भर्खरै :

प्रधानः नओझेलिनुपर्ने मूर्धन्य स्रष्टा

  • माघ १७, २०८२
  • तेजेश्वर बाबु ग्वंगः
  • विचार
प्रधानः नओझेलिनुपर्ने मूर्धन्य स्रष्टा

मातापिताका कुलघरानाअनुरूपका नाम चन्द्रप्रसाद प्रधानका चन्द्र अगाडि ‘हृदय’ शब्द नै उपसर्गझैँ तुल्याएर हृदयचन्द्र बनेका नेपाली वाङ्मयका मूर्धन्य स्रप्टा समीक्षक उनै हुन्, जसलाई नेपाली साहित्यिक संसार सम्मान समर्पण गर्छ । सम्मान आडम्बर गर्दैमा प्राप्तिने उत्कर्ष होइन । सम्मान आत्म उपलब्धिने उपहार हो भन्छु । हृदयचन्द्र उस्तै उत्सर्गका उत्कर्षमूलक सिंह प्रधान हुन् । सिंह प्रधान राणाकालीन शासन व्यवस्थामा प्रदान हुने एक सामाजिक सम्मान शब्द बन्न पुग्यो । उत्साही, प्रबल र तीक्ष्ण मानस कुण्ड भएकालाई ‘सिंह’ भनिने तत्कालीन सम्मान संस्कार रहेको छेस्को बालापनमा सुन्ने गरेको झझल्को खन्याइरहेछु । बुबा र मामाहरूका कुराकानी सुन्दै गर्दाका यी चासो कनिकुथी बनेछ यहाँ । हृदयचन्द्रसिंह प्रधान खलक मुन्सी दर्जेनीका समुदाय सदस्य थिए । ‘मुन्सी’ शब्द अरबी रहेर पनि यस देशको तत्कालीन शासन व्यवस्थामा व्यवहृत अभिव्यञ्जना बन्यो । मुन्सी शब्दको अर्थ परराष्ट्र मामिला हेर्ने निकाय/अड्डाका मानिस हुन्छ । परराष्ट्र मामिला हेर्ने अड्डा/परराष्ट्र मन्त्रालयलाई मुन्सीखाना भनिन्थ्यो । हृदयचन्द्रसिंह प्रधान पनि मुन्सी खलकका एक सदस्य थिए ।
कुलघरानले जेसुकै भए तापनि हृदयचन्द्र साहित्यिक क्षितिजमा मुटु–मुटुहरूका मुटुचन्द्र भएर उदाए । हृदयचन्द्रकृत अनेक कृतिका कीर्ति नेपाली वाङ्मयका श्रीवृद्धिका कीर्तिमान बने, बनेका छन् । उनका शब्द शुद्धि विज्ञान जुद्धोदय माध्यमिक विद्यालयका विद्यार्थीकालमा (२००५) पढेको मिर्मिरे सम्झना अझै उजेलिएकै छ । उनका ‘चिह्न परिचय’ (२०००), केही नेपाली नाटक, (समीक्षा २००२), ‘भूस्वर्ग’ (निबन्धसङ्ग्रह २००३), ‘साहित्य एक दृष्टिकोण’ (समीक्षा २००४), ‘तीस रुपैयाँ नोट, (निबन्धसङ्ग्रह २००४), ‘जुँगा’ (निबन्धसङ्ग्रह २००९), ‘कुरा साँचो हो’ – निबन्धसङ्ग्रह २०११), ‘स्वास्नीमान्छे’ (उपन्यास २०११), ‘गङ्गालालको चिता’ (नाटकसङ्ग्रह २०११), ‘उसको आँसु’ (कथासङ्ग्रह २०१२), भानुभक्त एक समीक्षा (समीक्षा २०१३), छेउ लागेर (नाटकसङ्ग्रह २००६), कीर्तिपुरको यु्द्धमा (एकाङ्कीसङ्ग्रह), हृदयचन्द्रका कथाहरू (२०२५), एक चिहान (उपन्यास २०१७) जीवन्त सिर्जना रहेका छन् । क्षयरोग ग्रस्त हृदयचन्द्र रोगी रहेझैँ रहेनन् । रोगलाई माथ गर्ने साहस उनको मुटुको धड्कन थियो । रोगलाई पर्वाह नगरी अदम्य साहस बोकेर साहित्यसेवा पथमा यात्रा लम्काउनु हृदयचन्द्रका सक्कली प्रधानका प्रधान्य बनेथ्यो ।
२०१० सालदेखि नेपाल साहित्य मन्दिर भक्तपुरले उहाँलाई भक्तपुरमा साहित्यिक प्रवचनमा आमन्त्रण गर्ने गरेथ्यो । दुःख र कष्ट नमानी त्यो बेलाको काष्ठमण्डप–मरुटोलदेखि परका दरबार इलाका भक्तपुर धाएर निरन्तर उपकार मान्नेक्रम २०१४÷०१५ सालसम्म जारिराख्नुभएथ्यो । प्रखर साहित्यिक चुनौतीपूर्ण हुन्छ । हास्यबिनाको व्यङ्ग्य जहिल्यै आक्षेपमा परिणत हुनसक्छ । कहिले तीव्र आलोचना त कहिले प्रहारै । हास्य व्यङ्ग्यकार बन्ने जमर्को आँटिलो साहसबाट मात्र सम्भव छ । हास्यव्यङ्ग्य महजस्तै रहन्छ । मह पौष्टिक आहार । पौष्टिक आहार घिउ नि प्राकृत उपचार गर्ने औषधि । सायद मही मथेर निकालेको घिउ र मह त्यसैले पञ्चामृतमध्येका अमृत्त हृदयचन्द्रसिंह प्रधानका स्वर मुखरण र लेखन उस्तै–उस्तै हुन्थे । जस्तो वाणी उस्तै लेखन । जस्तो लेखन उस्तै वाणी । हृदयचन्द्रसिंहका सिंहनाद । उहाँलाई सुनिरहँदा सुन्नेमाथिको व्यङ्ग्य तीतोभन्दा मीठो हुन्थ्यो । आफैंमाथि खनिएको हुन्थ्यो । तर नहाँसी सुखै नपाइने अवस्था हुन्थ्यो । व्यङ्ग्यसित हास्यरस मिसिएपछि यस्तो हुँदोरहेछ । जुङ्गा निबन्धमा जुङ्गेहरू त इँटाका बादशाहजस्तै देखिँदारैै’छन् । तत्कालीन श्री ३ मोहनले यो मलाई नै भनेको राग मच्चाएको रोचक–घोचक सुनाउनुहुन्थ्यो उहाँ ।
‘पोकटिया÷सितिन्ला मास्टर’ एकाङ्की नाटक नितान्त पेचिलो अभिव्यक्तिका सँगालोझैँ लाग्छ अझै । शिष्ट र सौम्य व्यङ्ग्यले हास्य जन्माउँदोरैछ । कुरैकुरामा विद्यार्थीहरू (खस, मधिसे, नेवार) आपसमा छेडछाड मच्चाउँछन् । एकले अर्कालाई हान्छन् र भन्छन्, खय्–खय् नभन, महाराधिरजको जात हुँ, मस्र्या–मस्र्या नभन, जवाहरलाल नेहरूको जात हुँ । न्यार,–न्यार नभन, मास्टरसावको जात हुँ । वाणजस्तो प्रखर आलोचना पनि रसिलो पार्नु सिंहका सिंहनाद नै बन्थ्यो, बन्छ । अधिकांश प्रधानका अभिव्यक्ति हास्यव्यङ्ग्यप्रधान रहेका छन् । सरल भाषामा जटिल कुरो रसवान बनाउनु उनको रचनाधर्म बनेका छन् । यसको पुष्टि उनका सिर्जनात्मक रचनाहरू पढ्दा सन्तुष्टिमा परिणति पाउँछ । आफ्नै अनुभूति बक्छ यहाँ । जन्मदिनको दान लिन जाँदा चन्द्रप्रसाद नामका बथानमा आफ्नो वर्चस्व बिलाएको बखान गर्दै चन्द्रप्रसाद नामै फेर्ने प्रेरणा जागेको वर्णन अत्यन्त रोचक मिथकझैँ लाग्छ । सत्य–तथ्यलाई पनि मिथकीय आख्यानको पुट लगाउनु हृदयचन्द्रसिंह प्रधानका शिल्पकारिता बनेको छ ।
हृदयचन्द्रसिंह प्रधान नेवार समुदायका सार्थक नेपाली राष्ट्रभाषा वाङ्मयका मूर्धन्य व्याकरण वाचक पनि थिए । त्यसबेला नेवारहरू नेवारी नेपाली बोल्थे । नेवारी शब्दका दन्त्य अक्षर सवै मूर्धन्यकरण भए । नेपाली मूर्धन्य अक्षरलाई नेवारहरूले दन्त्यकरण गरे । ट त बने । ध ढ बन्न पुगे । भोताहिती भोटाहिटी बने । धेबा ढेवा भनिए, लेखिए । यसो हेर्दा नेपाली मूर्धन्यप्रधान र नेवारी दन्त्यप्रधान भाषाझैँ लाग्न थाल्छ । ‘शब्द शुद्धि विज्ञान’ र ‘चिह्न परिचय’ नेपाली लेखलाई सम्बन्धी संरचना नै त हुन्, प्रधानका । पात्र चयन, भूमिका निर्वाहीकरण, घटनाक्रममा मोड यी हृदयचन्द्रसिंहका शिल्पकारिताका सरल स्वाभाविकता बनेका छन्, उनका नाटक र एकाङ्की प्रकरणहरूमा । ‘गङ्गालालको चिता’ उनका देश, चेतना, बलिदान अनि कुर्वानीमू्लक उत्सर्गको उत्कर्षमूलक सिर्जना सङ्ग्रह बनेका छन् । सिर्जनात्मक साधक बन्न लङ्गुरको झैँ लामो पुच्छर र गोरुको जस्तै सिङ्गौरी सिङ नभए नि केही हुँदोरैनछ । अन्तष्करणमा आस्था उर्ले, उठेपछि स्वाध्यायनको अध्याय जमर्किँदो रहेछ । यसका ज्वलन्त उदाहरण बनेका छन्, स्रष्टा तर दिवङ्गत हृदयचन्द्रसिंह प्रधान ।
मरुहिटीको पुछार शान्ति निकुञ्ज विद्यालयको आगन भगवतीवारि सेरोफेरो दक्षिण मोहडाको प्रधानका निवास स्थान थियो । दक्षिण मोहडाको त्यो घर ओझेलिएको थियो, घामबाट । घर अगाडिको बाटो, बाटोपारिको घर उनको घरको ढकिना बनेको थियो । घामका अनुहार दिनभर देख्न पाइन्थ्यो । आकल–झुकल पुग्दाका सादृश विवरण यस्तै–यस्तै । पलेँटी कसेछि कस्यो । मग्नमस्त बन्यो । सुनिरहेको रह्यै, समयले घुम्टो ओढिसकेको चालै नपाइने । स्व.पिवाः, रमापति, तिलक टुप्लुकिन्थ्यौँ हामी । विद्यार्थी जीवनी औगतले भ्याएसम्म पाँच÷छ दाना फल–स्याउ कहिले सुन्तला हाम्रो उपहार, सौगात, आदर हृदयचन्द्रप्रतिको सम्मान । कविवर केदारमान व्यथित सुनाउनुहुन्थ्यो– “एकपटक प्रधानजीले पकेट रुमालले पुछी एकदाना स्याउ दिए । सङ्कोच मानी खाएँ । मलाई ‘नि टीबी लाग्यो ।” मनमनै भनेँ, “मैले ‘नि खाएथेँ । खै ? तन्दुरुस्त छु ।” सङ्कोच र सन्देह रोगको कारण बन्दोरै’छ । वनको बाघले नखाए ‘नि मनको बाघले खाँदोरै’छ । सङ्कोचले आत्मबल निल्दोरै’छ ।
जे होस्, हृदयचन्द्रसिंहले कहिल्यै मुसोको गति चालेनन् । अदम्य साहसका भकारी थिए उनी । सायद अदम्य साहसले मानिसलाई समीक्षक पनि बनाउँदोरैछ । हृदयचन्द्रसिंह प्रधान साहसिलो समीक्षक थिए । सिंहका समीक्षक यथार्थवादी थिए । उनका समीक्षात्मक आख्यानमा पूरापूर यथार्थपरक उत्कण्ठामात्र पाइने नभएर कूटनीतिक अभिव्यक्तिका पुट पनि रहेका छन् । स्व. कविवर केदारमान व्यथितको ‘एकदिन’ कवितासङ्ग्रह (२०११) को भूमिका लेखनमा प्रधानले प्रयोग गरेका कूटनीतिक अभिव्यक्ति यसरी दिनुभएको छः
‘व्यथितजीको यो एकदिनमा विशेषतः नेपालको नक्सा र स्थिति या चित्रण हाँसेको देखेँ । विशेष गरेर नेपालकै स्थिति, घटना, प्रकृतिलाई लिएर लेखिएको भए तापनि कवितामा व्यापकता पनि भएको हुनाले सीमाले बाँधिएको छैन । यो पनि कवितासङग्रहको राम्रो कुरा हो ।
व्यथितजीको यो सङ्ग्रहमा मात्र होइन, प्रायः प्राकृतिक किसिमका कविताहरूमा सुस्मित, असीमित, मुखरित, अभिसार, अभिनित, मुदित, अभिषेक, तम, तिमिर इतयादि शब्द प्रायः नपरेका हुँदैनन् । यसबाट कतै–कतै भनाइ उस्तै–उस्तै किसिमको भएर दोहोरिन गएको पनि देखिन्छ । उही–उही शब्द धेरै पर्नाले भाव दोहोरिन जानु त स्वाभाविकै पनि छ ।’
समीक्षात्मक भूमिका लेखन या भूमिकाभरिका समीक्षामा सिंहले कुनै कटु शब्द प्रयोगविना नहुनुपर्ने पक्षका उल्लेख गरेका छन् । कूटनीतिक अभिव्यञ्जनाखातिर शिल्प साधना गर्नुपर्दो रहेछ । त्यसको आँखैदेखि साक्षी यी वाक्य विन्याश बनेका छन् । उहाँ कुन हदसम्म यथार्थवादी बन्नसक्नु हुँदोरै’छ…? त्यसको साथ बुनेका यी हरफहरू नियालाँै ः
‘शरीर हाँसेरमात्र हुँदैन, कवितामा प्राण मुस्कुराएको हुनुपर्छ, नत्र कृतिमा कवि मुस्कुराएको वा रोएको नभइकन नेताले ख्याल गरेको वा विलापेको जस्तोमात्र हुन जान्छ । यही कारणले हो, कालिदासहरूका कृति असल नभएर राम्रो भएजस्तै आज प्रगतिवादी कविता असल भएर राम्रो हुन सकेको छैन ।
नेपाली प्रगतिशील क्याम्पका कप्तान कवि कृष्णचन्द्रसिंहकै पनि प्रगतिवादी कविता उति राम्रो महकिन र फुल्न सकेको देखिन । बरु अगाडिकै कवितामा ज्यान जोतिएको देख्छु । उनको ‘भञ्ज्याङनिरै’ कवितासङ्ग्रह हेर्दा प्रगतिशील कविताको अध्याय ‘खण्ड आज’ भन्दा ‘खण्ड हिजो’ नै कविताको दृष्टिले राम्रो लागेको देखेँ ।’
हृदयचन्द्रसिंह प्रधान स्पष्टवादी वक्ता पनि रहेका छन् । उनका अभिव्यक्ति सीपवान रहे । सीपवान साधनाले गाला पड्काउँदा दुख्ने भएर पनि मुसुक्क ओठ फर्काउनुपर्ने भइदिन्छ । उनीसित यस्तो शिल्प थियो । त्यस्ता शिल्प साधनाका उपासक थिए, दिवङ्गत प्रधानका हृदयचन्द्रसिंह । त्यसबेला अचेलझैँ स्वर सञ्चय–सारिणी यन्त्र छ्यापछ्याप्तिसकेको थिएन । उनका ती प्रखर अभिव्यक्तिका स्वर–सञ्चय गर्न सकेको भए हामीलाई हामीसित राख्न कत्रो टेवा पुग्ने थियो । यी केही सारसङ्क्षेपमात्र हुन् – बहुमुखी प्रतिभाका कुवेर हृदयचन्द्रसिंह प्रधानका ९६ औँ जयन्ती अवसरको श्रद्धाञ्जली शब्द उपहार माल… । नओझेलिनुपर्ने मूर्धन्य स्रष्टा हृदयचन्द्रसिंह प्रधान जसका दिवङ्गत आत्मालोक अनि अमर जन्मभूमिलोक दुवै एकसाथ समाएर बग्ने अविरल नदी बनिरहनेछ । बगिरहून्, अनन्त पर्यन्त…।

Leave a Reply

Your email address will not be published. Required fields are marked *