भर्खरै :

चीन र क्यानडाबिच करदेखि र भिसासम्मका लागि ऐतिहासिक सहमति

चीन र क्यानडाबिच करदेखि र भिसासम्मका लागि ऐतिहासिक सहमति

पेइचिङ, २ माघ (एएफपी) । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच शुक्रबार पेइचिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ ।
क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गर्नुभएको छ ।
सम्झौताले वर्षौँदेखिको कूटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका उत्पादनहरूमा आक्रामक रूपमा करवृद्धि गरेपछि कार्नीले आफ्नो देशको प्रमुख आर्थिक साझेदार र परम्परागत सहयोगी अमेरिकामाथिको निर्भरता कम गर्न खोजेका छन् ।
“क्यानडा र चीनबिच व्यापार अवरोध हटाउन र करवृद्धि घटाउने प्रारम्भिक तर ऐतिहासिक व्यापार सम्झौता भएको छ,” राष्ट्रपति सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा कार्नीले बताउनुभयो ।
सम्झौताअन्तर्गत क्यानोलाको बीउको लागि क्यानाडाको सबैभन्दा ठुलो बजार चीनमा मार्च १ सम्ममा क्यानोला उत्पादनहरूमा कर घटाएर एक देखि १५ प्रतिशतसम्ममा झार्ने अपेक्षा गरिएको छ । यो हाल ८४ प्रतिशतको हाराहारीमा रहेको छ ।
सम्झौताअनुसार चीनले क्यानडेली आगन्तुकहरूलाई बिनाभिसा प्रवेश गर्न अनुमति दिनेछ ।
यसको बदलामा, क्यानाडाले ६.१ प्रतिशतको नयाँ प्राथमिकताको करमा ४९ हजार चिनियाँ विद्युतीय सवारी साधन (इभी) आयात गर्नेछ ।
“यो भर्खरको व्यापार तनावभन्दा पहिले अवस्थित स्तरमा फर्कनु हो,” कार्नीले इभी सम्झौताको बारेमा भन्नुभयो ।
‘ग्रेट हल अफ द पिपुल’मा प्रधानमन्त्री कार्नीलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “गत अक्टोबरमा एपेक शिखर सम्मेलनको अवसरमा दुई देशका नेताबिचको भेटवार्तापछि चीन र क्यानडाको सम्बन्ध नयाँ महत्वपूर्ण मोडमा पुगेको थियो ।
राष्ट्रपति सीले क्यानडेली नेतासँग भन्नुभयो, “गत वर्षको हाम्रो बैठकले चीन–क्यानडा सम्बन्धलाई सुधारतर्फ मोड्ने नयाँ अध्याय सुरू गरेको छ ।”
उहाँले थप्नुभयो, “चीन–क्यानडा सम्बन्धको स्वस्थ र स्थिर विकासले हाम्रा दुई देशको साझा हितलाई पूरा गरेको छ ।” सहयोग पुनस्र्थापना गर्न पछिल्ला केही महिनादेखि भएको छलफलबाट आफूखुसी रहेको उहाँको भनाइ थियो ।
सन् २०१८ मा अमेरिकी पक्राउ पुर्जी आदेशपछि क्यानडाले हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा चीनले दुई क्यानेडियालीलाई पक्राउ गरेपछि दुई देशबिचको सम्बन्ध चिसिएको थियो ।
क्यानडाका प्रधानमन्त्री कार्नीले आफू निर्वाचित भएसँगै चीनसँगको सम्बन्ध सुधारमा पहल गरेको देखिन्छ भने पेइचिङले पनि सम्बन्धलाई ‘सही बाटोमा’ ल्याउन इच्छुक रहेको बताएको छ ।
बिहीबार प्रधानमन्त्री ली चियाङसँग भेट गरेका क्यानडाका नेताले व्यापारका विषयमा छलफल गर्न व्यापारिक प्रतिनिधिहरूसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको छ ।
परम्परागत रूपमा अमेरिकाको कट्टर सहयोगी क्यानडामा विशेषगरी ट्रम्पले स्टिल, आल्मुनियम, सवारी साधन र काठमा लगाएको करवृद्धिका कारण नराम्रो आर्थिक प्रभाव परेको छ । अमेरिकी नीतिका कारण क्यानडाको चीनतिरको झुकाब एकाएक बढेको छ ।
वाशिङटनको कदमले क्यानाडालाई अन्यत्र व्यवसाय खोज्न प्रेरित गरेको छ ।
अक्टोबरमा कार्नीले अमेरिकामाथिको निर्भरता कम गर्न क्यानडाले सन् २०३५ सम्ममा आफ्नो गैरअमेरिकी निर्यातलाई दोब्बर बनाउनुपर्ने बताउनुभएको थियो ।
क्यानाडा सरकारको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिका क्यानडाको सबैभन्दा ठुलो बजार रहेको छ, जसले सन् २०२४ मा लगभग ७५ प्रतिशत क्यानेडियाली सामानहरू खरिद गरेको थियो ।
चीन क्यानाडाको लागि दोस्रो ठुलो बजार हो । सन् २०२४ मा क्यानाडाको निर्यातको चार प्रतिशतभन्दा कम सामान चीनले खरिद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *