भर्खरै :

नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा शुभकामना !

  • माघ १९, २०८२
  • प्रतिज पहाडी, दैलेख
  • विचार
नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा शुभकामना !

राष्ट्र र राष्ट्रियताको पहरेदार,
जनताको आँखाको नानी,
दिनदुःखी, श्रमिक, किसान र उत्पीडितवर्गको हक–हितमा
सधैँ क्रियाशील, सिद्धान्तनिष्ठ र निर्भिक राजनीतिक दल – नेपाल मजदुर किसान पार्टी !
५२ वर्षे राजनीतिक यात्रामा नेमकिपाले जनतासामु कहिल्यै झूट बोलेन, दलीय भागबन्डामा सहभागी भएन, सत्ता र सुविधाको लोभमा आफ्नो विचार बेचेन । रातो पासपोर्टको दुरूपयोग नगर्ने, आन्दोलनको नाममा ढुङ्गामुढा, तोडफोड, आगजनी र अराजकता नगर्ने, जघन्य अपराधीलाई संरक्षण नदिने र एनजीओ/आईएनजीओको दलालीबाट टाढा रहने पार्टीको रूपमा नेमकिपाले नेपाली राजनीतिमा स्वच्छ र अलग पहिचान बनाएको छ ।
नेमकिपा जनताबिच स्पष्ट विचार राख्ने पार्टी हो । समाजवादी गणतन्त्रको बहस अगाडि बढाउने, उत्पादनका मुख्यमुख्य साधनको राष्ट्रियकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क, अनिवार्य र श्रमसँग जोडिएको शिक्षा, गाउँ–सहर तथा शारीरिक–मानसिक श्रमबिचको भेद अन्त्य र क्रान्तिकारी भूमिसुधारका विषयमा नेमकिपा स्पष्ट र प्रतिबद्ध छ ।
क्रान्तिकारी संसद्वादको अभ्यास गर्दै नेमकिपाले संसद् र सडक दुवै ठाउँबाट देशको प्राकृतिक स्रोतसाधन जोगाउन सङ्घर्ष गरेको छ । देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा निरन्तर आवाज उठाएको छ । भारतीय नाकाबन्दी, महाकाली सन्धि, एमसीसी, एसपीपीजस्ता राष्ट्रिय हितविरुद्धका विषयमा सदन र सडकमा दृढ प्रतिरोध नेमकिपाले गरेको हो । मजदुर र किसानका मुद्दा सदनमा उठाउँदै ख्वप विश्वविद्यालय विधेयकजस्ता दूरदर्शी प्रस्ताव अघि सारेको पार्टी नेमकिपा नै हो ।
नेमकिपा स्पष्ट छ – निर्वाचनबाट क्रान्ति हुँदैन । निर्वाचन साधन हो, साध्य होइन । नेमकिपा पुँजीवादी सरकारमा सहभागी हुन होइन, प्रखर र इमानदार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रतिबद्ध छ । हरेक निर्वाचनलाई नेमकिपाले सत्ताको खेल होइन, जनतालाई सचेत, सङ्गठित र वैचारिकरूपमा सशक्त बनाउने खुला राजनीतिक शिक्षालयका रूपमा लिँदै आएको छ ।
भारतीय एकाधिकार पुँजी र विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको विरोध नेमकिपाको स्पष्ट वैचारिक धार हो । नेपाल पछाडि पर्नुको मुख्य कारण भारतीय एकाधिकार पुँजी, सीमामाथिको अतिक्रमण, आन्तरिक राजनीतिमा हस्तक्षेप, असमान सन्धि–सम्झौता र प्राकृतिक स्रोतसाधनमाथिको गिद्देदृष्टि हो भन्ने सत्य नेमकिपाले जनतामाझ उजागर गर्दै आएको छ । कालापानीमा भारतीय सेनाको कब्जा, नेपाली भूमि समेटेर ‘अखण्ड भारत’ को नक्सा जारी गर्नु र एमसीसी–एसपीपीमार्फत नेपाललाई ‘एसियाको युक्रेन’ बनाउने प्रयासका विरुद्ध नेमकिपा अडिग रूपमा उभिएको छ ।
५२ औँ स्थापना दिवसको अवसरमा, राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र जनताको पक्षमा नेमकिपाले गर्दै आएको सिद्धान्तनिष्ठ सङ्घर्ष अझ सशक्त बनोस्, जनताको विश्वास अझ मजबुत होस् भन्ने कामनासहित पार्टीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *