भर्खरै :

कानुनले दिएको भाग श्रीमतीलाई दिनुपर्छ

कानुनले दिएको भाग श्रीमतीलाई दिनुपर्छ

वडाध्यक्षको डायरीबाट
प्रथम प्रहरको समय चलिरहेको थियो । वडा कार्यालयमा केही सेवाग्राहीहरू जम्मा हुनु स्वाभाविकै भयो । म समयमै वडा कार्यालय पुगेर वडावासीहरूसँग छलफल गर्दै थिएँ । सेवाग्राहीहरूमा दुई जना बहिनीहरू पनि मसँग छलफल गर्न कुरिरहेका थिए । उनीहरू मसँग कुराकानी गर्न खोज्दै गरेको जस्तो लाग्यो । मैले उनीहरूको पालो आएपछि आफ्नो समस्या राख्न अनुरोध गरेँ । तर, दुवै जना आफ्नो कुरा भन्न अनकनाइन् । मैले अफ्ठ्यारो नमानुस् आफ्नो समस्या राख्नुस् भनी अनुरोध गरेँ । एक जना बहिनीले सबै सेवाग्राही गएपछि आफ्नो समस्या राख्ने भन्नुभयो । मैले अरू नै सेवाग्राहीसँग छलफल सुरू गरेँ । करिब एक घण्टापछि वडामा सबै सेवाग्राहीहरू गए । तर पनि उनीहरू दुई जना बहिनी सोफामा चुपचाप बसिरहेका थिए । धेरै समयसम्म सेवाग्राहीलाई कुराउनु राम्रो होइन । त्यसकारण, कार्यालय सहयोगीलाई बोलाएर तीन कप चिया ल्याउन अनुरोध गरेँ । केही समयसम्म कार्यालयभित्र कसैलाई नपठाउन अनुरोध गरेँ । त्यसपछि कार्यालय सहयोगी कार्यालयको ढोका लगाउँदै बाहिर गइन् । तत्पश्चात् मैले दुवै बहिनीलाई आफ्नो परिचय र वडामा आउनुको कारण सोधँे । तैपनि दुवै जना अलि अनकनाइरहेका थिए । मैले फेरि भनँे, “तपार्इँहरूले मसँग गरेको कुराकानी गोप्य नै हुन्छ । त्यत्ति धेरै असहज नमानुस् । तपार्इँहरूले आफ्नो समस्या नराखेसम्म म कसरी तपार्इँहरूलाई सहयोग गर्नसक्छु र ? तपार्इँहरू बिनाकारण वडामा आउनुभएको त होइन होला । त्यसैले समस्या भए भन्नुस् । तपार्इँले मलाई आफ्नै दाइ, भाइ वा अभिभावक सम्झनुहोस् । तपार्इँहरूले मलाई यो कुर्सीमा पु¥याएपछि तपार्इँको समस्या समाधानको लागि पहल गर्ने मेरो दायित्व हो ।”
उनीहरू दुवै जना एक आपसमा मुखामुख गर्न थाले । उनीहरू आफ्नो समस्या बताउन सा¥है गा¥हो मानिरहेका थिए । मैले गोप्यताको आश्वासन दिएपछि बल्ल एक जना बहिनीले भन्न सुरु गरिन्, “सर हामी यस वडाका होइनौँ । तपार्इँको वडाको बासिन्दा नभएकोले आफ्नो समस्या राख्ने कि नराख्ने भनेर अलमलिएकी हुँ । उनी मसँग साथी मात्र आएकी हुन् । समस्या त मेरो पारिवारिक हो । तर, म यस वडाको नभए पनि समस्या यस वडासँग सम्बन्धित व्यक्तिसँग भएकोले हामी तपार्इँलाई सम्झेर आएकी हुँ । तपार्इँले चाहनुभयो भने मेरो पारिवारिक समस्या हल हुनसक्छ । त्यसैले तपार्इँसँग परामर्श र सहयोग लिन आएकी हुँ ।” बहिनीको कुरा सुन्नेबित्तिकै मेलै वडावासी नभए पनि आफ्नो समस्या बिस्तारमा भन्न अनुरोध गरँे ।
त्यसपछि ती बहिनीले भन्न थालिन्, “मेरो नाम कृष्णलक्ष्मी सुवाल (नाम परिवर्तित) हो । मेरो घर कमलविनायक (परिवर्तित ठाउँको नाम) हो । मेरो आमाको विवाह यस वडामा अहिले बस्दै आएका कृष्णराम सुवाल (परिवर्तित नाम) सँग भएको थियो । उनले आफ्नो सक्कल नागरिकता पनि मलाई देखाइन् । मेरो बुबा कृष्णराम सुवाल यही टोलको चोकभित्र बस्नुहुन्छ । तपार्इँले पनि मेरो बुबालाई चिन्नुहुन्छ । बुबाले आफ्नी जेठी श्रीमती मरेपछि मेरी आमासँग प्रेम विवाह गर्नुभएको थियो रे । जेठी श्रीमतीको तर्फबाट एक जना छोरा र एक जना छोरी जन्म भएको थियो । मेरी आमाको तर्फबाट तीन छोरीको जन्म भएको थियो । मेरी आमालाई विवाह भएको केही वर्षपछि बुबाले धेरै पिट्ने, नखुवाउने अनि हामी छोरीहरूलाई पनि धेरै पीडा दिन थालेपछि आमा माइतीमा बस्दै आउनुभएको छ । अहिले माइतीमा बस्न थालेको पनि करिब तीस वर्ष भइसक्यो सर । कति वर्षसम्म माइतीमा बस्ने होला । हाम्रो बिहेवारिसमेत आमाले माइतीबाटै गरिदिनुभयो । बुबा कहिल्यै आउनुभएन । हामी पनि बुबाको घरमा गएनौँ । अहिले बुबा तेस्रो श्रीमती लिएर बस्नुभएको छ । उहाँको तर्फबाट एक जना छोरी छिन् । उनी अहिले कलेजमा पढ्छिन् भने सुनेकी छु । आमाले हाम्रो लालनपालन आफैले गर्नुभयो । माइतीमा दाजु भाइको भनाइ सहेर हामीलाई धेरै दुःखका साथ हुर्काउनुभयो । आमाले हामीलाई हुर्काउनको लागि धेरै हन्डर सहनुभयो† अपमानका शब्दहरू धेरै सहनुभयो । बुबाको लात बात र पीडा धेरै सहनुभयो । सधैँ गाली गर्ने, पिट्ने, खाना खान नदिने र रातभरि बाँधेर राख्नेजस्ता अत्याचार सहन नसकेर आमा माइतीमा बस्न थाल्नुभएको थियो । त्यसैले, म आमाको हकको लागि जिल्ला अदालतमा मुद्दा लड्नको लागि एक जना अधिवक्तासँग सल्लाह लिन गएको थिएँ । तर, उहाँले मलाई सीधै अदालतमा नजान सल्लाह दिनुभयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले सरसल्लाह गरेर नै सम्पत्ति दिलाई दिन्छन् । अदालतमा जाँदा धेरै पैसा खर्च हुने र समय पनि धेरै लाग्ने हुँदा सबैभन्दा पहिला वडामा गएर वडाध्यक्षसँग परामर्श गर्नुस् भन्नुभयो । वडामा कुरा नमिले वा वडाध्यक्षको कुरा नसुने मात्र अदालतमा जानलाई फिराद तयारी गर्छु भन्नुभएकोले तपार्इँसँग सल्लाह र परामर्श गर्न आएकी हुँ । मलाई जनप्रतिनिधिसँग विश्वास छ । तपार्इँले मेरो समस्या हल गरिदिनुहोला भन्ने विश्वास छ । त्यही भएर हामी यहाँ आएका हौँ ।”
बहिनीको लामो कुरा सुनेपछि मैले छोटोमा जवाफ दिएँ, “म तपार्इँको बुबा कृष्णराम सुवाललाई राम्ररी चिन्छु । तर, उहाँको तीन जना श्रीमती छ भन्ने थाहा थिएन । तपार्इँको नागरिकता हेर्दा त कृष्णराम सुवालकै छोरी देखिन्छ । म कृष्णराम सुवालसँग तपार्इँको माग सम्बन्धमा एकपटक कुराकानी गरी हेर्छु । तपार्इँको कुरा सही हो भन्ने त तपार्इँ र तपार्इँको आमालाई सम्पत्ति लिन पाउने कानुन र नैसर्गिक अधिकार छ । तर, सम्पत्ति नलिई यत्रो तीस वर्षसम्म किन बस्नुभएको ? तीस वर्षसम्म माइतीमा कसरी बस्नुभयो ।” त्यत्ति भनेर मैले कृष्णराम सुवाललाई मोबाइलमा कल गरेँ र वडामा बोलाएँ । उहाँ तुरून्तै वडामा आउनुभयो । वडा कार्यालयमा बुबा र छोरीको धेरै वर्षपछि भेटघाट भयो । तर बोलचाल भएन ।
मैले उहाँलाई सोधेँ, “यी बहिनी तपार्इँको छोरी हो ?” उहाँले आफ्नो छोरी भएको स्वीकार गर्नुभयो । मैले फेरि तीन जना श्रीमतीबारे सोधँे । उहाँले भन्नुभयो, “मेरो पहिलो श्रीमती विवाह गरेको केही वर्षमा नै कालगतिले मरिन् । त्यसपछि मैले यी नानीको आमासँग प्रेम विवाह गरेको थिएँ । तर, तिनी गतिलो आईमाई थिइनन् । मैले उनलाई घरबाट निकालिदिएँ । तिनीबाट तीन छोरीहरू छन् । त्यसपछि घरमा अहिले अर्को श्रीमती र तिनको तर्फबाट एक छोरी छिन् । तिनलाई तपार्इँले नै कलेजमा भर्ना गर्न सहयोग गर्नुभएको थियो । अहिले तिनी कलेज पढ्दै छिन् ।” त्यसपछि मैले भनँे, “तपार्इँको श्रीमती भएपछि श्रीमतीलाई सम्पत्ति दिनुप¥यो । नभए घरमा ल्याएर राख्नुप¥यो । कानुनले दिएको भाग त श्रीमतीलाई दिनुपर्छ दाइ ।”
कृष्णराम दाइले भन्नुभयो, “आजभन्दा बीस वर्ष पहिले नै मैले सम्पत्ति दिएको थिएँ । यस्तो परिस्थिति आउला भनेर त्यसबेलाका वडाध्यक्षको रोहवरमा सात आना जग्गा श्रीमतीको इच्छाअनुसार तीनै जना छोरीको नाममा पास गरिदिएको थिएँ । सम्बन्ध विच्छेद पनि वडाध्यक्षले गरिदिनुभएको थियो । मसँग यसको नेपाली कागज छ । त्यसबेला वडाध्यक्षले आफ्नै रोहबरमा त्यो कागज बनाइदिनुभएको थियो । त्यो कागज त यसकी आमासँग पनि हुनुपर्छ ।”
प्रतिउत्तरमा कृष्णलक्ष्मीले भनिन्, “त्यस्तो केही कागज भएको मलाई आमाले भन्नुभएको छैन । हामीलाई सम्पत्ति दिएको जम्मा सात आना जग्गा हो । तर, त्यत्तिले सम्पत्ति पुग्छ र ? आमाको सम्बन्ध विच्छेद पनि भएको छैन । त्यसैले नियमले पाउने सम्पत्ति चाहिन्छ ।”
दुवै जनाको कुरा सुनेपछि मैले भनँे, “सात आना जग्गा लिए दिएकोमा विवाद भएन । सम्बन्ध विच्छेद भनेको वडामा हुनसक्दैन र वडाध्यक्षलाई सम्बन्ध विच्छेद गरिदिने अधिकार छैन । तर, वडाध्यक्षको रोहबरमा कुनै सहमतिको कागज भए त्यसैलाई आधार लिएर आगामी दिनमा कुराकानी गर्न सकिन्छ । त्यसैले कागज छ भनी दाबी लिने कृष्णराम दाइले एक हप्ताभित्र लिएर आउनुहोला । थप सम्पत्ति नै चाहिएको हो भने आमालाई वडामा लिएर आउनुहोला । आजलाई छलफल यहीँ स्थगित गर्छु । मेरो अर्को बैठक भएको हुँदा केही दिनपछि भेटौँला ।” त्यसपछि उनीहरू तीनै जना वडाबाट बिदावारी भए ।
भोलिपल्ट कृष्णराम दाइ बीस वर्ष पहिलेको कागज लिएर आउनुभयो । तत्कालीन मनोनीत वडाध्यक्षले गरिदिएको कागज लिएर आउनुभएको रहेछ । मैले कागज पढेर हेरेँ । वडाध्यक्षको कागजमा कहीँ पनि नाम लेखेको रहेनछ । सम्बन्ध विच्छेदको केही पनि उल्लेख भएको थिएन । मात्र सात आना जग्गा छोराछोरीलाई पास गरिदिएको कागज रहेछ । मैले कृष्णराम दाइलाई कागज पढेर सुनाएँ । तर, उहाँले त्यो कागज सम्बन्धविच्छेदकै कागज भएको जिकिर लिइरहनुभयो । मैले कागज वकिललाई देखाउनलाई अनुरोध गरेँ । वडाध्यक्षले वडा कार्यालयमा सम्बन्ध विच्छेद गराउने अधिकार नभएको पनि जानकारी गराएँ । मेरो कुरा सुने पनि उनी धेरै निरास देखिए । नियमले पाउने सम्पत्ति दिनुपर्ने कुरा पनि भनँे । मेरो थप कुराले उहाँको मन खिन्न भएको अनुहारमा देखेँ । तत्कालीन मनोनीत वडाध्यक्षले आफूलाई धोका दिएको र झूट कुरा गरेको भनी उहाँले बिलौना गर्न थाल्नुभयो । उनको अनुहार निकै कालो निलो देखियो । मैले घरमा छोरा छोरी र श्रीमतीसँग छलफल गर्न अनुरोध गर्दै घर पठाई दिएँ । उहाँ गएको लगत्तै कृष्णलक्ष्मीको कल आयो । उहाँले त्यस्तो कागजमा आमाले हस्ताक्षर नगरेको बताउनुभयो । तर, मैले बुबासँग भर्खर भेट भएको र आमाले सम्बन्ध विच्छेद नगरे पनि सात आना जग्गा लिएको कागज भएको र त्यसमा आमाको औँठा छाप भएको जानकारी दिएँ । लगत्तै उनी कागजको फोटोकपी हेर्न वडामा आइन् । मैले कृष्णलक्ष्मीलाई फोटोकपी दिएर पठाएँ ।
त्यसपछिको दिनमा कृष्णराम, उनको छोरा छोरी अनि यता कृष्णलक्ष्मी र आमा वडामा आउने क्रम सुरु भयो । दुवै पक्षबिच थप सम्पत्ति लिनेदिने विषयमा धेरै पटक छलफल भयो । मैले पनि थप केही भए पनि सम्पत्ति दिनुपर्ने सल्लाह दिएँ । कृष्णलक्ष्मीले घरको सम्पत्ति विवरण वडामा बुझाउनुभयो । नयाँ थप सम्पत्तिको पनि विवरण दिदँै उनले अदालत जानु परे नयाँ सम्पत्तिमा पनि दाबी गर्ने भनी धम्काउन थालिन् । उता कृष्णराम, छोरा र छोरी निकै सशङ्कित देखिए । अदालत गएपछि धेरै समय लाग्ने, वकालतको खर्च धेरै आउने र झन्झटिलो धेरै हुने हुँदा दुवै पक्षले वडामै मिलाउने अनुरोध गर्न थाले । त्यसपछि अधिवक्तासँग आवश्यक छलफलपश्चात् थप न्यायोचित रकम आमालाई दिने सहमति गरियो । त्यही सहमतिअनुसार अधिवक्ताको रोहवरमा लेनदेन गर्ने र त्यस सँगसँगै अदालतमा आपसी मिलेमतोमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरी कानुनीरूपमा पनि छुटिने सहमति भयो । त्यस सहमतिमा करिब तीन महिनापछि अदालती प्रक्रियाले सम्बन्ध विच्छेद भएको र सहमतिअनुसार लेनदेन भएको दुवै पक्षले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *