थियो । सो सहर स्थापना गरेको सय वर्षको अवधिभित्र अथवा अठारौँ शताब्दीको (सन् १७०० देखि १७९९ सम्म) सुरुवातसम्ममा बेलायतले १३ वटा राज्यहरू अमेरिकाको पूर्वी किनारमा स्थापना गर्यो ।
उत्तरतर्फ सन् १६७० सम्ममा ‘हडसनको खाडी’ वरिपरिको विशाल भूभाग जसलाई ‘रूपर्अट लैन्ड’ पनि भनिन्छ (हाल क्यानडाको मनिटोबा, सासास्केच्युवान, अबर्लटा, अन्टारिओ, क्युवेक र उत्तरपश्चिम भूभाग राज्य) समेतलाई बेलायतले अधीनष्ठ बनाइसकेको थियो । यही बेलासम्म बेलायतले अधीनष्ठ गरेको रूपर्अट लैन्ड र पूर्वी किनारका १३ राज्यहरूबिचको भूभाग जुन न्यूफाउन्डलैन्डदेखि ग्रेटलेक वरिपरिको भूभाग तथा मध्य–अमेरिकासम्मलाई फ्रान्सले अधीनष्ठ बनाई यस स्थानको नाम नयाँ फ्रान्स भनी नामकरण गरिसकेको थियो । बेलायत र फ्रान्सबिच युरोपबाहिर रहेका भूभाग र अन्य देशहरूलाई अधीनष्ठ गर्ने यो होडबाजी संसारभर नै चल्यो र यही प्रतिस्पर्धाले दुई देशबिच युद्धसमेत भयो । सन् १७५६ देखि १७६३ सम्म बेलायत र फ्रान्सबिच संसारभर युद्ध भइरह्यो । उत्तर अमेरिका, युरोप, भारत तथा समुद्रमा समेत लामो युद्ध भयो जसलाई इतिहासमा ‘सात वर्षको युद्ध’ (Seven Years War) पनि भनिन्छ ।
अमेरिका स्वतन्त्रत घोषणा र यसको विस्तार
उपनिवेश बनाउने होडले निम्त्याएका युद्धहरूबाट बेलायतको अर्थतन्त्र भित्रभित्रै कमजोर हुँदै थियो । यसले गर्दा आफ्ना उपनिवेशहरूबाट बढीभन्दा बढी कर उठाउन बाध्य भयो । यही कर नीतिले अमेरिकी राज्यहरूमा बेलायतप्रति असन्तुष्ट बढ्दै गयो । अमेरिकी राज्यहरूले बेलायतको संसद्मा अमेरिकी प्रतिनिधित्व बिनाकर नतिर्ने (No taxation without representation) भनियो । अमेरिकी राज्यहरूले करविरुद्धको अभियानलाई तीव्र बनाउँदै लगे  । आखिरमा बेलायतप्रतिको अमेरिकी राज्यहरूको यही असन्तोषले उनीहरूमा बेलायतबाट स्वतन्त्र हुने विचारको उद्भव भयो । अमेरिकीहरूको बेलायतविरोधी यस भावनालाई भित्रभित्रबाट बेलायतको विश्व प्रतिद्वन्द्वी फ्रान्सले नैतिक र भौतिक हर तरहले सघाउँदै थियो । अमेरिकी राज्यहरूसँग बेलायतको विभिन्न स्थानहरूमा झडपहरू भयो । सन् १७७३ मा चर्को विरोध स्वरूप बोस्टन टी पार्टीको नामले चिनिने ठुलो प्रतिकार भयो । बेलायतको कर लागेको चिया अमेरिकी राज्यहरूमा बेच्न नदिने प्रतीकको रूपमा यो प्रतिकार थियो । जसमा अमेरिकी जनताले बेलायतबाट अमेरिका ल्याइएको चियाका बासकहरू भटाभट जहाजबाटै समुद्रमा फ्याके । बेलायतले हरहालतमा स्वतन्त्रता नदिन विभिन्न उपाय अपनाउदै गयो । तर, स्वतन्त्र हुने विचार र भावनाले आखिरमा मूर्तरूप लियो । सन् १७७६ मा अमेरिकी प्रतिनिधिहरू मिलेर ‘स्वतन्त्रताको घोषणा’ पारित गर्यो । बेलायतको अधीनमा रहेका उपनिवेशहरूमध्ये स्वतन्त्र हुने अमेरिका नै पहिलो देश बन्यो । बेलायतको अधीनका देशहरू पनि ऊबाट स्वतन्त्र हुनसक्छन् भन्ने नयाँ सन्देश विश्वलाई यस अमेरिकी स्वतन्त्रताको घोषणाले प्रवाह गर्यो ।
अमेरिकाको स्वतन्त्रताको घोषणापश्चात् १९ औँ शताब्दीको सङ्घारमा पुगेका अमेरिकीहरूमा ‘मेनिफेस्ट डेस्टीनीको’ (Manifest Destiny) अवधारणाले जरा गाडेको थियो । यस अवधारणाअनुसार गोरो छालाका अमेरिकी जनतालाई देशको पश्चिमी भागमा आफ्नो बसोबास विस्तार गर्न दैवी शक्तिले नै निर्धक्क अनुमति दिएको प्रचार ग¥यो । यही विश्वास र नीतिले अमेरिकी राज्यहरूले पश्चिम दिशालगायत चारैतिर आफ्नो भूभाग विस्तार गर्दै लानेक्रमलाई तीव्र बनायो । यही क्रममा अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफरसनले सन् १८०३ मा फ्रान्सको अधीनमा रहेको विशाल लुजियान भूभागलाई मोलमोलाइ गरी नेपोलियनसँग एक करोड पचास लाख डलरमा खरिद ग¥यो । सन् १८१९ सम्म अमेरिकाको दक्षिण पूर्वी भाग फ्लोरिडालगायतका भूभाग स्पेनको अधीनमा थियो । अमेरिका विस्तार गर्ने नीति र अभियानमा स्पेनसँग पनि किचलो गर्दै सन् १८२१ मा ‘आडम्स् ओनिस सम्झौता’ मुताबिक फ्लोरिडालाई पनि आफ्नोमा गाभ्यो । हालको मध्य अमेरिका, क्यालिफोर्नियादेखि उत्तर भागसम्मको विशाल भूमि पनि स्पेनको अधीनमा थियो । यो भू–भाग पनि सन् १८२१ मा स्पेनबाट स्वतन्त्र गरायो र नयाँ राष्ट्र मेक्सिकोको जन्म भयो । तर, सन् १८३६ सम्ममा मेक्सिकोको टेक्सस् क्षेत्रले मेक्सिकोबाट स्वतन्त्रता प्राप्त गरी पछि संयुक्त राज्य अमेरिकामा सामेल हुने निर्णय गर्यो । यसरी संयुक्त राज्य अमेरिका विस्तार हुने क्रम जारी नै रह्यो । मेक्सिकोको भूभागलाई विस्तारै कब्जा गर्ने र स्थानीयलाई उक्साउने क्रममा आखिर मेक्सिको र अमेरिकाबिचमा सन् १८४६ देखि ४८ सम्म युद्ध नै भयो । सन् १८४८ सम्ममा अमेरिकाले बेलायतसँग ४९ उत्तर अक्षांससम्म आफ्नो सिमाना हुने समझदारी ग¥यो । आफ्नो भूमि विस्तार गर्ने क्रममा अमेरिकाले सन् १८६७ मा रुसी जारबाट करिब ७० लाख डलरमा अलस्काराज्य खरिद गर्यो । यसरी पूरै १९ औँ शताब्दीको उत्तरार्धसम्म नै अमेरिकाको विस्तार जारी रह्यो ।
राज्य निर्माणको महँगो मूल्य
संयुक्त राज्य अमेरिका निर्माणको करिब डेढ सय वर्षको यस अवधिलाई अमेरिकीहरूले गौरवमय इतिहासको रूपमा मान्छन् । तर, राज्य निर्माणको अवधिमा भएका लडाइँ, मारकाटलाई सामान्य रूपमा लिए पनि युरोपेलीहरूको आगमन पूर्व त्यहाँ बसोबास गर्दै आएका आदिवासीहरूमाथि जुन अत्याचार गरियो त्यसलाई मानव इतिहासको सबभन्दा क्रूर, नृसंश र अमानवीय भएको मानिन्छ । त्यसरी नै संयुक्त राज्य अमेरिकाको दक्षिण राज्यहरूमा व्यवसायिक सुर्ती खेतीपातिको लागि प्रयोग गरिएका अफ्रिकी दासहरूमाथि गरिएका अत्याचारलाई इतिहासले त्यस्तै मूल्याङ्कन गरेको छ । आजका दिनसम्म पनि त्यहाँ रहेका रेड इन्डियन, दक्षिण अ‍ेमेरिकी मूलका हिस्पानियाली जनता, अफ्रिकाबाट ल्याइएका काला जाति र अन्य गैरयुरोपेली मूलका मानिसहरूले अमेरिकी गोरा जातिको अत्याचारलाई सहँदै आएका छन् ।
हिजो जसरी राज्य विस्तारको क्रममा स्थानीय आदिवासीमाथि क्रूर दमन गरियो, अमानवीय लडाइँहरू लडे, उपनिवेशवादी शासकहरूसँग विशाल भूमि नै खरिद गरे, कमजोर छिमेकलाई थिचोमिचो गरी त्यहाँको भूमिलाई हडपे, सारा अमेरिकी भूमि (सिङ्गो उत्तर र दक्षिण अमेरिकी महादेश) लाई ‘मुनरो नीति’ अन्तर्गत आफ्नै तखतमा राख्न खोजे, दुर्भाग्य आज पनि अमेरिकी शासकहरूले ‘अमेरिकालाई फेरि महान् बनाउने नीतिको’ नाउँँमा त्यही उपाय अवलम्बन गर्दै छन् । ग्रिनल्यान्ड खरिद गर्ने, क्यानाडालाई आफ्नो ५१ औँ राज्य बनाउने, पनामा नहर र देशलाई फेरि आफ्नै कब्जामा राख्ने, प्यालेस्टिनी भूमिलाई आफ्नो कब्जामा राखी भूमध्य सागरको अर्को रमणीय किनारी पार्क (रिभेरिया) बनाउने योजनाहरू भनेका ती नै अमेरिका निर्माणको क्रममा गरेका हर्कतहरू हुन् । संयुक्त राज्य अमेरिका निर्माणको यस रक्ताम्मे इतिहासलाई हामीले बेवास्ता गर्यौँ र मनन गरेनौँ भने आजको घटना, परिघटना र अमेरिकी नीतिलाई हामीले बुझ्ने छैनौँ ।
साभार : ‘सन्देश’ बुलेटिन, वर्ष ५, अङ्क ५, २०८१, नेपाल कर्मचारी समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *