भर्खरै :

काठमाडौँ जिल्लाका उम्मेदवारबिच संवाद कार्यक्रम

काठमाडौँ जिल्लाका उम्मेदवारबिच संवाद कार्यक्रम

काठमाडौँ, १८ माघ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा काठमाडौँ जिल्लाका उम्मेदवारबिच संवाद कार्यक्रम आइतबार क्षेत्रपाटीमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले उम्मेदवारहरू घरदैलोमा जाँदा देश र जनताको समस्या, समाधानका उपाय र पार्टीले गरेका गतिविधिबारे स्पष्ट जानकारी दिने काम गर्न आग्रह गर्नुभयो ।
उहाँले शासक दलहरूले राष्ट्रघाती काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा एमसीसीजस्ता देशघाती सम्झौतालाई संसद्बाट पारित गरेको बताउनुभयो ।
नेपालमा वैदेशिक हस्तक्षप बढ्ने सङ्केत गर्दै उहाँले त्यसको पहिलो शिकार काठमाडौँ राजधानी हुनेबारे सबै सचेत हुनुपर्ने बताउनुभयो ।
अबको निर्वाचनमा अमेरिकी पक्षधर पार्टीका उम्मेदवार जिताउन हरेक कुत्सित प्रयास गर्ने भएकोले अन्य दलको देखासिकीबाट हामी अलग्ग भई विदेशीबाट परिचालित उम्मेदवारहरूलाई हराउन पार्टीले वैचारिक र वर्गीय भावना जगाउने कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सनकमान महर्जनले जनताबिच घरदैलो कार्यक्रममा जाँदा घोषणापत्र र अपिलमार्फत मत माग्न अनुरोध गर्नुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले देशघाती पार्टीका उम्मेदवारविरुद्ध जनतालाई सचेत पारी मत माग्नुपर्ने बताउनुभयो ।
नेमकिपा जिल्ला निर्वाचन काठमाडौँ परिचालन समितिका संयोजक नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौँ महानगर समितिका दामोदर कारञ्जित, राजेन्द्र रजक, जिल्ला सचिव शैलेश डंगोल र काठमाडौँ जिल्लाको क्षेत्र नं. ३ का उम्मेदवार मदन श्रेष्ठ, ६ का उम्मेदवार इन्द्रकुमारी वज्राचार्य, ७ का गणेशमाया श्रेष्ठ डंगोल, ८ का वन्दना श्रेष्ठ, ९ का शान्त महर्जन, समानुपातिक उम्मेदवारहरू गुणदास महर्जन, ममता महर्जन र कासिनारायण डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *