यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन्दर्भ : प्याट्रिस लुमुम्बा स्मृति दिवस (जनवरी १७)
लुमुम्बा र युरेनियमः खनिज राजनीतिमा साम्राज्यको खेल
कङ्गोमा खनिज पदार्थहरूको प्रचुरता थियो । अझ त्यसमाथि कङ्गोमा युरेनियमको ठुलो खानी थियो । सन् १९१५ मा कङ्गोको कटाङ्गा प्रान्तमा रहेको शिंकोलोवे खानीमा युरेनियम रहेको पत्ता लागेको थियो । तर, त्यसबेला यो खनिजको कुनै उपयोगिता थिएन । १९३८ मा जर्मनीका वैज्ञानिकहरू अटो हानले आणविक विखण्डन (Nuclear fission) को अवधारणा विकास गरेपछि युरेनियमको महत्व अचानक बढ्यो । अमेरिकाले १९४२ मा परमाणु बम बनाउन म्यानह्याटन प्रोजेक्ट सुरु गरेपछि कङ्गोको शिंकोलोवे खानीको युरेनियम प्रयोगमा ल्याइयो ।
अमेरिका र क्यानडामा युरेनियम खानी नभएका होइनन् । तर, कङ्गोको कच्चा युरेनियममा ६६ प्रतिशत युरेनियम अक्साइड हुन्छ भने अमेरिकी र क्यानाडाली युरेनियममा १ प्रतिशतभन्दा कममात्र हुन्छ । अमेरिकाले त्यसबेला कङ्गोबाट करिब ३७०० टन युरेनियम गोप्य रूपमा लगेको थियो । दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बममा कङ्गोको युरेनियम प्रयोग गरिएको थियो । तसर्थ, अमेरिका कुनै हालतमा कङ्गोमा रहेको युरेनियममा सोभियत सङ्घको हात पुगोस् भन्ने चाहँदैनथ्यो । त्यसका लागि पनि अमेरिका कङ्गोमा आफ्नो कठपुतली शासक चाहन्थ्यो – प्याट्रिस लुमुम्बाजस्तो राष्ट्रवादी र प्रगतिशील व्यक्ति होइन ।
अमेरिकी आदेश, सीआईएको षड्यन्त्र र लुमुम्बाको पतन
प्याट्रिस लुमुम्बा सुरुदेखि नै अमेरिकाको आँखामा काँडाझैँ बनेका थिए । उनी अमेरिकाको नजरमा खतरनाक माक्र्सवादी ठहरिएका थिए । अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख एलन डलसले भनेका थिए, “हामीले त्यस्तो व्यक्तिको सामना गरिरहेका छौँ जो फिडेल क्यास्ट्रोभन्दा पनि खराब छन् ।” त्यस्तै, अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले भनेका थिए, “म आशा गर्दछु कि लुमुम्बा गोहीले भरिएको नदीमा खसून् ।” आइजनहावरले लुमुम्बालाई अपदस्थ गर्न आदेश दिए ।
कङ्गोमा रहेको सीआईएले पनि लुमुम्बाविरुद्ध कारबाही थाल्यो । उनलाई मार्नका लागि टुथपेस्टमा विष हाल्ने योजनासमेत सीआईएले बनाएको थियो ।
सो आदेशअनुसार सीआईएका प्रमुख एलन डलसले कङ्गोमा तैनाथ आफ्ना स्टेसन प्रमुखलाई निर्देशन दिए, “लुमुम्बालाई हटाउनु हाम्रो जरूरी र प्रमुख उद्देश्य हुनुपर्छ ।” कङ्गोमा रहेको सीआईएले पनि लुमुम्बाविरुद्ध कारबाही थाल्यो । उनलाई मार्नका लागि टुथपेस्टमा विष हाल्ने योजनासमेत सीआईएले बनाएको थियो । लुमुम्बालाई मार्ने षड्यन्त्रमा सीआईए मात्र संलग्न थिएन । बेलायतको गुप्तचर निकाय एमआई–६ र बेल्जियमले पनि त्यसमा सहयोग गरेका थिए ।
प्रधानमन्त्रीबाट अपदस्थ र नजरबन्द
५ सेप्टेम्बर १९६० मा अमेरिकी र बेल्जियनहरूको प्रत्यक्ष तथा परोक्ष आदेशमा राष्ट्रपति कासाभुवुले लुमुम्बालाई प्रधानमन्त्री पदबाट बर्खास्त गरे । उनले लुमुम्बामाथि कसाई विद्रोह दबाउने क्रममा नरसंहार मच्चाएको र सोभियत सङ्घलाई कङ्गोमा सहभागी गराएको आरोप लगाएका थिए । लुमुम्बाले यो कदम कङ्गोको संविधानविपरीत भएको भन्दै उल्टै राष्ट्रपतिलाई नै बर्खास्त गरिदिए । कङ्गोमा दुईवटा समानान्तर सरकार काम गर्न थाले । त्यसबेला कङ्गोका सेनाप्रमुख जोसेफ मोबुतुले राष्ट्रपतिलाई समर्थन जनाउँदै लुमुम्बालाई घरमै नजरबन्द गरे ।
गिरफ्तारी, यातना र अन्ततः हत्या
२७ नोभेम्बरमा लुमुम्बा आफ्नो परिवारसहित नजरबन्दबाट भागेर आफ्ना समर्थकहरूको सबैभन्दा बलियो गढ स्ट्यान्लिभिलतर्फ जाने कोसिस गरे । तर, बाटैमा मोबुतुको सेनाको कब्जामा परे । उनलाई अपमानित गर्दै र यातना दिँदै अर्को दिन राजधानी ल्याइयो । डिसेम्बर ३ मा लुमुम्बा र उनका दुई सहयोगीहरू – मोरिस एमपोलो र जोसेफ ओकिटो – लाई राजधानीभन्दा करिब १५० किलोमिटर टाढा रहेको सैनिक ब्यारेकमा बन्धक बनाएर राखियो । जनवरी १३ मा त्यहाँ रहेका सैनिकहरूले तलबको माग गर्दै विद्रोह गरे । राष्ट्रपति र सेनाप्रमुख स्वयं आएर सो विद्रोहलाई वार्तामार्फत समाधान गरे । लुमुम्बालाई त्यहाँ राख्नु खतरा हुन सक्ने ठानिँदै बेल्जियमको उपनिवेशसम्बन्धी मन्त्रीले विद्रोही नियन्त्रित कटाङ्गा प्रान्तमा लाने आदेश दिए ।
शवमाथिको अमानवीय व्यवहार र रहस्योद्घाटन
प्लेनमा चढाएर लुमुम्बा र उनका साथीहरूलाई पिट्दै कटाङ्गाको राजधानी एलिजाबेथभिलको एयरपोर्टमा पु¥याइयो । त्यहाँ पुगेपछि उनलाई कटाङ्गाका अफिसरहरूले चरम यातना दिए । त्यसै रात, लुमुम्बा र उनका दुई साथीहरूलाई बेल्जियमका सैनिक अफिसरको देखरेखमा गोली हानी हत्या गरियो । हत्या गरेपछि लुमुम्बाको शवलाई माटो खोस्रेर कम गहिरो खाल्डो खनी गाडियो । त्यो खाल्डोबाट तीनै जना मृतकका खुट्टाहरू बाहिरै निस्किरहेको थियो । केही दिनपछि बेल्जियन पुलिस सुपरिटेन्डेन्ट गेरार्ड सोइटले त्यो चिहानबाट लुमुम्बाको शव निकालेर शवहरूलाई टुक्रा टुक्रा पारेर काटे । शवका टुक्राहरूलाई सल्फ्युरिक एसिडको ड्रममा हालेर गलाए । प्याट्रिस लुमुम्बा जम्मा ३६ वर्षका मात्र थिए ।
बेल्जियन पुलिस सुपरिटेन्डेन्ट गेरार्ड सोइटले घटना घटेको करिब ४० वर्षपछि, सन् २००० मा, यो रहस्य खोलेका थिए । उनका अनुसार उनले लुमुम्बाका दुईवटा दाँतहरू निकालेर आफूसँग राखेका थिए, जसमध्ये एउटा दाँत सुनले मोरिएको थियो । लुमुम्बाको मृत्युको कुरा धेरै दिनसम्म लुकाएर राखियो । उनको मृत्यु भएको तीन हप्ता पछि मात्र कटाङ्गा रेडियोले लुमुम्बा जेलबाट भाग्ने क्रममा गाउँलेहरूले कुटेर मारेको भनी जानकारी दियो । विश्वका धेरै ठाउँमा लुमुम्बाको हत्याको विरोधमा प्रदर्शन गरियो ।
शिम्बा विद्रोह : लुमुम्बाको विचारको पुनरागमन
लुमुम्बाको मृत्युपछि उनका समर्थकहरूले विद्रोह सुरु गरे । लुमुम्बा समर्थकहरूको विद्रोहलाई शिम्बा विद्रोह भनियो । स्वाहिली भाषामा शिम्बाको अर्थ हुन्छ सिंह । सन् १९६३ बाट शिम्बा विद्रोह सुरु भयो । सन् १९६३ को अक्टोबरमा नेसनल लिबरेसन काउन्सिलको गठन भयो, जसका नेता थिए क्रिस्टोफर गिबेने, ग्यास्टोन सौमियालोट र लरेन्ट कविला आदि । शिम्बाहरूलाई सोभियत सङ्घ, पूर्वी युरोपका देशहरू र चीनले समर्थन गरेका थिए । उता, अर्का लुमुम्बा समर्थक नेता पिएरे मुलेले पनि चीनबाट तालिम लिएर फर्केपछि कुइलु प्रान्तमा विद्रोह सुरु गरे ।
शिम्बाहरूले चाँडै नै पूर्वी कङ्गोको अधिकांश भूभागहरू कब्जा गरे । १९६४ मा शिम्बाहरूले स्ट्यान्लिभिल कब्जा गरेर जनवादी गणतन्त्र कङ्गोको घोषणा गरे । शिम्बाहरूको यो अप्रत्याशित सफलताबाट आत्तिएर राष्ट्रपति कासावुबुले कटाङ्गा प्रान्तका विद्रोही नेता मोसे शोम्बेलाई प्रधानमन्त्री नियुक्त गरे । शोम्बेले कटाङ्गाका बेल्जियम सेनाले प्रशिक्षण दिएका पूर्वविद्रोहीहरूलाई सरकारको तर्फबाट लड्न उतारे । त्यस्तै, दक्षिण अफ्रिका र क्युवाका कम्युनिस्टविरोधी लडाकुहरूलाई भाडाका सैनिकको रूपमा ल्याए । अमेरिका र बेल्जियमले पनि शिम्बाविरुद्ध हवाई सेना प्रयोग गर्न थाले । विस्तारै शिम्बा विद्रोहीहरू पराजित हुन थाले ।
चे ग्वेभाराको कङ्गो यात्रा : क्रान्तिको निराशा
शिम्बाहरूलाई तालिम दिन सन् १९६५ को अप्रिल महिनामा १०० जना क्युवालीहरूको समूहको नेतृत्व गर्दै प्रख्यात क्रान्तिकारी चे ग्वेभारा आफैँ कङ्गो पुगे । उनको टोलीले शिम्बाहरूलाई युद्धकलासम्बन्धी तालिम दिन थाल्यो । तर, चे कङ्गोलीहरूको लड्ने क्षमता र विद्रोही नेताहरूको व्यवहारबाट चाँडै नै आजित हुन थाले । उनका अनुसार विद्रोहीहरूमा अनुशासनहिनता थियो ।
त्यस्तै, उनीहरूका नेताहरूमध्ये लरेन्ट कविलामा मात्र नेता बन्ने क्षमता थियो । तर, कविलामा पनि क्रान्तिकारी गम्भीरताको ठुलो अभाव थियो । उनमा समय निष्ठताको अभाव थियो – भनिएको समयमा कहिल्यै आइपुग्दैनथे । कविला अग्रमोर्चामा बसेर लड्नेभन्दा पनि तान्जानियामा बसेर वक्तव्यबाजी गर्न र रक्सी भट्टी र वेश्यालयमा समय बिताउन रुचाउँथे ।
चेले कङ्गोली विद्रोहीहरूमाझ एक केन्द्रीय गुरिल्ला तालिम केन्द्र स्थापना गर्ने र एउटा अनुशासित गुरिल्ला सेना तयार पार्ने प्रयास गरे । तर, कङ्गोलीहरूबाट आवश्यक सहयोग प्राप्त नभएपछि यो योजना सफल हुन सकेन । ७ महिनासम्म कङ्गोमा बसेपछि, त्यहाँ क्रान्तिको कुनै सम्भावना नदेखेर चे त्यहाँबाट फर्किए । चेको कङ्गो डायरीमा लेखिएको पहिलो वाक्य थियो, “यो एक असफलताको कथा हो ।” यही एउटा वाक्यले चेको कङ्गो अभियानको सारा वृत्तान्त बताउँछ ।
मोबुतुको अधिनायकवाद र भ्रष्टाचारको कालो युग
शिम्बा विद्रोहीहरूलाई पराजित गरेपछि, सन् १९६५ मा मोबुतुले राष्ट्रपति कासभुवु र प्रधानमन्त्री सोम्बेलाई सैनिक विद्रोहमार्फत अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिए । उनले कङ्गोको नाम बदलेर जायर राखे । जायरमा उनले ३० वर्षभन्दा बढी शासन गरे । आफूलाई कम्युनिस्टविरोधी भएको दाबी गर्दै उनले अमेरिका र युरोपेली देशहरूको खुला सहयोग र समर्थनमा जायरमा निर्धक्क शासन गरे । मोबुतु भ्रष्टाचारका लागि कुख्यात थिए । उनले देशमा केही पनि बाँकी नराखी पूरै लुटेका थिए । उनको सम्पत्ति ५ बिलियन डलर जति रहेको अनुमान गरिन्छ, जून जायरको कुल वैदेशिक ऋण बराबर थियो ।
रुवान्डा नरसंहार, कविलाको उदय र नयाँ सङ्घर्ष
सन् १९९४ मा रुवान्डामा ठुलो नरसंहार भएको थियो, जसमा हुतु समुदायका लडाकुहरूले करिब १० लाख तुत्सी र उदारवादी हुतुहरूलाई मारेका थिए । गृहयुद्धमा पराजित भएपछि हुतु विद्रोहीहरू जायरमा लुकेर बसेका थिए । उनीहरूले जायरमा बसेर रुवान्डाको तुत्सी सरकारविरुद्ध सैन्य कारबाही गर्न थालेका थिए ।
रुवान्डा सरकारले ती हुतु विद्रोहीहरूलाई नियन्त्रण गर्न र शरणार्थीहरूलाई आफ्नो सीमाभन्दा पर राख्न अनुरोध गर्दा मोबुतु सरकारले अनिच्छा देखायो । त्यसपछि रुवान्डाले लरेन्ट कविलाको नेतृत्वमा ‘एलाइन्स फर डेमोक्रेटिक फोर्स फर लिबरेसन अफ कङ्गो’ (AFDL) गठन ग¥यो । लरेन्ट कविला तिनै व्यक्ति थिए, जसलाई चे ग्वेभाराले ३५ वर्ष अघि राजनीतिक सम्भावना भएको व्यक्तिको रूपमा पहिचान गरेका थिए । रुवान्डाले हातहतियार र तालिम उपलब्ध गराएर यो समूहलाई सहयोग ग¥यो । १९९७ को मध्यसम्ममा एफडिएलले सहजै मोबुतुको सेनालाई पराजित ग¥यो । शान्ति वार्ता विफल भएपछि १६ मईमा मोबुतु देश छोडेर भागे । १७ मईमा आफ्नो गढ लुमुम्बासीमा कविलाले जितको घोषणा गरे । साथै, जायरको नाम परिवर्तन गरेर फेरि कङ्गो राखिएको घोषणा गरे । केही दिनपछि राजधानी किन्शासामा उनले राष्ट्रपतिको रूपमा सपथग्रहण गरे ।
अफ्रिकी विश्वयुद्ध : महादेशस्तरीय युद्धको आगो
लरेन्ट कविलाबाट सोचेअनुसारको परिणाम प्राप्त नभएपछि रुवान्डाले कङ्गोमा फेरि अर्को विद्रोही समूह सिर्जना ग¥यो, जसको नाम थियो ‘¥याली फर कङ्गोलिज डेमोक्रेसी’ (RCD) । १९९८ मा रुवान्डा, युगान्डा र बुरुण्डीको प्रत्यक्ष र परोक्ष समर्थन पाएको यो समूहले छिट्टै कङ्गोको ठुलो भूभाग कब्जा गर्दै राजधानी किन्शासातर्फ अघि बढ्न थाल्यो ।
कविलाले विद्रोहीहरूको आक्रमणबाट राजधानीलाई जोगाउनका लागि अफ्रिकी देशहरूसँग सहयोग मागे । अङ्गोला, जिम्बाब्वे र नामिबियाका सैनिकहरू कविलाको रक्षार्थ कङ्गोमा आए । पछि सुडान र चाड पनि कविलाको पक्षमा लड्न आए । यसरी करिब ८ वटा अफ्रिकी देशहरू यो युद्धमा सहभागी भएका थिए । यसलाई ‘अफ्रिकी विश्वयुद्ध’ पनि भनिन्थ्यो । मित्र अफ्रिकी देशहरूको सहयोगमा कविलाको सत्ता त जोगियो । तर, १६ जनवरी २००१ मा आफ्नै सैनिकहरूले गोली हानी लरेन्ट कविलाको हत्या गरे । उनका छोरा जोसेफ कविला कङ्गोका राष्ट्रपति बने ।
दक्षिण अफ्रिकाको मध्यस्थतामा २००० मा कङ्गोका युद्धरत पक्षहरूबिच शान्ति सम्झौता भयो । त्यस्तै, दक्षिण अफ्रिकामै २००२ मा कङ्गो र रुवान्डाबिच शान्ति सम्झौता भयो । कङ्गोको यो युद्धमा त्यसबेलासम्म हिंसा, अनिकाल र रोगव्याधिका कारण करिब ५४ लाख मानिसहरूको मृत्यु भएको थियो । अझ, युद्धमा बलात्कारलाई हतियारको रूपमा प्रयोग गरिएको थियो ।
एम–२३ विद्रोह र अमेरिकी स्वार्थ
कङ्गोमा शान्तिको अवधि लामो समयसम्म टिक्न सकेन । २०१२ मा रुवान्डा समर्थित अर्को विद्रोही सङ्गठनले फेरि विद्रोह सुरु ग¥यो । यो समूह थियो एम–२३ । सुरुवातमा केही सफलता पाएको यो समूह २०१३ मा पराजित भयो । तर, फेरि २०२१ देखि कङ्गोमा ठुलो शक्तिशाली
आक्रमणहरू गर्दै आएको छ । २०२५ मा एम–२३ को विद्रोह झन् उग्र बन्दै गयो । यसले कङ्गोका महत्वपूर्ण सहरहरूमा कब्जा गर्न थाल्यो ।
केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्गो र रुवान्डाबिचको लामो द्वन्द्व समाधान गर्ने शान्ति सम्झौता गराए । उनको उपस्थितिमा रुवान्डा र कङ्गोका मन्त्रीहरूले यो सम्झौतामा हस्ताक्षर गरे । त्यो दिन ट्रम्पले एउटा महत्वपूर्ण कुरा भनेका थिए । उनले भनेका थिए – अमेरिकाले यो शान्ति सम्झौताबापत कङ्गोको खनिज पदार्थको ठुलो हिस्सा प्राप्त गर्नेछ ।
कोल्टान र कोबाल्ट : खनिज पदार्थको अभिशाप
कङ्गोमा भइरहेको द्वन्द्वको मूल चुरो पनि यही नै हो । कङ्गो महत्वपूर्ण खनिज पदार्थ कोल्टानको सबैभन्दा ठुलो उत्पादक देश हो । मोबाइल फोन र कम्प्युटरमा कोल्टान अत्यावश्यक हुन्छ ।
त्यस्तै, अर्को महत्वपूर्ण खनिज पदार्थ कोबाल्टको प्रमुख उत्पादक देश पनि कङ्गो नै हो । विश्वमा जति कोबाल्ट उत्पादन हुन्छ, त्यसको दुईतिहाइ हिस्सा कङ्गोको नै हुन्छ ।
सबै इलेक्ट्रोनिक्स सामान, चाहे त्यो मोबाइल फोन होस् या इलेक्ट्रिक गाडी होस्, त्यसमा प्रयोग हुने ब्याट्रीमा कोबाल्ट नभई हुँदैन । यिनै दुर्लभ खनिज पदार्थका कारण कङ्गोमा निरन्तर द्वन्द्व जारी रहेको छ । कङ्गोको प्राकृतिक सम्पदा उसैको लागि अभिशाप बनेको छ । यिनै प्राकृतिक सम्पदाका कारण कङ्गो बेल्जियमका राजा लियोपाल्ड द्वितीयदेखि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको गिद्धे नजरमा परेको छ ।
लुमुम्बाको अन्तिम फिर्ती : मृत्युपछि न्यायको सुरुवात ?
प्याट्रिस लुमुम्बाको मृत्यु भएको करिब ४० वर्षपछि, उनको शवलाई तह लगाउने काममा संलग्न बेल्जियन प्रहरी गेरार्ड सोइटले आफ्नो भूमिकाको बारेमा स्वीकारोक्ति दिए । १९९९ मा एउटा अन्तर्वार्ताको क्रममा उनले आफूले कसरी लुमुम्बाको शव तह लगाएको भन्ने कुरा बताउँदै, उनका दुईवटा दाँत उखेलेर विजयी चिह्नको रूपमा राखेको बताएका थिए । उनले एउटा दाँत पनि देखाए ।
लुमुम्बाको परिवारले उनका दाँत आफूहरूलाई फिर्ता गर्न माग गरेपछि, बेल्जियम सरकारले २०२२ मा फिर्ता ग¥यो । सो समारोहमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डि क्रुले लुमुम्बाको हत्यामा बेल्जियमको संलग्नताका लागि माफी मागे ।
लुमुम्बाको दाँतलाई उनको हत्या भएको ६० वर्षपछि कङ्गोमा राष्ट्रिय सम्मानका साथ विशेष रूपमा बनाइएको समाधिमा समाधिस्थ गरियो ।
आफ्नो हत्या भएको ६० वर्षपछि बल्ल प्याट्रिस लुमुम्बाले अन्तिम विश्राम पाएका छन् । तर, साम्राज्यवाद र नव–उपनिवेशवादको निरन्तर आक्रमणले जर्जर बनेको उनको देश कङ्गोले कहिले यो पीडा र दुःखबाट मुक्ति पाउने हो, थाहा छैन । कङ्गो कहिल्यै निको नहुने घाउझैँ निरन्तर बल्झिरहेकै छ ।
– ‘दायित्वबोध डटकम’ बाट
समाप्त
Leave a Reply