भर्खरै :

भेनेजुयला : तेलभन्दा पर पनि केही छ

  • माघ ४, २०८२
  • डेनियल चाभेज
  • विचार
भेनेजुयला : तेलभन्दा पर पनि केही छ

विश्वभरि हुने युद्धविरोधी जनप्रदर्शनहरूमा ‘तेलको लागि रगत बगाउन पाइँदैन’ भन्ने नारा दशकौँदेखि गुञ्जिँदै आएको छ । यो नारा आफैमा पुँजीवाद र साम्राज्यवादविरुद्ध एउटा सशक्त मनोभावको अभिव्यक्ति हो । त्यो भाव के भने, शक्तिशाली देशहरूले अरुको स्रोतसाधनमाथि नियन्त्रण जमाउन युद्ध गर्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मदुरोलाई अपहरण गर्नु पनि यही कोटीको कर्तुत हो । तर, भेनेजुयलाको अवस्थाले प्राकृतिक स्रोतसाधनको लुटपाट सजिलो नहुने बरु झन् पेचिलो हुने देखाउँछ । यो प्रक्रिया बुझ्न २० औँ शताब्दीमा बनेको उपनिवेशवादसम्बन्धी भाष्त्न्दा अलि पर गएर सोच्नुपर्ने हुन्छ किनभने विश्व राजनीति र अर्थनीतिबारे वामपन्थीहरूको विश्लेषणमा यही भाष्यको वर्चस्व छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रहस्यबाट पर्दा हटाए । एक टेलिभिजनसँग कुराकानी गर्दै उनले भने, “हामी भेनेजुयलाको तेल उद्योगलाई संरा अमेरिकाका विरोधीहरूको नियन्त्रणमा जान दिन्नौँ ।” उनले विरोधीहरूको नामै किटे – चीन, रुस र इरान । उनले अड्डी कसे, “पश्चिमा गोलाद्र्ध हाम्रो हो ।” यो भूराजनीतिक प्रभुत्वको भाषा हो । भेनेजुयला अर्थपूर्ण देश हो किनभने ल्याटिन अमेरिकामा यो अहिले चीनको ‘सर्वकालीन रणनीतिक साझेदार’ बनेको छ । यो पदावलीलाई वासिङटनले आफ्नो क्षेत्रीय प्राधिकारमाथिको चुनौती ठान्न पुगेको छ । सन् २००० यता चीनले भेनेजुयलालाई झन्डै १०६ अर्ब डलर ऋण लिइसकेको छ । यसरी चीनबाट सबैभन्दा बढी आधिकारिक ऋण लिने देशमा भेनेजुयला चौथो स्थानमा छ । यो वित्तीय सम्बन्ध र यो भेगमा चीनको प्रभाव बढ्दो छ । भेनेजुयलामा आक्रमण गरेर अमेरिकाले यही सम्बन्ध र प्रभावलाई तारो बनाएको हो । कुरो तेलमा मात्र सीमित छैन ।
भेनेजुयलाको कच्चा तेलले अवस्थाले दोहनको सरल भाष्यलाई थप पेचिलो बनाइदिन्छ । भेनेजुयलाको ३०० अर्ब ब्यारल तेल भण्डार अलि भारी खालको छ । त्यसमा बिटुमस र सल्फर बढी छ† तेल बाक्लो छ । यसकारण, यो तेल उत्खनन र प्रशोधन गर्न असाध्यै महँगो पर्न आउँछ । यसप्रकारको तेल प्रशोधन गर्न विश्वका प्रमुख तेल कम्पनीहरूले अमेरिकाका तटवर्ती क्षेत्रमा निकै उन्नत प्रशोधन केन्द्रहरू बनाएका छन् । तर, वास्तविकता हेर्दा दीर्घकालमा ती केन्द्रहरूको अर्थशास्त्र निकै कठोर देखिन्छ । सन् २००५–२०१४ मा इन्धनको मूल्य एकाएक अकासियो । यसले गर्दा भेनेजुयला आशावादी बनेको थियो र औपचारिक कागजातमा आफ्नो तेल भण्डारको बढाइचढाइ गरेको थियो । तर, स्थिति अहिले खस्किसकेको छ । आज अल्पलगानी र पजनीहरूले गर्दा यो संस्थागत क्षमतामा ह्रास आएको छ । यो क्षमताको पुनः संरचना गर्न १६ वर्षभित्र १८५ अर्ब डलर चाहिन्छ र चाहिन्छ अन्तर्राष्ट्रिय पुँजीको विश्वास । अहिलेको सङ्क्रमण जतिसुकै व्यवस्थित भए पनि यस्तो लगानी र विश्वास सम्भव देखिन्न ।
एक्जोनमोबिल र कोनोकोफिलिप्स जस्ता तेल कम्पनीहरूले गरेका कानुनी दाबीहरूलाई अब वासिङटनले हतियार बनाउने देखिन्छ । यसले झन् बढी कानुनी र वित्तीय जटिलता थपिने सम्भावना छ । यी मुद्दामा ४५ अर्ब डलर क्षतिपूर्ति माग गरिएको छ । सन् २००० तिर गरिएको करार संशोधनले गर्दा त्यो क्षति पुगेको दाबी छ । तर, अमेरिकी संसद्ले अनुमोदन गरेका सर्तहरूमा भेनेजुयलाको सार्वभौम अधिकारलाई प्रस्ट भाषामा सुरक्षित गरिएको थियो । तसर्थ, ती बहुराष्ट्रिय कम्पनीहरूलाई (भेनेजुयलाले) क्षतिपूर्ति दिनुपर्ने कानुनी आधार छैन । ट्रम्पले यही विषयलाई ‘अमेरिकी तेल चोरी भएको’ भने । उनले एकाध कम्पनीको निजी घाटाको सट्टाभर्नालाई राज्यको नीति नै बनाए ।
आपूर्तिमा विचलन ल्याउनु नै अमेरिकाको मुख्य ध्येय हो । चीनलाई घाटाप्रद सर्तमा मात्र वैकल्पिक स्रोतसाधनका लागि प्रतिस्पर्धा गर्न बाध्य पार्नु नै अमेरिकाको अभीष्ट देखिन्छ । हाल भेनेजुयलाले चीनलाई प्रतिदिन करिब ६ लाख ब्यारेल तेल निर्यात गर्दै आएको छ । सन् १९९० को दशकको अन्त्यतिर अमेरिकी प्रशोधन केन्द्रहरूले दैनिक २० लाख ब्यारेल तेल खपत गर्थे । अझै पनि चीनको कूल इन्धन खपतमा भेनेजुयलाको कच्चा तेलले पुगनपुग ४ प्रतिशत ओगट्छ । आपूर्ति चक्रमा विचलन आए चीनले अझ महँगोमा अन्यत्रबाट कच्चा तेल लिनुपर्ने बाध्यता आइलाग्नेछ । औद्योगिक प्रतिस्पर्धामा अब्बल निस्किन अमेरिका र चीनबिच सस्तो ऊर्जाको लागि हुने हानथाप चर्किँदै जाँदा चीनको त्यो बाध्यता पनि चुलिँदै जानेछ । यहाँनिर ट्रम्पको खेल यस्तो छ – भेनेजुयलाको धन उत्खनन नगर्ने तर त्यो धन आफ्नो सामरिक प्रतिद्वन्द्वीको पहुँचमा जानबाट रोक्ने† साथमा अमेरिकी प्रशोधन केन्द्रहरूलाई राजनीतिक रूपमा बफादार देशहरूमा केन्द्रित गर्ने, जसले गर्दा यो विशाल उद्योगतन्त्रले ३० लाख रोजगारी दिन सक्नेछ र तीमध्ये ८० हजारले प्रत्यक्ष रोजगारी पाउन सक्नेछन् । प्रशोधन क्षेत्र नै अमेरिकी उद्योगहरूमध्ये सबैभन्दा बढी रोजगारी दिने क्षेत्र हो । प्रत्येक प्रशोधन केन्द्रले दिने एक प्रत्यक्ष रोजगारीले थप ४५ जनालाई रोजगारी दिने सामथ्र्य राख्छ ।
साम्राज्यवादविरोधी पुरानो आलोचनाले केही हदसम्म यथार्थ चित्रण त गर्छ । तर, त्यो चित्रण सग्लो होइन । स्रोतसाधनभोगी साम्राज्यवाद विगतको स्मृति मात्र नभई विश्व पुँजीवादको सतत चरित्र रहँदै आएको छ । तथापि, भेनेजुयलाको समकालीन हविगतको मूल कारण स्रोतसाधनको भोक भन्दा पनि विभाजित बहुध्रुवीय व्यवस्थाभित्रको भूराजनीतिक निर्भरता हो । यो व्यवस्थामा प्राकृतिक संसाधनको दोहनभन्दा ती संसाधनमाथिको नियन्त्रण बढी महत्वपूर्ण हुन्छ । वित्ततन्त्रबाट प्रतिस्पर्धा गर्न नसकेपछि प्रभुत्ववादी राष्ट्रले प्रत्यक्ष सैन्य करकापको सहारा लिन्छ । यस्तो खाले हिंसाबाटै गोलाद्र्धमाथिको प्राधिकारजस्ता दाबीहरू जन्मिन्छन् । यसरी राष्ट्रिय धनमाथि पुनः दाबी गर्दै साम्राज्यवादले आफूलाई परिस्थितिअनुसार ढाल्दै छ । विलोप हुनुको साटो यसले आफूलाई नयाँ परिस्थितिमा अनुकूलन गर्दै छ । यो कुरा बुझ्न सामरिक प्रतिस्पर्धा, वित्तीय सहुलियत र संस्थागत विघटनको मिलनबिन्दुको विश्लेषण गर्नुपर्ने हुन्छ । यसलाई रगत र तेलको खेल मात्र मान्न सकिन्न ।
भेनेजुयलामाथि आक्रमण गरेर वासिङटनले सिधा सन्देश दिएको छ – पश्चिमा गोलाद्र्ध हाम्रो इलाका हो† प्रतिद्वन्द्वीहरूले यहाँ पाइला टेके मूल्य चुकाउनुपर्नेछ र अर्थतन्त्रभन्दा महत्वपूर्ण प्राधिकार हो । तर, त्यो सन्देश दिन बमबारी र अपहरणको सहारा लिनुपर्ने तथ्यबाट वासिङटनको कच्चा नीति नै उदाङ्गो हुन्छ ।
(डेनियल चाभेज उरुग्वे देशका राजनीतिक अर्थशास्त्रका विज्ञ हुन् । उनी प्राध्यापन एवम् अध्ययन अनुसन्धानमा आबद्ध छन् । उनी आबद्ध संस्थाहरूले दक्षिणी गोलाद्र्धका पेट्रोलियमनिर्भर देशहरूको भविष्यबारे अध्ययन गर्दै आएका छन् ।
स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *