भर्खरै :

अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा दैलेखमा जुलुस तथा सभा

अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा दैलेखमा जुलुस तथा सभा

दैलेख, २९ पुस । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखको आयोजनामा भेनेजुयलामा अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा जुलुस तथा सभा मङ्गलबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले एक स्वतन्त्र तथा सार्वभौम देशमाथि हमला गर्नु संरा अमेरिकाको दादागिरी तथा आतङ्ककारी हर्कत हो भन्नुभयो ।
साम्राज्यवादविरुद्ध भेनेजुयलाली जनता, विश्वका सार्वभौम तथा स्वतन्त्र देशहरूले साम्राज्यवादी ट्रम्पविरुद्ध सङ्घर्ष गरिरहेका छन् भन्नुभयो । पार्टीका केन्द्रीय सदस्य बखत थापाले भेनेजुयाली जनताको सार्वभौमिकतामाथि मध्यरात हमला गरी राष्ट्रपति मादुरो र उसकी पत्नीलाई बलजफ्ती अपहरण गरी आफ्नो देशमा लगेर झूटा मुद्दा चलाउनु अन्यायपूर्ण छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले हाम्रो विरोध स्वतन्त्र तथा सार्वभौम देश भेनेजुयलामा अमेरिकी साम्राज्यवादको आक्रमणको विरुद्ध हो भन्नुभयो । कर्णाली प्रदेश सदस्य उदयजङग शाहीले भनेजुयलामाथिको आक्रमण अर्का देशको सार्वभौमिकता नस्वीकारिने अमेरिकाको साम्राज्यवादी नीति हो; एमसीसी सम्झौता पास गराएर देश ध्वस्त बनाउने नीतिअनुसार अगाडि बढाइरहेको छ भन्नुभयो ।
नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले स्वतन्त्र देश भेनेजुयलामाथिको कायरतापूर्ण सैनिक हमला गरी राष्ट्रपति मादुरो र उहाँकी पत्नीलाई बलजफ्ती अपहरण गरेकोमा निन्दा गर्दै उहाँहरूको सकुशल फिर्ताको माग गर्नुभयो ।
उहाँले ट्रम्प प्रशासनले विश्वमा साम्राज्यवादी हैकम चलाउँदै छ भन्नुभयो ।
सो कार्यक्रममा लक्ष्मीकुमार विक र तेजरत्न श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *