सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
नेपालमा ‘होलि वाइन’ को रूपमा प्रचारित दक्षिण कोरियाली धार्मिक संस्था युनिफिकेसन चर्चले पूर्वप्रधानमन्त्रीहरू– माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीलाई आर्थिक सहयोग उपलब्ध गराई राजनीतिक फाइदा उठाउँदै आएको खुलासा भएको छ ।
कोरियाको युनिफिकेसन चर्चबाट बाहिर आएका पत्रहरूले उक्त धार्मिक संस्था विश्वव्यापी रूपमा राजनीतिक तथा मिडिया प्रभाव खरिद गर्न व्यापक रूपमा संलग्न रहेको तथ्य उजागर गरेका छन् । ती कागजातमा नेपालका राजनीतिक दल र नेतासँग जोडिएका सम्बन्धसमेत उल्लेख छन् ।
कोरियन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिजम् (न्युजटापा) ले प्राप्त गरेका दस्ताबेजहरू विवादास्पद धार्मिक आन्दोलनसँग भएका पत्राचार हुन् । त्यस आन्दोलनकी नेतृ ८२ वर्षीया हाक जा हान अहिले सियोलमा मुद्दा खेपिरहेकी छन् । उनीमाथि बदनाम पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी तथा उनका निकट सहयोगीहरूलाई घुस दिएको आरोप छ ।
अनुसन्धानमा उल्लेख गरिएका पत्र र प्रत्यक्ष सन्देशहरूमा नेपालका तीन पूर्वप्रधानमन्त्रीको नाम उल्लेख छ । तीमध्ये हाल नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका माधवकुमार नेपाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र डा. बाबुराम भट्टराई छन् ।
बाहिरिएका भनिएको दस्तावेजअनुसार युनिफिकेसन चर्च हाल ‘फ्यामिली फेडेरेसन फर वल्र्ड पिस एन्ड युनिफिकेसन’ नामले चिनिने संस्थाले नेपाल परिवार दल र त्यसका संस्थापक एकनाथ ढकाललाई आर्थिक सहयोग गरेको विवरण समेटिएको छ । ढकाल नेकपा एमालेका घनिष्ठ सहयोगी मानिन्छन् । उनले एमाले अध्यक्ष ओलीसँग फागुनमा हुने निर्वाचन तथा त्यसपछिको राजनीतिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालसम्बन्धी बाहिरिएका पत्राचार सन् २०१७ को पहिलो सङ्घीय निर्वाचनदेखि २०२२ को निर्वाचन अवधिसम्मका रहेका छन् । ती कागजपत्रमा नेपाल परिवार दलका अध्यक्ष ढकाल र युनिफिकेसन चर्चका एसिया क्षेत्रीय अध्यक्ष योङ जङ शिकबिच भएका इमेलहरू समावेश छन्, जसमा चुनावी अभियान सञ्चालन तथा एमालेको समर्थनका लागि तत्काल आर्थिक सहयोगको माग गरिएको उल्लेख छ ।
“कोषको विषयमा म साँच्चिकै क्षमाप्रार्थी छु, तर न्यूनतम ५ लाख अमेरिकी डलर आवश्यक छ,” प्रतिवेदनमा योङलाई पठाइएको सन्देशमध्ये एकमा उल्लेख छ । “यसका अतिरिक्त, निर्वाचन डिसेम्बर ७ (सन् २०१७) मा तय भएकोले सकेसम्म चाँडो रकम प्राप्त भएमा म अत्यन्त आभारी हुनेछु । प्रारम्भिक ५ लाख डलर समग्र निर्वाचन खर्चका लागि प्रयोग गरिएको हो भने थप ५ लाख डलर परिवार दलको चुनावी अभियान र प्रमुख नेताहरूलाई समर्थन गर्न लक्षित छ ।”
नेपाल परिवार दलको ‘सञ्चालन खर्च’ र सन् २०२२ को निर्वाचन तयारीका लागि मासिक २० हजार अमेरिकी डलर थप आवश्यक भएको उल्लेख गर्दै पठाइएका पत्रहरू पनि कागजातमा समेटिएका छन् ।
यी आरोपबारे प्रतिक्रिया माग्दा नेपाल परिवार दलका गोविन्दनाथ मिश्रले भने, “यो हाम्रो पार्टीविरुद्ध चलाइएको अनावश्यक बदनाम अभियान हो । नेपालमा राम्रो काम गर्ने पार्टीहरूलाई बदनाम गर्न सधैँ कुनै न कुनै विदेशी शक्तिसँग जोडिन्छ ।”
एकनाथ ढकालले पनि आफ्नो पार्टी र एमालेको सहकार्य युनिफिकेसन चर्चबाट आएको अनुदानसँग सम्बन्धित नभएको दाबी गरेका छन् । उनले सन् २०१६ मा नेपाली टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “पार्टीको सबै धर्मसँग सम्बन्ध छ । जस्तैः युनिफिकेसन आन्दोलनसँग पनि छ । नेपाल परिवार दल परिवार मूल्य, अन्तरधार्मिक संवाद र सद्भाव प्रवर्धन गर्ने घोषणापत्रसहितको एक प्रकारको कन्जरभेटिभ पार्टी हो । ओलीजीलाई समर्थन गर्ने ११ राजनीतिक दल छन् । नेपाल परिवार दल तीमध्ये एक मात्र हो ।”
योङलाई पठाइएको अर्को अपडेटमा ढकालले सन् २०१७ को एमाले चुनावी अभियान ‘अत्यन्त सफलतापूर्वक अघि बढिरहेको’ र ‘एकीकृत माक्र्सवादी–लेनिनवादीले बहुमत हासिल गर्ने लगभग निश्चित देखिएको’ उल्लेख गरेका थिए । ढकाल स्वयं प्रत्यक्ष उम्मेदवार थिएनन्, तर एमालेले उनलाई समानुपातिक सूचीमा राखेको थियो । प्रतिवेदनअनुसार, यो व्यवस्था चुनावी खर्च जुटाइदिने सर्तमा गरिएको देखिन्छ ।
ढकालले लेखेका थिए, “महिला उम्मेदवारको अभावका कारण म राष्ट्रिय सभाको समानुपातिक सदस्यका रूपमा निर्वाचित हुने निश्चित छ । मैले त्यसबेला माधव नेपाल र केपी शर्मा ओलीसँग मेरो निर्वाचनको सम्भावनाबारे छलफल गरेँ । आवश्यक परे मलाई पाँचौँ स्थानबाट पहिलो वा दोस्रो स्थानमा सार्न सकिने पुष्टि दुवैले गरेका थिए ।”
सन् २०१७ को निर्वाचनपछि एमाले र माओवादीबिच एकता भएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले ढकाललाई शान्ति तथा पुनर्निर्माण मन्त्री नियुक्त गरे, उनले द्वन्द्वपछिको पुनर्संरचना र भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी सम्हाले ।
आफ्नो कार्यकालमा ढकालले सन् २०१८ मा काठमाडौँमा ‘एसिया प्यासिफिक समिट’ आयोजना गरे, जसको अध्यक्षता युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुनकी पत्नी हाक जा हानले गरेकी थिइन् । आन्दोलनभित्र उनीहरूलाई ‘साँचो अभिभावक’ र हाक जा हानलाई ‘साँचो आमा’ भनेर सम्बोधन गरिन्छ ।
त्यस सम्मेलनमा तत्कालीन प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । कार्यक्रममा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित एक हजार पाँच सय प्रतिनिधि सहभागी थिए । त्यो सम्मेलन धर्मप्रचारको उद्देश्यले आयोजना गरिएको भन्दै आलोचना भएपछि ओलीले हाक जा हानद्वारा आयोजना गरिएको ‘आशीर्वाद समारोह’ मा सहभागी हुन अस्वीकार गरेका थिए ।
त्यसपछि ‘होलि वाइन’ भन्ने शब्द नेपाली राजनीतिक शब्दकोशमा प्रवेश ग¥यो र अझै पनि व्यङ्ग्यात्मक रूपमा प्रयोग हुँदै आइरहेको छ ।
नेपाल परिवार दलका गोविन्दनाथ मिश्र भन्छन्, “एकनाथ ढकाल दुईपटक प्रतिनिधिसभा सदस्य भइसकेका छन् । हाम्रो पार्टी स्थापनादेखि नै एमालेसँग नजिक छ । यस निर्वाचनमा पनि त्यही सहकार्यलाई निरन्तरता दिइरहेका हौँ ।”
युनिफिकेसन चर्चले भने बाहिर आएका कागजात प्रामाणिक नभएको दाबी गरेको छ । चर्चका अनुसार ती कागजातहरू अन्तर्राष्ट्रिय मुख्यालयका पूर्वमहानिर्देशक युन यङ होले आफ्नो प्रभाव देखाउन अनौपचारिक रूपमा तयार पारेको अभिलेख थियो । जापानस्थित युनिफिकेसन चर्चले यो साता जारी गरेको विज्ञप्तिमा भनेको छ, “सम्बन्धित प्रतिवेदन भनिएका कागजातहरूको समीक्षा गर्दा तथ्यगत त्रुटि थपिएको वा सामग्री परिवर्तन गरिएको पाइएको छ ।”
नेपाल परिवार दलकी उपमहासचिव तथा पूर्वसांसद मिलनकुमारी राजवंशीले पार्टीलाई कुनै बाह्य स्रोतबाट आर्थिक सहयोग नआएको दाबी गरिन् । ढकाल र अन्य व्यक्तिबिचको पत्राचारबारे आफूलाई जानकारी नभएको पनि उनले बताइन् ।
उनले भनिन्, “सेप्टेम्बरको सडक आन्दोलनपछि हामीले जेन–जी अभियन्तासहित धेरै राजनीतिक दलसँग संवाद गरेका थियौँ, तर मूल्यका हिसाबले एमाले सबैभन्दा नजिक देखियो ।” राजवंशी झापा–५ मा केपी ओलीको पक्षमा चुनाव प्रचारमा संलग्न छिन्, जहाँ ओलीले काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन्द्र शाहसँग प्रतिस्पर्धा गर्दै छन् ।
न्यूजटापाबाट बाहिरिएका कागजातहरूले सन् २०१७ को निर्वाचनमा ढकाल र युनिफिकेसन चर्चले पर्दापछाडिबाट निर्वाचन प्रभावित पार्न मिलेर काम गरेको देखाउँछन् । ढकालको एक इमेलमा उल्लेख छ, “यदि हामीले आगामी आम निर्वाचनमा बहुमत सुरक्षित गर्न सक्यौँ भने हाम्रो चाहना सन् २०२० सम्म दुई वर्ष सबै सांसदलाई शिक्षित गर्ने र चियोन इल गुक केन्द्रित संविधान निर्माण गर्ने हो ।”
चियोन इल गुकको अर्थ ‘स्वर्गीय राज्य’ हो, जुन सन म्युङ मुन र उनको युनिफिकेसन चर्चले घोषणा गरेको आध्यात्मिक राष्ट्रको अवधारणा हो । यसले वैयक्तिकभन्दा पारिवारिक मूल्यलाई प्राथमिकता दिँदै ‘स्वर्गीय अभिभावक’ अन्तर्गत विश्व एकतामा जोड दिन्छ ।
न्यूजटापालाई प्राप्त गोप्य भनिएका इमेलहरूमा चर्चले माधव नेपाल र केपी ओलीसँगै गठबन्धनका सबै १५० सांसदलाई बैङ्कक लैजाने योजना बनाए पनि त्यो पूरा हुन सकेन । तर, त्यसअघि चर्चले २० जना कम्युनिस्ट सांसदलाई ‘सैद्धान्तिक शिक्षा’ का लागि फिलिपिन्स र थाइल्यान्ड लगेको थियो ।
अर्को एक इमेलमा ढकालले बाबुराम भट्टराईलाई ‘कम्युनिजम्बाट निराश’ भएको उल्लेख गर्दै ‘सबै अल्पसङ्ख्यक दललाई परिवार दलमा एकत्रित गर्ने’ प्रस्ताव राखिएको बताएका छन् । माओवादी पार्टी छाडेका भट्टराईले फागुनमा हुने गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिएका थिए । (तर पछि फिर्ता लिए ।)
नेपालका ‘कम्युनिस्ट’ हरूसँग सम्बन्ध रहे पनि युनिफिकेसन चर्च विश्वभर ‘कन्जरभेटिभ’ राजनीतिलाई समर्थन गर्ने संस्थाका रूपमा चिनिन्छ । यसले ‘द वाशिङटन टाइम्स’ जस्ता मिडिया पनि सञ्चालन गर्दै आएको छ ।
यसको संस्थापक सन म्युङ मुन कोरियाली एकीकरण अभियानमा संलग्न थिए । चर्चले उत्तर कोरियासँग सम्बन्ध भएका एसियाली मुलुकसँग पनि काम गरेको छ ।
कागजात अनुसार युनिफिकेसन चर्चले तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपाललाई प्योङयाङ लैजाने प्रयास गरेको थियो । तर, दक्षिण कोरिया, जापान र अमेरिकाका राजदूतहरूको दबाबमा नेपाल सरकारले त्यो भ्रमण रद्द गराएको उल्लेख छ । माधव नेपालले किम जोङ उनसँग भेट्ने अडान राखेका थिए । तर, उत्तर कोरियाली पक्षले त्यो सम्भव नभएको जनाएको थियो ।
पछि, माधव नेपाल एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि एकनाथ ढकालको उपस्थितिमा उत्तर कोरियाली राजदूतसँग भेट गरी कोरियाली एकीकरणका लागि भ्रमण योजना बनाइएको कागजातमा उल्लेख छ । सन् २०१७ मा नेपाल, ढकाल, सांसदहरू र एक पत्रिकाका प्रकाशकसहितको ११ सदस्यीय प्रतिनिधिमण्डल उत्तर कोरिया गएको थियो ।
युनिफिकेसन चर्चका आन्तरिक कागजातमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चर्चसँगको निकट सम्बन्ध यसरी उल्लेख गरिएको छ, “माधवकुमार नेपाल हामीसँग घनिष्ठ सम्बन्ध राख्छन् र जुनसुकै बेला फेरि प्रधानमन्त्री बन्न सक्छन् । हामीलाई राम्रोसँग चिनेको र साँचो अभिभावकलाई सम्मान गर्ने अरु कोही छैन । उनी साँचो अभिभावकलाई भगवान्सरह मान्छन् ।”
न्यूजटापाले प्राप्त गरेको युनिफिकेसन चर्चको आन्तरिक दस्तावेज ‘टीएम स्पेसल रिपोर्ट’ हाक जा हानका लागि तयार पारिएको देखिन्छ । ३ हजार २१२ पृष्ठ लामो यस दस्तावेजले विश्वभर राजनीतिज्ञहरूको व्यवस्थापन, चन्दा सङ्कलन र सम्बद्ध मिडियामार्फत राजनीतिक प्रभाव विस्तार गर्ने योजनाको सिलसिलेवार विवरण प्रस्तुत गर्छ ।
यो अभिलेख चर्चको अन्तर्राष्ट्रिय मुख्यालयका पूर्वमहानिर्देशक तथा दोस्रो दर्जाका नेता युन यङ होले तयार पारेको देखिन्छ । यसले चर्चका गतिविधि सिधै हाक जा हानलाई रिपोर्ट गरिन्थ्यो भन्ने सङ्केत गर्छ । कोरियाली अनुसन्धानकर्ताहरू अहिले हानले ती प्रतिवेदन केवल प्राप्त गरेकी थिइन् वा तिनका आधारमा निर्देशन दिएकी थिइन् भन्ने विषयमा केन्द्रित छन् ।
सियोलमा जारी मुद्दामा युनले क्षेत्रीय नेता र स्थानीय साझेदारबाट दैनिक प्रतिवेदन आउने र आफूले तिनलाई सङ्क्षेपीकरण गरी हानलाई मौखिक ब्रिफिङ दिने गरेको बयान दिएका छन् ।
यसका आधारमा हाक जा हान चर्चका राजनीतिक गतिविधिमा सूक्ष्म तहसम्म संलग्न रहेको आशङ्का गरिएको छ । कोरियाली विशेष अभियोजकहरूले यी कागजातलाई उनको प्रत्यक्ष संलग्नता प्रमाणित गर्ने महत्वपूर्ण प्रमाणका रूपमा हेरेका छन् ।
गत साता सुनुवाइको क्रममा चर्चका एक क्षेत्रीय नेताले ‘साँचो अभिभावक पत्राचार प्रतिवेदन’ का केही अंश आफूले नै तयार पारेको स्वीकार गरेका छन् ।
‘टीएम स्पेसल रिपोर्ट’ का विभिन्न आन्तरिक कागजातलाई पुनः सम्पादन गरी एउटै फाइलमा समेटिएको देखिन्छ । केही अवधिका अभिलेख हराइरहेका छन्, जसले कथन (न्यारेटिभ) मा खाली ठाउँ सिर्जना गरेको छ र केही अंश चयनका आधारमा हटाइएको हुनसक्ने सम्भावना पनि देखिन्छ ।
(‘मुनि मनि इन नेपाल्स पोलिटिक्स’ शीर्षकमा नेपाली टाइम्स, २३–२९ जनवरी २०२६, मा प्रकाशित लेखको अनुवाद ।)
– हिमालय खबर डटकमबाट
Leave a Reply