भर्खरै :

नेमकिपाको स्थापनाको जग किसान आन्दोलन

नेमकिपाको स्थापनाको जग किसान आन्दोलन

भक्तपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ पार्टी स्थापनाको अवसरमा नेपाल मजदुर किसान पार्टी वडा नं. २ सानो ब्यासी एकाइ समितिको आयोजनामा वडाका कार्यकर्ताहरूबिच एक प्रशिक्षण तथा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपा स्थापनाको जग किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलन भएको स्पष्ट पार्नुभयो । नेमकिपाले वर्गीय दृष्टिकोणको आधारमा आफ्नो विचार अगाडि बढाइरहेको र पार्टीले दलीय भागबन्डा, एनजीओ, आईएनजीओजस्ता स्वार्थको राजनीति कहिल्यै नगरेको विचार उहाँले राख्नुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन ख्वप विश्वविद्यालयको अवधारणा अगाडि राख्दै आएको उल्लेख गर्दै उहाँले नेमकिपाले भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादी नीतिको विरोध गरिरहेको बताउनुभयो । सरकारमा गएका पार्टीहरूले गरेका असमान सन्धिहरू खारेजको माग गर्दै आएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा जीपी लासिवाले नेमकिपाले मजदुर र किसानको हक र हितको लागि राजनीतिक सङ्घर्ष गरिरहेको र समाजवादी व्यवस्थाको लागि जनतालाई सचेत पारिरहेको विचार राख्नुभयो ।
सिद्धान्तहीन पार्टीलाई संसदीय निर्वाचनमा पराजय गर्नुपर्ने कारणबारे चर्चा गर्दै उहाँले विदेशी पैसामा राजनीति गर्ने राजनीतिक पार्टीहरूलाई विदेशी शासकहरूको मातहतमा राख्ने स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका गंगाराम ज्याख्वले नेमकिपाका जनप्रतिनिधिहरूले पार्टीको घोषणापत्र र प्रतिबद्धताअनुरूप काम गरिरहेको बताउनुभयो ।
रत्नकाजी नायोभारीले नेमकिपा सङ्घर्षबाट कहिल्यै विचलित नहुने पार्टी हो भन्नुभयो । नेमकिपा सानो ब्यासी एकाइ समितिका इन्चार्ज सरोज दथेपुथेको सभापतित्वमा भएको उक्त कार्यक्रममा पवनकृष्ण सुवालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *