के जागिर दिएर समाजवाद आउँछ ?
- जेष्ठ ११, २०८३
देश, जनता र पार्टीमा समर्पित भएर पार्टी, कार्यकर्ता तथा साधारण जनतामा वैचारिक र सांस्कृतिक स्तर उठाउन बहुमत जनताको पक्षमा दिशाबोध गर्ने काम आजको आवश्यकता हो । स्वाधीनता, सार्वभौमसत्ता र मुक्तिको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दार्शनिक तथा नेताहरूको विचारलाई आफ्नो देश, काल र परिस्थितिअनुसार लागू गर्नेतर्फ अघि बढ्ने काम प्रत्येक कम्युनिस्ट, देशभक्त, कार्यकर्ता, शुभचिन्तकहरूको कर्तव्य हो । पार्टीका कार्यकर्ता आ–आफ्नो पदको सीमाभित्र रहेर इमानदारीपूर्वक जिम्मेवारी सम्हाल्नु र विभिन्न जिल्ला, नगर र गाउँका शोषित–पीडित जनतालाई सचेत र सङ्घर्षशील बनाउनु प्रत्येक कार्यकर्ताको जिम्मेवारी हो । सैद्धान्तिक ज्ञान र अनुभवको कमीले सानो स्वार्थ र सत्तालिप्साका कारण कम्युनिस्ट नेताहरू चिप्लेर विदेशी पुँजीको शिविरमा पुग्ने वा विश्वासघात हुने खतराप्रति देशभक्त दल र जनता सचेत हुनु आवश्यक छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद शक्तिसँग लड्न अघि नबढ्ने शक्तिहरूदेखि पनि नेपाली जनता सचेत हुनुपर्छ । नेमकिपा विदेशी खुट्टामा उभिन चाहँदैन । नेमकिपाले संसारका सबै कामदार जनता र प्रगतिशील जनताको साम्राज्यवादविरोधी भावनालाई समर्थन गरेको छ ।
निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने शक्तिलाई देशी वा विदेशी प्रतिक्रियावादीहरूले आफ्नो शत्रु सम्झने, आँखाको कसिङ्गर सम्झने र आफ्नो स्वार्थको बाधा सम्झनु नौलो कुरा होइन । सर्पलाई तकियामुनि राखेर जसरी व्यक्ति निदाउन सक्दैन त्यस्तै अपराधीहरूलाई संरक्षण दिने दलका नेताहरूबाट जनता र देशको सेवा सम्भव छैन । पुँजीवादी सरकारमा गएर समाजवाद ल्याउने प्रयास मृगतृष्णामात्र हुनेछ । नेमकिपा भारतीय कामदार जनतालाई मित्र सम्झन्छ र भारतीय एकाधिकार पुँजीको विस्तारवादी नीतिको विरोध गर्छ । साम्राज्यवाद र विस्तारवाद देशको प्रधान शत्रु हो । देशभक्त, प्रजातन्त्रवादी, मजदुर, किसान, बुद्धिजीवी समुदाय देशका मित्र शक्ति हुन् । अन्तर्राष्ट्रिय प्रगतिशील समूह, साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय सङ्घ संस्था र कम्युनिस्ट पार्टीहरू मित्र शक्ति हुन् । राजनीतिक अपराधीकरण, हत्या, हिंसा र आक्रमणसँग जुध्नु भनेको साम्राज्यवाद र प्रतिक्रियावादीसँग लड्नु हो । हरेक देशभक्त नागरिकले नेपालको सार्वभौमसत्ताबारे चिन्ता लिनुपर्छ । ताकि देश कहिल्यै विखण्डन नहोस् ।
पार्टी कार्यकर्ता र सर्वसाधारण जनताको वैचारिक र सांस्कृतिकस्तर उठाउनुपर्छ । कार्यकर्ताहरू देश, जनता र पार्टीप्रति समर्पित हुनुपर्छ । पार्टीका कार्यकर्ताले आ–आफ्नो पदको सीमाभित्र रहेर इमानदारीपूर्वक जिम्मेवारी सम्हाल्नुपर्छ । देशका विभिन्न जिल्ला, नगर र गाउँका शोषित–पीडित जनतालाई सचेत र सङ्घर्षशील बनाउनुपर्छ । पैसा र आश्वासन बाँडेर, साम्प्रदायिक भावना फैलाएर देश र जनताको हित हुनेछैन; आमूल परिवर्तन हुँदैन । पार्टी सिद्धान्त र जनताप्रति भित्री हृदयदेखि समर्पित नभएका कार्यकर्तालाई प्रकाशमा ल्याउँदा वा माथिल्लो पदमा ल्याउँदा सिद्धान्त, पार्टी र जनतालाई विश्वासघात गरी वर्गशुत्रसँग मिल्न गएको इतिहास छ । समाजबाट आफूले लिनुभन्दा बढी दिने भावना र त्यागको भावनाले पार्टी र जनताको सेवा हुनेबारे कार्यकर्तालाई शिक्षित गर्दै जानुपर्छ । शत्रुले खेल्ने जालझेल, लोभलालच, विदेशी शक्तिको चलखेल र देशलाई असफल राज्य बनाउन साम्राज्यवादी र विस्तारवादी मुलुकले गर्ने प्रपञ्चबाट सबै नेपाली सतर्क रहनुपर्छ ।
समाजवादी चिन्तन, समाजवादी बन्दोबस्त र समाजवादी विचारले मात्रै श्रमजीवीवर्गको सेवा गर्छ भन्ने मान्यताका साथ जनतालाई सैद्धान्तिक, राजनीतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित पारेर शोषणरहित समाज स्थापना गर्ने लक्ष्य लिएर अघि बढ्नुपर्छ । देश र जनताको चिन्ता नगर्ने, जनताको विचारलाई स्थान नदिने दल र दलका नेताले समाज परिवर्तन गर्दैन । सार्वभौम र स्वतन्त्र देशहरूमा साम्राज्य र प्रभुत्व फैलाए पनि मौन रहने दल र दलका नेताहरूप्रति जनता सचेत हुनुपर्दछ । सरकार टिकाउने, लम्ब्याउने र भागबन्डा गर्ने नाउँमा भएको असमान सन्धि र सम्झौताले देशमा विदेशी चलखेल बढेको हुँदा देशभक्त दल र जनता गम्भीर हुनुपर्ने देखिन्छ । शासक दलका नेताहरूमा भएको दास मानसिकता र आत्मसमर्पणको भावनाले देश ऋणमा डुब्दै छ† देश गएगुज्रँदै छ । देशको यो हालतले देश समृद्ध र सुखी बनाउने सपना कसरी पूरा हुन्छ ? शासकहरूले देशलाई परनिर्भर बनाए, ऋणमा डुबाए । यो देशको लागि दुःखद पक्ष हो । अतः देशका सबै दलहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ† जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ । अनिमात्र देशको अनुहार फेर्न सकिन्छ र देश विकासको उचाइमा पुग्छ ।
Leave a Reply