अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २९ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औँ स्थापना दिवस नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा मङ्गलबार सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्थामा हरेक १० वर्षको एक पटक आर्थिक सङ्कट आउने बताउँदै हाल देशमा आइरहेका आर्थिक समस्याहरू पुँजीवादी व्यवस्थाको कारणले भएको बताउनुभयो ।
उहाँले पुरस्कारका लागि नभई सेवाका निम्ति कार्य गर्नुपर्ने भन्दै व्यक्तिगत स्वार्थभन्दा सामाजिक विकासको भावनामा जोड दिनुपर्ने बताउनुभयो । सरकारी निकायबाट दिइएको सम्मानभन्दा पनि जनताले दिइएको सम्मान ठुलो हुने कुरामा जोड दिँदै उहाँले सहकारी संस्था सिद्धान्तको पालना गरी इमानदारीताका साथ पारदर्शी भई न्यून आय भएका वर्गको विकास
गर्ने उद्देश्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले त्रिभुवन शिक्षण अस्पतालले स्वास्थ्य बीमा सुविधा बन्द गर्ने घोषण गरेको जानकारी दिँदै सरकारबाट उपलब्ध स्वास्थ्य बीमा सेवा बन्द गर्दा ठुलो समस्या आउन सक्ने सम्भावना रहेको बताउनुभयो । भक्तपुर नगरपालिकामा सरकारले सेवा बन्द गरे पनि स्थानीय जनता तथा सहकारीहरूबाट उठाइएको सामुदायिक विकास कोषको रकमले सो सेवालाई निरन्तरता दिन सकिने उहाँले उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सिद्धि गणेश साकोसले समुदायको विकासको निम्ति कार्य गर्दै आएको बताउनुभयो । उहाँले आफ्नो लक्ष्य पूर्तिको क्रममा विभिन्न समस्याहरू आइरहने तर ती समस्याको सामना गरी अघि बढे लक्ष्य पूरा हुने बताउनुभयो ।
उहाँले संस्थाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले सदस्यहरूलाई सचेत गर्ने बताउँदै ती कार्यक्रमलाई निरन्तरता दिनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिका नगर सहकारी संयोजक हरिप्रसाद बासुकलाले विगतमा राम्रा कार्यहरू गरेको कारण सिद्धि गणेश साकोसको चर्चा जिल्लाभर हुने गरेको स्मरण गर्दै सिद्धि गणेश साकोसलाई निरन्तर नयाँ र राम्रा कार्य गर्दै जान सुझाव दिनुभयो । उहाँले सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित नरही उत्पादन क्षेत्रमा पनि क्रियाकलाप गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी सङ्घ लि. का अध्यक्ष हरि बल्लले संस्थाको लक्ष्य प्राप्तिको लागि रणनीति र कार्यविधि बनाई कार्य गरे नगरेकोे स्थिति अनुगमन गर्दा सिद्धि गणेश साकोस नीति नियम पालना गरी सञ्चालन भएको एक प्रारम्भिक सहकारी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सामाजिक विकासमा योगदान गर्ने उद्देश्यका साथ स्थापित यस संस्था सहकारी मूल्य मान्यता र सिद्धान्तको पालना गरी सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले अतिथिहरूको सुझाव स्वीकार्दै असल सहकारी अभ्यास गर्दै आएको कारण ३२ वर्ष पुग्दा पनि संस्थामा कुनै समस्या नआएको र निरन्तर सञ्चालनमा रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले हाल जारी निर्देशनले सहकारी संस्थाहरूलाई एक वित्तीय संस्थाको रूपमा व्याख्या गरेको उल्लेख गर्दै सहकारी संस्थाले आर्थिक कारोबार मात्र गर्दा बैङ्क र सहकारीबिच कुनै भिन्नता नरहने बताउनुभयो । उपाध्यक्ष दुमरुले संस्थाका सदस्यहरूले सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याउँदै सदस्यहरूले अद्यावधिक गरेको सदस्य पहिचान फारममा उल्लेख गरेको आय रकम वास्तविक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले मङ्सिर मसान्तसम्ममा संस्थामा शेयर पुँजी २५ करोड ७१ लाख २१ हजार, कूल बचत २ अर्ब ७२ करोड ८९ लाख ९२ हजार, जगेडा कोष २७ करोड ५८ लाख ८५ हजार, कूल ऋण लगानी १ अर्ब ८८ करोड ५९ लाख ८५ हजार र कूल सम्पत्ति ३ अर्ब ३८ करोड ९६ लाख, ५२ हजार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले सहकारी संस्थाको उद्देश्य न्यून आय भएका सदस्यहरूको आर्थिक विकास गर्ने हुनुपर्नेमा हाल सहकारी संस्थाहरूले बैङ्कले जस्तै आर्थिक कारोबार मात्र गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले न्यून आय भएका सदस्यहरूको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताउनुभयो । संस्थाका सचिव विष्णुप्रसाद दुमरु र संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।
Leave a Reply