विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
एक्काइसौँ शताब्दीको उत्तराद्र्धतिर आइपुग्दा मानव सभ्यताले प्रविधिको क्षेत्रमा अभूतपूर्व फड्को मारेको छ । सूचना र सञ्चारको यो तीव्रताले मानव जीवनलाई सहज र गतिशील त बनाएको छ, तर सँगसँगै यसले हाम्रा हुर्कँदै गरेका बालबालिकाको मनोविज्ञान र मौलिक सिकाइ प्रक्रियामा एउटा जटिल सङ्कट पनि निम्त्याएको छ । आजका बालबालिका ‘डिजिटल नेटिभ’ हुन्, जो हातमा कलम समात्नुभन्दा पहिले मोबाइलको स्क्रिन र इन्टरनेटको संसारमा अभ्यस्त भइसकेका छन् । यो प्राविधिक विकासको एउटा उज्यालो र प्रगतिको पाटो हो भने अर्कोतर्फ यसैको लतले निम्त्याएको विचलन आजको शैक्षिक जगत् र सम्पूर्ण मानव सभ्यताका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । प्रविधि आफैँमा समस्या होइन, तर यसको अनियन्त्रित प्रयोगले बालबालिकाको कल्पनाशीलता र प्राकृतिक विकासमा लगाएको पर्खाल पक्कै पनि चिन्ताको विषय हो ।
आजको पारिवारिक संरचनामा आएको तीव्र परिवर्तनले यस समस्यालाई थप मलजल गरेको देखिन्छ । आधुनिक परिवारहरू साना र सुविधामुखी हुँदै जाँदा सन्तानहरू अत्यधिक स्नेह र सुरक्षाको घेरामा हुर्किएका छन् । “छोराछोरीले मागेको कुरा पु¥याइदिनु नै असल अभिभावकत्व हो” भन्ने एउटा गम्भीर भ्रम आजको समाजमा व्याप्त छ । यही भ्रमका कारण बालबालिकाहरूमा हठ र जिद्दीपना बढ्दै गएको छ ।
बाबुआमा दुवै वा दुईमध्ये एक विदेशमा हुने बालबालिका पनि धेरै छन् । आफ्ना छोराछोरी राम्रो पढ्छन् भनेर विदेशबाट तिनले महँगा फोन पठाइदिएका हुन्छन् । एकातिर चञ्चल उमेर, अर्कोतिर नियन्त्रणविहीन र साथमा महँगो मोबाइल ¤ यति भएपछि त्यस्ता विद्यार्थीहरू कसले भनेको मानून् ! अभाव, प्रतीक्षा र अस्वीकारलाई कहिल्यै झेल्न नपर्दा उनीहरूको संवेगात्मक बौद्धिकता अत्यन्तै कमजोर बन्दै गएको छ । परिणामतः विद्यालयबाट घरमा पुग्नेबित्तिकै मोबाइल नपाउँदा रिसाउने, खाना नखाइदिने वा कोठामा थुनिएर बस्ने जस्ता व्यवहारहरू उनीहरूले एक प्रकारको ‘रक्षात्मक अस्त्र’ का रूपमा प्रयोग गरिरहेका छन् । यो अनुशासनको कमी मात्र नभएर गहिरो डिजिटल लतको लक्षण हो, जसले उनीहरूको मस्तिष्कलाई भर्चुअल संसारको कृत्रिम आनन्दमा कैद गरिसकेको छ ।
यसको ठीक विपरीत, अभावका बिच सङ्घर्ष गरिरहेको एउटा वर्ग पनि छ । स्कूलबाट फर्किनासाथ श्रमको काममा रातिसम्म इँटाभट्टामा पसिना बगाउनुपर्ने, खेतबारीमा काम गर्नुपर्ने र बिहान पनि निद्रा नपुगी उठेर घरधन्दामा जुट्न बाध्य हुने विद्यार्थीले श्रम र जिन्दगीको मात्रै होइन, मानव जीवनकै वास्तविक महत्व बुझेको हुन्छ । जसले अभाव, भोक र पसिनासँग साक्षात्कार गरेको छ, त्यस्ता विद्यार्थी डिजिटल स्क्रिनको कृत्रिम लतमा फस्ने कुरै हुँदैन । वास्तवमा, सङ्घर्षले खारिएका तिनै बालबालिकाहरूले पछि गएर जीवनमा उदाहरणीय उन्नति गर्छन् किनकि उनीहरूलाई प्रविधिको भर्चुअल संसारभन्दा जीवनको यथार्थ धेरै प्यारो र मूल्यवान् हुन्छ । उनीहरूका लागि प्रविधि एउटा साधन मात्र हो, तर सुविधाभोगी पुस्ताका लागि यो साध्य नै बनिसकेको छ ।
तर, आज ठुलो सङ्ख्यामा रहेका सुविधाभोगी विद्यार्थीहरूको संज्ञानात्मक क्षमता, ध्यान र स्मृति शक्तिमा भने निकै ¥हास आएको देखिन्छ । लामो समयसम्म मोबाइलको छिटोछिटो परिवर्तन भइरहने दृश्य र भिडियोहरूमा अभ्यस्त भएको मस्तिष्कले किताबका स्थिर अक्षरहरू र शिक्षकका गम्भीर कुराहरूमा एकाग्रता जनाउन सक्दैन । मनोविज्ञानको दृष्टिमा भन्दा बालबालिकाको ‘अटेन्सन स्प्यान’ अर्थात् एकाग्रताको अवधि निकै छोटिएको छ । शिक्षकले कक्षामा पाठ पल्टाउन आग्रह गर्दा पृष्ठ सङ्ख्या सोध्नु वा किताब अगाडि भएर पनि विषयवस्तुमा प्रवेश गर्न नसक्नु यसैको परिणाम हो । उनीहरूको मस्तिष्कले ‘इन्स्ट्यान्ट डोपामाइन’ खोजिरहेको हुन्छ, जुन किताबको गम्भीर अध्ययनबाट सम्भव छैन । अर्कोतिर, अभिभावकहरू आफ्ना सन्तानको यो व्यवहारबाट आजित भएर “घरमा भनेको मान्दैन, तपाईंहरूले नै केही गरिदिनुस्” भन्दै विद्यालयसँग निरीह गुहार मागिरहेका भेटिन्छन् । यद्यपि, विद्यालयको केही घण्टाको प्रयासले मात्र घरको २४ घण्टाको लत र वातावरणलाई निर्मूल पार्न सम्भव हुँदैन ।
डिजिटल लतको यो समस्या हाम्रो समाजमा मात्र सीमित छैन, यो एक विश्वव्यापी चुनौतीका रूपमा देखा परेको छ । विकसित देशहरूले यस समस्यालाई समाधान गर्न विभिन्न नवीन र व्यावहारिक उपायहरू अपनाइरहेका छन् । स्क्यान्डिनेभियन मुलुकहरू जस्तै फिनल्यान्ड र नर्वेमा बालबालिकालाई प्रकृतिसँग जोड्ने ‘आउटडोर लर्निङ’ लाई प्राथमिकता दिइन्छ । त्यहाँ प्रविधिलाई साधनका रूपमा प्रयोग गरिन्छ तर माटोको काम, शारीरिक खेल र सामाजिक अन्तरक्रियालाई अनिवार्य बनाइएको छ । त्यसैगरी, फ्रान्सले विद्यालय हाताभित्र पन्ध्र वर्षमुनिका विद्यार्थीका लागि मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ भने दक्षिण कोरियामा सरकारले नै ‘डिजिटल डिटोक्स’ शिविरहरू सञ्चालन गर्छ । यी अन्तर्राष्ट्रिय अभ्यासहरूले के देखाउँछन् भने, प्रविधिको समस्याको समाधान प्रविधि मात्र होइन, बरु मानवीय सम्बन्ध, प्राकृतिक सामिप्य र शारीरिक सक्रियताको पुनस्र्थापना पनि हो ।
बालबालिकाको यो फेरिएको प्रवृत्तिलाई बदल्न अब शिक्षक र शैक्षिक संस्थाहरूले पनि आफ्नो भूमिकामा पुनरावलोकन गर्नुपर्ने बेला आएको छ । केवल “हाम्रो पालामा यस्तो हुन्थ्यो” भनेर पुरानै ढर्राको उपदेश दिएर आधुनिक पुस्तालाई परिवर्तन गर्न सम्भव छैन । यदि विद्यार्थीको रुचि डिजिटल माध्यममा छ भने, शिक्षा प्रणालीले पनि आफूलाई सोही अनुरूप परिमार्जन गर्नुपर्दछ । अबको कक्षाकोठा ‘किताबरहित र प्रविधिसहित’ को अवधारणामा अघि बढ्न आवश्यक छ । मोबाइललाई निषेध गर्नुको सट्टा त्यसलाई ज्ञानको स्रोतका रूपमा प्रयोग गर्ने गरी कक्षाकोठामा प्रवेश गराउनु नै बुद्धिमानी हुनेछ । जब पाठ्यपुस्तकका नीरस पाठहरूलाई डिजिटल सामग्री, एनिमेसन र अन्तक्रियात्मक खेलका माध्यमबाट प्रस्तुत गरिन्छ, तब मात्र विद्यार्थीको ध्यान मोबाइलको गेमबाट हटेर सिकाइतर्फ मोडिन सक्छ । शिक्षालाई प्रविधिबाट अलग राख्नुभन्दा प्रविधिलाई शिक्षाको सहयोगी बनाउनु नै समयको माग हो ।
यद्यपि, यो रूपान्तरण विद्यालयको प्रयासले मात्र सम्भव छैन । यसका लागि घरको वातावरणमा आमूल परिवर्तन हुनु जरुरी छ । बालबालिकाले जे सुन्छन्, त्यो भन्दा बढी जे देख्छन्, त्यही सिक्छन् । यदि अभिभावकहरू बालबालिकाको अगाडि आफू स्वयं मोबाइलमा झुम्मिने, सामाजिक सञ्जालमा समय बिताउने तर बालबालिकालाई चाहिँ नचलाउ भनेर गाली गर्ने हो भने त्यसको कुनै प्रभाव पर्दैन । अभिभावकले पुस्तक पढ्ने वा घरधन्दामा बालबालिकालाई सँगै सहभागी गराउने हो भने उनीहरूको ध्यान मोबाइलबाट बिस्तारै मोडिन सक्छ ।
डिजिटल लतले बालबालिकाको सामाजिकीकरण प्रक्रियालाई अवरुद्ध गरेको छ । उनीहरू एउटै कोठामा बसेर पनि संवादहीन अवस्थामा रहन्छन् । यसले उनीहरूमा समानुभूति र सहयोगी भावनाको कमी गराइरहेको छ । त्यसैले, शैक्षिक संस्थाहरूले अब बालबालिकाको ‘आइक्यू’
(इन्टेलिजेन्स क्वेसन) सँगसँगै तिनको ‘ईक्यू’ (इमोसनल क्वेसन) र ‘एसक्यू’ (सोसल कन्सेन्ट) विकासमा पनि उत्तिकै लगानी गर्नुपर्ने देखिन्छ ।
आजको बदलिँदो परिस्थितिमा आधुनिक शिक्षाले विद्यार्थीलाई प्रविधि चलाउन मात्र होइन, प्रविधिलाई विवेकपूर्ण ढङ्गले प्रयोग गर्न सक्ने ‘डिजिटल साक्षर’ नागरिक बनाउन केन्द्रित हुनुपर्दछ । विद्यालयमा ‘मिडिया लिटरेसी’ का कक्षाहरू सञ्चालन गरिनुपर्छ, जहाँ बालबालिकालाई इन्टरनेटको संसारमा पाइने सूचना र भ्रमबिचको भिन्नता छुट्याउन सिकाइयोस् । आर्टिफिसियल इन्टेलिजेन्सको यो युगमा सूचनाको कमी छैन तर कुन सूचना सही हो र कुन गलत भन्ने छुट्याउन सक्ने विवेकको कमी छ । शिक्षाले यही विवेक निर्माण गर्नुपर्छ ।
अन्ततः, यो समस्याको समाधान शिक्षक, अभिभावक र प्रविधिबिचको त्रिकोणात्मक सन्तुलनमा निहित छ । हामीले हाम्रा सन्तानलाई मोबाइलको स्क्रिनबाट बाहिर निकालेर जीवनको वास्तविक रङहरू, झरीको स्पर्श, माटोको सुगन्ध र श्रमको महत्वसँग परिचित गराउनैपर्छ । जबसम्म एक बालकले जोकोहीसँग पनि आँखामा आँखा जुधाएर कुरा गर्न र अरूको दुःखमा भावुक हुन सिक्दैन, तबसम्म प्रविधिको विकासले मात्र मानव सभ्यताको भलो गर्दैन । किताब र मोबाइलको यो द्वन्द्वलाई समन्वय र सहकार्यमा बदल्न सके मात्र हाम्रो शैक्षिक लगानी सार्थक हुनेछ र भोलिको पुस्ता मानसिक र बौद्धिक रूपमा सबल बन्नेछ ।
Leave a Reply