भर्खरै :

देश विकास गर्न आत्मनिर्भर बनाउनुपर्ने

देश विकास गर्न आत्मनिर्भर बनाउनुपर्ने

दैलेख, १७ माघ । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी वडा नं ३ समितिको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा बिन्द्रासैनी नगरपालिकाको हाडाकोटमा कार्यकर्ता भेला भयो ।
उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख क्षेत्र नं. २ का उम्मेदवार बखत थापाले कामदारवर्गका जनता राजनैतिक हिसाबले सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै सचेत र सङ्गठित जनताले मात्र देशको परिवर्तन गर्नसक्छ भन्नुभयो । देशको विकास गर्न देशलाई आत्मनिर्भर बनाउनुपर्ने चर्चा गर्दै उहाँले समाजवादी व्यवस्था स्थापना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश समिति सदस्य निरकबहादुर शाहीले तल्लो वर्गका जनताको राज्य स्थापना गर्न नेमकिपाको स्थापना भएको चर्चा गर्दै पुँजीवादी व्यवस्थामा गरिबको निम्ति न्याय आकाशको फलजस्तै हुनेछ भन्नुभयो ।
कम्युनिस्ट दर्शन अध्ययन गरी जनतासामु जानुपर्ने उल्लेख गर्दै उहाँले नेपाली जनता भ्रममा पर्न हुँदैन भन्नुभयो ।
नेमकिपा चामुण्डा बिन्द्रासैनी नगर समितिका अध्यक्ष दीपक शाहीले नेमकिपाले योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्न आवाज उठाइरहेको चर्चा गर्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ भन्नुभयो ।
भेलामा चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ का निर्वाचित वडाध्यक्ष दीपबहादुर शाही, निर्वाचित सदस्य कल्पना थापा मगरले पनि स्थापना दिवसको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
भेला नेमकिपा वडा नं. ३ का वडा समिति अध्यक्ष मनबहादुर विकको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *