भर्खरै :

नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति सङ्घको आपत्ति

नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति सङ्घको आपत्ति

भक्तपुर, १८ माघ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को अर्धवार्षिक समीक्षा रोयल थाई हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो ।
सङ्घका अध्यक्ष हरिकृष्ण बल्लले सङ्घको अर्धवार्षिक समीक्षाले सङ्घको कार्य प्रगतिको अवस्थाबारे बोध हुने र कमजोरीलाई सुधार गरेर अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो । सहकारीमा बहु नियामकबाट जारी बहु निर्देशनले सहकारी संस्थाहरू अन्योलमा रहेको बताउँदै उहाँले नियामकले नियमन तथा निरीक्षण गर्नु स्वाभाविक हो तर नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति सङ्घको आपत्ति रहेको बताउनुभयो ।
सहकारी संस्थाको सञ्चालन गतिविधिलाई ध्यान नै नदिई सङ्घमा रहेको तरलता गणना नहुने, खोलिएका शाखाहरू बन्द गर्नुपर्नेजस्ता जारी निर्देशनले सहकारी संस्थाको सञ्चालन प्रक्रियालाई नै बिथोल्ने तथा कमजोर बनाउने उहाँको भनाइ थियो ।
सहकारीलाई एकद्वार प्रणालीबाट मात्र नियमन गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखीकरण गर्ने समय अवधि २०८२ फागुन ११ गतेसम्म थप गरेकोले दर्ता हुन बाँकी सङ्घमा आबद्ध सदस्य संस्थाहरूलाई समयमै दर्ता हुन अनुरोध गर्नुभयो ।
सङ्घका उपाध्यक्ष जगन्नाथ प्रजापतिले स्वागत मन्तव्य राख्दै सङ्घले आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयनको समीक्षा गर्न अर्धवार्षिक समीक्षा कार्यक्रम राखिएको बताउनुभयो । सङ्घका सचिव कान्छाभक्त घजुले अर्धवार्षिक समीक्षामा सङ्घले पुस मसान्तसम्मको कार्यक्रम प्रगति प्रस्तुत गर्नुभयो ।
उहाँले सङ्घका सदस्य संस्थालाई निरन्तर शिक्षा तथा तालिमअन्तर्गत संस्थाको संस्थागत, सञ्चालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिमलाई जोड दिएको बताउनुभयो । हालसम्म सङ्घमा २०३ सदस्यमध्ये १९५ वटा संस्थाको साधारणसभा भएको र ८ वटा संस्थाको साधारणसभा गर्न बाँकी रहेको बताउनुभयो । सङ्घले गरेको समन्वय तथा पहलकदमी भूमिका बारेमा जानकारी दिनुभयो । सङ्घले हालसम्म १२ वटा संस्थाको अनुगमन गरेकोे उहाँले जानकारी गराउनुभयो ।
सङ्घका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अर्धवार्षिक समीक्षामा सङ्घको वासलात तीन अर्ब दस करोड पुगेको जानकारी दिनुभयो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनअनुसार सङ्घले कारोबारलाई खुम्च्याउनुपर्ने बाध्यात्मक परिस्थितिअनुसार सङ्घले कारोबार घटाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
सोहीअनुसार गत पुस मसान्तसम्ममा ३.४१ प्रतिशतले घटाउन सफल भएको बताउँदै उहाँले हाल ऋण लगानीको वातावरण नहुँदा सङ्घ संस्थामा अत्यधिक तरलता बढेकोले तरलताको व्यवस्थापनमा सकस परेको बताउनुभयो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गर्दै बचत तथा ऋण कारोबार गर्ने सहकारी सङ्घहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्न पाउनुपर्ने बताउनुभयो ।
बचत तथा ऋण सहकारी सङ्घहरूको कारोबारको व्यवस्थापन मापदण्ड ल्याई नियमन गर्नुपर्नेमा निर्मूल गर्ने खालका केही निर्देशनले सङ्घको अस्तित्वमाथि नै प्रश्न उठाएको उहाँको भनाइ थियो । उहाँले सहकारी ऐन नियम र निर्देशनअनुसार सङ्घको कारोबारलाई व्यवस्थित गर्दै लगेको तर निर्धक्क कारोबार गर्न पाउने वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले सङ्घको अर्धवार्षिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *